वातावरण संरक्षण- पूँजीवादलाई वैदिक संस्कृतिको धक्का आवश्यक

5 June, 2019 12:07 | बिचार | comments | 55800 Views

– यादब देवकोटा –

बढ्दो औद्योगिकरण, हतियार प्रयोगको होडवाजी, कृषिमा रासायनिक पदार्थको अत्यधिक प्रयोग, वनजंगल तथा नदी अतिक्रमण लगायत अनगिन्ती कारणले विश्वको वातावरण विग्रदै गएको छ । आज विश्वमा वातावरण संरक्षणका लागि जति चिन्ता व्यक्त भैरहेको छ त्यसको तुलनामा काम भने भएको छैन ।

adsads

वातावरण भनेको प्रकृति हो र प्रकृतिसंग खेलवाड गर्दा प्रकृतिमा अस्तित्वमा रहेका जीवन संकटमा पर्ने हुन् । यसैकारण वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सोही सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

अहिले वायुमण्डलमा कुल हरितगृह ग्यासको ८० प्रतिशत ओगटने कार्वनडाईअक्साईडको सन १९७० यता ७० प्रतिशतले बृद्धि भएको छ । यसरी वायुमण्डल तातिंदै गइरहेको छ र विश्वमा स्थानअनुरुप जलवायु परिवर्तनका असरहरू देखा परिरहेका छन । पानी पर्ने समय र अवधिमा परिवर्तन आउनुका साथै खडेरी, अल्पवृष्टि, अतिवृष्टि, खण्डवृष्टि भोग्नु परिरहेको छ । हिमालहरू पातलिंदै र छोटिंदै गएको र हिमतालको संख्या र घनत्व बढदै गएको देखिएको छ भने पानीका स्रोतहरू सुक्दै जान थालेका छन् ।

यसले कृषि, जलस्रोत र मानवीय स्वास्थ्य र रहनसहनमा ठूलो नकारात्मक असर परिरहेको छ । दिन र रात दुबै पहिलेभन्दा ताता भैरहेका छन् । बढ्दो जनसंख्या, वन विनास, औद्योगिकरण, शहरीकरण र आणविक प्रयोगशालाबाट उत्सर्जन भइरहेका कार्वनडाईअक्साईड, मिथेन, नाइट्रसअक्साईड, क्लोरोफलोरोकार्वनको मात्रा वायुमडण्लमा बढ्दै जाँदा तापक्रम बढदै गएको हो । वायुमन्डलमा हरितगृह ग्यासको मात्रा जति बढ्दै जान्छ– त्यतिकै अनुपातमा विश्वको तापक्रम पनि बढदै जान्छ ।

वास्तवमा वातावरण विनाशमा पूँजीवादी चिन्तन नै प्रमुख कारक हो । धनका लागि जे गर्न पनि तयार हुने संस्कृतिले गर्दा मानिस स्वयं संकटमा पर्दैगएको छ । वैदिककालीन सभ्यताका अभ्यस्त हामी नेपालीहरु पनि त्यसैको सिकोमा लागेको छौं । अब भने यसमा चेतना जागृत भएको छ । सरकारले आर्थिक वर्ष २०७६।०७७ को बजेटमै आउँदो वर्ष वृक्षरोपण अभियान वर्ष घोषणा गरेको छ । यो एकदमै सकारात्मक काम हो ।

विश्व वातावरण विनाशले सबैभन्दा बढी असर गरेको थोरै मुलुकमा पर्दछ नेपाल । यहाँका हिमालहरु पग्लदै छन् । ताल, तलैयाहरु सुक्दैछन्, जैविक विविकता मासिंदैछ । यसका लागि वातावरण संरक्षण पहिलो शर्त हो र यसैबाट मात्र हामी नेपाली समृद्धि हुनसक्छौं ।

हामी वैदिक सनातन धर्मावलम्बीहरु प्रकृतिलाई ईश्वरको रुपमा पूजा गर्ने गर्दछौं । जल, जमिन, पशुपक्षी अनि बोट बिरुवालाई समेत देउवताको अंश मानेर पूजा गर्दै संरक्षण गर्ने हाम्रो संस्कृतिमा पश्चिमा विकास घुसेर आजभोलि यसको विनाश भैरहेको छ ।

नेपालको राजनीतिक अभ्यास वैदिक साम्यवादमा आधारित थियो । जसको अर्थ मानिसदेखि पशुपक्षी र रुख बिरुवासम्मको संरक्षण थियो । तर अहिले पूँजीवादले जरा गाडेको छ । विनाशको यो एउटा प्रमुख कारण हो । आर्थिक तथा औद्योगिक विकासको होडवाजीले पृथ्वीको भविष्य जोखिममा पर्दैगएको छ । भौतिक विकासको प्रतिस्पर्धाले प्राकृतिक संरचनाहरुको क्षयले गर्दा विश्व जलवायु परिवर्तनको मारमा परिरहेको छ । यतिबेला प्राकृतिक कारणले भन्दा पनि मानवीय कारणले जलवायु परिवर्तन बढिरहेको छ र यसको प्रभावा मानव तथा जीव र वनस्पतिले थेग्न नसकिरहेको अवस्था छ ।

नेपालमा जलवायु परिवर्तनको स्पष्ट संकेत देखा परिसकेको छ । दर्जन बढी हिमतालको सतह बढ्दैछ । यी हिमताल कुनै पनि बेला फुट्नसक्ने आँकलन गरिएको छ । हिमाली क्षेत्रको खाद्य बालीको चक्र परिवर्तन भएको छ । ती क्षेत्रका बासिन्दा अन्योलमा छन् । हिमालका हिउँ पग्लिदै गएको छ । सगरमाथामै हिउँ कम हुँदै गएको बताइन्छ । यो सब नेपालको कारणले नभएर पूँजीवादीहरुकै कारणले हो । पूँजीवादको उद्गम थलोबाट हाम्रा जस्ता मुलुकले पूँजीवादसंगै वातावरणश्रीय विनाश पनि बोकेर ल्याएका छन् । ती मुलुकहरुबाट सहयोगसंगै विनाशको भारी पनि संगसंगै पाएका छौं ।

वायुमण्डलमा तापक्रम बढाउने काम गरीब मुलुकले गरेका छैनन् । उल्टै ती मुलुकहरुले हरितगृह ग्यास सोस्न भूमिका खेलिरहेका छन् । आजभोलि ‘हरित व्यापार’ भनेको वनजंगल संरक्षण गरेवापत धनी मुलुकहरुबाट पाइने क्षतिपूर्ति हो । नेपालले कार्वन सोस्न भूमिका खेलेवापत केही रकम पाउँदै आएको छ । यो पर्याप्त छैन । यसलाई अझै बढाउनुपर्छ र त्यो रकम जलवायु परिवर्तनका कारण प्रभावित क्षेत्रमा लगानी गर्नुपर्छ ।

प्राकृतिक कारणबाट नियमित ढंगले हुने जलवायु परिवर्तनको गति ढिलो हुनाले यसमा जीवको अनुकूलन गर्नसक्ने क्षमता विकसित हुन्छ तर मानवीय क्रियाकलापबाट हुने परिवर्तनको प्रभाव छिटो–छिटो हुने गर्दछ र अनुकूलताको लागि अयोग्य हुन्छ । पृथ्वीमा विभिन्न जीव तथा वनस्पतिहरुको अस्तित्व लोप हुनुको मूल कारण यही हो । सूर्यबाट आएको ताप शक्ति पृथ्वीको सतहमा ठोक्किंदा केही अंश सतहमा सोसिन्छ र केही अंश परिवर्तन भएर अन्तरिक्षमा नै फर्कन खोज्दछ ।

तर पृथ्वीको वरिपरी रहेको पारदर्शी वायुमण्डलमा रहेका कार्वनडाइअक्साइड लगायतका ग्यासहरूले सो तापलाई सोसेर पृथ्वीको वायुमण्डलमा राख्दछ । यसले गर्दा पृथ्वीको ताप संचित बढन गई वायुमण्डलीय तापक्रममा बृद्धि हुन जान्छ । जसलाई हरितगृह प्रभाव भनिन्छ । यो प्रक्रिया निरन्तर चलिरहन्छ र आवश्यक पनि छ किनकि यदि यसो नभइदिएको भए हालको पृथ्वीको सरदर १५ डिग्री सेल्सीयस तापक्रमको सट्टामा –१८ डिग्री सेल्सीयस हुने थियो ।

यतिले पुग्दैन जलवायु परिवर्तन नियन्त्रण प्रयास

प्राकृतिक रुपमा हुने परिवर्तनलाई जीव तथा वनस्पतिले आफूलाई सोही अनुसार परिवर्तन गर्ने क्षमता राख्दछ । तर अप्राकृतिक रुपमा सोच्दै नसोचेको परिवर्तन हुनथाल्यो भने त्यसलाई जीव तथा वनस्पतिले धान्न सक्दैन । एक ठाउँमा परेको जलवायु परिवर्तनको प्रभावले पृथ्वीको कुनै पनि कुनालाई प्रभावित पारिरहेको हुन्छ भन्ने कुरा सर्वमान्य तथ्य नै हो ।

विशेष गरी मानिसले खानेकुरा र पानीका लागि संघर्ष गर्दै बसाइँ सराइ गर्ने र त्यसले गर्दा अर्काे क्षेत्रमा समेत सोही समस्या निम्तिने हुन्छ । त्यस्तो बेलामा खाना र पानीकै लागि ठूलो संघर्षको स्थिति आउँछ । यो समस्याबाट विश्वका गरिब मुलुकहरू त प्रभावित हुने नै भए अवसरको खोजी गर्दै धनी मुलुकहरूतिर उनीहरूको आकर्षण हुने हुँदा ती मुलुक पनि धान्नै नसक्ने समस्यामा बेरिने छन् ।

यसबाट के कुरा स्पष्ट छ भने जलवायु परिवर्तन कुनै मुलुकको भौतिक विकास र आर्थिक उन्नतिले धान्न सक्दैन । मानिस बाँच्नकै लागि संघर्ष गर्नुपर्ने अवस्थाको सिर्जनाले निम्त्याउने संकटबाट ती मुलुकहरु नै बढी मात्रामा प्रभावित हुने देखिन्छ । एउटा मुलुकमा भएको विकासले अर्को मुलुकमा भएको विनाशको ऋण चुकाउनैपर्ने हुन्छ । संकटग्रस्त मुलुकबाट ती मुलुकहरुमा मानिसको ओइरो लाग्ने त पक्कै छ । त्यसैले जलवायु परिवर्तनलाई पूँजीवादको उपहारको रुपमा लिने गरिएको छ ।

हाम्रो संस्कृति र परम्परा थियो सूर्यलाई भगवान मान्ने, पानीमा जलदेवीको बास हुन्छ भन्ने वनजंगलमा वनदेवी, मानवलाई अति आवश्यक पर्ने रुख बुट्यानमा विष्णुको अवतार देख्ने, सरिसृप र पक्षी तथा जीवलाई देवी देवताका वहान मानेर पूजा गर्नेछ । यसको अर्थ यिनीहरुको संरक्षण हो । आज बाघको संरक्षणमा विश्व नै किन लागिपरेको छ ? कारण स्पष्ट छ, पृथ्वीबाट बाघ मासियो भने इको सिष्टम नै खलबलिन्छ । हो, यही संस्कृतिलाई हामीले पुनः जागृत गर्नुपर्दछ ।

तर यसका विपरीत पानीमा फोहर गर्नुहुन्न भनेर पूजा गर्ने संस्कृतिका अनुयायी हामी आज नदीमा ढल हुलेर दुर्गन्धित बनाइरहेका छौं । जंगल जथाभावी मास्नु हुन्न भन्दै वनदेवीको पूजा गर्ने हामी वन तस्करीमा सक्रिय छौं । अनि कसरी हुन्छ वातावरण संरक्षण ?

चुरे बचाउन वातावरण संरक्षण क्षेत्र कायम

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!