यस्तो छ- भगवान शिवको महिमा र पशुपतिनाथको दुर्लभ तथ्य (भिडियो)

21 February, 2020 12:21 | कर्पोरेट/पर्यटन | comments | 58350 Views

वैदिक सनातन धर्म अनुसार भगवान शिवलाई शान्ति र कल्याणको प्रतीक मानिन्छ । कुनै पनि कामको सुरुवात गर्दा शिवशंकल्प गरेर गर्नुको कारण सबैको कल्याणका लागि हो र आज तिनै देवादिदेव महादेव अर्थात शिव प्रकट हुनुभएको दिन हामी हिन्दु धर्मावलम्बीहरुका लागि विशेष महत्वको दिन पनि हो ।

शिवरात्रिका दिन विश्वभरका हिन्दुहरुका आराध्यदेव पशुपतिनाथमा लाखौं भक्तजन देश विदेशबाट दर्शन गर्न आइपुग्छन् ।

पशुपतिनाथको महत्व थाहा पाउन हेर्नुहोस् यो भिडियो

  

भगवान् शिवजी सर्वप्रथम यस लोकको दृष्टिगोचरमा प्रकट हुनुभएको समय नै शिवरात्रि हो। फाल्गुण कृष्णपक्ष चतुर्दशी तिथिको मध्यरात्रिमा करोडौं सूर्यसमान कान्ति भएका ज्योतिर्लिंग स्वरूप भगवान शिव उत्पत्ति हुनुभएको वृत्तान्त शास्त्रहरूमा छ। हिन्दुहरूका आराध्य देव भगवान् शिवलाई चाँडै प्रसन्न तुल्याउन सकिने हुँदा ‘आशुतोष’ भनी पूजा–आराधना गरिन्छ। भगवान् स्वयं प्रकट हुनुभएकाले उक्त पवित्र रात्रिलाई महाशिवरात्रि भनिएको हो।

भगवान् शिव अनादि, अनन्त, सर्वव्यापक र सनातन हुनुहुन्छ। सम्पूर्ण चराचर जगतको सृष्टि, पालन र संहारका निमित्त ब्रह्मा–विष्णु–महेश त्रिविध स्वरूपधारी भगवान शिव नै हुनुहुन्छ। सर्वप्रथम ज्योतिर्लिंग स्वरूपमा यस लोकको दृष्टिगोचरमा प्रकट हुनुभएको रात्रि भएकाले शिवरात्रि मानवमात्रका लागि अत्यन्त पवित्र मानिन्छ।

महाशिवरात्रि भगवान् शिवको आराधना गर्ने प्रमुख दिन हो। मानिसहरूको कल्याण गर्ने शिवरात्रिसमान अन्य कुनै व्रत छैन। यसबाट मानिसहरूलाई उत्तम धर्म प्राप्त हुन्छ। निष्काम अथवा कामनासहित कर्म गर्नेहरूलाई यो व्रत उत्तम मानिएको छ। सबै वर्णाश्रममा रहने व्यक्तिले श्रद्धापूर्वक शिवरात्रिको व्रत गर्नाले मनोकांक्षा तत्काल प्राप्त गर्ने सामर्थ्य प्राप्त हुन्छ भनी शिवमहापुराणको कोटिरुद्रसंहितामा यसरी भनिएको छ–

शिवरात्रिव्रतादन्यन्नास्ति नृणां हितावहम् ।
एतत् व्रतं तु सर्वेषां धर्मसाधनमुत्तमम् ॥
निष्कामानां सकामानां सर्वेषाञ्च नृणां तथा ।
वर्णानामाश्रमाणाञ्च स्त्रीबालानां तथा हरे ॥

भगवान् शिवतुल्य आशुतोष अन्य देवता छैनन्। त्यसैले आफ्ना आराध्य देवको पूजा–उपासना गर्न दिनविशेष पर्खनु पर्दैन। जो सदा सत्य, जगतका आधार, निर्विकार र करुणासागर हुनुहुन्छ, वहाँको आराधना गर्न समयको कुनै पावन्दी छैन, प्रत्येक क्षणलाई शुभमूहुर्तका रूपमा लिन सकिन्छ।

जसको वेदका मन्त्र तथा उपनिषद्, रामायण, महाभारत र पुराणका अनेकौं पद्यहरूमा महिमा वर्णन र स्तुति गान गरिएको छ, वहाँ सर्वव्यापक र सर्वशक्तिमान् हुनुहुन्छ। व्यक्त रूपमा सगुण ईश्वर र अव्यक्त रूपमा निर्गुण ब्रह्म हुनुहुन्छ। शम्भव, मयोभव, शङ्कर, मयस्कर, शिव, रुद्र, परमात्मा, जगदात्मा, उमापति, पशुपति आदि हजारौं नामले सम्बोधित भक्तवत्सल आशुतोष भगवान् शिव आधिदैविक, आधिभौतिक र आध्यात्मिक त्रिविध तापलाई हरण गर्नेवाला हुनुहुन्छ।

जब सत्य युगमा समुद्रमन्थनका क्रममा निस्किएको हलाहल विषको भीषण ज्वालाबाट समस्त प्राणी जल्न लागे, त्यो देख्नासाथ भयाक्रान्त प्रजापतिहरूले आशुतोषको प्रार्थना गरे। तत्काल करुणासागर शिवले उक्त विष हातमा लिएर पान गरी कण्ठमा धारण गर्नुभयो। विषको दाहले भगवानको कण्ठ नीलो हुनपुग्यो र नीलकण्ठ नामले प्रसिद्ध हुनुभयो।

निगमशास्त्र (श्रुति) का उपदेशक तथा प्रतिपाद्य भगवान् विष्णु हुनुहुन्छ भने आगमशास्त्र अर्थात् तन्त्रका उपदेष्टा र आराध्य भगवान् शिव। यज्ञ र तपका पर्याय क्रमश: भगवान् विष्णु र शिव हुनुहुन्छ। यज्ञरूप भगवान् विष्णु परम शैव र तपस्वरूप भगवान् शिव परम वैष्णव हुनुहुन्छ। भगवान् विष्णु तपस्वीहरूका सेवक, रक्षक हुनुहुन्छ भने भगवान् शिव यज्ञका उच्छिष्ट भोजी।

भगवान् शंकरका अनेक रूप छन्, नाम अनन्त छन् र चरित्र पनि अनन्त छन्। मन्यु, मनु, महिनस, महान्, शिव, ऋतध्वज, उग्ररेता, भव, काल, वामदेव र धृतव्रत भगवानका एकादश रुद्ररूप हुन्। सद्योजात, वामदेव, अघोर, तत्पुरुष र ईशान भगवान शिवका पाँचवटा मुख हुन्। यी मध्ये सद्योजात पश्चिमतर्फ, वामदेव उत्तरतर्फ, अघोर दक्षिणतर्फ, तत्पुरुष पूर्वतर्फ र ईशान आकाशतर्फ फर्किएका छन्।

सम्पूर्ण विद्या तथा कलाका आदि आचार्य भगवान् शंकर हुनुहुन्छ। माहेश्वरसूत्रबाट व्याकरणको उत्पत्ति भएको हो। संगीत भगवानकै डमरु नादबाट उत्पत्ति भएको हो भने नृत्यका विधायक उनै नटेश्वर भगवान् हुनुहुन्छ। आयुर्वेद, धनुर्वेद आदि समस्त ज्ञान भगवान् शिवबाटै देवता र लोकले प्राप्त गरेको शास्त्रप्रमाण छ।

पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्त्व वर्णन गरिएको छ। यी मध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रि को विशेष महत्त्व छ। सम्पूर्ण दीनदुःखी र संकटले घेरिएका प्राणीहरूको हृदयमा वास गरी कल्याण गराउने आशुतोष भगवान् शिवको सर्वप्रिय रात्रि भएकाले यसलाई महारात्रि पनि भनिन्छ।

जो वेद र ओमकारको उद्गम हुनुहुन्छ, उनै करुणावतार भगवान् पशुपतिनाथलाई आफ्ना आराध्यका रूपमा प्राप्त गर्नु हामी नेपालीहरूकै सौभाग्य हो। महाशिवरात्रि पर्वमा भगवान् शिवको मन्दिर, मूर्ति र शिवलिङ्ग रहेका स्थानमा भव्यरूपले पूजाआजा गर्ने विधान छ । त्यसैले काठमाडौँमा अवस्थित श्रीपशुपतिनाथको दर्शन र पूजन गर्न लाखौँ भक्तजन देशविदेशबाट आउँछन्।

व्रतहरूमध्ये सर्वोत्कृष्ट मानिएको महाशिवरात्रि का दिन भक्तहरूले शुद्ध भई शिव मन्दिरमा सभक्ति पूजा–आराधना गरी व्रत बस्ने र भगवान् शिवका प्रिय वस्तुहरू दूध, धतुरो, बेलपत्र आदि चढाउने गर्छन्। यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्रजप गर्दा पनि कामना सिद्धि हुनुका साथै आजीवन सुखैश्वर्य र मृत्युपश्चात् शिवलोक प्राप्त हुने विश्वास गरिन्छ।

शिवरात्रिमा पूजा, उपवास र जागरणको विशेष महत्त्व बताइएको छ। यस दिन नित्यकर्मबाट निवृत्त भई स्नानपश्चात् भगवान् शिवको ध्यान, जप, कथा वाचन, श्रवण तथा परहितलायकका सुकर्महरू गरी कालयापन गर्नुपर्दछ। रात्रिमा निर्जल तथा निराहार व्रत, रात्रि जागरण, चारै प्रहरमा पूजा, शिवलिंगमा अभिषेक र शिव महिमा गायन शिवपूजनका मुख्य कर्म मानिन्छन् ।

शिवरात्रि – महाशिवरात्रि – पूजाविधि
शिवरात्रि मा रातका चारै प्रहरमा भगवान् शिवको पूजा गर्ने विधान छ । पत्येक प्रहरमा षोडषोपचारले पूजा गरी प्रार्थना गरेर विशेष अर्घ्य दिनुपर्छ।

प्रार्थना मन्त्र (शिवमानसपूजा)
रत्नैः कल्पितमासनं हिमजलैः स्नानं च दिव्याम्बरं ।
नानारत्न–विभूषितं मृगमदामोदाङ्कितं चन्दनम्
जाती–चम्पक–बिल्वपत्र–रचितं पुष्पं च धूपं तथा ।
दीपं देव दयानिधे पशुपते हृत्कल्पितं गृह्यताम्‌ ॥१॥

सौवर्णे नवरत्नखण्डरचिते पात्रे घृतं पायसं ।
भक्षं पञ्चविधं पयोदधियुतं रम्भाफलं पानकम्‌ ॥
शाकानामयुतं जलं रुचिकरं कर्पूरखण्डोज्ज्वलं ।
ताम्बूलं मनसा मया विरचितं भक्त्या प्रभो स्वीकुरु ॥२॥

छत्रं चामरयोर्युगं व्यजनकं चादर्शकं निर्मलं ।
वीणा–भेरि–मृदंग–काहलकला गीतं च नृत्यं तथा ॥
साष्टाङ्गं प्रणतिः स्तुतिर्बहुविधा ह्येतत्समस्तं मया ।
सङ्कल्पेन समर्पितं तव विभो पूजां गृहाण प्रभो ॥३॥

आत्मा त्वं गिरिजा मतिः सहचराः प्राणाः शरीरं गृहं ।
पूजा ते विषयोपभोगरचना निद्रा समाधिस्थितिः ॥
सञ्चारः पदयोः प्रदक्षिणविधिः स्तोत्राणि सर्वा गिरो ।
यद्यत्कर्म करोमि तत्तदखिलं शम्भो तवाराधनम्‌ ॥४॥

कर–चरण–कृतं वाक्कायजं कर्मजं वा
श्रवण–नयनजं वा मानसं वापराधम्‌ ।
विहितमविहितं वा सर्वमेतत् क्षमस्व
जय जय करणाब्धे श्री महादेव शम्भो ॥५॥

प्रथम प्रहरको पूजापछि शिवलिंगलाई दूधले विशेष स्नान गराएर बेलका पात वा फलसमेत राखी यो मन्त्रले अर्घ्य दिनुपर्छ—

ॐ नमो यज्ञ जगन्नाथ नमस्त्रिभुवनेश्वर ।
पूजां गृहाण मद्दत्तां महेश प्रथमे पदे ॥

द्वितीय प्रहरको पूजापछि शिवजीलाई दहीले विशेष स्नान गराएर बिमिरो वा कागतीसमेत राखी यो मन्त्रले अर्घ्य दिनुपर्छ—

ॐ नमोऽव्यक्ताय सूक्ष्माय नमस्ते त्रिपुरान्तक ।
पूजां गृहाण देवेश यथाशक्त्युपपादितम् ॥

तृतीय प्रहरको पूजापछि शिवजीलाई घिउले विशेष स्नान गराएर केरासमेत राखी यो मन्त्रले अर्घ्य दिनुपर्छ—

ॐ बद्धोेऽहं विविधैः पाशैः संसारभवबन्धनैः ।
पतितं मोहजालं मां त्वं समुद्धर शंकर ॥

चतुर्थ प्रहरको पूजापछि शिवजीलाई महले विशेष स्नान गराएर यो मन्त्रले अर्घ्य दिनुपर्छ—

ॐ नमः शिवाय शान्ताय सर्वपापहराय च ।
शिवरात्रौ मया दत्तं गृहाणार्घ्यं नमोऽस्तु ते ॥

त्यसपछि बिहानको समयमा स्नानादि नित्यकर्म गरेर विधिवत् षोडषोपचारले पूजा गरी यस मन्त्रले विशेष अर्घ्य दिनुपर्दछ—

ॐ दुःख–दारिद्र् यभावैश्च दग्धोऽहं पार्वतीपते ।
मां वै त्राहि महादेव किं न जानासि शंकर ॥
किं न जानासि देवेश तावद् भक्तिं प्रयच्छ मे ।
स्वपादाग्रतले देव दास्यं देहि जगत्पते ॥

विशेष अर्घ्यपश्चात् पूजा समापन गरी ब्राह्मणलाई दक्षिणा दिएर भोजन गराउनुपर्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More