‘लकडाउन’ उल्लंघन मुर्खता हो- चीनको सफलता र इटालीको असफलताबाट सिकौं

25 March, 2020 14:15 | बिचार | comments | 108150 Views

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्ने एउटै उपाय भनेको मानिसहरुबीच कुनै पनि प्रकारको सम्पर्कबाट टाढा राख्नु हो- यसको औषधि छैन, संक्रमण हुन नदिने कुनै खोप पनि छैन ।

एकजना मात्र संक्रमित भीडभाडमा पुग्यो भने उसले धेरैलाई संक्रमित गराउने हुँदा कोरोना फैलिएका विश्वका सबैजसो देशमा ‘लकडाउन’ गरिएको छ र नेपाल सरकारले एक हप्ते लकडाउन गरेको भए तापनि यसको उल्लंघन भएकाले चिन्ता थपिएको छ ।

सरकारले हाम्रै लागि लकडाउन गरेको हो भन्ने  बुझ्नु जरुरी भए पनि यो विषयलाई सरकारको राजनीतिक एजेण्डा जस्तो ठानिएकाले लकडाउन अरु कडा हुनसक्ने सम्भावना देखिएको ।

  

लकडाउन मात्र हैन निषेधाज्ञा नै गर्नुपरे पनि पछि पर्न नहुने अहिलेको स्थितिमा सरकारले “सफ्ट लकडाउन” गर्दा घर बाहिर निस्केर, सवारी साधन कुदाएर बहादुर गरेको ठानियो ।

चोकचोकमा बसेर ‘कोरोना गफ’ चुट्नेहरुको कमी देखिएको छैन । प्रहरी भ्यान देखे लाखापाखा लाग्ने अनि प्रहरी फर्केपछि त्यही प्रवृत्ति दोहोरने गरेको छ । यदि यसरी अवज्ञा गर्ने हो भने महामारी नफैलेला भनेर भन्न सकिन्न । किनभने नेपालमा कोरोना भित्रिसकेको अब लुकाउनुपर्ने विषय रहेन ।

लापरवाहीपूर्ण तरिकाले जानीजानी रोग प्रसार गर्नु धर्मविपरीत र कानुनविपरीत हो । मानवको बाँच्न पाउने अधिकार सुरक्षित गर्न गरिएको लडडाउन कुनै राजनीतिक स्वार्थप्रेरित नभएकाले यसको पालना गर्नु हामी हाम्रै सुरक्षाका लागि हो भन्ने बुझ्न अप्ठ्यारो नमान्दा जाति हुन्छ । अनि शान्तसंग निडर भएर सामान्य उपाय अपनाएर घरमै बसे कोरोना संक्रमण हुँदैन । यसैका लागि सरकारले लकडाउन गरेको हो ।

चीनबाट सुरु भएको यो रोग चीनको आफ्नै तरिकाले निमूृल गर्न सफल भयो । चीनले पूर्णत लकडाउन गरेर एकएक संक्रमित खोजेर उपचार गर्यो र अहिले सो मुलुकमा संक्रमण छैन । केही संक्रमितहरुको उपचार भैरहेको छ । सूचना प्रविधिको यो युगमा हामीले प्राप्त गरेका सूचनाहरुलाई आधार बनाएरै आफ्नो सुरक्षा आफैंले गर्नुपर्ने हो र यसमा सरकारले चालेका कदमलाई साथ दिनु हरेक नागरिकको कर्तव्य हो ।

हामीले आफू, परिवार, छरछिमेक र सिंगो देशमाथि यसरी खेलवाड गरेर लकडाउन उल्लंघन गर्नु बहादुरी ठान्ने महामूर्खता प्रदर्शन गर्नु स्वयंको जीवन जोखिममा पार्नु बाहेक केही हैन, यसले आफू त असुरक्षित भइन्छ नै अरुको स्वस्थ रहने अधिकारको समेत हनन् भएको मानिनेछ । हामी सबैले इटालीबाट सिक्नैपर्छ । त्यहाँ निषेधाज्ञा उल्लंघन गर्दा नै व्यापक मात्रामा मानवीय क्षति पुगेको हो ।

स्वास्थ्य सेवाको दृष्टिले विश्वमै दोस्रो नम्बरमा आउने इटालीमा दैनिक ५ सयभन्दा बढीको मृत्यु कोरोना संक्रमणबाट हुनु र संक्रमितहरु बढ्नु जनताले सरकारी आदेशको पालना नगर्दाको परिणाम हो । यसको विपरीत चीनले कडाईका साथ यो आदेशलाई कार्यान्वयनमा ल्यायो । अहिले कोरोनाको जन्मथलो कोरोनामुक्त भएको छ । चीनको रोकथाम प्रयास र इटालीको लापरवाहीबाट नै हामीले सिक्ने हो ।

कोरोनाका विषयमा अनगिन्ती भ्रम छन्, त्रास फैलाइएको छ अनि यसैको नाममा अकूत कमाउन चाहनेहरु पनि सल्बलाइरहेका छन् । तर संक्रमण फैलिन नदिन चाल्नुपर्ने कदममा हामी आफैं अग्रसर हुनुको साटो सरकारको प्रयासलाई बेवास्ता गर्नु भनेको आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्नु बराबर हो ।

हामी सबैको एकताबद्ध प्रयासबाट मात्र यो विश्वव्यापी महामारीबाट बच्न र बचाउन मद्दत गर्नेछ । सरकारको प्रयास र नीतिको हामीले अवज्ञा गर्ने हो भने यो महामारीले हामीलाई नै सिध्याउने हो । प्रविधिमा कमजोर, आर्थिक रुपमा गरीब र स्रोत साधनको चरम अभाव भएको हाम्रो देशमा कोरोना संक्रमण विश्वका अन्य मुलुकहरुमा जसरी फैलियो भने त्यसपछि हामीले पश्चाताप गर्नुको कुनै अर्थ छैन । तसर्थ महामारी फैलिनुअघि नै सचेत भएर अघि बढ्नु र रोकथामका उपायहरुलाई साथ दिनु नै बुद्धिमानी हो ।

आज विद्यालय बन्द छन्, कलेज र विश्वविद्यालय पनि बन्द छन् र सरकारी कार्यालयहरु पनि बन्द नै छन् । यसले मुलुकलाई ठूलो आर्थिक क्षति त हुन्छ तर त्योभन्दा ठूलो क्षति कोरोना संक्रमण फैलियो भने हुन्छ, जसको कल्पना हामीले गर्न सक्ने छैनौं । तर हामीले समय छँदै सावधान भयौं भने यसलाई रोक्न सकिन्छ र सक्छौं ।

अन्त्यमा पुनः इटालीकै सन्दर्भ
एक महिना अघिसम्म इटालीमा जम्मा ५ जना संक्रमित भेटिएपछि सरकारले लकडाउनको घोषणा गर्दा त्यहाँका जनताले त्यसको पालना गरेनन्, जथाभावी हिंडडुल र भेटघाट गरिरहे । त्यसको परिणाम आज इटाली विश्वमै सबैभन्दा डरलाग्दो स्थितिमा पुगेको छ ।

हामीले सिक्नुपर्ने कुरा यही हो । तसर्थ ‘लकडाउन’ सरकारलाई हैन हाम्रै लागि हो भन्ने हृदयंगम गरौं, यसको उल्लंघन हैन पालना गरौं । यसबाट मात्र आफू बच्न सकिन्छ र अरुलाई पनि बचाउन सकिन्छ । हामी एकजनालाई हुने संक्रमणले हजारौं संक्रमित हुनेछन् । यो तथ्यलाई सबैले बुझौं र अरुलाई पनि बुझाऔं ।

(लेखक श्रेष्ठ उर्सा मेजर चिल्ड्रेन्स एकेडेमी खुसिंबुका संचालक सदस्य हुन्)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More