माथवरसिंह थापाका वंशवृक्ष ‘काफलबोटे काजी’ उपन्यासमा

15 December, 2019 14:40 | साहित्य | comments | 94350 Views

यादब देवकोटा

गाउँबाट शहर पसेर एउटा विशिष्ट श्रेणीको सरकारी कर्मचारीको भूमिका निर्वाह गर्दागर्दै नवराज थापाले आफ्नो जीवनको ऊर्जाशील समय सिर्जना गर्ने समय कुर्दाकुर्दै खर्च गरे । आफू जन्मे–हुर्केको गाउँको याद स्मृतिमा ताजा राख्दै त्यसलाई लिपिबद्ध गर्ने समयको पर्खाइमा रहेका थापाले अन्ततः त्यो समय जुराए अनि लेखे आफ्नै गाउँको सेरोफेरोलाई समेटेर ऐतिहासिक उपन्यास “काफलबोटे काजी” ।

हरेक मानिसको जीवनको अविस्मरणीय क्षण उसको बाल्यकाल हो । बाल्यकालमा बिताएका कति क्षण विस्मृतिमा परे पनि कतिपय जीवनपर्यन्त ताजा नै रहन्छन् । त्यसैले थापाले आफूले बाल्यकालमा भोगेका अनि आफ्ना अग्रजबाट सुनेका कथनहरुलाई समेटेर कृति तयार गरे “काफलबोटे काजी” । काजी भन्नासाथ अर्थ लगाउन सकिन्छ गाउँघरको एक किसिमको शासक । अब काजी यसमा पनि लेखकले आफ्नै वंशवृक्षहरुलाई कृतिको पात्र बनाएका छन् । लेखक स्वयं ‘काजी’ खानदानका भएकाले थापा काजीहरुले राष्ट्रलाई दिएको देनको चर्चा हुनु स्वाभाविकै हो ।

  

लेखक स्वयंले पुस्तकमा प्रस्ट भनेका छन्– “उपन्यासमा उल्लेख गरिएका सबै पात्रहरुको नाम वास्तविक छ र धेरै हदसम्म वास्तविकतामा आधारित छ । आफू जन्मेको ठाउँको विगतको सामाजिक अवस्था, परम्परा, सामाजिक मूल्य–मान्यतालाई उपन्यासको माध्यमद्वारा पाठकहरुसामु पस्किने कोसिस गरेको छु ।”

२०१६ साल मसिर १० गते काभ्रेपलाञ्चोक जिल्ला बेथान गाउँपालिका वडा नं. ६ भुग्देउमा स्व. मानबहादुर थापा र स्व. पदमकुमारी थापाका कोखबाट जन्मेका लेखक थापा राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान निर्देशकसम्मको जिम्मवारी निर्वाह गरेर अवकाश प्राप्त भएपछि आफ्नो गाउँठाउँको माया, स्मृति र इतिहासलाई आम पाठकसामु ल्याउने जमर्कोका साथ लागिपरेका छन् ।

उपन्यास “काफलबोटे काजी”कै जीवनको सेरोफेरोमा छ र त्यस क्रममा गाउँघरमा उतिबेलैदेखि चलिआएको धर्म परिवर्तनको लहरलाई लेखकले गज्जबसंग उजागर गरिदिएका छन् । गाउँघरमा कथित दलित भनिने समुदायलाई कसरी हिन्दु–बौद्धबाट इसाई बनाइन्छ भन्ने दृष्टान्त यो उपन्यासले उजागर गरेको छ ।

आधुनिक हुने प्रयास गरेको तर परम्परागत सम्पूर्ण पक्षबाट अलग पनि हुन नसकेको समयको सेरोफेरोलाई उपन्यासमा टपक्क टिपेर सार्वजनिक गरिएको छ । काफलबोटे काजी एउटा काल्पनिक नाम हैन भनेर लेखकले सुरुमै प्रष्टिकरण दिइसकेका छन् । र काजीको परिचय समेत खुलाइएको छ ।

“मुख्तियार भिमसेन थापा, बडाकाजी अम्मरसिंह थापा, प्रधानमन्त्री माथवरसिंह थापा र काजी नयनसिंह थापा जस्ता वंशका आत्रेय गोत्री बगाले थापाक्षेत्री पिता दिलबहादुर थापा र माता रमादेवीको कोखबाट वि.सं. १९६५ साल वैशाख २ गते काफलबोटे काजीको जन्म भएको थियो ।” यिनै काजीको जीवनलाई उपन्यासको सार बनाइएको छ ।

प्रस्तुत उपन्यास एउटा वंशवृक्षको स्तुतिगान पनि लाग्नसक्छ शीर्षक पढ्दा तर वास्तवमा त्यसो नभएर नेपाली ग्रामीण समाजको यथार्थ चित्र यसमा उल्लेख छ । समाजमा अहिले पनि अगुवाहरुको चर्चा हुन्छ र भैरहेको छ भने त्यतिबेला पनि हुन्थ्यो र ती त झन इतिहासका पात्र बनेका छन् । काफलबोटे काजी जन्मले मात्रै काजी थिए कि कर्मले पनि काजी बने । उनका बारेमा जान्ने इतिहासका जिज्ञासुहरुका लागि प्रस्तुत उपन्यास एउटा गतिलो सन्दर्भ सामग्री बन्नसक्छ ।

श्रीमती कल्पना थापा प्रकाशक रहेको ऐतिहासिक उपन्यास “काफलबोटे काजी”को मूल्य व्यक्तिगत रु. ३५० र संस्थागत रु. ५०० राखिएको छ । १ सय ६२ पृष्ठमा समेटिएको प्रस्तुत कृति जो कोहीका लागि पठनीय सामग्रीका रुपमा रहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More