विग्रदो वातावरण : घट्दै मूलको पानी- पानीकै कारण बसाई सर्न बाध्य

24 June, 2019 14:08 | जल/वातावरण/स्वास्थ्य | comments | 7650 Views

जलवायु परिवर्तन तथा मानवीय कमजोरीका कारण परम्परागत रुपमा उपयोगमा आइरहेका मुलको पानी सुक्न थालेका छन् । शहरमा मात्रै होइन पहाडी क्षेत्रमा समेत नदीबाट ट्याङ्करले पानी बोकेर घरघर वितरण गर्नुपर्ने बाध्यता छ ।

adsads

केही दशक अघिसम्म खानेपानीदेखि सिंचाईसम्म प्रयोग हुने मुलको पानी आजभोलि सुक्न थालेका छन् । पानीको अभावमा मानिसहरू थातथलो छाडेर गएका छन् । पानी नभएका कतिपय गाउँलाई सरकारले नै सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको छ । अधिकारीको नेतृत्वमा हालै भएको एक अध्ययनले स्रोतबाट पानीको बहाव अप्रत्याशित रूपमा घटेको देखाएको छ ।

युथ एलायन्स फर इन्भाइरोमेण्टले एक वर्ष लगाएर पश्चिम नेपालका विभिन्न जिल्लामा गरेको अध्ययनले ७० दशमलव ०७ प्रतिशत मुहानबाट बहाब (मूलबाट निस्कने पानीको मात्रा) घटेको पाइएपछि पानीको चरम सङ्कटलाई पुष्टि गरेको छ ।

यो समस्या देशव्यापी भए पनि तराई, पहाड र हिमाली क्षेत्रमा फरक फरक रहेको उक्त संस्थाका अध्यक्ष तथा अनुसन्धानकर्ता अधिकारीले बताउनुभयो । “अध्ययनले हामी पानीको सङ्कटतिर गइरहेका छौँ भन्ने देखाएको छ, मुहान संरक्षण योजना नहुँदा आउँदो वर्षहरूमा विकराल रुप लिन पनि सक्छ, सरकारको ध्यानाकर्षण होस्”, उहाँले भन्नुभयो ।

पश्चिम नेपालका प्यूठान, अर्घाखाँची, दैलेख, कालीकोट, अछाम, सुर्खेत, डोटी, डडेलधुरा, कैलालीलगायत जिल्लाका पाँच जलाधार क्षेत्रमा पानीको बहाव कस्तो छ, त्यहाँबाट आउने पानीको गुणस्तर र भूव्यवस्थामा भएको परिवर्तनबारे अध्ययन भएको थियो । झण्डै चार हजार २०० पानीका मुहानको अध्ययनमा धेरै मुहानमा पानी घटेको, पछिल्ला तीन वर्षका अवधिमा मात्रै एक दशमलव ५७ प्रतिशत मुहान सुकेका र केही थपिएका पाइएको छ । झण्डै २६ प्रतिशत मुहान भने यथावत् अवस्थामा पाइएका थिए ।

अधिकारीको नेतृत्वमा डा अनुप गुरुङ, राजु चौहान, सेलिना नकर्मी र सरिता घलेको टोली सहभागी रहनुभएको थियो । अध्ययनमा पानीको गुणस्तरमा भने खासै समस्या नरहेको पानीको गुणस्तरसम्बन्धी विज्ञ डा गुरुङले जानकारी दिनुभयो । आज भन्दा २० वर्षअघि त्यही मूलबाट एक गाग्री भरिन दुई मिनेट लाग्नेमा अहिले त्यही मूलबाट गाग्री भरिन पाँच मिनेट लाग्ने अवस्था रहेको अनुसन्धानकर्ताको भनाइ छ ।

मुहानको संरक्षण र स्रोत व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता अध्ययनले देखाएको छ । तर मुहान संरक्षणमा कतैबाट ध्यान पुग्न नसकेको विज्ञहरू बताउछन् । जलवायू परिवर्तसम्बन्धीका विज्ञ डा विमल रेग्मी विनाशविनाको विकास जरुरी रहेको उल्लेख गर्दै वर्तमान अवस्थामा छोटो समयमा बढी पानी पर्ने हुँदा त्यसको समुचित व्यवस्थापन गर्न सकिएन भने ठूलो समस्या निम्तने खतरा रहेको औँल्याउनुहुन्छ ।

स्रोत संरक्षणको प्रावधान हालै सरकारले ल्याउन लागेको वातावरणसम्बन्धीको विधेयकले समेट्नुपर्ने उहाँको राय छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘वातावरण संरक्षण विधेयक’ २०७५ अहिले छलफल कै चरणमा छ । “बाबुबाजेको पालामा पोखरी खन्ने चलन थियो, यो वैज्ञानिकरुपले पनि सही देखिन्छ तर अहिले त त्यस्ता पोखरीसमेत हराइसके यस्ता विषयमा कानून बोल्नुपर्छ, मापदण्ड उल्लङ्घन गर्ने विरुद्ध प्रस्ट दण्ड र जरिवाना हुनुपर्छ”, डा रेग्मीले भन्नुभयो ।

पूर्वसचिव तथा वातावरणविद् कृष्णचन्द्र पौडेल वन जङ्गल, र पखेराहरू मास्ने, गिट्टी बालुवा जथाभावी निकाल्ने कारणले प्राकृतिक स्रोतमा असर पर्ने भएकाले बेलैमा सचेत हुनुपर्ने औँल्याउनुहुन्छ ।

मुहानमा पानी घट्नुको कारण
अनुसन्धानकर्ताका अनुसार पहिलो त जलवायु परिवर्तनका कारण वर्षा प्रणालीमा फरक आएको छ । पहिले लामो समयसम्म पानी पथ्र्याे, जमीनमुनि जान पाउँथ्यो तर अहिले पानी एकै चोटि पर्ने र छिट्टै बगेर जाने हुँदा पानी रिचार्ज हुन पाएन ।

गाउँघरतिर आहाल, कुला, पोखरी, बनाइन्थ्यो, त्यसले पानी पुनः भरण गर्न सहयोग पुग्थ्यो भने गाईवस्तुका लागिसमेत प्रयोग हुन्थ्यो । त्यस्ता पोखरीले तल्लो क्षेत्रमा पानी रिचार्ज गर्न सहयोग हुन्थ्यो । अहिले पोखरीहरू सडक, फुटबल चौरमा परिवर्तन भएका छन् भने केही बाझिएका छन् ।

अनुसन्धानकर्मी चौहानका अनुसार अव्यवस्थित रूपमा बाटोघाटो निर्माणले पानीको बाटो कारिएर नष्ट हुँदा मुहानमा असर परिरहेको छ । पानी पर्दा बाटोमा छिटो बग्ने अवस्थाले पुनः भरणमा समस्या हुन्छ । स्रोत संरक्षणको साटो पानीका मुहानमा क्रङ्क्रिटका संरचना बनाउन क्रम बढ्दो छ ।

भूकम्पलगायत प्रकोपका कारणले पनि पानीको स्रोतमा उतारचढाव भइरहेको अध्ययनका क्रममा पाइएको छ । यसको वैज्ञानिक अध्ययन गर्न बाँकी रहेकाले अध्ययनको तयारी भइरहेको उहाँले बताउनुभयो ।

कसरी समाधान गर्ने
मुख्य गरी यस्ता मुहान जोगाउनका लागि जसरी हुन्छ परेको पानीलाई पुनःभरण गर्नुपर्छ । पानीलाई जमीनमा नै राख्नुपर्ने अवस्था सिर्जना गर्नुपर्छ । यसको संरक्षण स्थानीय तहको भएकाले मुहान संरक्षणको योजना बनाउनु जरुरी देखिन्छ । जल, जङ्गल र जमीन संरक्षणका लागि सङ्घीय सरकारको विशेष पहल जरुरी छ । अहिलेको जस्तो अवस्था कायमै हुने हो भने आउँदो २०,२५ वर्षमा मुहान कहाली लाग्ने अवस्थामा पुग्ने अनुसन्धानकर्मीको अनुमान छ ।

पहाडी क्षेत्रमा एक किसिमको समस्या रहेको र तराई तथा शहरी क्षेत्रमा अर्के समस्या छ । तराईमा चुरे दोहन छन् । काठमाडौँमा छुट्टै समस्या छ । उपत्यकामा पानी सोस्ने क्षेत्रमा क्रङ्क्रिटमय भएको र पहाडी क्षेत्रमा समेत प्लटिङ भइरहेकाले पानी तल्लो तहमा पुग्न सकेको छैन । विज्ञहरूले प्रकृतिक स्रोत, जल, जमीन, जङ्गल र वातावरण संरक्षणमा लागि स्पष्ट निर्देशन दिनसक्ने अन्तरमन्त्रालय संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

दूषित हावाबाट मात्रै वर्षेनी ७० लाखले गुमाउँछन् ज्यान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!