लोकतन्त्र मुट्ठीभरका नेताको लहडबाजी मात्रै !

19 July, 2017 13:04 | बिचार | comments | 110400 Views

– सोमनाथ घिमिरे –

लोकतन्त्र लोकसम्मतिमा चल्नुपर्ने राजनीतिक प्रणाली हो तापनि नेपालमा मुठ्ठिभर नेताहरूको हुइममा चल्ने गरेको जगजाहेर हुँदैआएको छ । जनताको विचार के छ र भावना कस्तो छ भनेर तदनुकूल नै राजनीतिक धार निर्माण गर्ने कसरतमा नेपालका राजनीतिक दलहरू कमै लाग्ने गरेकाले जनताको व्यापक सहभागिता र समर्थनमा भएका चरण चरणका राजनीतिक परिवर्तनपछि पनि मुलुकको अवस्था सुध्रिएको छैन र लोकतन्त्रले संस्थागत विकासको वाञ्छित गति लिनसकेको छैन ।

adsads

जनताको भवना र विचारको उपेक्षा गर्ने र राष्ट्रलाई निरन्तर ओरालो बाटोतिर धकेल्ने प्रतिकूल परिणामदायी मानसिकता बोकेर जहिले पनि तदर्थवादी कदम चाल्न अग्रसर हुने प्रवृति खासगरी सत्ताधारी राजनीतिक नेतृत्त्वमा रहनेगरेको अनुभूत हुँदैआएको छ । यसको ताजा उदाहरण अहिले सरकारको नेतृत्त्व गरिरहेको नेपाली काङ्ग्रेसको नेतृत्त्वले आफ्नै दलको नेतृत्त्वदायी पहलमा बनेको संविधानको प्रावधान विपरीत प्रतिनिधिसभाको सङ्ख्या बढाउने दुराशय राखेर आफ्नो धारणा सार्वजनिक गरेको छ । अहिलेको संविधानले प्रत्यक्ष निर्वाचित १ सय ६५ र समानुपातिक प्रतिनिधित्त्वका आधारमा १ सय १० सदस्य गरी २७५ को प्रतिनिधिसभाको व्यवस्था गरेको छ । तदनुरूप प्रतिनिधिसभाको निर्वाचनका लागि सरकारले तत्काल क्षेत्र निर्धारण गर्नुपर्ने अपरिहार्यता छ ।

चालू संविधानले आगामी माघ ७ गतेभित्र प्रादेशिक र केन्द्रिय निर्वाचन गरिसक्नु पर्ने अनिवार्यता देखाएकाले निर्वाचन आयोगले वाञ्छित प्रबन्ध यथा समयमै गर्न साउन १५ भित्रै क्षेत्र निर्धारण गर्नुपर्ने माग राखेको देखिन्छ तापनि सरकारले क्षेत्र निर्धारण आयोग अबिलम्ब बनाउनेतिर चासो नराखी तदर्थवादी सोच राखेर २ सय ४० को पुरानै क्षेत्र कायम गरी चुनाव गरान र प्रतिनिधिसभाको सदस्यसङ्ख्या बढाउन राजनीतिक पहल गरेको खुलाशा भएको छ । यो अनर्थकारी पहल जनताको भावना र विचारको प्रतिकूल त छँदैछ नै त्यसका अतिरिक्त राज्यलाई अवाञ्छित आर्थिक बोझ बोकाउन पनि उद्यत देखिन्छ । यस्तो मानसिकताको विकास संविधानको प्रावधान विपरीत भए पनि नयाँ क्षेत्र निर्धारण गर्दा उत्पन्न हुनसक्ने विवादबाट बच्ने धेय राखेर नै यो तदर्थवादी सोच बनाएको प्रतीत हुन्छ ।

सत्ताधारीहरू जहिले पनि तदर्थवादी सोच राखेर तत्कालीन समस्या टार्ने सजिलो उपायको खोजीमा लाग्ने गरेको देखिन्छ । त्यस्तो कदमबाट मुलुकलाई कुन कुन क्षेत्रमा कस्तो कस्तो प्रतिकूल असर पर्छ भन्ने वारे कुनै ध्यान पुगेको देखिँदैन । संविधानसभाकै उदाहरण हेर्ने हो भने पनि ६०१ जनाको जम्बो सदस्य मण्डलीले संविधान निर्माणमा खासै रचनात्मक योगदान नदिएको र प्रमुख दलहरूका टाउके नेताहरूले दिएको आदेशकै पालना गरेर कुनै पनि प्रस्तावमा ल्याप्चे लगाउने गरेको देखिएकै हो । समानुपातिक प्रतिनितिनिधित्वको र सवै दलले हुर्मत नै लिए । राज्यले ठूलो आर्थिक भार बेहोर्नु पर्यो ।

अहिलेकै संवैधानिक प्रावधान अनुसारको २७५ सदस्यीय प्रतिनिधिसभा पनि ठूलै हो । ७ प्रदेशका प्रदेशसभाहरू समेतको सदस्य सङ्ख्यालाई हेर्दा ८ सय भन्दा बढी सांसदको व्ययभार थेग्न मुलुकलाई हम्मेहम्मे नै पर्छ ।अझ त्यो सङ्ख्यालाई १२ सय नघाउँदा देशको हालत के होला भन्ने सवाल स्वतः जागृत हुन्छ । यो अनर्थकारी दिशातिर सरकार अगाडि बढ्नु कदापि युक्ति सङ्गत छैन ।

निर्वाचन क्षेत्र निर्धारण अहिले विवादको नयाँ विषय बन्न सक्छ । भूगोल र जनसङ्ख्याका दुवै आधारलाई हेरेर क्षेत्र निर्धारण गर्नुपर्ने सर्वस्वीकार्य मान्यता रहे पनि खासगरी आयातित सोच राख्ने मधेशवादी नेताहरूले जनसङ्ख्यालाई नै प्रमुख आधार मानेर तराईमा सिट सङ्ख्या बढाउने अनावश्यक जिकिर गर्दैआएका छन् । २ नं प्रदेशमा अझै पनि स्थानीय तहको सङ्ख्यासमेत बढाउन दवाव दिइरहेका राष्ट्रिय जनता पार्टीका नेताहरूले प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र निर्धारण गर्दा बबाल खडागर्न सक्छन् भन्ने भय राखेर नै २४० निर्वाचन क्षेत्रकै पुरानो व्यवस्था कायम गर्न खोजिएको हो भने यो पनि झनै प्रत्युत्पादक छ । अबिलम्ब क्षेत्र निर्धारण आयोग बनाएर निर्वाचनको वातावरण तयार गर्नतिर लाग्नुको अर्को विकल्प छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालले पुरानै निर्वाचन क्षेत्रको अवधारणालाई ठाडै इन्कार गरेको छ भने सत्तारूढ दल नेपाली काङ्ग्रेसभित्रबाट पनि त्यसको औचित्य नरहेको धारणा बाहिर आएको छ । संविधान संशोधन गरेर पुरानै क्षेत्र कायम गर्ने कुरालाई माओवादी केन्द्रभित्रबाटै पनि असहमति जाहेर भएको देखिँदैन । केवल तत्कालको समस्या टार्ने उद्देश्यले प्रक्षेपण गरिएको प्रतिगामी सोच जनताको भावना र विचारको प्रतिकूल छ भने मुलुकलाई अनावश्यक आर्थिक भार थप्ने भएकाले प्रतिकूल परिणामदायी पनि छ । यथासमयमा कुनै पनि काम नगर्ने र केवल तत्कालीन समस्या टार्न तदर्थवादी सोच अमान्य छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!