यसकारण महत्वपूर्ण छ मातृभाषाको शिक्षा…

30 January, 2020 13:29 | बिचार | comments | 102000 Views

– गीता श्रेष्ठ

बालबालिकालाई अक्षर चिनाउँदा मातृ भाषा हुँदै राष्ट्रभाषा अनि विश्वमा प्रचलित भाषाबाट गराउँदा यसले बालबालिकामा आफ्नोपनको आभाषा हुनेछ र उसको अध्ययनको गहिराई बढ्नेछ । शिशुले जन्मनासाथ बोल्ने बोल्ने पहिलो शब्द ‘मामामा…’ हो । यसको अर्थ आमा हुन्छ । सं

संसारको जुनसुकै देश र भाषीका शिशुले बोल्ने पहिलो शब्द नै त्यही हो । यही भाषा विश्वभरका मानवको मातृभाषा हो । अत्याधुनिक शिक्षा भनिए पनि परम्पराको बिडो थाम्दै शिक्षालाई व्यापार बनाएर भाषिक विकृति भित्र्याउने होडबाजीकाबीच आयातित शिक्षा र भाषालाई प्राथमिकता दिएर अरुले घोकाइदिएको पाठबाट कसको क्षमता कति वृद्धि होला ? मननीय कुरा के हो भने हामी राष्ट्र र मातृ भाषा अनि देशको इतिहास, परम्परा, धर्म, संस्कृतिलाई प्राथमिकता दिएर सोही अनुसारको शिक्षा दिन सकन सक्दैनौं ?

  

हामीले समयको धारअनुसार अघि बढ्ने नाममा केही विकृतिहरु भित्र्याएका छौं । यही विकृतिको दलदलमा नेपाली शिक्षाक्षेत्र फसेको छ । अर्थात् शिक्षा वस्तु खरीद–विक्रीको जस्तो व्यापारिक भएको छ र शिक्षाका विषयमा विविध कोणबाट अनेक व्याख्या, विश्लेषण र बिधि आआफ्नो स्वार्थका लागि अपनाइन्छन् । यसै भएर नेपालको शैक्षिक गुणस्तर कमजोर बन्दैगएको छ । आफ्नो भाषा, आफ्नो धर्म, संस्कृति, संस्कार अनि रीतिरिवाजका विषयमा मातृ भाषामा शिक्षा दिइदैन । केवल विदेश निर्यात गर्ने बस्तु जस्तो गरी तयारी गरिन्छ । यो आजको विडम्बना हो ।

जबसम्म हामीले आफ्नो भाषा, संस्कृति र इतिहासमा बालबालिकालाई शिक्षित बनाउँदैनौं तबसम्म शिक्षित जनशक्ति तयार हुँदैन । अरुको भाषा, अरुको इतिहास पढेर विद्वान भएकाहरुबाट देशले के पायो भन्ने त देखिएकै छ नि ! यस्तो ज्ञानले मानिसलाई देशभक्त पनि बनाउँदैन र मानवीय गुणले युक्त पनि हुँदैन । त्यसैले शिक्षामा भाषाको ठूलो महत्व छ । आज डिवम्बना नै भन्नुपर्छ– मौलिक शिक्षा पद्धतिको साटो आधुनिक शिक्षा नीति लिएपछि अहिले शिक्षामा लगानी बालुवामा पानी बन्न पुगेको छ । नेपाल किन विकसित भएन भन्ने सवालको उत्तर पनि यही छ । युवावर्गलाई त्यस्तो शिक्षा नै दिन सकिएको छैन ।

हामीले आफ्नो इतिहास बालबालिकालाई पढाउनै सकेनौं, पढाउनै चाहेनौं, किनभने हामी आयातित शिक्षा र अरुको भाषालाई बढी महत्व दिएका छौं । नेपाली भाषा, नेपालको इतिहास विदेशीले लेख्नुपर्ने अवस्थामा हामी पुगेका छौं । यसमा दोष कसको ? हाम्रो आफ्नै दोष कति ? किन हामीले नपाली भाषालाई मात्र औपचारिकतामा सीमित गर्‍यौं ? किन हामीले संस्कृतका पुस्तकमा आगो झोस्यौं ? संस्कृत पढ्ने र पढाउने दायित्व किन लिएनौं ? मूल प्रश्न यही हो । आज संसार संस्कृत भाषाको ज्ञानबाट धन्यधन्य भए भन्दै यसको वकालत गरिरहेका बेला हामीले संस्कृत विश्वविद्यालयमा बम पढ्कायौं । अनि आयातित भाषामा शिक्षा लिएर विदेशीका लागि श्रमिक तयार गर्दछौं ।

जबसम्म पुर्खाका राम्रा कर्महरुको ज्ञान भविष्यका कर्णधारहरुलाई दिंदैन, जबसम्म हामीले हाम्रा सन्ततिलाई आफ्नो भाषामा निपूर्ण बनाउँदैनौं तबसम्म हामीले सन्तानलाई विदेशी भाषाको डिग्री दिएर मात्र शिक्षित भए भनेर गर्व नगर्दा हुन्छ । त्यस्तो शिक्षाले हामीले हाम्रा सन्ततिलाई संस्कारी बनाउन सक्दैनौं । हामीले हाम्रा भविष्यका कर्णधारलाई सदाचारी, सुसंस्कारी र कर्तव्यबोध गराउने शिक्षा दिन थाल्ने हो भने हामीले शिक्षण संस्था संचालन गरेको र शिक्षण पेशामा संलग्न हुनुको सार्थकता झल्कन्छ ।

जबसम्म मानिस सदाचारी र कर्तव्यबोध गर्ने बन्दैन हाम्रो समाज पनि माथी उठ्न सक्दैन । त्यसका लागि शिक्षा नै पहिलो खुड्किलो हो । त्यस्तो शिक्षामा मातृभाषा पहिलो प्राथमिकता हो । देशको इतिहास, नैतिकज्ञान र समाजप्रति जिम्मेवार बनाउने शिक्षा आयातित भाषाले मात्र दिंदैन । यसमा मातृभाषा नै शक्तिशाली पक्ष हो । अरुले के गरे भन्दा पनि हामीले के गर्‍यौं भनेर मनन गर्ने हो भने देखासिकी गर्दागर्दै समय व्यतित भैरहेको छ । कमसेकम नेपाली भाषा र इतिहासलाई पाठ्यक्रमको नियमित अभ्यासमा मात्र सीमित नगरी विशेष महत्वका साथ अतिरिक्त समय दिएर भए पनि अनिवार्य र प्राथमिकताका आधारमा शिक्षा दिने हो भने त्यो इतिहासमा स्वर्णिम पक्ष बन्नेछ ।

शिक्षाले मानिसलाई कस्तो बनाउँछ ? शिक्षित मानिस कस्ता हुन्छन् भन्ने दृष्टान्त आजका बालबालिकालाई दिनु आवश्यक छ । सप्तर्षिदेखि सयौं महर्षिहरुको महिमा किन आजसम्म भैरहेको छ । उनीहरुले अंग्रेजी पढेर विद्वान–वैज्ञानिक भएका हैनन् । मातृभाषा (संस्कृत) पढेका हुन् र विश्वदेखि ब्रह्माण्डसम्मको ज्ञान राख्ने मात्र हैन आजको मानिसलाई ज्ञान–विज्ञानको ठोस तथ्य पत्ता लगाएर छाडिदिए । यस्ता पात्रहरुका बारेमा, उनीहरुको अध्ययन, चिन्तन–मननका विषयमा आजका बालबालिकालाई पढाउनैपर्छ, सिकाउनैपर्छ । बाहिरी दुनियाँका ऐतहासिक पात्रहरुको मात्र अध्यापन गराएर हामीले आफ्नोपनमा आफैंले प्रहार गरिरहेका छौं । राष्ट्रिय गौरबगाथा विस्मृतिको गर्तमा पुरिरहेका छौं । आजको समस्या यहीँ हो । देशभक्ति हराउँदै गयो, राष्ट्रियता मर्दैगयो, मानवीय भावना तिरस्कृत हुँदै गयो । यसको कारण भाषा र इतिहासमाथिको खेलवाड हो । अब त्यसो नगरौं ।

(लेखक उर्सा मेजर चिल्ड्रेन्स एकेडेमीका संचालक सदस्य हुनुहुन्छ)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More