मानव जीवन र प्रकृतिको अटुट सम्बन्धको पर्व हो साउने संक्रान्ति

17 July, 2019 12:37 | जल/वातावरण/स्वास्थ्य | comments | 14100 Views

 यादब देवकोटा

साउने संक्रान्ति अर्थात् कर्कट संक्रान्तिलाई वैदिक सनातन धर्मावलम्बीहरुका लागि विशेष दिन हो र यो दिनलाई एउटा उत्सवकै रुपमा मनाइन्छ, परम्परागत रुपमा चलिआएका विधि पूरा गरिन्छ । धार्मिक मान्यता र गणितीय हिसावबाट तिथि, बार, महिना, मसान्ति, संक्रान्ति, औंसी, पूर्णे लगायत जीवनशैलीमा महत्व राख्ने चाडपर्वहरुकै निरन्तरता हो साउने संक्रान्ति ।

adsads

साउन महिनाले चाडहरूलाई भित्र्याउछ र स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरूवात यहि दिनदेखि गरिन्छ । हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दू धर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ ।

ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्तिं) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ । यो दिन देखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणि गोलार्थ तर्फ प्रवेश गर्ने भएकोले दिनपछि छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ ।

यद्यपि प्रत्यक्ष सूर्योदय र सूर्यास्तका बीचको समयलाई दिनमान भनिन्छ । सबैभन्दा छोटोदिनबाट उत्तरायण र लामो दिनमान हुने दिनबाट दक्षिणायन शुरु हुनेकुरा विज्ञान सम्मत र शास्त्र सम्मत पनि कुरा हो । यसरी हेर्दा हाल चलन चल्तीको असार ७ गते बाट दिन छोटो हुँदै जाने र पौष ७ गतेबाट दिन लामो हुँदै जाने कुरा प्रमाणित हुन्छ ।

साउने संक्रान्ति मानो खाएर मुरी फलाउने असारमासको समाप्ति पनि हो । कृषिप्रधान मुलुक नेपालमा किसानहरुले महिनाभरि झरीमा रुझेर हिलोमा खेलेर रोपाई समाप्त गर्दछन् र आनन्दले चाडपर्व मनाउँछन् । यसका अतिरिक्त विभिन्न रोगव्याधी पनि लाग्ने सम्भावना भएकाले यो दिन विभिन्न वनस्पति जम्मा गरेर साँझ लुतो फाल्ने चलन छ ।

साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ । कुकुरडाइनो, कागभलायो, कुरिलो, सिस्नो, पानीसरो, देवीसरो, पुरेनी, धसिंगरे, गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आआफ्ना घर आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ ।

यसो गर्दा घर वरिपरी भएका रोगप्रसारक किटाणुहरु नास हुन्छ । जेजति सर्दामबाट लुतो फालिन्छ ती सबै औषधिय वनस्पति भएकाले यसलाई एउटा परम्परा मात्र नमानेर वैज्ञानिक दृष्टिले पनि अति महत्वपूर्ण छ भन्ने मान्यता अहिले स्थापित भैसकेको छ । परम्परागत रूपमा एक हिसाबले साउने संक्रान्तिको दिनबाट वर्षायामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ । यो दिन नासपाती, कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चढाई काण्डरक राक्षसको पूजा गरेमा दाद, लुतो, खटिराजस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने विश्वास छ ।

हाम्रा परम्पराहरु कुनै पनि हिसाबले अवैज्ञानिक र अव्यवहारिक छैन भन्ने कुरा त आधुनिक कालमा आएर प्रमाणित नै भैसकेको छ । जस्तो कि हामी तुलसी घरको मूल ढोेकानेर रोपेर हरेक दिन पूजा गर्छौं यसको कारण अहिले आएर स्पष्ट भएको छ कि तुलसी औषधिहरुको पनि राजा हो । त्यस्तै गाईको गहुँत घरमा छर्कने चलनलाई अन्धविश्वास भनियो । कालान्तरमा गहुँतमा कति गुण रहेछ भन्ने प्रमाणित भयो ।

तसर्थ हाम्रा सामाजिक पर्वहरु गुरु पूर्णिमा, मातातीर्थ औंसी, भाइ तिहार, माघे संक्रान्ति, सम्वतसर पडेवा, साउने संक्रान्ति, गंगादशहरा, नागपञ्चमी लगायतका चाडपर्व आफैंममा अति महत्वपूर्ण छन् । यी सबै जीवन र जगतको सुरक्षा र स्वचालनका लागि बसाईका नियम हुन् । एक किसिमले भन्नुपर्दा कानुन नै हो । आज यिनै नियमको पालना नगर्दा विश्वमा विपत्ति बढेको छ । प्रकृतिलाई सन्तुलनमा राख्न र मानवसमाजलाई निरोगी र सक्रिय बनाइराख्न वेदमा उल्लेख यस्ता विधिविधानहरुलाई दुत्कारेर यान्त्रिकृत बनेको मानवले आज जुन संकट भोग्दैगएको छ यसको कारण यही हो ।

वैदिक शास्त्रले मानव जीवनलाई सक्रिय र सफल बनाउन खान–पान, रहन–सहन, आचार–विचार र सांस्कृतिक सवै पक्षलाई समेटेर विधान नै बनाइदिएको थियो र यसलाई पुस्ता पुस्तामा हस्तान्तरण हुँदै आएकोमा आजभोलि यो प्रथाा हटेर आयातित शिक्षाले सांस्कृतिक अतिक्रमण सुरु भएको छ । अर्थात् पीढी शिक्षा पुस्ता–दरपुस्ता चल्दैआएको पूर्वीय जीवनशैलीको अभिन्न अंग ध्वस्त भएको छ ।

पाश्चात्य संस्कृति इशापश्चात् विकसित संस्कृतिले यस्ता कैयौं पक्षलाई रुढीवादी वा अन्धभक्ति र अवैज्ञानिक भनेर लाञ्छित गर्दै मानवअधिकार, प्रजातन्त्र, समानता र विकासको नाममा धार्मिक तथा सांस्कृतिक अतिक्रमण गरेर यसलाई नष्ट गर्ने प्रयास गरिरहे पनि उनीहरु सफल हुन सकेका छैनन् । यसको विपरीत तिनै देशमा हाम्रा सांस्कतिक पक्षहरुका अभ्यास हुन थालेको छ ।

अहिले पनि साउने संक्रान्तिमा फुलौरा पकाउने वा लुतो फाल्ने र सूर्य दक्षिणायन भएको प्रकृतिको सम्झना गर्ने तथा माघे संक्रान्तिमा घिउ, चाकु खाने सूर्य उत्तरायण भएको प्राकृतिक परिस्थितिकीय परिवर्तन अनुरुपको जीवनशैली व्यवस्थित गर्न उद्यत हुने तथा यस्ता समग्र कुराहरू पञ्चाङ्ग (पात्रो)मा लिपिवद्ध गरेर वर्षदिनकै जीवनशैलीको रुपरेखा प्रस्तुत गर्ने कार्य भएको यथास्थान यथामति स्मरणीय छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!