लामिछानेको पक्षमा उत्रिएको जमात कुनै नेताका लागि किन भएनन ?

17 August, 2019 23:55 |राजनीति | comments | 50400 Views

    – यादब देवकोटा

    दुई दिनयता एकजना पत्रकारको पक्षमा जनसागर सडकमा उत्रिएको छ । नेपालको इतिहासमै एउटा पत्रकारका पक्षमा स्वस्फूर्तरुपमा जनता सडकमा उत्रेको पहिलो घटना हो ।

    adsads

    एउटा पत्रकारको कामको जनताले गरेको समर्थन देख्दा पत्रकारिता संसारभर किन नै निकै सम्मानित र जिम्मेवार पेशा मानिन्छ भन्ने पनि प्रमाणित भएको छ । पत्रकारिता दुईछाकको जोरजामका लागिभन्दा पनि देश र समाजका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ गरिने पेशा भएकैले यसलाई अघोषित रुपमा प्रजातान्त्रिक मुलुकहरुमा राज्यको चौथो अंगका रुपमा हेरिन्छ ।

    तर नेपाली समाजमा पत्रकारिता क्षेत्र बदनाम छ र सबभन्दा काम नलाग्ने पेशाको रुपमा हेर्ने गरिन्छ । यसमा स्वयं पत्रकारहरु कति दोषी भन्ने त छँदछ । नेताका झोले अनि पार्टीका कार्यकर्ता तथा एक छाक मासुभातका लागि इमान बन्दकी राख्नेहरुका कारण यो सम्मानित, मर्यादित र अत्यन्त जिम्मेवार पेशा बदनाम भएको छ ।

    यस्तोमा केही वर्षयता न्यूज २४ टेलिभिजनबाट सिधा कुरा जनतासंग कार्यक्रम मार्फत जनताका समस्या समाधानका लागि अनुसन्धानमा समेत सक्रिय पत्रकार रवी लामिछानेलाई सोही कार्यक्रमका पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा बिहिबार पक्राउ गरी शुक्रबार जिल्ला अदालत चितवनमा पेश गरिएपछि चितवनमा जनसागर उर्लियो ।

    रवीको पक्षमा उत्रेको जनता कसैको उक्साहटमा आएका थिएनन् । रवी लामिछानेको कामका कारण उनीहरु सडकमा उत्रिएका थिए । आजसम्म कुनै नेताको पक्षमा यति मानिस सडकमा उत्रेका थिएनन् । भ्रष्टाचारको आरोप प्रमाणित भएर जेल जीवन बिताएर फर्केका नेताको स्वागतका लागि फूलमाला लिएर जेलको मूल ढोकामा पुग्नेहरुले जनताको मत जिते समर्थनका लागि रक्सी र मासु भात खुवाउनु पर्दोरहेनछ भन्ने बुझेको हुनुपर्छ ।

    सूचना विभागबाट प्रेसपास लिने बीसौं हजार पत्रकार छन् । पत्रकार महासंघका सदस्यहरु पनि त्यत्तिकै छन् । नेपाली कांग्रेसको भातृ संगठन प्रेस यूनियन, सत्तारुढ नेकपाको भातृ संगठन प्रेस सेन्टर, मधेशवादी दलहरुको त्यस्तै अर्को संगठनमाा आबद्ध भएर आआफ्ना दल अनि नेताको स्वार्थ र पक्षमा मात्र कलम चलाएर पत्रकारिताको धर्म बिर्सिएका पत्रकारहरुको भीडमा रवी लामिछाने जसरी उदाएर र जस्तो काम गरे त्यो नै उनको पक्षमा चितवन र काठमाडौंमा जनसागर उत्रिनुको कारण हो ।

    यो देशमा धुर्मुस सुन्तलीले एकीकृत बस्ती निर्माण थाले देश विदेशबाट सहयोग र स्वाबासी पाए । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएर आएपछि विद्युत माफियाको सातो खाए, लोडसेडिङ अन्त्य गराए । ३० अर्ब रुपैयाँभन्दा बढी घाटामा रहेको प्राधिकरणलाई वार्षिक ७ अर्ब रुपैयाँ नाफा दिलाए । उनका बिरुद्ध सानो आवाज निस्कियो भने सामान्य जनता सडकमा उत्रन्छन् ! किन ? बुझेका छन् राजनीतिबाजहरुले यो कुरा ?

    राजनीति गर्नेहरु नै सबभन्दा उच्च वर्गका हुन् भन्ने भ्रम र दम्भ पालेर राजनीतिको आडमा तस्कर, माफिया र भ्रष्टहरुको संरक्षण गर्दै आफ्नो समृद्धिको सोपान ठड्याउनेका बिरुद्ध जनतालाई संगठित गर्ने कोही नभए पनि असल कर्मद्वारा राष्ट्रलाई जोड्ने काम गर्ने रवी, धुर्मुस–सुन्तली र कुलमान जस्ता सपुतहरुका पक्षमा जनता स्वाभाविक रुपमा सडकमा उत्रँदा रहेछन् । जनता कति सचेत रहेछन् भन्ने पनि देखिएको छ ।

    वर्तमान प्रधानमन्त्री केपी ओलीका पक्षमा कुनै पार्टीले आव्हान नगरी कसरी जनता उनको समर्थनमा सडकमा उत्रिएका थिए भारतीय नाकाबन्दी बिरुद्ध । एक छाक खान तयार छां भारतसंग नझुक भन्दै हौसला दिने जनता कुनै पार्टीका कार्यकर्ता थिएनन् । मैले यसो किन भनिरहेको हो भने जनताले अब दूध र पानी छुट्याउनसक्ने हैसियत बनाइसकेका छन् । सधैं भ्रम छरेर आफ्नो दूनो सोझ्याउने दिन गए ।

    भन्नेले भन्लान् यो सब नियोजित हो, प्रायोजित हो, अदालत र प्रहरीलाई प्रभावित पार्ने कसैको खेल हो ? हो रवीको पक्षमा उत्रिएको जनलहरले अनुसन्धान प्रभावित हुनु हुँदैन । अहिलेको प्रदर्शन निष्पक्ष अनुसन्धानका लागि हो । पत्रकार शालिकरामको मृत्युको वास्तविकता पत्ता लगाउनका लागि हो ।

    पत्रकार हुन् वा प्रशासक, प्रहरी हुन् वा नेता राम्रो काम गर्नेको सबैले समर्थन गर्छन् । वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि जनताका हिरोमध्येकै एक हुन् । उनीबाट गलत काम हुँदैन भन्ने अझै पनि आशा बाँकी छ । तर हिजो जिम्मेवारी निर्वाह गर्दाका खनाल आज प्रहरीको नेतृत्वमा पुगेपछि कता कता दवावमा बसेको धेरैको अनुभूति छ ।

    अब पुनः चर्चा गरौं पत्रकारिताको । पत्रकारिता देश र समाज परिवर्तनको ऐना हो, मेरुदण्ड हो । एउटा समाचारले कति प्रभाव पार्छ भन्ने दृष्टान्त नेपालमा मात्र हैन विश्वभर नै लाखौं छन् । रवी लामिछानेले जनताको पत्रकारिता गरे र उनले अपार समर्थक कमाए । हामी सबै पत्रकारले त्यस्तै गर्ने प्रयास थाल्ने हो भने व्यक्तिको समर्थन मात्र हैन राष्ट्रकै उन्नतिको ढोका खोल्नेछ ।

    शालिकराम प्रकरणलाई निर्मला पन्त बलात्कार र हत्या जस्तो बनाउने र अपराधी उम्काउने प्रयास त भएको हैन भन्ने आम चिन्ताको विषय छ । निर्मला पन्तको बलात्कार र हत्या एउटा मानसिक सन्तुलन गुमाएको युवाले गरे भनेर प्रहरीले सार्वजनिक गर्दा कञ्चनपुर आन्दोलित भयो । त्यति मात्र हैन उनी हत्यारा नभएको प्रमाणित भयो । अहिले मृत्यु भएका पत्रकारको विवादास्पद भिडियोलाई आधार बनाएर जे गरिंदैछ त्यो भने पटक्कै अनुसन्धानको सिद्धान्तभन्दा बाहिर छ ।
    त्यसैले जनता सडकमा उत्रिएका हुन् । यहाँ बुझ्नुपर्ने कुरा के हो भने किन लामिछानेको पक्षमा इन्द्रजात्राको रथ तान्न जम्मा भएका जसरी मानिस सडकमा निस्किए । के उनी भगवान हुन् ? हैन उनी मान्छे नै हुन् ! केही केहीले रवीलाई भगवान बनाए, अन्धोभक्त भए भनेर आलोचना गरेका छन् । तर को बन्यो अन्धोभक्त रवीको ? रवी लामिछानेको अनुहारको भक्त कोही पनि बनेका हैनन् । आम मानिसले उनले गरेको कामको प्रशंसा गरेका हुन् ।

    यो घटना नेताहरुका लागि ठूलो पाठ हो । राम्रो गरेमा जनताको समर्थन त्यत्तिकै पाइँदो रहेछ भन्ने सन्देश पनि हो । के रवीले गरेका काम एउटा नेताले गर्नु पर्दैन ? नेताले सिक्नु पर्दैन ? आखिर राम्रो काम गर्दा आम मानिसले भगवान् सरह इज्जत गर्दा रहेछन् भनेर जान्नु पर्दैन ? लामिछानेले चक्लेट बाडेर या मासु भात खुवाएर सर्वसाधारण उनको पक्षमा उभाएका होइनन् । जनताले उनले गरेको कामको प्रशंसा गरेका हुन् ।

    शालिकराम मृत्यु प्रकरण र रवी : न देवत्वकरण न राक्षसीकरण- अदालत कुरौं

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!