“यो सरकार असफल भए संविधानप्रति नै नकारात्मक भाव उत्पन्न हुनसक्छ”

3 May, 2019 16:31 |अन्तरवार्ता | comments | 39300 Views

    श्याम घिमिरे नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा लेखा समिति संयोजक हुनुहुन्छ । प्रष्ट दृष्टिकोण राख्ने कांग्रेस नेता घिमिरे यसका अतिरिक्त उहाँ समाज डेन्टल हस्पिटल एण्ड समाज स्कुल अफ डेन्टिस्ट्रीका संस्थापक पनि हुनुहुन्छ ।

    adsads

    नेता घिमिरेसंग समसामयिक राजनीतिका विषयमा नेपाल–जापान डट कमका लागि सूर्यप्रसाद कोइरालाले गरेको कुराकानी प्रस्तुत छ–

    ० लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा संलग्न हुनुहुन्छ, कस्तो छ अहिले पार्टीको अवस्था ?
    अहिलेको संसार भनेको उदारवाद र प्रजातन्त्रको दिग्वीजय भएको अवस्था हो । तर नेपालमा भने कम्युनिष्टहरुको दुई तिहाईको सरकार छ । यो आफैंमा एउटा विडम्वनापूर्ण र अचम्मलाग्दो कुरा छ । सन् १९९० मा सोभियत युनियनको पतन भएपछि निर्वाचनको माध्यमबाट पनि उनीहरु पराजित भए । भेनेजुएला र चिली यसका पछिल्ला उदाहरण हुन् । कालान्तरमा नेपाल कम्युनिष्टहरुले कस्तो समस्या निम्त्याउलान वा समस्याहरु सिर्जना होलान् ? अहिले अनुमान मात्र गर्न सकिन्छ । तर लामो संक्रमणकालपछि निर्माण भएको दुई तिहाई बहुमतको यो सरकारको असफलताले समग्र प्रजातान्त्रिक पद्धति एवं वर्तमान संविधानप्रति नै नकारात्मक भाव उत्पन्न गर्न सक्छ ।

    त्यसैले मेरो बुझाई के छ भने यो सरकारको एक वर्ष कार्यकाल देख्दा यसले समग्र पद्धतिप्रति नै अनास्था सिर्जना गर्ने हो कि भन्ने मेरो आशंका छ । कांग्रेसले सरकारप्रतिको निराशा र पद्धतिप्रतिकै वितृष्णामा नबदलियोस् भन्ने हिसावले आफ्ना गतिविधिहरु मात्र होइन पार्टी र नेता तथा कार्यकर्ताहरुको जीवन पद्धतिसमेत जनतामा आशा जागृत गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।

    ० पार्टीले सुरु गर्न लागेको देशव्यापी जागरण अभियानले दिन खोजेको सन्देश चाहिँ के हो ?
    मैले अघि भनेझैं सरकारको एक वर्षको कार्यकालको असफलताले जनतामा उत्पन्न हुँदै गएको निरासालाई पद्धतिकै अनास्थाबाट रोक्न, प्रजातान्त्रिक पद्धतिलाई जीवन पद्धतिसँग जोड्न एवं प्रजातन्त्रका नाममा भइरहेका विकृति र विसङ्गतिका विरुद्धमा कांग्रेसलाई उभ्याउँदै जनताका बीचमा लैजान यो राष्ट्रिय जागरण अभियानको थालनी गरिएको हो ।

    ० तपाईं सिन्धुली जिल्लाबाट प्रदेश संसदका लागि चुनाव लड्नुभयो र पराजित हुनुभयो । पराजित हुनुको कारण के थियो ?
    नेपालमा मतदाताहरु स्थायी प्रकृतिका छन् । २०४८ सालदेखिका ६ वटा निर्वाचनलाई हेर्दा कांग्रेस र कम्युनिष्टहरुले पाएका मतहरु उस्तै उस्तै छन् । कांग्रेसले २०६४ साललाई छोड्ने हो भने बाँकी ५ वटा निर्वाचनमा उस्तै उस्तै मत पाएको छ । सबै कम्युनिष्टहरुका मतहरुलाई एक ठाउँमा राख्ने हो भने तिनका मत पनि उस्तै छन् । प्रजातन्त्रमा जनता न्यायाधीश हुन् भन्ने गरिन्छ । न्यायाधीश नै स्थायी रुपमा विभाजित भएपछि त्यसबाट सम्पादन हुने न्याय कस्तो हुन्छ ? कम्युनिष्ट गठनबन्धन नै मेरो पराजयको मुख्य कारण हो । अन्य सहायक कारणहरु पनि छन् ।

    ० अब पार्टीले कस्तो प्रकारको सांगठनिक ढाँचा तयार गर्नु पर्ला भन्ने ठान्नुहुन्छ ?
    म तपाईंलाई बुँदागत रुपमा भन्छु । एक– कांग्रेसले सर्वप्रथम आफ्नो छवि सुधार गर्नुपर्छ । दुई– प्रजातान्त्रिक पद्धतिलाई कांग्रेसका नेता र कार्यकर्ताहरुले जीवन पद्धतिसँग जोड्नु पर्छ । तीन– भ्रष्टाचार, अनियमितताका विरुद्धमा आपूmलाई प्रभावकारी ढंगले उभ्याउन सक्नुपर्छ । लोकप्रिय कुरा खोज्दै हिँड्ने होइन । राम्रो काम गरेर लोकप्रिय हुनुपर्छ ।

    सबैभन्दा ठूलो कुरा प्रजातन्त्र भनेको विधिको शासन हो । यसप्रति कांग्रेस दृढ छ, दृढ हुनुपर्यो, दृढ छ भन्ने जनतालाई विश्वास पनि दिलाउन सक्नुपर्यो । अर्को वर्तमान सरकारका लोकतन्त्र विरोधी र विधिको शासन विरोधीहरुलाई जनता समक्ष पुर्याउँदै सत्मार्गमा जनताले देख्ने गरी र पत्याउने गरी लाग्नु पर्यो ।

    ० कांग्रेस अब पुरातन ढाँचाकै संगठन अनुरुप अगाडि बढ्दा त कम्युनिष्टहरुको तुलनामा झनै ओरालो लाग्ने अवस्था छ नि, हैन र ?
    मेरो विचारमा राजनीति भनेको सिर्जना, सामथ्र्य र सेवा हुन् । कांग्रेस सिर्जनात्मक हुनुपर्दछ । विश्व परिस्थितिलाई बुझेर तदअनुकूलको कार्यक्रमहरु निर्माण गर्नुपर्छ । त्यो कार्यक्रमलाई जनसमक्ष लैजान पनि नयाँ ढाँचाको संगठन निर्माण गर्नुपर्छ । यसको लागि सिर्जना आवश्यक छ । यी मौलिक सिर्जनाहरुलाई दृढताका साथ कार्यान्वयन गर्ने सामथ्र्यको आवश्यकता छ । राजनीतिकलाई विशुद्ध जनताको सेवाभावसँग मात्र तादम्यता राख्न सक्नुपर्छ अर्थात् विशुद्ध सेवा हो भन्ने ठान्नु पर्दछ । राजनीतिलाई पेशा बनाउनु हुन्न ।

    ० प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई त्यागेका कारण पार्टी झनै ओरालो लागेको भन्ने पनि सुनिन्छ । के यसमा सत्यता छ ?
    राजनीति जहिले पनि सिर्जनात्मक हुनुपर्छ । यो सापेक्षतामा पनि आधारित हुन्छ । वि.पि. कोइरालाको देहावसान भएको ४ दशक हुनलाग्यो । सन् १९९० पछि संसारको राजनीतिक, आर्थिक, सामाजिक मान्यताहरुमा आमूल परिवर्तन पनि आइसकेको छ । १९९० पछिका ३० वर्षमा संसारले मानव जीवनका लागि विगतका दुई हजार वर्षमा नभएका काम गर्न सफल भएको छ ।

    त्यसैले आजको सन्दर्भमा वि.पि. कोइरालाको प्रजातान्त्रिक समाजवादलाई त्यागेर कांग्रेसको यो गति भएको हो भनेर म मान्दिन । तर वि.पि. कोइरालाको आदर्श, निष्ठा, सत्यवादिता, कर्तव्यपरायणता, मौलिकता, सिर्जनशिलता, इमान्दारिता, न्याय र इन्साफको मार्गलाई अपनाउन नसक्दा भने कांग्रेसले पक्कै दुःख पाएको हो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

    फेसबुक

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!