मेडिकल सामग्री लिन वाइडबडी चीन जाँदै- विदेशीको उद्धारका लागि आन्तरिक उडान जारी

28 March, 2020 14:14 | जन सरोकार | comments | 24450 Views

कोरोना संक्रमितहरुको उपचार तथा परीक्षणका लागि मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाज शनिबार मध्याह्न चीनको ग्वाङ्जाओ जाँदैछ । जहाज शनिबार राति नै करिब ३० टन मेडिकल सामग्री लिएर काठमाडौं फर्कनेछ ।

वाइडबडी ए–३३० जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ । मेडिकल कार्गो उडानका लागि निगमको वाइडबडी जहाजले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ ।

  

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निगमको वाइडबडी जहाज ग्वाङ्जाओ पठाउने सबै प्रक्रिया पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार वाइडबडी जहाज काठमाडौँबाट खाली जाने र शनिबार राति चीनबाट मेडिकल सामग्री लिएर फर्कने छ ।

निगमका अपरेशन विभाग प्रमुख क्या दिपु ज्वार्चनले निगमको वाइडबडी जहाज आज मध्याह्न चीन जाने र उताबाट मेडिकल सामग्री लिएर राति १०ः३० बजे नेपाल फर्कने जानकारी दिनुभयो । निगमको यो उडानमा चालकदलसहित १० प्राविधिक जनशक्ति खटिने उहाँले बताउनुभयो । ज्वार्चनले स्वास्थ्य मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह भएबमोजिम निगमले उक्त निर्णयलाई कार्यान्वयन गरेको उल्लेख गर्नुभयो ।

वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याउनेछ । चीनको वुहानमा रहेका नेपालीलाई उद्धारका लागि पनि निगमकै वाइडबडी जहाज प्रयोग गरिएको थियो । सरकारले कोभिड–१९ परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो ।

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले यही चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको छ । यो अवस्थामा आपतकालीन, कार्गो, उद्धारलगायत उडान मात्र हुनेछ । अहिले आन्तरिकतर्फ पनि लुक्ला पोखरालगायत गन्तव्यबाट विदेशी नागरिकको उद्धार उडान भइरहेको छ ।

आन्तरिकमा नौ उडान

विगत तीन दिनयता दिनहुँजसो त्यस्ता उद्धार उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । चैत १२ र १३ गते बुद्धएयर र यती एयरको भगिनी संस्था तारा एयरबाट उद्धार गरिएका युरोपेली मुलुकका नागरिकलाई शुक्रबार कतार एयरको चार्टर्ड जहाजले सम्बन्धित गन्तव्यतर्फ लगेको थियो । शनिबार पनि कतारको दोहाका लागि दुई उडान क्रमशः बिहान सबा १० र ११ बजे निर्धारण गरिएको विमानस्थलले जनाएको छ ।

यसैबीच लुक्लामा रोकिएका विदेशी नागरिकको उद्धारका लागि अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ नौ वटा उद्धार उडान हुँदैछन् । प्राधिकरणका अनुसार निगमका पाँच, तारा एयरको तीन र समिट एयरको एक उडान हुनेछ । त्यसका लागि केही ट्वीनअटर जहाज लुक्ला उडिसकेका छन् । निगमको वाइ–१२ जहाजले पनि आज काठमाडौँ–नेपालगञ्ज उडान भर्नेछ । यो जहाजले कोभिडका शङ्कास्पद बिरामीबाट सङ्कलन गरिएको खकारको नमूना लिएर काठमाडौँ फर्कने बताइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More