युवाहरुको अबको बाटो : क्रान्तिले थाकेका नेतालाई विदा, राष्ट्रको नेतृत्व लिने

12 August, 2020 17:15 | बिचार | comments | 29400 Views

– यादब देवकोटा

आम जनताका अनेक आशा, विश्वास र सपना विस्तारै धुमिल हुँदैगएको छ । मुलुकको राजनीतिक परिवर्तन, जनतामा राजनीतिक चेतना र जागरण अनि जनअधिकारका सवालमा सचेत पार्न सफल भए, जनताको समृद्धिको सपना पनि देखे तर त्यही जनअधिकारको अधिकतम उपयोगबाट देश समृद्ध बनाउने कार्यमा यो पुस्ताका सक्रिय नेताहरु असफल भए । देशमा जेजति भएको छ स्वस्फूर्तरुपमा हुने बाहेक सकारात्मकताको अग्रगामी फड्को मारेको कुनै क्षेत्र छैन, फड्को भ्रष्टाचार, अत्याचार, व्यक्ति, गुट र दलीय स्वार्थमा मारियो ।

  

हरेक दलभित्र यस्तै रोग छ । वर्तमान सत्तारुढ दलदेखि विपक्षी दलसम्म पार्टीका शीर्ष नेताहरु नै एकढिक्का भएर देश बनाउने यज्ञमा होमिन सकेका छैनन् भने यो पुस्ताका नेताहरुले विश्राम नलिए गलहत्याउने समय आयो ।

आज युवा दिवस- यही दिवसका सन्दर्भमा हरेक युवाले मुलुकको भविष्य आफ्नो काँधमा लिने शपथ खानुपर्ने भएको छ । पार्टीभित्र रहेका नेताहरुले आफ्ना शीर्ष नेताहरुको स्वार्थकै लागि मात्र उपयोगमा आउने हैन कि अब देशका लागि उपयोगमा आउने संकल्प गर्नुपरेको छ । काम गर्न नसक्ने, क्रान्ति गर्दागर्दा थाकेकाहरुलाई ससम्मान विदा दिएर देश हाँक्ने नेतृत्व अब युवाले लिनुपर्छ ।

किनभने मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत भएपछि जनताको ठूलो अपेक्षा थियो, अनि नेताहरुले आश्वासनका पोका यति बाँडे रातारात कुरुपको शरीरमा कान्ति छाउने आशा गरियो । तर विडम्बना नयाँ संरचना अनुसार तीन तहको सरकार गठन भएको यत्तिका अवधि बितिसक्दा जनताको जीवनस्तरमा सुधार आउनुको साटो अरु कष्टकर बन्दै गएको छ ।

केन्द्रदेखि स्थानीय तहसम्मको काम, कारबाही र गतिविधिले जनता आजित छन् । व्यवस्था नै अफाप हो कि भन्ने मनस्थितिमा जनता पुगेका छन् । वास्तवमा व्यवस्था फाप र अफाप हुँदैन । त्यसलाई संचालन गर्नेहरुको चरित्र, व्यवहार र कार्यशैलीले व्यवस्थाको भविष्य निर्धारण गर्छ । अहिले नेपालमा भैरहेको यही हो । व्यवस्था यस्तो ल्याइयो कि सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्यो (संविधानमा) तर, गाउँलेहरु सिंहदरबार खोज्न जानै नसक्ने भएका छन् । यसको कारण नेतृत्वको अक्षमता, कुशल कार्यशैलीको अभाव र कामगर्ने इच्छाशक्ति नहुनु हो ।

झण्डै दुई तिहाई बहुमतको सरकार छ तर सत्तारुढ दलकै नेताहरु सरकार ढाल्ने खेलमा लागेका छन् । अनि स्थानीय तहमा सत्तारुढ दलकै बहुमत छ तैपनि काम हुँदैन । जनताले सुखको साटो दुःख मात्रै पाइरहेका छन् । किन ? किनभने यहाँ जिम्मेवार कोही पनि भएनन्, सबैलाई आफ्नै, आफ्नै दलको र गुटको मात्र स्वार्थ प्यारो । अब विकल्पको खोजी गर्ने बेला आएको छ त्यो विकल्प व्यवस्थाको हैन नेतृत्वको हो ।

यसका लागि हरेक राजनीतिक दलभित्र रहेका नयाँ पुस्ताले पहल गर्नुपर्छ । नेताको दौराको फेर समातेर अवसर खोज्ने हैन जनताको मन जितेर अवसर छिन्ने सामथ्र्य यो पुस्ताले राख्नुपर्छ । यदि अहिले राजनीतिमा सक्रिय यो पुस्ताले केही गरेन भने निश्चित छ अबको दशकौं पछिसम्म पनि नेपालको अवस्थामा कुनै सुधार हुने छैन । विकास, समृद्धि र सुखका नारा केवल नारा मात्रै सावित भैरहने छन् ।

पुराना र स्थापित पार्टीका शीर्ष नेताहरु आन्दोलन गर्न सिपालु देश बनाउन विफल जस्तै देखिएका छन् । जसले जस्तोसुकै दावी गरे पनि स्वतःस्फूर्त हुने विकास बाहेक नयाँ किसिमले यहाँ केही भएकै छैन । त्यसैले कामगर्ने योजना, दृष्टिकोण र हिम्मत भएको नयाँ शक्तिको आवश्यकता मुलुकलाई छ । पार्टीभित्रैबाट नयाँ नेतृत्वको उदय हुनुपर्यो । युवा पंक्तिले त्यो हिम्मत राष्ट्रिय आवश्यकता होे भन्ने बुझेर गर्नुपर्यो ।

नाम, पार्टीको झण्डा र घोषणापत्र नयाँ भएर मात्रै हुँदैन भन्ने दृष्टान्त त कति छ कति । पुरानै चरित्र र संस्कार बोकेका नेताहरूबाट खोलिएको नयाँ पार्टीमा पनि त्यस्तैहरुको बाहुल्यता रहने गरेको छ । इतिहास साक्षी छ– पार्टीभित्र स्वार्थ नमिलेपछि अलग हुने र स्वार्थ पूरा हुने देखेपछि मिल्न जाने ।

देशमा नयाँ शक्ति आवश्यक छ र नयाँ शक्तिको उदय पनि सम्भव छ । तर उनीहरुले देशलाई केही गर्ने नयाँ ‘भिजन’ पनि ल्याउनु आवश्यक छ ।  नयाँ शक्ति भनेको नयाँ सोच, नयाँ विचार र ऊर्जाशीलहरूको समूह हुनुपर्छ । नेपालमा त्यस्तो राजनीतिक संस्कार विकसित भैसकेको छैन । परिवर्तन चाहने जनताले भोट दिने बेलामा पहिलेदेखि जसलाई दिंदैआएको हो उसैलाई दिने गर्दछन् ।

यसको कारण भनेको समाजमा गढेको राजनीतिकरण हो । यसको मतलब जनता राजनीतिक रुपमा सचेत छन् भन्ने हुँदैहैन । जनता विभाजित, भ्रमित छन् । उनीहरुमा राजनीतिक संस्कारको विकास नै भएको छैन । हाम्रो काम भोट दिने मात्रै हो । “हिजोदेखि यसैलाई देको आज किन नदिनु ?” भन्ने भाव छ ।

हाम्रो अहिलेको समस्या कुशल राजनीतिक संस्कारको अभाव, भ्रष्ट चरित्र, खुला र उदार भावना न भएका विकृत दिमाग र परम्परागत सोचको भण्डार रहेकाहरूको बोलवाला हो । यस्ताबाट नयाँ नेपाल बन्नै सक्दैन । मुलुक बन्न व्यवस्था र नेतृत्व हैन व्यवहार र नैतिकता चाहिने रैछ भन्ने उदाहरण विश्वका कैयौं मुलुकले स्थापित गरेका छन् भने हामीमा त्यो साहस र क्षमता भएको मानिस नै छैन होला त ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More