‘लेण्डुप’हरुको भीड जन्माउने ‘रअ’को योजना- यसरी निलेको थियो भारतले सिक्किम

5 September, 2019 18:14 |बिचार | comments | 16350 Views

    भारतीय जासुसी निकाय “रअ”का पूर्व अधिकारी अमर भूषणको पुस्तक “इन्साइड नेपाल”मा तत्कालीन माओवादी र भारतको सम्बन्ध तथा नेपालमा राजतन्त्र समाप्त गर्न माओवादी अध्यक्ष प्रचण्डलाई कसरी मनाइएको थियो भन्ने खुलासापछि नेपालको एउटा वृत्तमा यसले सनसनी मच्चाएको छ । धेरैको पहिलेदेखिकै विश्लेषण थियो– माओवादी जनयुद्ध भारतबाट संचालित छ, माओवादी नेताहरु भारतमा आश्रित छन् ।

    adsads

    भूषणको पछिल्लो पुस्तकअघि पनि यस्ता खुलासा भारतीय बिद्वानहरुले गर्दैआएका थिए । तर, यो विषयमा राजनीतिक तहबाट कसैको कुनै टिप्पणी आएको छैन । यसको पनि स्पष्ट कारण छ सबै उतैबाट कुनै न कुनै रुपमा प्रभावित (परिचालित नै नभनौं) छन् । प्रष्टिकरण दिने हैसियत कसैमा छैन ।

    भूषणको पुस्तक यस्तो बेलामा सार्वजनिक भयो जतिबेला प्रधानमन्त्रीले नै व्यवस्था जोगाउन एकजुट हुनुपर्छ भन्दै संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आव्हान गर्नुभएको छ र बजारमा राजतन्त्र पुनःस्थापनाको हल्ला मच्चिइरहेको छ । यस्तो बेलामा भूषणको पुस्तकले नेपाली जनतामा परिवर्तनप्रति वितृष्णा फैलाउने र द्वन्द्व मच्चाउने उद्देश्य हैन भनेर पनि भन्न सकिन्न ।

    यति हुँदाहुँदै पनि विदेशी जासुसी निकायको प्रभावमा परेर देशमा परिवर्तन ल्याउने नेताहरुबाट देश रक्षा हुँदैन भन्ने चाहिं पुष्टि नै भएको छ । यसको एउटा दृष्टान्त नेपालकै छिमेकी मुलुक रहेको सिक्किमको कथा काफी छ । भारतले नेपाललाई पनि सिक्कीमीकरणको दिशातिर लगिरहेको र नेपाली नेताहरु नजानिंदो किसिमले त्यसमा फस्दै गएको विश्लेषण भैरहेको छ ।

    आज नेपालको जुन अवस्था छ त्यो अवस्था भनेको सिक्कीमको त्यतिबेलाको अवस्था हो भनेर भन्नेहरुको संख्या बढ्दो छ र परिवर्तनको नाममा जेजस्ता निर्णयहरु गरियो यो नै नेपालको अस्तित्व समाप्त पार्ने खेल हो भनेर उतिबेलैदेखि कराइरहनेहरुको आवाज अरु दरिलो हुन पुगेको छ ।

    एउटा निश्चित उद्देश्य प्राप्तिका लागि विदेशी सहयोग लिनु अहिलेको अपरिहार्यता नै हो । तर देश नै समाप्त पार्ने गरी कुनै निर्णय गर्नु त गम्भीर अपराध हो । अहिले नेपालको अवस्था यस्तै अपराधबोधको स्थितिबाट गुज्रिरहेको छ । फिजीकरण हुँदै सिक्कीमीकरणको दिशातिर उन्मुख छ । यसका लागि धेरै महेन्द्र चौधरी र लेण्डुप दोर्जेहरु तम्तयार भएर बसेका छन् ।

    यसै विषयमा २०६५ सालमा प्रकाशित डा. शास्त्रदत्त पन्तको कृति “नेपालमा ‘रअ’को चलखेल” भाग–२ अन्तर्गत “चियाको कपमा आँधी” शीर्षकको पुस्तकको अध्याय ४ को “नेपाल सिक्किमीकरणतिर उन्मुख” शीर्षकका केही सामग्री पाठकहरुको जानकारीका लागि उदधृत गरिन्छ ।

    “… ‘रअ’को अथक प्रयत्नपछि मे ८, १९७३ देखि सिक्किममा प्रजातन्त्र आयो, गणतन्त्र भयो तर सिंगो देश परतन्त्र भयो, इण्डियाको गुलाम भयो, दास भयो । बेलायतीले इण्डियामा शासन गरेजस्तै अब इण्डियाले सिक्किममा शासन गरेका छन् । देश जब स्वतन्त्र हुँदैन, देशले प्रजातन्त्र पाउँदैन, देशका कुनै मौलिक अधिकार हुँदैनन त्यहाँ प्रजातन्त्र हुनु, गणतन्त्र हुनु भन्ने जस्ता कुराले कुनै महत्व राख्दैन । देशमा जेसुकै राजनीतिक व्यवस्था भए पनि देशको पहिलो र अनिवार्य आवश्यकता हो त्यस देशको राष्ट्रिय स्वतन्त्रता । आज सिक्किमले त्यो अन्तरपीडा भोगेको छ । उनीहरु एक अर्ब इण्डियनसंग प्रतिस्पर्धा गरर एउटा तल्लो तहको जागीर खान सक्दैनन्, उद्योगधन्दा वा अरु रोजगारमा शिर उठाउन पनि सक्दैनन् । भन्सार नतिरेको सस्तो इण्डियन कार चढ्ने दोर्जेवादीको सपनाले पूरा सिक्किम अर्को देश इण्डियाको दास बनेको अन्तरवेदना ती सिक्किमेले आज अनुभूत गरेका छन्… ।”

    “सिक्किम पनि नेपाल जस्तै बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा सांस्कृतिक विविधता, जीवित परम्पराको इतिहास र श्रमशील मानव संशाधन भएको सामरिक हिमाली अधिराज्य थियो । तर उल्लेखनीय भौतिक सम्पन्नता भने थिएन । सिक्किम समतल भूभाग नभएको पहाडै पहाडले भरिएको, कृषिप्रधान देश भएर पनि एक तिहाई खाद्यान्न आयात गर्नुपर्ने, व्यापार भारतीय माडबारी समूहको कब्जामा रहेको थियो ।”

    प्रचण्ड ‘रअ’बाट परिचालित भन्ने खुला आरोपको खण्डन कसले कसरी गर्ने ?

    …“भारतीय सेनाले नै तालिम दिएका ३०० भन्दा कम सैनिक जवान भएको सिक्किम गार्ड, मित्रता र परम्पराको ख्याल वास्तै नगरी सिक्किमका २२ आंै पवित्र चोग्याल पाल्देन थेण्डुप नामग्याल एकाएक इण्डियाको कोपभाजनको केन्द्र बने । …… अप्रिल ७ का दिन एक्कासी याङ्डालाई समेत कारागारमा राखियो । अप्रिल ८, १९७५ मा गरिएको त्यस षड्यन्त्रलाई एउटा सैनिक अभ्यास मात्र हो भनेर झुक्याइएको थियो । यथार्थमा ५ हजार सैनिकबाट राजदरबारमा हमला गरिएको थियो । असल भित्र र गुरुका रुपमा मानिआएको भारतले ठूलो धोका र बेइमानी गर्ला भनेर कसैले कल्पनासम्म गरेका थिएनन् । उल्टै गार्डहरुलाई सामन्ती शासकका निजी ठगहरुको संगठन भनेर घृणा, अफवाह फैलाइएको थियो ।”

    “एकदिन सिक्किमा खचाखच भारतीय सेना आए । ती किन आए त्यहाँको दरबारलाई थाहा थिएन । ६–७ सय मिटर टाढाबाट दरबारको ढोकामा पुगेको फौजले अनायास रुपमा द्वारपाललाई गोली हानेर मार्यो । अस्त्रशस्त्र समर्पण गर्ने चेतावनी पनि दिइएन । सन् १९७१ को पूर्वी पाकिस्तानको पतनपछि पाकिस्तानी बन्दीहरुलाई जे व्यवहार गरिएको थियो त्यही व्यवहार त्यहाँ गरियो र भाग्ने चेष्टा गरेको खण्डमा गोली हानिने चेतावनी दिइयो । ३० मिटेको समयमा सबैलाई निशस्त्र पारियो । सुनन्दा रायका अनुसार त्यस आक्रमणमा चोग्याल मारिएको भए भारतीय निजामतीका ‘रअ’का कर्मचारी बढी खुसी हुने थिए ।”

    “सुरुमा भारतले सिक्किमलाई खर्लप्पै निलिहाल्ने मनस्थितिमा थिएन जुन यतिबेला नेपालका बारेमा भारतीय अधिकारीहरुले नेपालको आन्तरिक मामिला भन्ने गर्दछन् । तर पनि सिक्किमले यथार्थ बुझ्ने आशले वार्मिथोक, एथिङ्ला र न्यायाधीश रुपनारायणहरुले दिल्लीमा बसेका देवान र सर ब्रजेन्द्रलाल मित्तलसंग भेटेका थिए । मित्तलले सिक्किमेहरुलाई आँखा बन्द गरेर हिन्दमहासागरमा हामफाल भन्ने सल्लाह दिएका थिए । यसको जवाफमा एथिङ्लाले भने– ‘यदि भारतमा स्वाधीनता आएको छ भने सिक्किममा पनि स्वाधीनता आउनुपर्छ ।” यस्तो कुरा भएको ७ महिनापछि सम्झौताको एउटा मस्यौदा तयार भएको थियो । त्यस मस्यौदामा साझा चासोका सबै कुरा परेका थिए । तर त्समा प्रशासनिक व्यवस्थापन, परराष्ट्र मामिला, प्रतिरक्षा, भन्सार, हुलाक र टेलिग्रामसहितका १२ वटा कुरामा सिक्किम सामान्य हेरफेरसहित १ अप्रिल १९४८ का दिन सहमत भएको थियो । सहमति अुनसार सिक्किम भुटानमा सेनाको सम्बन्ध कायम राख्ने, तिब्बतसंगको सम्बन्ध अवलोकन गर्ने र चेकपोष्ट समेतमा निगरानी राख्ने कुराको थालनी भएका थियो ।

    यस्तै स्थिति नेपालमा २००७ सालपछि भएको थियो । “त्रिभुवनको दिल्ली पलायन, भारतीय सेनाबाट भीमदत्त पन्तको हत्या, केआईसिंहलाई दमन गर्न एक हजार भारतय सेनाको नेपाल प्रवेश जस्ता घटना सिक्किमका उक्त घटना जस्तै हुन् । ‘रअ’ले बंगलादेशपछि सिक्किमको अपरेशनको काम फत्ते ग¥यो । यतिखेर नेपालको राजनीतिको छहारीमाा त्यही कुरा पन्पिइरहेको छ । ठूलठूला नेता त्यसमा लागेका छन । नेपालमा नेपाली जियाउर रहमानन र थुप्रै लेण्डुप दोर्जेहरुले नेपाली राजनीतिको महत्वपूर्ण ओहदामा कडा पकड लिइसकेका छन् ।”

    …“अन्तिम अवस्थासम्म पनि सिक्किम भारतमा विलय गराइन्छ भनी कसैले शंकासम्म गरेका थिएनन् । ८ मे १९७३ को सम्झौताले पनि सिक्किम अधिराज्यलाई सुरक्षित राखेको थियो । भूपरिवेष्ठित त्यस देशका संचार प्रणाली नयाँ दिल्लीले नियन्त्रण गर्दथ्यो । भारतीय सैनिकले सिक्किम देशलाई व्यारेकमा परिणत गरेका थिए । भारतले बन्द गरिदिएका बखत सिक्किमेहरु भोकभोकै पर्थे । व्यापार–व्यवसाय भारतीय मारवाडीहरुको कब्जामा थियो । सबै कुरामा पी.ओ (निम्नस्तरको राजदूत)को आदेश चल्दथ्यो । राजाको गद्दी इन्दिरा गान्धीले समातेको ब्रेकमा अडेको थियो । नयाँ दिल्लीले लिन केही बाँकी राखेको थिएन । निजामती कर्मचारीहरु पी.ओ.को कोपभाजन हुन चाहँदैनथे । दरबारले विश्वस्त ठानेका व्यक्ति ‘रअ’सित दोधारे रुपमा काम गरिरहेका थिए ।”

    “पहिलो चरणमा ‘रअ’ले सिक्किम दरबार र राजनीतिक दलबीच फुट पैदा गरिदियो । दल र दरबार एक अर्काप्रति सशंकित भएर बाँच्न थाले । दोस्रो चरणमा दल टुक्र्याउने–जुटाउने काम गर्न थालियो । स्टेट कांग्रेस दल विभक्त भयो । नेशनल पार्टीले सिक्किमको स्वतन्त्र अस्तित्व रहने र भारतसंगभन्दा नेपाल र भुटानसंग सामिप्यता गर्नुपर्ने घोषणा गरेपछि इण्डिया हाउसले तुरुन्तै त्यसलाई दरबारका पार्टी भन्ने संज्ञा दियो ।”

    “… भारतले २१ औं स्वतन्त्रता दिवसका बेला छोइग्याल र श्रीमती छोइग्याललाई नयाँ दिल्लीमा एउटा स्वतन्त्र राष्ट्रको राष्ट्रप्रमुखको सम्मान दिइएका थियो । तर त्यसबखत उनको अंगरक्षकलाई आफ्नो देशको झण्डा राख्न नदिएकोमा श्रीमती छोइग्याल असन्तुष्ट भए पनि कुरो विग्रेको थिएन । प्रतिरक्षा भारतलाई सुम्पेपछि अरु सम्पूर्ण कुरामा भारतको हस्तक्षेप नहुनुपर्ने छोइग्यालको स्पष्ट धारणा थियो ।”

    “सिक्किम परिषद एउटा कठपुतली परिषद हो । त्यसमा शक्ति, प्रतिष्ठा र जनविश्वास छैन भनेर कडा आलोचनाका पात्र बन्ने गरेका काजी दोर्जे राजा बिरोधी मात्र नभएर राष्ट्रबिरोधी गतिविधिमै लागेका थिए । नयाँ दिल्लीसंग साँठगाँठ भएपछि पाँचौं आमचुनावमा कस्सिएर लागे । २६ जनवरी १९७३ मा ‘सिक्किम एट दि क्रस रोड’ शीषएकमा एउटा बुलेटिन प्रकाशित गरियो जसमा राजा त चाहिन्छ तर तिब्बती मूलका नभएर नेपाली मूलको हुनुपर्छ भनिएको थियो । दोर्जीपन ‘रअ’भन्दा खतरनाक सावित भयो ।

    आज त्यो देशको लेण्डूप दोर्जेले जसले देशलाई नै मृत्युदण्ड दियो, जीवनको अन्तिम घडीमा खुब पछुताएको थियो । दलाली गर्ने आजका नेपालका नेताका सन्ततिले आफ्ना पुस्तालाई भोलि त्यसरी नै सराप्नेछन्, धिक्कार्नेछन् । देश कसले विलय गरायो भनेर अनुसन्धान गर्नेछन् ।

    यो भिडियो पनि हेर्नुहोला

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!