राष्ट्रिय एकता दिवस- पूर्व राजाको सन्देश र राज परम्परामा हिमानीको उदय

12 January, 2020 13:05 | बिचार | comments | 55500 Views

यादब देवकोटा

आज पुस २७ गते विगतमा राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीका रुपमा मनाइन्थ्यो । खण्डखण्डमा विभाजित भएको नेपाललाई एकीकरण गरी विशाल नेपाल बनाउने युगपुरुष बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मदिनलाई एकता दिवसका रुपमा मनाइने परम्परा मुलुकमा गणतन्त्र आएसंगै रोकियो तापनि पृथ्वीनारायण शाहको योगदानको चर्चा भने चलिनै रहन्छ ।

यसै क्रममा पृथ्वीनारायण शाहका वंशवृक्ष पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै कडा चुनौतिका साथ राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने प्रयास कतैबाट पनि हुनु हुँदैन भन्दै असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने काम कतैबाट हुन नहुने र परस्पर प्रेम, एकता र सद्भावका निम्ति आग्रह गर्नुभएको छ ।

  

उहाँले पृथ्वीनारायाण शाहका दिव्योपदेश अहिले पनि महत्वपूर्ण र सान्दर्भिक रहेको बताउँदै जनमानसमा के छ, के भइरहेको छ भन्ने सबैमा स्पष्टै छ भन्दै सन्देशमा नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनुपर्ने र देशको सबै भूभागको रक्षा र नेपाली जनताको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने उल्लेख गर्नुभएको छ ।

यसबीचमा पूर्व राजाको ज्ञानेन्द्रको अभिव्यक्ति, गतिविधि र उहाँको सक्रियतालाई गणतन्त्र बिरोधी चलखेल भन्ने काम नेताहरुबाट भैरहेको छ । मुलुकमा गणतन्त्रले संस्थागत रुप लिइसके पनि पूर्व राजाले मन्दिर पूजा गरे पनि त्यसमा षड्यन्त्र देख्ने र नकारात्मक प्रतिक्रिया जनाउनेहरुको कुनै कमी छैन । मुलुकबाट राजतन्त्र विदा लिएको एक दशक नाघिसकेको छ तर गणतन्त्र ल्यायौं भन्ने नेताहरुमा पूर्व राजासंग अहिले पनि डर छ । गणतन्त्र भनेको राजतन्त्रको ठाउँमा राष्ट्रपति हुनु बाहेक परिवर्तनको खासै अनुभूति गर्न नसकिएको अहिलेको समयमा जनताका अपेक्षा अनुसारका काम नभएपछि भूतले तर्साउने स्वाभाविक हो । अनि सत्तामा रहेका नेताहरु र आफूलाई अरुभन्दा बढी नै क्रान्तिकारी ठान्नेहरु पूर्व राजाका सानोसानो गतिविधिको आलोचना गर्छन् ।

एउटा स्वतन्त्र नागरिकका रुपमा पूर्व राजाले तिर्थाटन गर्दा पनि आलोचना गर्नुपर्ने स्थितिको जिम्मेवार पूर्व राजा कि आफूहरु भन्ने चाहिं उनीहरुले बिर्सेका छन् । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेर संविधान अनुसार यसको अभ्यास भैसकेपछि पनि देशले मुहार फेर्न सकेको छैन । बरु विश्लेषकहरु मुलुक हरक्षण कमजोर बन्दै गएको बताइरँदा विदेशी शक्तिको चलखेल उत्कर्षमा पुगेको छ । अनि यतिबेला सबैले राजतन्त्रको स्मरण गर्न लागेका छन् । हिजो राजतन्त्रका बिरुद्ध हतियार उठाएकाहरु पनि अहिले राजतन्त्रकालमा कमसेकम देशको स्वाभिमान त गिरेको थिएन भन्न थालेका छन् ।

राजतन्त्र एउटा संस्कृति हो । कागजी दस्तावेजले यसलाई हटाए पनि नेपाली संस्कृतिमा यो कायम रहेको छ । त्यसैले त पूर्व राजा यसको निरन्तरता दिन आफ्नी बुहारीलाई अघि सारिरहेका छन् । गद्दीमा रहे पनि नरहे पनि राजाको भमिका सधैं देश र जनताको पक्षमा हुनुपर्छ भन्ने मान्यताका साथ उहाँ अहिले पनि सक्रिय हुनुहुन्छ एक सामान्य नेपाली नागरिकका हैसियतमा । नेपालको राजपरिवारमा यस्तै दृश्य देखिन्छ पूर्व राजा ज्ञानेन्द्रका एकमात्र छोरा पारस आफैं अलपत्र अवस्थामा रहेपछि शाही जिम्मेवारी विस्तारै बुहारी हिमानीलाई सिकाउँदै छन् ।

आफ्ना एकमात्र छोरा पूर्व युवराज पारसको गैरजिम्मेवार र विवादास्पद व्यवहारका कारण आजीत पूर्व राजाले मुलुकमा गणतन्त्र भए पनि राजपाठको अभ्यासका लागि बुहारीलाई प्रशिक्षित गरिरहेका छन् । त्यसैले त ज्ञानेन्द्रको हरेक विदेश भ्रमण होस् वा स्वदेशकै विभिन्न जिल्ला भ्रमणमा साथ रहने गरेको छ ।

गद्दीमा रहे पनि नरहे पनि राजपरिवारका सदस्यहरुको दैनिकी उस्तै हुन्छ, अत्यधिक औपचारिक, मान, सम्मान अनि सन्तुलित बोलाई र चालढालका साथै सर्वसाधारणका समस्या सुन्ने, समाधानका लागि आश्वासन दिने । यो वंशाणुगत रुपमा जिम्मेवारी फेरिंदै जान्छ र निवर्तमान शाही परिवारको यो जिम्मेवारी विस्तारै पूर्व युवराज्ञी हिमानीको काँधमा बिसाउँदैछन् पूर्व राजा ज्ञानेन्द्र शाह ।

यो भूमिकामा पूर्व युवराज पारस हुनुपर्ने हो तर उनी आफ्नै सुरमा मस्त छन् । न राजपरिवारको परम्परागत मान्यताको अनुसरण, न पारिवारजिक जिम्मेवारीबोध । पारसको बिन्दास जीवनशैलीका कारण उनी आफ्नो परम्परागत भूमिकाबाट विमुख भएपछि त्यो भूमिकामा उनकी पत्नी हिमानी प्रशिक्षित हुँदै गएकी छिन् ।

एकथरी राजावादीका अनुसार पूर्वयुवराज पारस शाहले निर्मल निवासको उत्तराधिकारीको भूमिका देखाउन नसक्नुको विकल्पमा पूर्वराजा ज्ञानेन्द्रले हिमानीलाई अगाडि बढाएका हुन् । त्यसैले पारसलाई निर्मल निवास प्रवेशमा रोक लगाउँदै जनतामाझ जाँदा पूर्वयुवराज्ञीलाई अगाडि बढाइएको हो । हिमानीले खोलेको ट्रष्टमा पूर्वराजा ज्ञानेन्द्र संरक्षक छन् । उक्त ट्रष्टमार्फत दैवीप्रकोप पीडितलगायतलाई हिमानीले सहयोग हस्तान्तरण गर्दै आएकी छन् । उनले गरेको कामका कारण लोकप्रियता बढिरहेको छ ।

यो राजपरम्पराको बिडो थाम्न बुहारीलाई गरिएको प्रशिक्षण मात्र हो । दरबारको उत्तराधिकारीका रुपमा पूर्व राजाले युवराज्ञीलाई राखेका कारण हरेक भेटघाट र राजनीतिक, धार्मिक व्यक्तित्वसँगको परिचयका लागि बुहारीलाई अगाडि बढाएको दरबार निकटहरु बताउँछन् ।

दरबारनिकट एक विश्लेषकका अनुसार नेपाललाई हिन्दूत्व र आगामी पुस्तालाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने व्यवाहारिक ज्ञानका लागि पूर्वयुवराज्ञीलाई अगाडि बढाइएको हो ।

पूर्व राजाको व्यवहार आजभोलि एक सभ्य नागरिकको जस्तो हुनुपर्ने हो त्यस्तै हुने गरेको छ । आफ्नो जिल्ला भ्रमणका क्रममा कुनै दलका नेता भेट्दा अत्यन्त शालिनतापूर्वक नमस्कार गर्दै शिष्टताका साथ भलाकुसारी गर्ने पूर्व राजाको शैलीपति जो कोही प्रभावित हुने गरेका छन् । पछिल्लो समय भद्रपुर विमानस्थलमा कांग्रेस नेता चन्द्र भण्डारी र पूर्व राजाको जम्काभेट भयो ।

भण्डारीले सामाजिक सञ्जालमा लेखे अनुसार पूर्व राजा नमस्कार गर्दै आउनुभयो । म असमन्यमा परें । उहाँको बोल्ने, प्रस्तुत हुने शैली देखेर अत्यन्त प्रभावित भए । उहाँमा नेपाली संस्कृतिमा हुनुपर्ने सबै गुण छ । यसको विपरीत सत्तामा रहेका नेताहरु भने पूर्व राजाले होटलमा नाचगान गरे पनि त्यो गणतन्त्रबिरुद्धको षड्यन्त्र देख्छन् । उनीहरुमा यति कमजोर मानसिकता छ कि पूर्व राजाले खोके भने चट्याङ परेको सम्झन्छन् भने हाँसे आँधीबेहेरी अनि नाचे भूकम्प नै ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More