– मोहनविक्रम सिंह– मोहनविक्रम सिंह

  • – मोहनविक्रम सिंह
  • – मोहनविक्रम सिंह
  • – मोहनविक्रम सिंह
  • – मोहनविक्रम सिंह
  • – मोहनविक्रम सिंह
  • – मोहनविक्रम सिंह

राष्ट्रिय सङ्कटको समाधान : के नेकपाको सरकारद्वारा सम्भव छ ?

21 September, 2019 15:05 |बिचार | comments | 3600 Views

    –मोहनविक्रम सिंह

    – मोहनविक्रम सिंहआज देश गम्भीर राष्ट्रिय सङ्कटको मुखमा उभिएको छ । त्यो सङ्कटको प्रकृति तात्कालिक मात्र नभएर दीर्घकालीन प्रकारको छ ।

    adsads

    आज देशका अगाडि जुन सङ्कट पैदा भएको छ, त्यसको समाधानको लागि सामन्ती र औपनिवेशिक शोषण वा प्रभुत्वको अन्त्यको आवश्यकता छ । आज देशमा विद्यमान सामन्ती व्यवस्थाको स्वरूप अर्धसामन्ती प्रकारको र औपनिवेशिक शोषणको स्वरूप अर्धऔपनिवेशिक प्रकारको छ ।

    आज देशमा कायम भएको नेकपाको सरकार विद्यमान अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाअन्तर्गत बनेको नै सरकार हो । त्यो कुनै कम्युनिस्ट वा क्रान्तिकारी सरकार नभएर दक्षिणपन्थी संशोधनवादी सङ्गठनको नेतृत्वमा बनेको सरकार हो । त्यसकारण त्यसका लागि देशमा बनेको अर्धसामन्ती र अर्धऔपनिवेशिक प्रकारको व्यवस्थाको अन्त सम्भव छैन । अहिले विद्यमान सरकारलाई हटाएर त्यसको ठाउँमा नेकाको सरकार कायम गर्न वा राजतन्त्रको पुर्नस्थापना गर्नका लागि प्रयत्नहरू भइरहेका छन् ।

    तर, ती मध्ये कुनै पनि सरकारद्वारा पनि देशमा विद्यमान राष्ट्रिय सङ्कटको समाधान सम्भव छैन, किनभने तिनीहरू पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाअन्तर्गत नै बनेका सरकारहरू हुनेछन् । त्यसप्रकारको राष्ट्रिय सङ्कटको समाधान खाली नयाँ जनवादी क्रान्तिद्वारा मात्र सम्भव छ । त्यसैले हाम्रो पार्टीले नयाँ जनवादी क्रान्तिलाई आजको आधारभूत वा न्यूनतम कार्यक्रम बनाएको छ र त्यो क्रान्तिको लागि परिस्थिति वा आधार तयार पार्नु आजको हाम्रो मुख्य जिम्मेवारी हुन्छ ।

    नयाँ जनवादी क्रान्ति एउटा लामो क्रान्तिकारी प्रक्रियाका बीचमा गएर नै सम्भव हुन्छ । त्यसका लागि एकातिर राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, अर्थात् वस्तुस्थिति र, अर्कातिर आत्मगत स्थिति र पार्टीको सङ्गठनको स्थिति तयार हुनुपर्ने आवश्यकता पर्ने हुन्छ । वस्तुगत स्थिति तयार भएपछि पनि आत्मगत स्थिति तयार भएन भने जनवादी क्रान्ति सम्भव पार्नु सम्भव हुँदैन । संसारमा कैयौँपल्ट यस्तो स्थिति उत्पन्न हुन्छ, जब वस्तुगत स्थिति क्रान्तिको लागि परिपक्व हुन्छ, तर त्यस अनुरूप आत्मगत स्थिति तयार हुँदैन । त्यसले गर्दा कैयौँपल्ट क्रान्तिको लागि परिस्थिति तयार भएपनि क्रान्तिहरू सफल हुन सक्दैनन् वा क्रान्तिको ठाउँमा प्रतिक्रियावादी शक्तिहरू सत्तामा आउँछन् ।

    प्रथम विश्व युद्धको समयमा युरोपका धेरै देशहरूमा समाजवादी क्रान्तिको लागि वस्तुगत रूपमा परिस्थिति तयार थियो, रूसमा आत्मगत रूपमा पनि परिस्थिति तयार भएको हुनाले त्यहाँ समाजवादी क्रान्ति सम्पन्न भयो । तर, अन्य देशहरूमा त्यो सफल हुन सकेन । द्वितीय विश्व युद्धको पूर्व बेलामा जर्मनीमा क्रान्तिको लागि परिस्थिति तयार थियो । तर, त्यो क्रान्तिकारी परिस्थितिलाई उपयोग गर्नसक्ने आत्मगत अवस्था त्यहाँ थिएन । त्यसकारण त्यहाँको वस्तुगत रूपमा तयार भएको क्रान्तिकारी परिस्थितिले हिटलरको नेतृत्वमा फासिवादी मोड लियो । अहिले पनि विश्वस्तरमा समाजवादी क्रान्तिको लागि परिस्थिति तयार भएको छ ।

    तर, त्यही अनुरूप क्रान्तिकारी आत्मगत स्थिति तयार भएको छैन । त्यसको परिणाम संसारमा समाजवादी क्रान्तिहरू सफल हुन नसकेको मात्र होइन, कैयौँ देशहरूको राजनीतिले फासिष्ट मोड लिदै गइरहेको छ । त्यो अवस्थामा माक्र्सवादी–लेनिनवादीहरूले क्रान्तिकारी आत्मगत परिस्थितिको निर्माणको कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्नुपर्छ । त्यही सिद्धान्तअनुसार नयाँ जनवादी क्रान्तिको लागि आत्मगत परिस्थितिको निर्माण गर्ने उच्च प्राथमिकता दिनुपर्दछ ।

    जनवादी क्रान्तिको लागि आत्मगत परिस्थितिको निर्माणको कार्यलाई उच्च प्राथमिकता दिनुको अर्थ हो, प्रथम, मिलिटेन्ट, अनुशासित, शक्तिशाली र भूमिगत कम्युनिस्ट पार्टीको निर्माण । द्वितीय, जनताको चेतना र सङ्घर्षको स्तर उठाउन लगातार प्रयत्न । यी दुवै कार्यहरूले क्रान्तिकारी परिस्थितिको निर्माणको लागि धेरै नै महत्व राख्दछन् । निश्चय नै यी दुवै कार्यहरू सरल छैनन् र कैयौँ प्रकारका कठिनाइ, बाधा वा समस्याहरूको समाधान गरेर वा तिनीहरूका विरुद्ध सङ्घर्ष गरेर नै ती उद्देश्यहरू पूरा हुन सक्दछन् । पार्टी विरोधी वा प्रतिक्रियावादी शक्तिहरूले त्यसप्रकारको पार्टीको निर्माणमा सधैँ बाधा पुर्‍याउने प्रयत्न गर्दछन् ।

    उनीहरूले खाली भौतिक रूपमा मात्र होइन, वैचारिक रूपले क्रान्तिकारी सिद्धान्तहरूबारे भ्रम फैलाउन पनि सकेसम्म जोड गर्दछन् । वास्तवमा भन्ने हो भने, विश्वव्यापी रूपमा नै त्यसप्रकारको सञ्जाल तयार भएको छ । दक्षिणपन्थी, संशोधनवादी वा उग्रवामपन्थीहरूले पनि क्रान्तिकारी माक्र्सवादी, लेनिनवादी सिद्धान्त वा कार्यशैलीमा विभिन्न कोणबाट भ्रम दिने प्रयत्न गरिरहन्छन् । त्यो अवस्थामा त्यसप्रकारका सबै गलत विचारहरूका विरुद्ध सैद्धान्तिक सङ्घर्षलाई अगाडि बढाएर नै माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टीको निर्माण गर्न सकिन्छ र गर्नु पनि पर्दछ ।

    बाहिरबाट त्यसरी भौतिक वा वैचारिक रूपले पुग्ने बाधाहरू बाहेक पार्टीभित्र विभिन्न प्रकारले देखापर्ने वैचारिक सङ्गठनात्मक वा अनुशासनसम्बन्धी समस्याहरूका कारणले पनि पार्टीको निर्माणमा बाधा पुग्ने गर्दछ । त्यस कारण माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूको प्रशिक्षण पार्टीका विधान र नियमहरूको कार्यान्वयन समेतमाथि ध्यान दिएर आन्तरिक रूपमा पनि पार्टीको सङ्गठनलाई सुदृढ पार्न प्रयत्न गरिरहनु पर्दछ ।

    जनवादी क्रान्तिको तयारीका लागि सबैभन्दा महत्वपूर्ण र निर्णयात्मक कार्य जनताका बीचमा लगातार काम गर्नु र त्यसरी जनआधार तयार पार्नु नै हो । एकातिर, जनताका बीचमा पार्टीको राजनीतिक लाइन व्यापक रूपले पुर्‍याउने प्रयत्न गरेर र अर्कातिर, जनसङ्घर्षलाई लगातार तथा व्यापक रूपमा उठाउने प्रयत्न गरेर नै जनवादी क्रान्तिका लागि परिस्थितिको निर्माण गर्न सकिन्छ । त्यसरी नै जनतामा चेतना र सङ्घर्षको स्तरमाथि उठ्दै जान्छ र उनीहरू उच्चस्तरको निर्णयात्मक र क्रान्तिकारी आन्दोलनका लागि तयार हुँदै जान्छन् । जनताको बीचमा सङ्घर्ष उठाउनको लागि सर्वप्रथम उनीहरूका आफ्नै समस्याहरूलाई लिएर सङ्घर्षलाई सङ्गठित गर्ने प्रयत्न गर्नुपर्दछ । त्यसो गर्दा मजदुर, किसान, जनजाति, दलित, विद्यार्थी, युवक, बुद्धिजीवी, प्रवासी नेपाली आदि विभिन्न जनसमूहहरूका मागहरूका आधारमा सङ्घर्षलाई सङ्गठित गर्ने प्रयत्न गर्नुपर्दछ । त्यसो गर्दा ग्रामीण वर्गसङ्घर्ष र किसान आन्दोलनलाई उच्च प्राथमिकता दिनुपर्दछ ।

    राष्ट्रिय स्तरमा किसान आन्दोलनहरू अगाडि बढाउन प्रयत्न गर्नुका साथै स्थानीय किसान समस्याहरूसित जोडिएका समस्या वा मागहरूलाई लिएर पनि सङ्घर्षलाई अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ । तर, यो कुरामा हामी स्पष्ट हुनुपर्दछ कि विभिन्न जनवर्गहरूका समस्या वा मागहरूलाई लिएर सङ्घर्ष गरेर मात्र क्रान्तिकारी आन्दोलनको निर्माण हुन सक्दैन । त्यसकारण त्यसप्रकारका आन्दोलनहरूका साथै उनीहरूलाई राजनीतिक आन्दोलनहरूमा पनि अग्रसर गराउन प्रयत्न गरिरहनु पर्दछ । त्यसो भएमा नै एकातिर, उनीहरूको राजनीतिक चेतनाको स्तर उठ्दै र सबै क्रान्तिकारी जनवर्गहरूका बीचमा ऐक्यवद्धता बढ्दै जान्छ र, अर्कातिर, निर्णयात्मक र क्रान्तिकारी आन्दोलनका लागि उनीहरू तयार हुँदै जान्छन् ।

    क्रान्तिकारी आन्दोलनका सिलसिलामा हामीहरूले रणनीति र कार्यनीतिका बीचमा अन्तरलाई स्पष्ट रूपले बुझ्नु पर्दछ र तिनीहरूको बीचमा सही सन्तुलन कायम गर्ने प्रयत्न गर्नुपर्दछ । रणनीति वा कार्यनीति मध्ये कुनै एउटामाथि मात्र जोड दिने प्रवृत्तिले आन्दोलनलाई या त वामपन्थी सङ्कीर्णवादी या दक्षिणपन्थी सुधारवादी दिशामा लैजाने सम्भावना हुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनमा ती दुवै प्रकारका प्रवृत्तिहरू देखापर्ने गरेका छन् । कतिपयपल्ट कार्यनीतिको उपेक्षा गरेर रणनीतिक कार्यक्रम वा नाराहरूलाई नै मुख्य प्राथमिकता दिने गरिन्छ । त्यो अवस्थामा पार्टीले उग्र“वामपन्थी” वा “वामपन्थी” सङ्कीर्णवादी दिशा लिने सम्भावना हुन्छ ।

    रणनीतिक पक्षलाई उपेक्षा गरेर कार्यनीतिक पक्षमा मात्र जोड दिने नीति अपनाइयो भने आन्दोलनले दक्षिणपन्थी दिशा लिने सम्भावना हुन्छ । अन्तर्राष्ट्रिय र नेपालको कम्युनिष्ट आन्दोलनमा पनि त्यसप्रकारका कमजोरी वा भड्कावहरू बारम्बार देखापर्ने गरेका छन् र तिनीहरूबाट अन्तर्राष्ट्रिय र नेपालको कम्युनिस्ट आन्दोलनलाई पनि ठूलो क्षति पुग्ने गरेको छ । त्यसैले माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधाराका संस्थापकहरू तथा संसारभरका माक्र्सवादी–लेनिनवादीहरूले त्यसप्रकारका भड्कावहरूका विरुद्ध लगातार सङ्घर्ष गर्दै आएका छन् । हाम्रो पार्टीको इतिहास पनि त्यसप्रकारको गौरवपूर्ण सङ्घर्षले भरिएको छ । त्यसप्रकारको सङ्घर्षको कारणले नै हाम्रो पार्टी उग्रवामपन्थी वा दक्षिणपन्थी भड्कावहरूको सिकार हुनुबाट बचेको छ ।

    हाम्रो पार्टीले सैद्धान्तिक र रणनीतिक पक्षलाई कहिल्यै पनि गौण बनाउने गरेको छैन । माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूप्रतिको अडान, सर्वहारा वर्गको अधिनायकत्व, शसस्त्र सङ्घर्षको अनिवार्यता तथा नयाँ जनवादी क्रान्तिमाथि निरन्तर जोड आदिले हाम्रो त्यसप्रकारको दृष्टिकोणलाई स्पष्ट गर्दछन् । हामीले तात्कालीक रूपमा चलाउने सबै आन्दोलनहरू पनि माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा रणनीतिद्वारा नै निर्देशित हुन्छन् । अर्कातिर, रणनीति प्रति हामीले कहिल्यै पनि अधिभूतवादी, यान्त्रिक वा जडसूत्रवादी दृष्टिकोण अपनाउने गर्दैनौँ र कुनै खास बेलाको स्थितिको ठोस मूल्याङ्कन गरेर नै आफ्नो तत्कालीन नीति वा कार्यक्रम अपनाउने गर्दछौँ । नेपालको अहिलेको सन्दर्भमा पनि हामीले त्यही प्रकारको द्वन्द्वात्मक दृष्टिकोण अपनाएका छौँ ।

    कार्यनीतिक दृष्टिकोणले तात्कालिक राजनीतिक लाइन निर्धारित गर्ने कुराले सबैभन्दा बढी र निर्णयात्मक महत्व राख्दछ । राजनीतिक लाइन सही हुन्छ वा गलत ? त्यसले अन्य सबै कुराहरूलाई वा पार्टी र आन्दोलनको सम्पूर्ण दिशालाई निर्धारित गर्दछ । कुनै पनि बेला सही राजनीतिक लाइन निर्धारित गर्दा दुईवटा कुराहरूमाथि विशेष ध्यान दिनुपर्ने आवश्यकता हुन्छ । प्रथम, सिद्धान्त र रणनीति । द्वितीय, ठोस परिस्थितिको ठोस विश्लेषण । त्यसको अर्थ यो हो र हुन्छ : एकातिर, हाम्रा सबै तात्कालिक नीतिहरू हाम्रा सिद्धान्त र रणनीतिको सेवा गर्ने प्रकारको नै हुनुपर्छ । अर्कातिर, तिनीहरूले ठोस परिस्थितिको ठोस विश्लेषणसित पनि मेल खानुपर्दछ ।

    यी दुवै विषयमा देखापर्ने गल्तीले पार्टी वा आन्दोलनलाई एक वा अर्को प्रकारको भड्कावमा पुर्‍याउँछ र त्यसबाट पार्टी र क्रान्तिलाई ठूलो क्षति पुग्दछ । कतिपय अवस्थामा त्यसप्रकारको क्षतिको प्रकृति तात्कालिक मात्र नभएर दीर्घकालिन प्रकारको पनि हुन्छ । द्वितीय, विश्वयुद्धको समयमा काउत्सकीले युद्धबारे जुन गलत नीति अपनाए त्यसले क्रान्तिकारी आन्दोलनलाई विश्वव्यापी रूपमा र दीर्घकालिन रूपले नै ठूलो क्षति पुर्‍यायो । सोभियत सङ्घको बीसौँ पार्टी काङ्ग्रेसमा ख्रुश्चेभले लिएको दक्षिणपन्थी संशोधनवादी नीतिले खाली रूसको कम्युनिस्ट पार्टीलाई मात्र होइन, विश्व समाजवादी व्यवस्थालाई नै ठूलो धक्का दियो । ठीक त्यही प्रकारले नेपालमा डा. केशरजङ्ग रायमाझीको राजावादी लाइन तथा पूर्व माले र माओवादीहरूका उग्रवामपन्थी भड्कावहरूले पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुर्‍याएका छन् ।

    उनीहरूका गलत नीतिहरूको परिणामस्वरूप कम्युनिष्ट आन्दोलनलाई तात्कालिक रूपमा मात्र ठूलो क्षति पुगेन, त्यसले कम्युनिस्ट आन्दोलनको एउटा ठूलो पंक्तिलाई दक्षिणपन्थी संशोधनवादी दिशामा पुर्‍यायो । त्यसकारण कम्युनिस्ट आन्दोलनमा देखापर्ने कुनै पनि प्रकारका गलत नीतिहरूका विरुद्धको सङ्घर्षलाई हामीले कहिल्यै पनि हचुवा रूपमा लिनु हुँदैन र तिनीहरूका विरुद्धको सङ्घर्षलाई सधैँ नै दृढतापूर्वक र सम्झौताहीन प्रकारले अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ ।

    कुनै पनि बेलाको कार्यनीति त्यस बेलाको तात्कालिक राजनीतिक स्थितिसित सम्बन्धित् हुन्छ । कुनै खास बेलाको स्थितिबारे कुन प्रकारको नीति अपनाउने ? त्यसप्रकारको नीति सही हुन्छ वा गलत ? त्यसले तात्कालिक रूपमा मात्र होइन, पार्टी वा आन्दोलनको भावी दिशा वा अवस्थालाई पनि लामो समयसम्म प्रभावित पार्दछ । त्यही कुरा अहिलेको नेपालको राजनीतिक सन्दर्भमा पनि सत्य हो । उपरी प्रकारले हेर्दा सामान्य जस्ता देखिने कैयौँ राजनीतिक प्रश्नहरूबारे अपनाइने गलत वा सही नीतिका दीर्घकालिन परिणामहरू वा कतिपय अवस्थामा दुस्परिणामहरू पनि निस्कन्छन् । अहिले गणतन्त्रबारे उठिरहेको विवाद त्यही प्रकारको एउटा विषय हो । जसलाई उपरी प्रकारले हेर्दा सामान्य जस्तो देखिन्छ, तर त्यसबारे अपनाइने सही वा गलत नीतिका कैयौँ गम्भीर परिणामहरू हुन सक्दछन् ।

    आज देशमा कैयौँ पक्षहरूले गणतन्त्रलाई समाप्त गर्न आवाज उठाइरहेका छन् वा अभियान चलाइरहेका छन् । कतिपय पक्षहरूको त त्यसका पछाडि एउटा स्पष्ट उद्देश्य छ, जस्तो कि राजतन्त्रको पुनस्र्थापना गर्नु । तर, कतिपयले हावामा तीर चलाइरहेका छन्, जस्तो कि, नेकपा (क्रान्तिकारी–माओवादी) र नेकपा विप्लबहरूले । उनीहरूले पनि गणतन्त्रमाथि हमला गरिरहेका छन् । त्यसको उद्देश्य उनीहरूले नयाँ जनवादी गणतन्त्रको स्थापना बताउँछन् । तर, तत्काल त्यो उद्देश्य पूरा गर्नु सम्भव छैन । त्यसकारण उनीहरूले गणतन्त्रमाथि झटारो हानेर जुन परिणाम निस्कने छ, त्यो प्रतिगमनको पक्षमा नै जाने कुरा दिनको उज्यालो झै छर्लङ्ग छ ।

    रणनीतिलाई सही प्रकारले बुझ्न वा ग्रहण गर्न नसक्नुको परिणाम स्वरूप उनीहरूको नीति ‘वामपन्थी’ सङ्कीर्णवादी बन्न गएको छ । उनीहरूको त्यसप्रकारको नीतिले भोलि गएर उग्र‘वामपन्थी’ गल्तीको रूप लिने हो वा त्यसले दक्षिणपन्थी दिशा समात्ने हो ? त्यो कुरा भविष्यमा नै थाहा हुनेछ । त्यो कुरा जे भएपनि तत्काल उनीहरूको हमला बढी क्रान्तिकारी वामपन्थी आन्दोलनमाथि नै भएको कुरा बुझ्न गाह्रो पर्दैन । त्यसरी उनीहरूको नियत त्यसप्रकारको नभएपनि उनीहरूको ‘वामपन्थी’ सङ्कीर्णतावादी नीतिका दुईवटा परिणामहरू हुनेछन् । प्रथम, प्रतिगमनको सेवा । द्वितीय, वामपन्थी आन्दोलनमाथि हमला । गणतन्त्रका साथै राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा र सङ्घीयताको विरोध पनि तात्कालीन राजनीतिक दृष्टिकोणले सङ्घर्षका मुख्य विषयहरू हुन् ।

    हाम्रो आजको आधारभूत लक्ष्य नयाँ जनवादी क्रान्ति भएपनि र त्यसका लागि वस्तुगत परिस्थिति तयार भएपनि आत्मगत अवस्था तयार नभएकोले हामीले तत्काल त्यो लक्ष्य पूरा गर्न सक्दैनौँ । तैपनि तात्कालिक रूपमा सही नीति अपनाएर त्यसका लागि सशक्त आन्दोलन उठाएर नयाँ जनवादी क्रान्तिका लागि परिस्थिति तयार पार्न हामीले प्रयत्न गर्दै जानुपर्दछ । यस सन्दर्भमा अन्य राजनीतिक शक्तिहरूको कुन प्रकारको भूमिका रहेको छ र उनीहरू प्रति कुन प्रकारको दृष्टिकोण अपनाउने त्यसबारे पनि केही विचार गर्नुपर्ने आवश्यकता छ । त्यस सन्दर्भमा सबैभन्दा महत्वपूर्ण प्रश्न हो : नेकपाको वर्तमान सरकारप्रतिको दृष्टिकोण ।

    हामीले पहिले नै स्पष्ट गरिसकेका छौँ, आजको देशको राष्ट्रिय सङ्कटलाई, जो सामन्ती र औपनिवेशिक शोषण वा देशको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाका कारणले उत्पन्न भएको छ, समाधान गर्नु वर्तमान नेकपा सरकारका लागि सम्भव छैन । तैपनि जुन प्रकारले हामीले वर्तमान सरकारलाई समर्थन गरेका छौँ, त्यसको अंशतः सकारात्मक आधार भएको वा त्यस अर्थमा विभिन्न प्रतिक्रियावादी शक्तिहरूको तुलनामा त्यसको चरित्र अंशतः सकारात्मक भएको वास्तविकताप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । यो वास्तवमा गुणात्मक र मात्रात्मक अन्तरको प्रश्न हो । आजको देशको राजनीतिक परिस्थितिमा आमूल परिवर्तन गर्नु वा समाधान गर्नु नेकपा वा त्यसको सरकारका लागि सम्भव छैन ।

    तर, मात्रात्मक रूपमा नेका, राप्रपा वा मधेशवादी सङ्गठनहरूका तुलनामा त्यसका नीतिहरू बढी सकारात्मक भएको कुरालाई अस्वीकार गर्न सकिन्न । वर्तमान सरकारका नीति र कार्यशैलीहरू अत्यन्त असन्तोषजनक छन् र तिनीहरूको सम्झौताहीन प्रकारले विरोध गर्नुपर्ने वा तिनीहरूका विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ । तर, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता प्रश्नहरूमा नेकपा वा त्यसको सरकारका नीतिहरू बढी प्रगतिशील वा सकारात्मक भएको कुरा वास्तविकता हो । राप्रपाले गणतन्त्रलाई समाप्त गरेर राजतन्त्रको पुनस्र्थापना गर्न चाहन्छ र त्यसको लागि हिन्दू धर्मलाई हतियार बनाएको छ । नेकाभित्र पनि त्यसप्रकारका विचारहरू राख्ने मानिसहरूको ठूलो पंक्ति छ । यी प्रश्नहरूमा अर्थात् गणतन्त्र र धर्मनिरपेक्षताका प्रश्नहरूमा नेकपाले स्पष्ट र दृढ अडान लिएको पाइन्छ र त्यो अडानलाई हामीले समर्थन गरेका छौँ । उक्त कारणहरूले गर्दा नेका वा राप्रपाहरूका तुलनामा नेकपाको पक्ष बढी सकारात्मक भएको कुरा प्रष्ट छ ।

    नेकपाका कतिपय सकारात्मक पक्षहरूलाई हामीले समर्थन गरेको विषयहरूलाई सैद्धान्तिक र अन्तर्राष्ट्रिय कम्युनिस्ट अभ्यासका दृष्टिकोणले पनि केही प्रष्ट गर्नु सायद अप्रासाङ्गिक हुने छैन । द्वन्द्ववादले यो स्वीकार गर्दछ कि कतिपय प्रतिक्रियावादी चिजहरूमा पनि सकारात्मक पक्षहरू हुन्छन् र तिनीहरूलाई समर्थन गर्नुपर्छ । माक्र्सले हेगेलको आदर्शवादबाट द्वन्द्ववादलाई समर्थन नगरेको कुरा त्यही प्रकारको एउटा उदाहरण हो । यद्यपि, अराजकतावादीहरूले त्यसका लागि माक्र्सको कडा आलोचना गरेका थिए । माक्र्सले कम्युनिस्ट घोषणापत्रमा पुँजीवादका सकारात्मक योगदानहरूको पनि मुक्त कण्ठले प्रशंसा गरेका छन् । साहित्यको क्षेत्रमा माक्र्स वा लेनिनहरूले त्यही प्रकारको दृष्टिकोण अपनाएका छन् ।

    त्यही प्रकारको दृष्टिकोण संयुक्त मोर्चाको पनि आधार बनेको छ । जहाँ कैयौँ प्रतिक्रियावादी, दुश्मन शक्ति वा दक्षिणपन्थी संशोधनवादीहरूसित पनि आवश्यकतानुसार संयुक्त मोर्चा वा कार्यगत एकता गर्ने गरिन्छ । त्यस सन्दर्भमा स्तालिनले फासिवादका विरुद्ध साम्राज्यवादी शक्तिहरू र माओले जापानी आक्रमणका विरुद्ध च्याङ्काईसेकसित एकता गरेका उदाहरणहरू विशेष रूपले उल्लेखनीय छन् । यस सन्दर्भमा हाम्रो पार्टीले कोदारी र पूर्वपश्चिम राजमार्गको सन्दर्भमा तात्कालीन राजा महेन्द्रको नीतिलाई समर्थन गरेका, महाकाली सन्धिका विरुद्धको सङ्घर्षमा राप्रपासित कार्यगत एकता गरेका वा २०४६ सालमा नेकासित तथा २०६२–६३ सालमा नेका र मधेशवादीहरू समेतसित कार्यगत एकता गरेका उदाहरणहरू पनि उल्लेखनीय छन् । त्यसप्रकारको पृष्ठभूमिमा अहिले हामीले नेकपा वा त्यसका कतिपय नीतिहरूलाई समर्थन गर्दछौँ भने त्यो माक्र्सवादी सिद्धान्त, अन्तर्राष्ट्रिय कम्युनिस्ट अभ्यास वा स्वयं हाम्रो पार्टीले अपनाउँदै आएका नीतिहरू अनुरूप नै छ ।

    बीपीको सरकार भएको बेलामा विभिन्न राजावादी शक्तिहरूका साथै डा. केशरजङ्ग रायमाझीले पनि नेकाको सरकारको विघटनको मागमा जोड दिएका थिए । त्यो सरकारको विघटनको माग गर्ने बेलामा उनले यो कुरा अगाडि ल्याएका थिए ः ‘अब हामीले जनक्रान्ति (पिपुल्स रिभूलेसन) गर्नुपर्दछ ।’ त्यसरी जनक्रान्तिको कुरा गरेर उनले त्यो बेलाको नेकाको सरकारको विघटनको मागमा जोड दिएका थिए । बताइरहनुपर्ने आवश्यकता छैन कि : उनको ‘जनक्रान्ति’को नाराले वास्तवमा प्रतिगमनको नै सेवा गर्दथ्यो । अर्को शब्दमा त्यसप्रकारको ‘क्रान्तिकारी’ नारा दिनुको पछाडिको उद्देश्य राजाको निरङ्कुश शासन ल्याउनको लागि मार्ग प्रसस्त गर्नु नै थियो । पुष्पलाल र मैले समेत रायमाझीको त्यसप्रकारको विचारको विरोध गरेका थियौँ । (हेर्नुहोस्, लेखकको पुस्तक द्वितीय महाधिवेशनदेखि दरभङ्गा प्लेनसम्म) करिब ६ दशकपछि प्रकारान्तरले त्यही प्रकारका सोचाइहरू नयाँ जनवादी क्रान्तिको नाममा अगाडि आउन थालेका त छैनन् । यो प्रश्न पनि नउठाइकन रहन सकिन्न ।

    सायद अहिले नयाँ जनवादी क्रान्तिको नाउँमा गणतन्त्रलाई समाप्त गर्ने नारा जसले अगाडि ल्याइरहेका छन्, उनीहरूको नियत रायमाझीको जस्तै राजतन्त्रको पुनस्र्थापना गर्ने छ भनेर त हामीले भन्दैनौँ, तैपनि क्रान्तिको नाममा गणतन्त्रमाथि हमला गर्ने विचारले अहिलेको स्थितिमा प्रतिगमनको नै सेवा गर्ने बढी सम्भावना छ भनेर हामीले दावीपूर्वक भन्न सक्दछौँ । तर, त्यसो भएमा साँच्चिकै क्रान्तिकारी साथीहरूलाई पनि इतिहासले रायमाझीकै पंक्तिमा पुर्‍याउने छ । तर, हामीले कामना गर्दछौँ, त्यस्तो हुने छैन ।

    नेकपाको एक वर्ष : एकता पूर्ण नहुँदा वैचारिक–साङ्गठनिक शिथिलता

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    – मोहनविक्रम सिंह

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!