रौतहट, बाग्लुङ र हेटौंडामा गरी ४२ जनामा सङ्क्रमण पुष्टि, सबै भारतबाट हालै आएका

27 May, 2020 16:59 | जल/वातावरण/स्वास्थ्य | comments | 28650 Views

बुधबार मध्यान्हसम्म रौतहट र बाग्लुङ र हेटौंडामा गरी ४२ जनामा मा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बुधबार रौतहटमा थप ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाको गौर, देवाही गोनाही, ईशनाथ, कटहरिया र गढिमाई नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् । संक्रमित ३५ जनामध्ये गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाही गोनाही नगरपालिकामा दुई, कटहरिया नगरपालिकामा दुई र गढीमाई नगरपालिकामा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभएको छ ।

सङ्क्रमण पुष्टि भएका सबैजना हालै भारतको विभिन्न सहरबाट रौतहट आएको समेत प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

  

सङ्क्रमित सबैजना सम्बन्धित पालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसिरहेका छन् । सङ्क्रमण पुष्टि भएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । केही दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक हजार ११२ जनाको स्वाब सङ्कलन गरी परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएकोमा बुधबार ३५ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला जन स्वास्थ्य कार्यालय प्रमुख कृष्ण साहले बताउनुभयो ।

यसअघि मङ्गलबार मात्रै विभिन्न नगरपालिकामा गरी २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । योसँगै रौतहटमा सङ्क्रमित हुनेको सङ्ख्या १०५ पुगेको छ ।

जिल्लामा हाल गौर नर्सिङ क्याम्पसको आइसोलेसनमा १८ जना र राजपुर स्वास्थ्य चौकीको आइसोलेसनमा २६ जनाको उपचार भइरहेको छ ।

उता बाग्लुङमा थप ६ जनामा कोरोना भाइरस कोभिड (१९ सङ्क्रमण पुष्टि भएको छ । नेपालको पाँचौ र छैठौ संक्रति भेटिएको बाग्लुङमा पछिल्लो पटक थप ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । पोखरास्थित गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङको तमानखोला गाउँपालिकाका चार जना र बडिगाढ गाउँपालिकाका दुई जनामा सङ्क्रमण भेटिएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माका अनुसार सङ्क्रमण पुष्टि भएका बडिगाढ गाउँपालिकाका १९, २० वर्षका पुरुष र तमानखोलाका २१, २१, २७ र २७ वर्षका पुरुष रहेका छन् । सङ्क्रमित सबै भारतमा रेल सेवा सञ्चालनमा आएपछि भारतका विभिन्न शहरबाट नेपाल भारत सिमा सुनौली नाकाबाट नेपाल प्रवेश गरेका थिए । सुनौलीबाट प्रदेश ५ को गुल्मी र बाग्लुङको सीमा खर्वाङ हुँदै जिल्ला प्रवेश गरेका सबै क्वारेन्टाइनमा बसेका थिए ।

सङ्क्रमित मध्य चार जना तमानखोला गाउँपालिकाको धनगौज्योती माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइन र दुई जना बडिगाढ गाउँपालिकाको त्रिभुवन माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेका थिए । तमाखोलामा ८ जनाको समूह भारतबाट आएको र ति मध्य चार जनामा सङ्क्रमण देखिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।

यस्तै बडिगाढमा पनि आठ जनाको समूह भारतबाट आएको र तीमध्ये दुई जनामा सङ्क्रमण देखिएको गाउँपालिका अध्यक्ष मेहरसिँह पाइजाले जानकारी दिनुभयो ।
सङ्क्रमित छ जनालाई नै बाग्लुङ जिल्ला सदरमुकामको धौलागिरि अस्पतालको आइसोलेसनमा ल्याउँने तयारी गरिएको स्थानीय तहहरूले जनाएका छन् । बाग्लुङमा यस अगाडि सङ्क्रमित भएका दुई जना निको भएर घर फिर्ता भइसकेका छन् ।

त्यसै गरी हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि चौकीटोलमा उनी बस्दै आएको घर सिल गरेर सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More