लेनिन जयन्ती र पार्टीको स्थापना दिवसको उपलक्ष्यमा पार्टी र क्रान्तिप्रतिको प्रतिबद्धता

24 April, 2019 00:22 | बिचार | comments | 13650 Views

– मोहन विक्रम सिंह –

२२ अप्रिल लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पनि हो । त्यसैले यो दिनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनको दृष्टिकोणले पनि धेरै नै महत्व राख्दछ ।

adsads

यो अवधिमा नेपालमा कम्युनिस्ट आन्दोलनको अत्यन्त शक्तिशाली रूपमा विकास भयो । नेपालमा राजनीतिक परिवर्तनहरूमा त्यसको महत्वपूर्ण भूमिका वा योगदान रह्यो । तर जसरी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखा परेको दक्षिणपन्थी संशोधनवादले समाजवादी व्यवस्थाको पतन वा विश्व कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने वा गम्भीर प्रकारको कुठाराघात गर्ने काम गर्‍यो त्यसरी नै नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका बेग्लाबेग्लै भड्कावहरू, खास गरेर दक्षिणपन्थी र उग्र‘वामपन्थी’ भड्कावहरूका कारणले पनि नेपालको कम्युनिस्ट आन्दोनलाई धेरै क्षति पुगेको छ । त्यसरी के प्रष्ट हुन्छ भने कम्युनिस्ट आन्दोलनभित्र देखा पर्ने भड्कावहरू कम्युनिस्ट आन्दोलनका लागि सधैँ गम्भीर समस्या बन्ने गरेका छन् । त्यसकारण तिनीहरूका विरुद्धको सङ्घर्ष कम्युनिस्ट आन्दोलनभित्रको अत्यन्त गम्भीर कार्य हो । माक्र्स, एङ्गेल्सका समयदेखि नै त्यस प्रकारको आवश्यकतामाथि संसारभरका माक्र्सवादी–लेनिनवादीहरूले सधैँ जोड दिदै आएका छन् ।

यो बताउँदा हामीलाई खुसी लाग्दछ कि नेपाल कम्युनिस्ट पार्टी (मसाल) को कम्युनिस्ट आन्दोलन र स्वयम् पार्टीभित्र देखा पर्ने विभिन्न प्रकारका दक्षिणपन्थी, उग्र‘वामपन्थी’ वा मध्यपन्थी भड्कावहरूका विरुद्ध सङ्घर्षको लामो र गौरवपूर्ण इतिहास रहेको छ । हामीले गतकालमा पार्टीभित्र राजापरस्त, काङ्ग्रेसपरस्त, उग्र‘वामपन्थी’, मध्यपन्थी, दक्षिणपन्थी धाराहरूका विरुद्ध तथा अन्तर्राष्ट्रिय स्तरमा रूसी संशोधनवाद, चिनियाँ संशोधनवाद वा रिमको नव ट्राटस्कीवाद आदिका विरुद्ध लगातार सङ्घर्ष गर्दै आएका छौँ ।

त्यसरी सैद्धान्तिक वा राजनीतिक क्षेत्रमा लामो र निर्मम सङ्घर्ष गर्नुका साथै सङ्गठनात्मक क्षेत्रमा पनि विभिन्न प्रकारका अराजकतावादी, व्यक्तिवादी, अनुशासनविहीन वा फुटपरस्त सोचाइहरूका विरुद्ध पनि सङ्घर्ष गरेको हाम्रो पार्टीको लामो इतिहास छ । त्यसरी सैद्धान्तिक, राजनीतिक वा सङ्गठनात्मक क्षेत्रमा सिद्धान्तको आधारमा गरेको लामो सङ्घर्षको कारणले नै आज नेकपा (मसाल) कायम छ । जबकि, यी अवधिमा सही सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक नीति अपनाउन नसकेका कारणले संसारका र नेपालका पनि कैयौँ कम्युनिस्ट पार्टीहरूको विघटन भएर गएको छ वा उनीहरूका माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूबाट विचलन भएर गएको छ ।

हाम्रो पार्टीले एकातिर, सिद्धान्त र राजनीतिमा सधैँ दृढ अडान लिने काम गरेको छ भने, अर्कातिर, तात्किालक परिस्थितिको ठोस विश्लेषण गरेर आफ्नो कार्यनीति निश्चित गर्ने तथा आवश्यकता अनुसार त्यसमा परिवर्तन गर्दै जाने लचिलो नीति पनि अपनाउँदै आएको छ । त्यसरी एकातिर सिद्धान्त र अर्कातिर, कार्यनीतिका बीचमा सही सन्तुलनका कारणले नै हाम्रो पार्टी गतकालमा देशको कम्युनिस्ट आन्दोलनमा देखा पर्ने गरेको दक्षिणपन्थी उग्र‘वामपन्थी’ वा मध्यपन्थी भड्कावहरूबाट बच्न सफल हुँदै आएको छ । त्यस प्रकारको सही कार्यशैलीका कारणले हाम्रो पार्टीले देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि सधैँ नै दृढ र सशक्त भूमिका खेल्दै आउन सफल हुने गरेको छ ।

हाम्रो पार्टीले साम्यवाद र समाजवादलाई आफ्ना दीर्घकालीन उद्देश्यहरूका रूपमा लिएको छ भने तात्कालिक आधारभूत कार्यक्रमका रूपमा नयाँ जनवादी क्रान्तिलाई लिएको छ । यो पनि हाम्रो स्पष्ट र दृढ मत छ कि सर्वहारा वर्गको पार्टीको नेतृत्व, क्रान्तिकारी वर्गहरूको संयुक्त मोर्चा, दीर्घकालीन जनयुद्धका आधारमा नै नयाँ जनवादी क्रान्ति सफल हुन सक्दछ । तर त्यो उद्देश्य सिलसिलेवार रूपमा अपनाइने कार्यनीति तथा तिनीहरूका आधारमा जनताको चेतना र सङ्घर्षको स्तर उठाउँदै गएपछि नै प्राप्त हुन सक्दछ । त्यसैले हाम्रो पार्टीले एकातिर दीर्घकालीन उद्देश्य र रणनीतिप्रतिको अडानलाई कायम राख्दै तात्कालीन रूपमा ठोस परिस्थितिको ठोस विश्लेषण गरेर आफ्नो तात्कालीक नीतिहरू वा सङ्गठन र सङ्घर्षका स्वरूपहरू निर्धारित गर्दै आएको छ ।

हाम्रो पार्टीको यो निष्कर्ष रहेको छ कि एकातिर, दीर्घकालीन सशस्त्र सङ्घर्ष बिना देशमा विद्यमान अर्धसामन्ती र अर्ध औपनिवेशिक व्यवस्थालाई समाप्त गर्नु र नयाँ जनवादी सत्ता कायम गर्नु सम्भव हुँदैन भने अर्कातिर, देशको तात्कालिक स्थितिमा सशस्त्र सङ्घर्ष सुरु गर्नु सम्भव हुँदैन । त्यो अवस्थामा हाम्रो पार्टीले जनसङ्घर्षलाई नै अहिलेको सङ्घर्षको प्रधान पक्ष भएको ठहर गरेको छ । जनसङ्घर्ष पनि बेग्लाबेग्लै समयको स्थिति वा आवश्यकता अनुसार वैधानिक वा अवैधानिक प्रकारले चल्ने गर्दछन् ।

चुनावबारे पनि हाम्रो सधैँ एकै प्रकारको नीति रहँदैन र स्थिति र आवश्यकता अनुसार त्यसमा परिवर्तन हुने गर्छ । त्यही नीति अनुसार नै पञ्चायत कालको तिस वर्षको लामो अवधिसम्म हाम्रो पार्टीले चुनावको बहिष्कार गर्ने नीति अपनाएको थियो र २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि पनि संविधान सभाको चुनावको माग गर्दै पहिलो संसदीय चुनावको बहिष्कार गरेको थियो । तरपछि चुनावको उपयोग गर्ने नीति अपनायो र अहिलेसम्म पनि त्यो नीतिलाई कायम राखेको छ । तत्कालको स्थितिमा चुनावको बहिष्कार गरेर शक्तिशाली आन्दोलन उठाउन सक्ने स्थिति नभएकाले चुनावको उपयोगको नीति अहिले पनि कायम छ ।

हाम्रो स्पष्ट मत छ कि अहिलेको लोकतान्त्रिक गणतन्त्र वा अहिलेको बहुदलीय व्यवस्था अन्तर्गत जनताका आधारभूत समस्याहरूको समाधान सम्भव छैन । त्यसकारण रणनीतिक रूपमा यसलाई समाप्त गरेर नयाँ जनवादी सत्ता कायम गर्नु नै हाम्रो उद्देश्य हुन्छ । तर रणनीतिक रूपमा त्यो कुरा सत्य भए पनि कार्यनीतिक रूपमा हाम्रो पार्टीले विद्यमान गणतन्त्रलाई रक्षा गर्नु पर्ने आवश्यकतामा नै जोड दिन्छ । अहिले विद्यमान गणतन्त्रलाई समाप्त गरेर त्यसका ठाउँमा राजतन्त्रको पुनस्र्थापना गर्नु विभिन्न देशी वा विदेशी शक्ति वा कतिपय प्रमुख राजनीतिक शक्तिहरू क्रियाशील छन् ।

त्यो अवस्थामा अहिले गणतन्त्रका विरुद्ध प्रहार केन्द्रित गर्नुको अर्थ प्रतिगामी शक्तिहरूको हातमा खेल्नु वा प्रतिगमनको सेवा गर्नु नै हुनेछ । त्यसैले अहिलेको स्थितिमा हाम्रो पार्टीले विद्यमान गणतन्त्रको रक्षा गर्नु पर्ने आवश्यकतामा नै जोड दिन्छ । त्यसै गरेर धर्म निरपेक्षतालाई समाप्त गरेर नेपालालाई हिन्दू राष्ट्र बनाउनका लागि पनि कैयौँ प्रतिक्रियावादी शक्तिहरूले अभियान चलाइरहेका छन् र त्यसमा भारतीय विस्तारवादको पनि समर्थन रहेको छ । नेपाललाई हिन्दू राष्ट्र बनाउने उद्देश्यका पछाडि राजतन्त्रको पुनस्र्थापना गर्ने उद्देश्य अन्तरनिहित रहेको छ । त्यसैले हाम्रो पार्टीले धर्म निरपेक्षताका विरुद्धका गतिविधिहरूलाई पनि दृढतापूर्वक विरोध गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।

नेपालमा कायम भएको वर्तमान सरकार कम्युनिस्ट सरकार हो भन्ने भ्रम देशभित्र र बाहिर पनि प्रसस्त पाइन्छ । तर त्यो एउटा भ्रम मात्र हो र त्यो धारणामा सत्यता छैन । किनभने अहिलेको सत्तारूढ राजनीतिक शक्ति नेकपा कम्युनिस्ट पार्टी नै होइन । किनभने त्यसको माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूबाट विचलन भइसकेको छ । यो कुरा त्यस्तै हो जस्तो कि रूसको बिसौँ पार्टी महाधिवेशनपछि त्यहाँको पार्टी कम्युनिस्ट पार्टी रहेको थिएन, तैपनि लामो समयसम्म त्यसले आफूलाई कम्युनिस्ट पार्टी भएको भ्रम दिइरहेको थियो । चीनको कम्युनिस्ट पार्टीको माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा समाजवादबाट विचलन भइसकेको छ । तर वास्तवमा त्यो कम्युनिस्ट पार्टी होइन र त्यसले पुँजीवादी बाटो समातिसकेको छ । त्यही कुरा नेकपाको सन्दर्भमा पनि सत्य हो । देशमा त्यो ठुलो राजनीतिक शक्तिको रूपमा विद्यमान छ र त्यसको सरकारलाई संसदमा दुई–तिहाइ बहुमत पनि प्राप्त छ । तर ठुलो भएका कारणले मात्र कुनै पार्टीलाई कम्युनिस्ट मान्न सकिने भए बिसौँ पार्टी काङ्ग्रेसपछिको रूसको पार्टी पनि कम्युनिस्ट पार्टी हुन सक्दथ्यो । तर बिसौँ पार्टी काङ्ग्रेसमा दक्षिणपन्थी दिशा लिएकाले त्यो कम्युनिस्ट पार्टी रहेको थिएन । डा. केशरजङ्ग रायमाझीको पार्टीले पनि लामो समयसम्म आफूलाई सच्चा कम्युनिस्ट पार्टी भएको नै दावी गर्ने गरेका थिए । तर त्यो सत्य थिएन र अन्तमा व्यवहारले नै त्यो कुरा प्रमाणित गर्‍यो । त्यो कुरा अहिले नेकपाका विषयमा पनि सत्य हो । तर त्यसको अर्थ त्यो सङ्गठन नेपाली काङ्ग्रेस जस्तै प्रतिक्रियावादी भइसक्यो भन्ने होइन । नेकाले सामन्त, दलाल र नोकरशाही पुँजीपति वर्गको नेतृत्व गर्छ, त्यसकारण त्यो प्रतिक्रियावादी राजनीतिक शक्ति हो । तर नेकपा निम्नपुँजीपतिवर्गहरूको प्रतिनिधित्व गर्ने राजनीतिक सङ्गठन हो र निम्न पुँजीपति वर्गहरू नयाँ जनवादी क्रान्तिका मित्रशक्तिहरू हुन् । त्यसैले त्यो देशभक्त र जनतान्त्रिक शक्ति हो । तर आफ्नो निम्न पुँजीवादी चरित्रका कारणले सामन्तवाद, दलाल र नोकरशाही पुँजीपति वर्ग वा भारतीय विस्तारवादप्रति त्यसले अवसरवादी, ढुलमूल र सम्झौतापरस्त नीति अपनाउँछ । त्यसको त्यस प्रकारको नीति र भूमिकाको सम्झौताहीन प्रकारले विरोध गर्नु पर्दछ । तर त्यसको अर्थ त्यसलाई प्रतिक्रियावादी वा दुश्मन शक्ति मान्नु सही हुँदैन । त्यसैले हाम्रो पार्टीले त्यसप्रति एकता–सङ्घर्ष–एकताको नीति अपनाउनु पर्ने आवश्यकतामा जोड दिन्छ ।

उपर्युक्त प्रकारको नीति अनुसार नै वर्तमान सरकारप्रतिको हाम्रो पार्टीको नीति पनि निर्धारित हुन्छ । हामीले त्यसको अवसरवादी ढुलमूल र सम्झौतापरस्त नीति वा भूमिकाको विरोध गर्दछौँ र गर्नु पनि पर्दछ । तर हाम्रो यो विश्लेषण रहँदै आएको छ कि नेका, राप्रपा वा मधेशवादीहरू जस्ता प्रतिक्रियावादी राजनीतिक शक्तिहरूबाट गणतन्त्र, राष्ट्रियता वा धर्म निरपेक्षतामाथि गम्भीर आँच पुग्ने सम्भावना छ । तर उक्त प्रश्नहरूमा पूर्व एमाले वा पूर्व माओवादी केन्द्रको नीति अपेक्षाकृत सकारात्मक थियो । त्यसैले हामीले गत आम चुनावको बेलामा नेकाको नेतृत्वको गठबन्धनलाई पराजित गर्ने र पूर्व एमाले र पूर्व माओवादी केन्द्रसँग सहकार्य गर्ने नीति अपनाएका थियौँ । अहिले नेकपाको सरकार बनेको छ । त्यसका कैयौँ नीति र क्रियाकलापहरूप्रति हाम्रो गम्भीर प्रकारको विरोध छ र त्यसैले उनीहरूका त्यस प्रकारका नीति वा क्रियाकलापहरूको विरुद्ध हामीले आवश्यकता अनुसार सङ्घर्ष पनि गर्ने नीति अपनाउँदै आएका छौँ । तर अहिले सत्तापक्षले अपनाएका नीति र उनीहरूका क्रियाकलापहरूबाट वर्तमान सरकार वा सत्तापक्षबाट गणतन्त्र वा धर्म निरपेक्षताबारे स्पष्ट र दृढ विचारहरू प्रकट गरेको पाइन्छ । त्यसरी ती प्रश्नहरूमा नेकपा वा त्यसको नेतृत्वको सरकारको नीति नेका, राप्रपा वा मधेशवादीभन्दा सकारात्मक भएको कुरा स्पष्ट हुन्छ । त्यसैले हामीले यो सरकारलाई अपदस्थ गरेर नेका वा त्यसको पक्षको गठबन्धनको सरकार कायम हुन्छ भने, त्यसबाट देश प्रतिगमनतिर जाने नै बढी सम्भावना रहने छ ।

कम्युनिस्ट पार्टीसँग सम्बन्धित अर्को महत्वपूर्ण विषय संयुक्त मोर्चाको प्रश्न हो । हामीले आवश्यकता अनुसार मित्रशक्ति र कतिपय अवस्थामा दुश्मन शक्तिहरूसित पनि कार्यगत एकताको नीति अपनाउने गर्दछौँ । स्तालिनले फासीवादलाई हराउनको लागि अमेरिकन, ब्रिटिस र फ्रेन्च साम्राज्यवादसित गरेको संयुक्त मोर्चा वा माओले जापानका विरुद्ध च्याङकाइसेकसित गरेको संयुक्त मोर्चा यस सन्दर्भमा विशेष रूपले उल्लेखनीय छन् । यो संयुक्त मोर्चासम्बन्धी द्वन्द्वात्मक वा माक्र्सवादी–लेनिनवादी सिद्धान्त हो । हाम्रो पार्टीले त्यस प्रकारको नीतिको पनि बारम्बार अभ्यास गर्दै आएको छ । तर त्यसरी कुनै पक्षसित संयुक्त मोर्चा वा कार्यगत एकता गर्ने बेलामा उनीहरूसितको सङ्घर्षको पक्षलाई पनि हामीले सधैँ ध्यानमा राख्नु पर्छ । निश्चय नै त्यसरी एकताका साथै सङ्घर्षमा जोड दिने नीति मित्र वा दुश्मन शक्तिहरूसित बेग्लाबेग्लै प्रकारको हुन्छ । माओले व्याख्या गरे अनुसार मित्रशक्तिहरूसित हामीले एकता–सङ्घर्ष–एकता तथा दुश्मन शक्तिहरूसित सङ्घर्ष–एकता–सङ्घर्षको नीति अपनाउनु पर्छ । त्यस अनुसार प्रतिक्रियावादी शक्तिहरूसित कतिपय बेला एकताको नीति अपनाए पनि सङ्घर्षको पक्ष नै प्रधान हुन्छ भने मित्रशक्तिहरूसित कतिपय बेला सङ्घर्षको नीति अपनाए पनि एकताको पक्ष नै प्रधान हुन्छ ।

नेपालको कम्युनिस्ट आन्दोलन विश्व कम्युनिस्ट आन्दोलनको अभिन्न अङ्ग हो । आज विश्वको कम्युनिस्ट आन्दोलन रक्षात्मक र अत्यन्त कमजोर अवस्थामा पुगेको छ । तर त्यसको अर्थ अब कम्युनिस्ट आन्दोलन वा समाजवादको कुनै भविष्य छैन भन्ने होइन । आखिरमा समाजमा कुन प्रकारको व्यवस्था कायम रहन्छ वा कुन प्रकारको व्यवस्थाको विजय हुन्छ भन्ने कुराको निर्णय अन्तमा भौतिक परिस्थितिले नै गर्दछ ।

आज विश्व कम्युनिस्ट आन्दोलन धेरै नै कमजोर भएको भए पनि वा विश्व समाजवादी व्यवस्थाको पतन भएको भए पनि समाजवादको भौतिक आधार पहिलेभन्दा झन् विस्तृत र मजबुत हुँदै गएको छ । समाजको विकासमा अन्ततः उत्पादक शक्तिहरूले नै निर्णयात्मक भूमिका खेल्दछन् । उत्पादक शक्तिहरूमा लगातार परिवर्तन भइरहन्छ र तिनीहरूमा परिवर्तन भएपछि सामाजिक संरचनामा पनि परिवर्तन हुनु अनिवार्य छ । दास मालिकहरूले दासप्रथालाई कायम राख्न तथा सामन्त वर्गहरूले सामन्ती व्यवस्थालाई कायम राख्न तथा सामन्त वर्गहरूले सामन्ती व्यवस्थालाई कायम राख्न पुरा शक्ति लगाएका थिए ।

त्यो क्रममा ठुलो पैमानामा दमन समेत गरेका थिए । तर जुन उत्पादक शक्तिहरूले उनीहरूलाई सत्तामा ल्याएका थिए, तिनीहरूमा परिवर्तन भइसकेकाले दास प्रथा वा सामन्तवाद कायम रहन सकेन, यद्यपि कतिपय देशहरूमा सीमित रूपमा त्यस प्रकारका व्यवस्थाहरूका अवशेषहरू अहिले पनि कायम छन् । त्यसै गरेर विभिन्न उत्पादक शक्तिहरूको विकासले पुँजीवादी व्यवस्थालाई अस्तित्वमा ल्याएको थियो । तिनीहरूमा परिवर्तन भइसकेको छ र त्यसले गर्दा पुँजीवाद लगातार पतनोन्मुख वा मरणासन्न अवस्थामा पुगिरहेको छ । साम्राज्यवाद पुँजीवादको त्यस प्रकारको पतनोन्मुख वा मरणशील अवस्था हो ।

पुँजीवादको मरणशील अवस्थाको चरणमा दुई वटा कुराहरू उल्लेखनीय छन् । प्रथम, उत्पादक शक्तिहरूले झन्‌पछि झन् सामाजिक रूप लिंदै गइरहेका छन् । तर उत्पादनका साधनहरूमाथिको स्वामित्व व्यक्तिगत प्रकारको छ । त्यस प्रकारको व्यक्तिगत स्वामित्वको प्रणालीले उत्पादनको सामाजिक स्वरूपसित मेल खाँदैन । त्यसैले उत्पादक शक्तिहरूको सामाजिक विकासले त्यसको स्वरूपसित मेल नखाने उत्पादनका साधनहरूमाथिको व्यक्तिगत स्वामित्वलाई उखेलेर फाल्नु अवश्यम्भावी छ । त्यो भौतिक नियमलाई रोक्नु वा दबाएर राख्नु पुँजीपति वर्गका लागि त्यसरी नै सम्भव छैन, जसरी दास मालिक वा सामन्तवर्गका लागि आफ्नो समयमा दासप्रथा वा सामन्तवादलाई रोकेर राख्नु सम्भव थिएन । द्वितीय आफ्नो मरणशील अवस्थाका कारणले पुँजीवादभित्रको सङ्कटले झन्‌पछि झन् गहन र तीव्र रूप लिदै गएको छ । पुँजीवादभित्र देखा परेका आर्थिक सङ्कटहरू त्यसका परिणामहरू हुन् । त्यसले समाजवादी क्रान्तिको लागि अनुकूल भौतिक परिस्थिति तयार पार्दै लागिरहेको छ ।

समाजवादी क्रान्तिको लागि भौतिक परिस्थिति तयार भएको भए पनि त्यस अनुरूप क्रान्तिकारी आत्मगत परिस्थिति तयार भएको छैन । त्यसले नै समाजवादी क्रान्तिलाई पछाडि पारिरहेको छ । त्यसकारण त्यो आत्मगत परिस्थितिको निर्माण गर्नु संसारभरका र नेपालका पनि सबै माक्र्सवादी–लेनिनवादीहरूको कत्र्तव्य हुन आउँछ । तर कम्युनिस्ट आन्दोलनभित्र देखा परेका विभिन्न दक्षिणपन्थी, उग्र‘वामपन्थी’ प्रकारका भड्काव वा कमजोरी तथा माक्र्सवादी, लेनिनवादी सङ्गठननात्मक प्रणालीलाई सही र प्रभावशाली प्रकारले लागु गर्नेबारे देखा परेका कमजोरीका कारणले कम्युनिस्ट आन्दोलनलाई सशक्त धरातलमा स्थापित गर्नु मुश्किल भइरहेको छ ।

त्यसकारण देशभित्र त्यसका लागि अर्थात् क्रान्तिका लागि आत्मगत परिस्थितिको निर्माण गर्न बढीभन्दा बढी प्रयत्न गर्नुका साथै अन्तर्राष्ट्रिय रूपमा पनि त्यसका लागि बढीभन्दा बढी योगदान दिनु हाम्रो कत्र्तव्य हुन्छ । आज लेनिन जयन्ती र पार्टीको स्थापना दिवसको अवसरमा हामीले त्यही प्रतिबद्धता प्रकट गर्नु पर्दछ र त्यो प्रतिबद्धतालाई पुरा गर्न बोल्सेभिक स्प्रिटले काम गर्नु पर्ने आवश्यकता छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!