राष्ट्रपति हमिदको पोखरा भ्रमणले पर्यटन व्यवसायीमा उत्साह

14 November, 2019 22:30 |कर्पोरेट/पर्यटन | comments | 6450 Views

    बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरा भ्रमणले पोखराका पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् । भ्रमण वर्ष, २०२० को पूर्वसन्ध्यामा राष्ट्रपति मोहम्मदको भ्रमणलाई विशेषरूपमा लिइएको पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो ।

    adsads

    नेपाली सेनाको विशेष हेलिकप्टरबाट पोखरा आउनुभएका राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशप्रमुख अमिक शेरचनसहित प्रदेशका उच्चपदस्थ व्यक्तिबाट भव्य स्वागत गरिएको थियो । त्यसलगत्तै राष्ट्र बैंक चोकको सडक किनारबाट पोखरा पर्यटन परिषद्को नेतृत्वमा बसेका पर्यटन व्यवसायी, आमा समूह, टोल विकास संस्था लगायतले नेपालको झण्डा फहराएर पुष्पगुच्छासहित हमिदको भव्य स्वागत गरेका थिए । धर्मपत्नीका साथमा रहनुभएका राष्ट्रपति हमिदले मुस्कानका साथ सबैलाई अभिवादन गर्नुभएको थियो ।

    भ्रमण वर्षको पूर्वसन्ध्यामा अतिविशिष्ट पाहुनालाई पोखरामा स्वागत गर्न पाउँदा निकै खुसी लागेको परिषद् अध्यक्ष पोखरेलले बताउनुभयो । उहाँले यसलाई पर्यटन क्षेत्रका लागि एउटा सकारात्मक सन्देश भएको प्रतिक्रिया दिनुभयो । महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष जमुना पराजुलीले सुन्दर शहर पोखरामा राष्ट्रपति हमिदको भ्रमणले पोखरालाई अन्तर्राष्ट्रियरूपमा चिनाउन थप सहयोग पुग्ने बताउनुभयो ।

    नाट्टा गण्डकीका अध्यक्ष सन्तोष पोखरेलले राष्ट्रपति हमिदको भ्रमणले पर्यटन प्रवद्र्धनमा थप भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पर्यटनमा प्रचारप्रसारले विशेष भूमिका खेल्छ, हमिदको पोखरा भ्रमणले पोखरा र यसको सुन्दरतालाई विश्वमा चिनाउने एउटा अर्को अवसर सिर्जना गरेको छ ।”

    राष्ट्रपति हमिदले आफ्नी धर्मपत्नीका साथ फेवातालमा आधा घण्टा जलविहार गर्नुभएको थियो । फेवाताल किनारस्थित फिष्टेल लजमा दिवाभोज गरेर उहाँ पोखरा आसपासका दृश्यावलोकनका लागि रुपाकोट रिसोर्ट प्रस्थान गर्नुभएको थियो । रुपाकोट गाउँपालिकाले उहाँको स्वागतमा झाँकीसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । करीब एक घण्टा रुपाकोट बसेर उहाँ पौने ५ बजे हेलिकप्टरबाट काठमाडौँ फर्कनुभएको हो ।

    पोखराको आतिथ्यताले राष्ट्रपति हमिद निकै प्रसन्न हुनुभएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो । प्रजिअ केसीले भन्नुभयो, “सुन्दर शहरमा अतिविशिष्ट पाहुनालाई घुमाएर पठाउन पाउँदा हामीलाई निकै खुसी लागेको छ ।” राष्ट्रपति हमिदले बिदाइका बेला निकै प्रसन्न मुद्रामा सबैलाई धन्यवाद दिनुभएको प्रजिअ केसीले बताउनुभयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More