विद्यालय बन्द- नआत्तिनुस् माया बाड्नुस्, घरेलु ज्ञान-सीप छोराछोरीलाई सिकाउनुस्

19 March, 2020 15:45 | बिचार | comments | 45900 Views

– यादब देवकोटा

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (भोभिड–१९)का कारण ८५ करोड बालबालिका तथा विद्यार्थी प्रभावित भएका छन् । नेपालमा पनि चैत्र ६ गतेदेखि चैत्र मसान्तसम्म विद्यालय तथा कलेजहरु बन्द गरिएका छन् भने एसईई परीक्षा पनि रोकिएको छ ।

यो समयमा उनीहरुलाई कसरी घरमा राख्ने, कसरी सुरक्षित राख्ने चिन्ता आम अभिभावकमा हुनु स्वाभाविक हो । यो अवधिमा विद्यालय शिक्षा बन्द भए पीढि शिक्षा (पुस्तान्तरण शिक्षा) वा सिकाईमा लगाउन सके बालबालिकाको सीप विकास हुने मात्र हैन कि उनीहरुलाई घर बाहिर जानबाट पनि रोक्नेछ र नयाँ कुरा पनि सिक्न पाउनेछन् ।

  

यो एक महिनाको समय जोखिम न्यूनिकरण पनि हुने र बालबालिका आफ्नो काम आफैं गर्नसक्ने गरी सिकाउने हो भने एउटा नयाँ अवसर पनि सिर्जना भएको मानिनेछ ।

कोरोना भाइरसको त्रास मनमा नराखी यसबाट बच्न अपनाउनुपर्ने सामान्य उपायहरु घरमै बसेर अपनाउन सकिने र यो समय परिवारका सदस्यहरुबीच आत्मीय सम्बन्ध अरु बढ्ने भएकाले यसलाई सिकाईको अवसरका रुपमा लिएर सोही अनुसारको कदम चाल्नु अत्युत्तम हुनेछ ।

के हो पीढि शिक्षा र कसरी दिने ?

पीढि शिक्षा भनेको कुनै किताबी ज्ञान हैन, या त एक पुस्ताले अर्को पुस्तालाई आफूमा भएको ज्ञान, सीप सिकाउने हो । अहिलेको आधुनिक शिक्षाले सीपलाईभन्दा प्रमाणपत्रलाई बढी जोड दिइरहेका बेला आमाले छोरीलाई र बाबुले छोरालाई आफूसंगै सामान्य घरेलु काममा लगाउने हो भने यसले नयाँ सिर्जनाको ढोका पनि खोल्नेछ । जस्तो कि भात–भाञ्छाको काम गर्ने, खेतबारी–गाईबस्तुको काम, घरको सरसफाई गर्ने, लुगा धुने जस्ता सामान्य काम परिवारका सबै सदस्य मिलेर गर्ने हो भने यसले बालबालिकाको शारीरिक र मानसिक स्थिति दुबै बलियो मात्र हुँदैन कि उनीहरुले केही कुरा सिक्ने पनि छन् ।

आज भात पकाउने जान्ने छोराछोरी निकै कम छन्, लुगा धुन सक्ने वा खेतबारी (काठमाडौंको हकमा करेसा वा वगैंचा)को काममा लगाउँदा उनीहरुले सिक्ने कुरा धेरै पाउनेछन् ।

शारीरिक परिश्रम कति जटिल छ, कति सहज छ यसले उनीहरुमा स्वयं अनुभूति हुनेछ र यसबाट आफ्ना आमाबाबुले गरेको मेहेनत कति कठिन रहेछ भन्ने पनि बुझ्नेछन् । एक किसिमले भन्ने हो भने जीवनको वास्तविकता उनीहरुले थाहा पाउनेछन् ।

अंग्रेजी शिक्षा, संस्कृति शिक्षा, विज्ञान, गणित, भूगोल, चिकित्साशिक्षा, सूचना प्रविधि शिक्षा लगायत यावत शिक्षाका बारेमा सुनेका र यिनैमध्ये कुनै एक शिक्षा लिने सपना साँचेका बालबालिकालाई पीढितशिक्षा भनेको के हो भन्ने थाहा नहुन सक्छ । त्यसैले यहाँ पीढि शिक्षाको सामान्य जानकारी दिइन्छ, जो हरेक घरघरमाा हरक्षण प्रतिविम्बित भैरहेको हुन्छ ।

जस्तो कि हरेक घरका आमा, बुहारीले पाकशास्त्रको अध्ययनविना नै पक्वान तयार गर्ने मात्र हैन बजारमा पाइनेभन्दा स्वादिष्ट र स्वस्थ अचार बनाउने, मस्यौरा, तितौरा बनाउने, गाउँघरतिर भए पाकेका फर्सीको संरक्षण गर्ने र मूलाका चाना, करेलाका चानाका साथै गुन्द्रुक खाँदेर उचित तापक्रममा सुकाई सुरक्षित गर्छन् । यो काम उनीहरुले कुनै किताबबाट सिकेका हैनन् । उनीहरुले आफ्नी हजुरआमा, आमा, भाउजु, दिदीहरुबाट सिकेका हुन् ।

त्यस्तै चाडपर्व तथा भोजभतेरमा आफ्नो कुल परम्परा अनुसारको रीतिथिति र गर्नुपर्ने औपचारिकता सवै काम घरकी गृहिणी वा अग्रणी महिलाले कत्ति पनि झिजो झर्को नमानिकनै सहज, सरल र सन्तुष्ट भएर गर्छन् । उनीहरुले आफ्नै हातले बनाएका स्वादिष्ट व्यञ्जन सबैले स्वाद मानीमानी खान्छन् । ती व्यञ्जन कुनै तारे होटलको भन्दा कम हुँदैन ।

गाउँघरतिर आमा, हजुरआमाले छोरी नातिनीलाई दैली पूजा गर्नदेखि चित्रमय तुलसीको मस्टो तयार पार्न, चुल्हो बनाउन, भान्साको सरसमानसहित सुघ्घर सफाको तरिका र पानी–पँधेराका विषयमा स्थलगत रुपमै प्रशिक्षण दिन्छन् ।

आमा, हजुरआमा, भाउजु र छरछिमेकीका साथै दिदी बहिनीको परस्परको ज्ञानको आदान प्रदान पनि यसमा महत्वपूर्ण छ । यसरी पूर्वीय परम्परागत पीढी शिक्षा पद्धतिले अहिलेसम्म पनि गाउँघरमा प्रशस्त भूमिका ओगटेको छ । यो छोरीजातिको पीढि शिक्षा भयो ।

त्यसै गरी छोराहरुले हजुरबुबा, बुबा, दाजुहरुबाट सिक्ने कुरा त्यसै गरी महत्वपूर्ण छन् । सुरुवात गाउँघरबाटै गरौं । एउटा विश्वकर्माको छोराले कुनै स्कूल नपढिकन बाबुसंगै आरनमा बसेकै आधारमा घरेलु औजार र हातहतियार बनाउन सक्दछ । सूचिकारका छोराले पनि त्यही गर्छ । त्यसै गरी बाहुनका छोराले बाबुसंग कर्मकाण्ड सिक्दछ, विद्यालय अध्ययन विना नै ऊ संस्कृतिका श्लोक फलाक्न सक्षम हुन्छ । खेतबारीको काम गर्ने, हलो बनाउने, यी सबै काम पिता–पुर्खादेखि हस्तान्तरण हुँदैआएको छ र यो शास्त्रीय शिक्षा पद्धतिको अभिन्न अंग थियो ।

आजभोलि अभिभावकहरु आफ्ना छोराछोरीले घरको काम गर्न लगाए वा सिकाए आफ्नो इज्जत जाने गलत सोचमा बसेका हुन्छन, तर उपरोक्त सामान्य विषयहरु आफ्ना आमाबाबुले आफूहरुलाई नसिकाएका भए आफ्नो जीवन यति सहज हुन्थ्यो कि हुन्थेन अनि ती कुराहरु आफूले नसिकेका भए कस्तो अवस्था हुन्थ्यो भन्ने बुझेर आफुना छोराछोरीलाई पनि त्यही सिकाउने हो भने पारिवारिक विखण्डन रोकिने मात्र हैन छोराछारी स्वावलम्बी पनि बन्नेछन् ।

यो एक महिना कम्प्युटर, मोबाइलका तुलनामा छोराछोरीलाई आफूसंग काममा, छलफलमा र अन्य यस्तै रचनात्मक काममा लगाउने हो भने यसले संक्रमणको त्रास हट्ने मात्र हैन मानसिक र शारीरिक तन्दुरुस्तिका साथै सीप विकास समेत हुनेछ ।

तसर्थ यो एक महिना बालबालिकाका लागि बोझ नठानेर उनीहरुले नयाँ कुरा सिक्ने अवसरका रुपमा लिनुपर्दछ र प्रत्येक अभिभावकले सोही अनुसारको भूमिका खेल्नुपर्दछ । उनीहरुलाई आफूसंगै सक्रिय बनाउनुपर्दछ । सूचनाप्रविधिमा मात्र अभ्यस्त भएका छोराछोरीलाई घरेलु काम, पुर्खाका सीप र परम्परागत कुरा सिक्ने-सिकाउने अवसर हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More