लकडाउनको बेवास्ता गर्दै बराहपोखरीको यात्रामा हजारौं भक्तजन

7 May, 2020 19:05 | कर्पोरेट/पर्यटन | comments | 23250 Views

— जनक श्रेष्ठ

वरिपरि सेताम्य हिमाल । हरियो खर्क र समथर मैदान । वनभरी फुलेका विभिन्न रङ्गका लालीगुराँसले बराहपोखरी तालको सौन्दर्य बढाएको छ ।

  

लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका र दोर्दी गाउँपालिकाको सिमानामा पर्ने बराहपोखरी प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको क्षेत्र हो र यहाँ हरेक वर्ष वैशाख पूर्णिमाका दिन हजारौं भक्तजन पुग्ने गर्दछन् ।

अन्नपूर्ण र मनास्लु हिमशृङ्खला अन्तर्गतका दर्जनौ हिमालको दृश्यावलोकन गर्न सकिने बराहपोखरीमा कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको बेवास्ता गर्दै भक्तजनहरु यतिखेर त्यता पुगेका छन् ।

भगवान विष्णुको वासस्थान एवं थकाई मेटेको कथासँग जोडिएको धार्मिक, ऐतिहासिक बराहपोखरीमा केही दिनयतादेखि जिल्लाको विभिन्न स्थानबाट भक्तजन पुग्ने गरेका छन् । सो पोखरीमा वैशाख पूर्णिमा (बुद्ध पूर्णिमा)मा अन्य दिनभन्दा बढी भीडभाड भएको छ ।

वर्षेनी वैशाख पूर्णिमाको दिन भक्तजनको ठूलो भीडभाड लाग्ने गरेको छ । यस पोखरीमा नुहाउँदा वर्षौंदेखिको रोग निको हुने, सन्तान नहुनेहरुको सन्तान हुने, मुख नबोल्नेहरु बोल्ने र मनको कामना पूरा हुने जनविश्वास रहेको छ । यही जनविश्वास कायम राख्दै लकडानउनको समेत बेवास्ता गर्दै भक्तजनहरु त्यहाँ पुगेका छन् ।

केही दिनअघिसम्म दैनिक ५०÷६० जना आन्तरिक पर्यटक बराहपोखरी पुग्ने गरेको भएपनि आज भने तीन÷चार सयजना भक्तजन त्यहाँ पुगेका छन् । यसरी भीडभाड हुँदा कोरोना सङ्क्रमणको समेत उच्च जोखिम हुने चिकित्सकको भनाइ छ । मस्र्याङ्दी गाउँपालिकाका होमलाल तामाङले भन्नुभयो, “सरकारले लागू गरेको लकडाउनका बेला भए पनि यस गाउँपालिका हुँदै समूह समूहमा मानिसहरु बराहपोखरी जाने गरेका छन् ।” वैशाख महिना लागेदेखि दैनिक १०÷१५ जनाको दुई÷तीन वटा समूह त्यहाँ जाने गरेको उहाँको भनाइ छ ।

समुन्द्री सतहबाट तीनहजार ६ सय ५० मिटर उचाइमा रहेको बराहपोखरी मस्र्याङ्दी गाउँपालिकाको खुदी, भुलभुलेबाट भुष्मेहुँदै जान सकिन्छ । त्यस्तै बेंसीसहरबाट चिति माझगाउँ, पुरानो दुबार हुँदै त्यहाँ जान सकिन्छ भने छिनखोला, दुबारबाट पनि एकै दिनमा बराहपोखरी पुग्न सकिन्छ ।

गाउँपालिकाबाट रोक

वैशाख ७ गते मस्र्याङ्दी गाउँपालिकाको गाउँ कार्यपालिका बैठकले बराहपोखरी नजानलाई नागरिकलाई अनुरोध गर्ने निर्णय र त्यहाँ जान लागेकालाई नाका नाकाबाट फिर्ता पठाउने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन गर्नका लागि पालिकाका वडाध्यक्षहरुले भक्तजन तथा तीर्थालुलाई रोक लगाउने काम भइरहेको गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले त्यहाँ जानलाई रोक लगाए पनि केही दिनअघिबाट फटाफट मानिस भने जाने गरेको पाइएको छ ।”

केही दिनअघि बराहपोखरी पुगेर फर्किनुभएका मस्र्याङ्दी गाउँपालिकाका सोभित पोख्रेलले भन्नुभयो, “हामी २१ जनाको समूहमा बराहपोखरी पुगेर आयौँ । वैशाख पूर्णिमाको दिन बढी भीडभाड हुने र कोरोना भाइरस सङ्क्रमणको जोखिम भएकाले केही दिनअघि गए पनि त्यहाँ विभिन्न स्थानबाट समूह समूहमा मानिस आएका थिए । घुम्न र धार्मिक आस्थाका साथ पुगेर आएको उहाँहरुको भनाइ छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More