युवा कार्यकर्ता टाटनामा बाँधेका पशु हुन् ?

24 November, 2019 18:00 |बिचार | comments | 9750 Views

    मुलुकका कुनै पनि क्षेत्र, पक्ष, विषय र सन्दर्भ जताबाट जोडे पनि, मोडे पनि स्वतन्त्रता खोज्नै सकिंदैन । स्वतन्त्रता खोसेको छ राजनीतिले र समाजका हरेक अंग अतिराजनीतिकरणको शिकार भएर सबै गुटबन्दीमा छन् ।

    adsads

    जसको परिणाम कहीं न कहीं कुनै न कुनै रुपमा दलीय राजनीतिक स्वार्थ र गन्ध घुसिहाल्छ । राजनीतिको अर्थ नेपालको सन्दर्भमा पार्टीहरु मात्रै हुन्छन् ।

    नीतिहरुमा श्रेष्ठ नीति हो ‘राज’ ‘नीति’ तर भएको छ सबभन्दा तुच्छ नीति, जुन केवल पार्टी, पार्टीका नेता अनि तिनको गुटको स्वार्थका लागि मात्र उपयोग भैरहेको छ । परिणाम– जो पार्टीमा लागेको छ, नेताको पछि लाग्छ उ राजनीतिक कार्यकर्ता– अगुवा ! जोसंग राजनीतिक सोच, विवेक र क्षमता छ तर उ कुनै मा आबद्ध छैन भने ऊ गैरराजनीतिक ठहरिन्छ !! राजनीति गर्नुको परिभाषा नै व्यावसायिक भएपछि नेपालको अवस्था योभन्दा फरक हुने त कुरै भएन ।

    व्यापारिकरण भएको राजनीति र त्यो राजनीतिमा अभ्यस्तहरुमा आत्मा साक्षी राखेर साँचो कुरा बोल्ने नैतिकता छैन । राम्रोलाई राम्रो भन्नसक्ने हैसियत गुमाउँदै गएका छन् । आफ्नो सबै राम्रो र अरुको सबै नराम्रो भन्ने–मान्ने गलत संस्कृतिको विकासले स्थानीयदेखि सिंहदरबारसम्मै जरा गाडेको छ । गाउँघरका सामान्य राजनीतिक दलका समर्थकमा समेत आफूले समर्थन गरेको पार्टी र त्यसका नेताहरु सर्वगुणसम्पन्न देख्छन्, अरुमा केही गुण नै देख्दैनन् । यो विभाजनकारी र विभेदकारी सोचका कारण समाज जसरी अघि बढ्नुपथ्र्यो त्यसो हुन सकेको छैन । हाम्रो विकासको बाधक हाम्रो आफ्नै संस्कार, संस्कृति र भैरहेको अभ्यास हो भन्ने बुझ्नै चाहेका छैनौं ।

    घर अगाडिको सडकमा भएको खाल्डो नगरपालिका वा वडाले पुरिदिएन भने “यी फलाना खानका लागि गएका” भनेर सत्तोसराप गर्नेहरु त्यो खाल्डोमा एक कोदाली माटो आफूले हाले सबैको हित हुन्थ्यो भन्ने सोच्दैनौं । विकासको बाधक तत्व को हो भन्ने यो अति सामान्य उदाहरण मात्रै हो । हामी सबैलाई अरुले गरिदिनुपर्ने गलत मान्यता स्थापित छ । भोट दिएर पठाएपछि उनीहरुले नै गर्नुपर्छ भन्ने सोचले हामी कहीं पनि पुग्दैनौं । हो, काम नगर्नेको आलोचनाा गर्नुपर्छ, उनीहरुलाई दवाव दिनुपर्छ । तर सबै उनीहरुले नै गरिदिनुपर्छ भनेर हुँदैन । समाजमा बस्ने हाम्रो आफ्नो सामाजिक दायित्व पनि बिर्सनु हुँदैन ।

    मानिस चेतनशील प्राणी भएकाले उसले आफ्नो व्यक्तित्व र वृत्ति विकासका लागि आफ्नो चेतना प्रयोग गर्नुपर्छ र त्यो चेतना केवल उसको आफ्नो लागि मात्र नभएर अरुका लागि पनि केही न केही सहयोगी हुनुपर्दछ । तर अहिले “मैखाउँ, मै लाउँ”को समय आएको छ र त्यसका लागि राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो भनेर अवसर छोप्ने प्रवृत्ति बढिरहेको छ । हामी अरुले देला र खाउँला भनेर बसिरहने टाटनामा बाँधेको पशुजस्तो भएका छौं ।

    एउटा उदाहरण यहाँ राख्न चाहन्छु– एउटा सार्वजनिक महत्वको बैठकमा प्रसंगबस सरकारको कुरा उठ्यो । त्यहाँ कोही सत्तारुढ दलका थिए कोही विपक्षी दलका थिए तर सबै युवा थिए । उनीहरु आआफ्नो पक्षको वकालत गरिरहेका थिए । यसै क्रममा एकजना जो कांग्रेस समर्थक थिए उनलाई सोधियो– “के अहिलेको सरकारले राम्रो केही पनि गरेको छैन ? कांग्रेसले हिजो राम्रो मात्रै गरेको हो ?”

    उनको उत्तर थियो– “त्यस्तो होइन । सरकारले राम्रो काम पनि गरेको छ । हिजो कांग्रेसले राम्रो भन्दा नराम्रो धेरै गरेको थियो ।”

    “त्यसो भए राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न किन सकिंदैन ? कार्यकर्ता भनेको ‘हनुमान’ नै बन्नुपर्छ र ? हाम्रो यस्तै बानीले गर्दा केही नभएको हो ? सरकारले गरेको राम्रो कामको लाभ सरकार चलाउने पार्टीका मान्छेले मात्रै पाउने हो भने बेग्लै कुरा नत्र भने एकोहोरो बिरोध मात्रै गरेर पाइन्छ के ?”

    उनी चुप बसे र घोत्लिदै भने– “कुरा एकदम सही हो तर सरकारले गरेका राम्रा कामको पनि समर्थन गर्न गाह्रो छ !” कांग्रेसले गरेका नराम्रा कामको आलोचना गर्नपनि गाह्रो छ ।

    आश्चर्यको विषय त के भने सत्तारुढका समर्थकको पनि त्यस्तै भनाइ थियो । जबसम्म हामी राम्रोलाई राम्रो र खराबलाई खराब भन्न सक्दैनौं तबसम्म हाम्रो स्तर उकासिंदैन भन्ने मेरो आग्रह थियो र उनीहरु यसमा सहमत त भए तर राम्रो नराम्रो भन्दा पनि हाम्रोको वकालतबाट बाहिर निस्कने हिम्मत गर्न सकेनन् ।

    राम्रो–नराम्रो हेर्ने दृष्टिकोणमा भरपर्छ । एउटालाई राम्रो लागेको अर्कोलाई नराम्रो र अर्कोलाई राम्रो लागेको झन अर्कोलाई नराम्रो लाग्छ । यो स्वाभाविक हो । तर समग्रमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न नसक्दासम्म मानव समाज माथी उठ्दैन । विशेष गरी युवा पुस्ता जो राजनीतिमा सक्रिय छन् उनीहरुले यस्तो संस्कार बसाल्न सके पनि आफ्नो पार्टी नेतृत्वलाई त्यसले राम्रो काम मात्र गर्न दवाव दिनेछ जसको परिणाम मुलुक उन्नत हुनेछ । तर यहाँ आफ्नो आत्मा मारेर आत्माले नचाहँदा नचाहँदै कसैको स्वार्थका लागि झूठो बोल्नुपर्ने बाध्यता छ जुन समाज विकासको सबभन्दा खराब पक्ष हो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More