“भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले मद्दत गर्नेछ”

13 October, 2019 11:17 | राजनीति | comments | 27750 Views

चिनीयाँ राष्ट्रपति राष्ट्रपति सी चिनफिङले कान्तिपुर नगरीमा आफूले नयाँ र पुराना आफ्ना मित्रहरूलाई भेटेको र नेपालमा राजनीतिक स्थायित्वसँगै सामाजिक सद्भाव र शान्ति कायम भएकामा आफूलाई अत्यन्त खुशी लागेको बताउनुभएको छ ।

शनिबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति सीको स्वागत गर्दै राख्नुभएको मन्तव्यको प्रतिउत्तरमा उहाँले सो कुरा बताउनुभएको हो ।

  

उहाँले चीन र नेपालबीच राजनीतिक एवं जनस्तरमा अझ घनिष्ठ सम्बन्ध कायम भएको र दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा पारस्परिक मैत्री अझ झाँगिएको बताउनुभयो । नेपाल र चीनका विभिन्न शहरबीच भगिनी सम्बन्ध कायम गरिने बताउँदै उहाँले दुई देशबीचको पारस्परिक मैत्री अङ्कुर होस् भन्ने कामना गर्नुभयो ।

“हामीबीचको आधा शताब्दीभन्दा बढीको सम्बन्धले विश्वमै नमूना पेश गरेको छ, हाम्रो सम्बन्धमा केही समस्या छैन, मित्रता मात्र छ”, उहाँले भन्नुभयो । चिनियाँ राष्ट्रपतिले राष्ट्रपति भण्डारी र आफू विकासका चुनौतीलाई सामना गर्दै अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले नेपाललाई मद्दत गर्नेछ । बढीभन्दा बढी व्यापारिक नाका खोल्न पनि चीन तयार छ । भूकम्पपछिको पुनःनिर्माणमा अझ सहायता वृद्धि हुनेछ ।”

शैक्षिक क्षेत्रमा लगानी बढाउने, बढीभन्दा बढी चिनियाँलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने र जलवायु परिवर्तनसम्बन्धी नेपालको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै चिनियाँ राष्ट्रपतिले हाम्रो साझा गृह पृथ्वीको रक्षा र सगरमाथा क्षेत्रको पर्यावरणीय सन्तुलन कायम गर्न पनि सघाइने दृढता व्यक्त गर्नुभयो । विकास निर्माणका निम्ति हामीले तयार पारेका योजना र खाकालाई कार्यान्वयन गरेरै छाड्ने दृढता उहाँले व्यक्त गर्नुभयो । आइतबार आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पारस्परिक हित र साझा चासोका विषयहरूमा विचार आदानप्रदान गर्ने बताउनुभयो ।

नेपाललाई ३.५ अर्ब आरएमबी दिइने

त्यस अवसरमा चिनियाँ राष्ट्रपति सीले विश्वविद्यालयका क्षेत्रमा पनि सहयोग गर्न तथा सुविधा विस्तार गर्न चीन तयार रहेको बताउँदै नेपालीको जीवनस्तर उकास्नका लागि सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब आरएमबी उपलब्ध गराइने जानकारी दिनुभयो । नेपालमा कम्युनिष्ट पार्टीले शासन सम्हालेपछि गरेको विकासका लागि हार्दिक बधाई व्यक्त गर्दै चीनले शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तका आधारमा सम्बन्ध स्थापना गरेको र सबैका लागि सबैसँग मिलेर सम्बन्ध बलियो बनाउने प्रयास गरेको बताउनुभयो ।

उहाँले गरीबी निवारणका क्षेत्रमा चिनियाँ अनुभव सिक्न सकिने बताउँदै चीनमा यस्तो कार्य उद्देश्यअनुरुप भएको र ८० करोड मानिसलाई गरीबीबाट मुक्त गरिएको तथा सन् २०२० मा गरीबी पूर्ण उन्मूलन गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । उहाँले हिमालपार रेलमार्ग निर्माण गर्न कठिन भए पनि यसको निर्माणका लागि काम गरिने स्पष्ट गर्नुृभयो । उहाँले चीनले रेल निर्माणका क्षेत्रमा विश्वमै अग्रणी भूमिका खेलेको बताउँदै यसमा चरणबद्ध रूपमा काम गर्न सकिने बताउनुभयो ।

उहाँले नेपालले जलवायु परिवर्तनबाट भोगेको समस्याबारे चीनले जानकारी पाएको र समस्या समाधान गर्न संयुक्त रूपमा काम गर्न सकिने बताउँदै हिमाली क्षेत्रका बासिन्दालाई सरलरूपमा पुनःस्थापना गरी उनीहरूको जीवनस्तर उकास्न सकिनाका साथै सगरमाथाको उचाइ मापन संयुक्त रूपमा गर्न सकिने उल्लेख गर्नुभयो ।

उहाँले नेपाल भ्रमण वर्ष प्रवद्र्धन गर्न अभिप्रेरणा प्रदान गर्ने, राजनीतिज्ञ, सांसद र आमसञ्चारमा आदानप्रदान गर्न सकिने तथा सांस्कृतिक आदानप्रदान गरिने जानकारी पनि दिनुभयो ।

राष्ट्रपति सीले चीनको धेरै मुलुकसँग व्यापार असन्तुलन भएका स्थितिमा यसलाई समाधान गर्न सकिने विश्वास दिलाउँदै नेपालले प्रतिस्पर्धात्मक वस्तु निर्यात गर्न सक्ने बताउनुभयो । उहाँले नेपाललाई अन्तरराष्ट्रिय व्यापार एक्सपोमा सहभागी हुन आग्रह गर्दैै चीनका व्यापारीलाई नेपालमा ठूला र गुणस्तरीय लगानी गर्न अभिप्रेरित गरिरहेको बताउनुभयो । उहाँले संरक्षणवादको विपक्षमा मिलेर काम गर्न सकिने बताउँदै एशियाली आधारभूत संरचना लगानी बैँकबाट सहयोग लिन सकिने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा चिनियाँ राष्ट्रपतिले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो । त्यस अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, खानेपानी तथा सरसफाइमन्त्री तथा नेपाल र चीन सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । चिनियाँ राष्ट्रपति सी दुईदिने राजकीय भ्रमणका लागि आज अपराह्न काठमाडौँ आउनुभएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More