म्याग्दीका पहिरो पीडितको पीडा : टहराको बास र मागेको गाँस कहिलेसम्म ?

28 September, 2020 13:46 | जन सरोकार | comments | 19500 Views

चारैतिर फैलिएका हरिया पहाड, दायाँ र बायाँतर्फ वर्षात्को भेल उर्लेर आउने ठूलो र सानो खोला । यही केही भिरालो जमिनमा अवस्थित थियो म्याग्दीको मराङ गाउँ । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मा पर्ने मराङ ब्राह्मण, क्षेत्री, दलितलगायत धेरै जनजातिको मिश्रित वसोवास रहेको एक उदाहरणीय गाउँ हो । समुद्री सतहदेखि करिब दुई हजार ६०० मिटर उचाइमा रहेका घण्टीबाङ, रिख, अरवाङ, राम्चे, पन्थोक, ठूलो गाउँ, कल्लेनी, गुल र धौलागिरि गाउँपालिकाको वडा नं ५ का मल्काबाङ मराङका छिमेकी गाउँहरू हुन् ।

प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण यो गाउँ कृषि उपज र वनसम्पदाको पनि उर्वर भूमि हो । मराङ जातीय तथा सांस्कृतिक विविधतामा सिंगारिएकोे पौरखी गाउँ । नेपालको एक पुरानो लोकलय सालैजो भाकाका एक सुप्रसिद्ध गायक खड्ग गर्वुजाको जन्म गाउँ हो मराङ ।

  

यति सुन्दर यो गाउँ अहिले भौतिक र मानसिक रुपमा पनि क्षत्विक्षत् अवस्थामा छ । गत असार २५ गतेको भिषण पहिरोले यो गाउँमा ल्याएको विपत्तिले यसको सुन्दर र भौतिक बनावटलाई नै घायल बनाएको छ । कुनै युद्धपछि बाँकी रहेको भग्नावशेषजस्तो पहिरोले यो गाउँको भौतिक बनावट त बिगारिदियो नै यसले सिंगो गाउँलाई नै मानसिक रुपमा पनि घाइते बनाइदिएको छ ।

यस्तै अवस्थामा छ मालिका गाउँपालिका वडा नं ७ मा पर्ने बिम गाउँ पनि । यी दुवै गाउँपालिकाका तीनवटा वडामा एकैदिन, एकै समयमा गएको पहिरोमा परेर ३१ जनाको ज्यान गएको थियो भने एक सय जनाभन्दा बढी पूर्णरुपमा विस्थापित भएका छन् ।

पहिरोमा परेर ज्यान गुमाएका त गए नै जीवित रहेका उनीहरूका आश्रित र घर जग्गा गुमाएर विस्थापित बनेकाहरूको अवस्था अहिलेसम्म पनि अत्यन्त दयनीय छ । मनसुन रोकिनुको सट्टा अझै बढ्दै छ, वर्षा जार िछ । पाल र टिनको छाप्रोमुनि दिन विताइरहेका पहिरो पीडितहरू सकसमा छन् । उनीहरूका आँखामा आफन्त र सम्पत्ति गुमाउनु पर्दाको पीडा अझैसम्म पनि छचल्किइरहेको छ ।

भएको जग्गा जमिन, दुःख गरेर आर्जेको घर परिवार र ओतलाग्ने घर समेत पहिरोमा परेर बगेपछि मराङका करिब ७० परिवार सुरक्षित मानिएको अग्लो ठाउँ र जङ्गल नजिकको बस्तीमा पाल टाँगेर र टिनको छाप्रो बनाएर बसेका छन् । सरकार, मनकारी व्यक्ति र देश विदेशमा रहेका विभिन्न संघसंस्थाहरूले दिएको सहयोगका सहारामा दुःखका दिन काटिरहेका छन् ।

पहिरोमा आफ्ना चार सन्तान गुमाएकी मराङ राम्चेकी ४७ वर्षीया चनमति लामगाडे भन्नुहुन्छ “चार सन्तानको सास त दैवले चुड्यो, बाँकी बचेका चार जनाको टहरोको बास र थापेको गासमा चल्दै छ सास ।”

उहाँले मागेको गास र टहरोको बासबाट कहिले मुक्ति पाइएला भनेर प्रश्न गर्नुभयो । उता वडा नं ७ को ताकम र धारापानीको अवस्था पनि त्यस्तै छ । मालिका गाउँपालिकाको बिम र धौलागिरी गाउँपालिकाको मराङ र धारापानीका वासिन्दाहरूले पुनस्र्थापनाको माग गरेका छन् ।

प्रकृतिमा नै आश्रित रहेका यहाँका सर्वसाधारणहरू प्रकृतिकै रिसाहा व्यवहारले वर्षाको झरीसँगै खुल्ला आकाशमा त्रिपालको सहारामा बाँच्न बाध्य छन् । साढे दुई महिनाको नवजात शिशुलाई काखमा च्यापेर रातको समयमा पहिरो छिचोल्दै ज्यान बचाउन सफल मराङको राम्चे गाउँकी सविना विश्वकर्माले राहतभन्दा पनि जतिसक्दो चाँडो पुनर्वासको व्यवस्था गरिदिन सरोकारवालाहरूसँग माग गर्नुभयो ।

पुनर्वासको माग विश्वकर्मा र लामगाडेको मात्रै होइन गत असार २५ गते राति आएको भिषण पहिरोमा आफन्तजन र भएको धन गुमाइ अहिले पाल टाँगेको टहरो र आफन्तकोमा बस्दै आएका पश्चिम म्याग्दीका १ सय जनाभन्दा बढी पहिरो पीडितहरूको सामूहिक माग हो ।

पहिरोले घर बास उठाएको दुई महिना बितिसक्दा पनि मराङ र बिमका पहिरो पीडितहरूको पुनर्वासको प्रबन्ध हुन सकेको छैन । स्थानीय तह, प्रदेश सरकार, जिल्ला भित्रका संघसंस्था, परोपकारी व्यक्ति र मनकारी प्रवासी म्याग्देलीहरूको सहयोगमा उनीहरूलाई खान र लगाउनको समस्या नभए पनि व्यवस्थित बस्ने बास नहुँदा राहतवापत पाएको नगद र खाद्यान्नले मात्र बाढी पहिरो पीडितहरूले चित्त बुझाउन सकेका छैनन् ।

मराङ रिखका धनवहादुर जुग्जालीले विपद्को समयमा मनकारी व्यक्ति, संघसंस्था र सरकारले राहत रकम र सामग्री उपलब्ध गराएको तर अझसम्म पनि टहरो र खुला स्थानमा पहिरो पीडितहरू बस्न बाध्य भएको बताउँदै चाँडै बासको व्यवस्था गरिदिन सम्वन्धित सरोकारवालाहरूलाई अनुरोध गर्नुभयो ।

अहिलेसम्म पनि मराङ र बिमका पहिरो पीडितहरूका गहमा आँशु टिल्पिलाइरहेका छन् । परिवारजन र चलअचल धन एकै पटक गुमाउन पुगेका उनीहरू सुकुम्वासी नै भएका छन् । कतिपयको त घर बनाउने घडेरी समेत छैन ।

धौलागिरि गाउँपालिकाको मराङ, ताकम र धापानी, मालिका गाउँपालिकाको देवीस्थान र बिमका पहिरो पीडितहरूका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट अहिलेसम्म राहत रकम र सामग्रीबाहेक पुनर्वासको विषयमा खासै पहल हुन नसकेको पीडितहरूले बताएका छन् ।

“अब जाडो शुरु हुन थाल्यो, पुस माघ तिर यहाँ हिउँ पर्छ, त्यतिन्जेलसम्म पनि बासको व्यवस्था भएन भने हामी त जाडोले कठ्याङ्ग्रियर नै मर्छौं” धवलागिरि गाउँपालिका ७ ताकमका मनबीर विटालुले भन्नुभयो “खान नपाए बरु मागेर गुजारा चलाउला, बस्ने वासै नभए पछि त कसरी बाँच्नु र ?”

पहिरो पीडितलाई वासको व्यवस्था गर्न स्थानीय तहका जनप्रतिनिधिहरू पनि लागि परेका छन् । तर उनीहरूको पहलमा मात्रै यतिधेरै पहिरो पीडितहरूलाई व्यवस्थित गर्न समस्या भएको छ । जनप्रतिनिधिहरू भन्छन् “वस्ने बासको मात्रै कुरा भएन, खानेपानी, शौचालय, हिड्ने बाटोलगायतका अन्य संरचनाहरू पनि आवश्यक पर्छन्, उपयुक्त स्थानको हामीले खोजी गरिरहेका छौँ ।”

धौलागिरि गाउँपालिका ६ मराङका वडाअध्यक्ष राजाराम सुवेदीले पहिरो पीडितहरूका लागि एकीकृत पुनर्वासको व्यवस्था गर्ने की अलग अलग ठाउँमा राख्ने भन्ने कुरामा नै अन्योल भएको बताउनुभयो । उहाँका अनुसार कतिपय पहिरो पीडितहरूको घडेरी समेत नभएकाले एकीकृत पुनर्वासको अवधारणा ल्याइए पनि कतिपय आफ्नै घडेरीमा बस्न चाहेकोले समस्या भएको छ । घडेरी समेत नभएकाहरूका लागि उचित स्थानको खोजी भइरहेको उहाँको भनाइ छ । उहाँका अनुसार मराङमा मात्रै ६ सय रोपनीभन्दा बढी खेतीयोग्य जमिन पहिरोले पुरेको छ । त्यसैगरी पूर्ण क्षति भएका ३० परिवार, आंशिक क्षति भएका १७ र ११० घर परिवार अझै पनि उच्च जोखिममा रहेका छन् । अझैसम्म पनि वास्तविक क्षतिलाई आर्थिक रुपमा मूल्याङ्कन गर्न नसकिएको उहाँले बताउनुभयो ।

सोही गाउँपालिकाका अध्यक्ष थमसरा पुनले पहिरो पीडितहरूको अवस्था देखेर आफूलाई रातदिन पिरलिरहेको बताउँदै समस्या समाधानका लागि पहल भैरहेको तर टुंगोमा पुग्न नसकिएको बताउनुभयो । उहाँले यही असोज ९ गते गाउँपालिकामा यही विषयमा छलफल हुने र एउटा टुंगोमा पुग्ने जानकारी दिनुभयो ।

उता मालिका गाउँपालिका ७ बिमका वडाध्यक्ष रेशम जुग्जालीले पहिरोमा घर र आफन्त गुमाएका पीडितहरूलाई अझै केही दिन धैर्य गर्न अनुरोध गर्दै वर्षा सकिएलगत्तै पीडितहरूलाई बासको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले तत्कालका लागि गाउँपालिकाको पहिलो प्राथमिकता बिम र देविस्थानका पहिरो पीडितहरूका लागि पुनर्वासको व्यवस्था नै रहेको बताउनुभयो । “पहिरो पीडितहरूको समस्या समाधानमा हामी लागि परेका छौँ, आर्थिक स्रोत र जग्गा व्यवस्थापनको काम हुँदैछ, उहाँहरूको समस्या समाधान गर्छौँ” अध्यक्ष रोकाले भन्नुभयो ।

स्थानीय जनप्रतिनिधि पुनर्वासको व्यवस्था मिलाउन लागिपरेका भए पनि प्रदेश र सङ्घीय सरकार भने उदासिन देखिएको बाढी पहिरो पीडितहरूको भनाइ रहेको छ । सरकारले केही दिन अघिमात्र मालिका र धवलागिरि गाउँपालिकाका बाढी पहिरो पीडितहरूका लागि रु ३५ लाख राहत उपलव्ध गराएको छ ।

सरकार र दाताहरूले दिएको राहत सामग्री र बजारमा किनेको खाद्यान्नले खानेकुराको समस्या नभए पनि सुत्केरी र नवजात शिशुहरूलाई पोषणयुक्त खानाको अभाव भने यथावत नै छ । मराङको एउटै गाउँमा चार जना सुत्केरी महिलाको घर र जग्गा पहिरोले बगाएको छ । पोषणयुक्त खानेकुरा खान नपाउँदा उनीहरू कुपोषणको शिकार हुने खतरा रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

“यहाँ न फलफूल पाइन्छ, न तरकारी र दही दूध नै । राहतस्वरुप प्राप्त गरेको पैसा भएर पनि किनेर खुवाउन सकिएको पनि छैन, घरमा उत्पादन गर्ने न घर छ, न त जग्गा नै” मराङ राम्चेकी साढे दुई महिनाकी सुत्केरी सविना विश्वकर्माले भन्नुभयो ।

साँघुरो पालभित्र चार÷पाँच जना जाहान परिवारको साथमा असजिलो गरी बस्नुपर्दा पीडितहरू निसास्सिएका छन् । यसरी बस्न थालेको पनि दुई महिना बढी भएको छ । लामखुट्टे र किरा फट्याङ्ग्राहरूको टोकाइबाट बच्न सानो झुल टाँगेको ओछ्यान र ओछ्यानकै एक छेउमा खाना पकाउने भाँडाकुँडा र अगेनो छ ।

“नजिकै रहेको अस्थायी शौचालयबाट ह्वास्स गन्ध आउँछ, खाना खानै मन लाग्दैन, वरिपरि केटाकेटीहरूले दिशा पिसाब गरेर दुर्गन्धित बनाएका छन् । न गतिलो बास, न त गतिलो खाना । कति दिन चल्ला यसरी ?” टहरामा बस्दै आएका मनवीर विटालुले सुनाउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More