मेरी आमा

21 October, 2020 17:59 | बिचार | comments | 31500 Views

– सुजन केसी

रातपछिको उज्यालोले सबैलाई आनन्दको महशुस गराएको जस्तै, निरन्तरको वर्षापछि उघ्रिएको आकाश जस्तै हरेक मान्छेको जीवनमा पनि दुःख पछि सुखका दिन आउँछन रे । सूर्यले उज्यालो त दिए होला, आकाश पनि खुले होला तर मेरो पर्खाइमा दुःखी बनीरहेकी मेरी आमाको जीवनमा मेरो साथले अझै सुख दिन सकेको छैन् ।

  

आमाले मलाई र मैले आमालाई पल पलमा सम्झीरहेका हुन्छौँ । तर चाडबाड घर गाउँमा हुने सानातिना कर्मकाण्डमा झनै बढी ख्याल हुने रहेछ । म आमाको साथबाट परदेशीएको धेरै वर्ष भइसकेको छ । र परदेशीनुको कारण पनि यही थियो मेरा लागि दुःख झेलेकी मेरी आमालाई सुखको दिन खोज्नु ।

धेरै वर्षका दसैँमा तपाईँको हातबाट टीका र जमारा अनि कण्ठबाट आशिर्वाद लिन पाएको छैन् आमा । मलाई त अझै पनि परदेशीएर खोजीने सुख भन्दा तपाईँकै साथमा रहेर पाउने दुःखको खाजी छ । तर म बीचमा पर्छु फेरि । मलाई सुख भन्दा पनि तपाईँको हातबाट दसैँमा टीका लगाएर आशिर्वाद लिन मन छ । अनि तपाईँको बोलीबाटै ठुलो मान्छे बन्नु, बाबा आमालाई कहिल्यै नरुवाउनु भन्दै दिएको आशिस सुन्न मन छ । तर फेरि पनि तपाईँहरुलाईलाई एक्लै बनाई ठूलो चाड दसैँमा रुवाउँदै छु मेरी आमा । माफ गर्नुहोला है ।

परार साल आउँछु, पोहोर साल आउछु भन्दाभन्दै यो सालको दसैँमा त जसरी पनि आउँछु भनेर गरेको बाचा यो वर्ष पनि झुटो नै बन्यो । आमा माफ गर्नु तपाईंको छोराले फेरि तपाईंसँग झूट्यो बोल्यो । रहरले मात्र कहाँ हुदो रहेछ र चंगा जस्तै उडेको यो मनलाई बन्धनमा बाँधेर परदेशमा कर्तब्य पूरा गरिरहेछु ।

दशैँमा त आफ्ना ठुलाबडा मान्यजनबाट आशिर्वाद लिई आफ्ना सबै दुःख पिडा लुकाएर भए पनि हाँसेर रमाइलो गर्ने दिन हुन्छन् । हामीलाई त दुःख थियो नै तै पनि लुकाएर छिपाएर दसैंसंगै मनाउन पाएनौँ कस्तो अभागी भयौँ है आमा हामी ?

दिनभरिको काममा जति लखतरान भए पनि काम सकिएपछिको पहिलो नजर वा स्पर्श मोबाइल नै हो । अनि–सुख दुःख भुलाउने सहारा पनि । यसो फेसबुक खोल्यो उही रमझमका तस्बिर अनि दसैँको कुरा र तस्बिर मात्र देख्छु मेरी आमा । दैनिकी सधैँको उस्तै थियो । कुनै चाड होस् या सामान्य दिन, जापानमा कामको रफ्तार सधैंको उस्तै । घर र आफन्त सम्झँदा त झोला बोकेर अहिले नै घर जाउँ जस्तो नलागेको कहाँ हो र ? तर रहर लागेका सबै कुरा पूरा हुने त कल्पनामा पनि रहेन् । मेरा बाबा मेरी आमा घरको माया नभएको त कहाँ हो र ? तर फर्की आउन ऋणले दिँदैन् ।

अब मसँग एउटै मात्र विकल्प छ आमा यसपालीको दसैँको लागि त्यो सोचेको कुरा पूरा हुने भएमा मात्र । नेपाली समय अनुसार असोज १० गतेका दिन बिहानको शुभ साहितमा म निद्रामा परुँ, त्यही बेलामा एउटा सपना देख्न पाउँ । जहाँ म पूर्वतर्फ फर्केर टीका थापिरहेको हुँ । आमाको छेवैमा दहीमा मुछेका राता टीका र जमरा हुन् । आमाले शुभ साहित घर्किन्छ भन्दै मलाई बोलाएर टीका लगाउँदै त्यहीँ गाउँमा चल्ने गरेको ‘आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे, ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।। सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते, विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।’ भन्दै आशिर्वाद दिनुभएको होस ।

(कुस्मा नगरपालिका–८, चुवा, पर्बत , हाल फुकुओका जापान)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More