“विशेष महाधिवेशन मार्फत कांग्रेस नेतृत्व परिवर्तन गर्न आवश्यक छ”

17 May, 2019 15:48 | अन्तरवार्ता | comments | 120750 Views

नेपाली कांग्रेसकी प्रखर नेतृ तथा ट्रेड युनियन कांग्रेसकी राष्ट्रिय सल्लाहकार रीता खनाल पार्टीको वर्तमान नेतृत्वसंग सन्तुष्ट हुनुहुन्न । उहाँ जतिसक्दो चाँडो विशेष महाधिवेशन बोलाएर नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा हुनुहुन्छ ।

adsads

मुलुकको समसामयिक राजनीतिक परिप्रेक्ष्यमा नेपाल–जापान डट कमका लागि सूर्यप्रसाद कोइरालाले गरेको कुराकानी प्रस्तुत छ ।

० तपाईं नेपाली कांग्रेसको पुरानो नेतृ, कस्तो छ अहिले कांग्रेसको आन्तरिक गतिविधि ?
कांग्रेस यतिबेला देशको दुई तिहाई बहुमतको दम्भमा अधिनायकवादले देशको सर्वत्र निकाय भताभुङ्ग बनाउन लाग्यो र देश उठ्नै नसक्ने गरी आर्थिक, लोकतान्त्रिक धरापमा परेको भन्ने चिन्तामा छ । आफू सरकारमा हुनु नहुनु कांग्रेसको लागि चिन्ताको विषय होइन । तर, रैती र प्रजालाई जनता बनाएको नेपाली कांग्रेस जसले १०४ वर्षे राणा शासनको अन्त्य, ३० वर्षे पञ्चायतको पतन ग¥यो, २३७ वर्षे राजसंस्थाको स्थायी बर्हिगमन गरायो, रक्तकुण्डमा डुबेको देशलाई १२ बुँदे समझदारी मार्फत २०६२ साल मंसिर ५ गते बृहत शान्ति सम्झौता गरेर देशलाई रक्तकुण्डबाट विधिको शासन मार्फत अवतरण गरायो । देशका सबै युगान्तकारी परिवर्तनको नेतृत्व गरेको नेपाली कांग्रेस जसले पटक पटक देशको पहिलो र जेठो लोकतान्त्रिक पार्टीको हिसावले इतिहास निर्माण गरिसकेको छ । त्यो नेपाली कांग्रेस पछिल्लो समय प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा अत्यन्त झिनो आकारमा जनअनुमोदन भएको छ ।

इतिहासकै कालखण्डमा कांग्रेसले सर्मनाक हार व्यहोरेको छ । कांग्रेसको हार सँगसँगै विद्यमान कम्युनिष्ट सरकारको गतिविधि हेर्दा कांग्रेस हारेको होइन लोकतन्त्र हारेको जस्तो देखिरहेको छु । यो विषम परिस्थितिमा विद्यमान कांग्रेस नेतृत्वले कांग्रेसको यो सर्मनाक हारको कारण आगामी दिशानिर्देश अत्यन्तै उदार भएर पूर्वाग्रहबाट बाहिर निस्की सबै वास्तविकताको खुल्ला बहस र छलफल गरी आत्मालोचना र समीक्षा गर्दा सबै घटित कमी कमजोरीहरुलाई अन्तरआत्मादेखि स्वीकार गरी सुधारको कदम अवलम्बन गर्नुपर्ने हो । तर, नेतृत्व पंक्तिबाट त्यो भइरहेको छैन ।

० देशमा दुई तिहाई वहुमतको कम्युनिष्ट सरकार छ, कांग्रेसको भूमिका कस्तो हुनुपर्छ त ?
निश्चय पनि कम्युनिष्ट अधिनायकवादका विरुद्ध कांग्रेस एकजुट भएर सामना गर्नुपर्छ नै । तर वर्तमान कांग्रेसको जागरण अभियानलाई जनजागरण अभियानको नाममा जनस्तरसम्म पुग्नु पथ्र्यो । आम जनताले साँच्चै कांग्रेस सम्पूर्ण रुपमा आत्मालोचना र स्वीकारोक्ति सहित फेरि जनताको आशा र भरोसाको पार्टीको रुपमा आएको छ भन्ने कुराको प्रत्याभूति दिनुसक्नु पर्छ । तर वर्तमान जागरण अभियान कांग्रेसभित्रको आन्तरिक, वैधानिक विवाद र कार्यकर्ता र नेतृत्वको मनमुटावलाई सम्बोधन नै नगरी अब पार्टी साँच्चिकै विधि विधानमा चल्छ, कार्यकर्ताहरुको उच्च मूल्याङ्कन समानुपातिक र न्यायोचित वितरण हुन्छ भन्ने कुराको प्रत्याभूति नै नगरी पार्टीभित्र एकताको आवाजको नाममा गरिएको कृत्रिम एकता सहितको जागरण खासै फलदायी र परिणाममुखी हुने देखेको छैन मैले ।

कांग्रेस कार्यकर्तालाई जागरणको आवश्यकता नै छैन । बरु पार्टी सम्पूर्ण रुपमा उल्लेखित कमीकजोरीको स्वीकारोक्तिका साथ सुधारको मार्गमा छ भन्ने प्रत्याभूति दिन सकेको भए निरास, ऊर्जाहीन र निरुत्साहित तमाम कांग्रेस कार्यकर्ताहरु अन्तर मनदेखि जागेर अधिनायकवादको सामना गर्ने थिए । र, यथास्थितिमा नेपाली कांग्रेस अगाडि बढ्न सक्दैन ।

० कसरी अगाडि बढ्नुपर्छ भन्ने लाग्छ यहाँलाई ?
विशेष महाधिवेशन मार्फत कांग्रेस नेतृत्व परिवर्तन गर्न आवश्यक छ । म नेतृत्वलाई भन्न चाहन्छु– अलोकतान्त्रिक गतिविधिलाई खवरदारी गर्न कांग्रेस पार्टी आफैले विधि विधानको पालना र लोकतान्त्रिक चरित्रको अनुशरण गर्न जरुरी छ । लोकतान्त्रिक पार्टीभित्र वाक् स्वतन्त्रतालाई कुण्ठित बनाई चलाइएको जागरण अभियानभित्र विद्यमान कांग्रेस नेतृत्व माथि तमाम कार्यकर्ताको आलोचनाको आक्रमणलाई दमित गर्न नियोजित ढङ्गले कार्यक्रमको तर्जुमा गरिएको शंका लागेको छ ।

० तपाईं महिला नेतृ, देशमा लगातार वलात्कार र यौन हिंसाका समाचारहरु आइरहेका छन् । यसमा यहाँको धारणा के छ ?
प्रथमतः सृष्टिका जननी सहनशीलता र धैर्यताका प्रतिमूर्ति मातृशक्ति माथि जो जसले बलात्कार र हिंसा गरेका छन् ती सबैले आफ्नै आमा र दिदीबहिनीलाई गरेका हुन् । जबसम्म मातृशक्तिप्रति स्वजागरणको आध्यात्मिक सम्मानलाई जोगाउन सकिंदैन तबसम्म मातृशक्तिको अपमान भई नै रहन्छ । तथापि यसलाई नियन्त्रण र अन्त्य गर्ने भनेको सामाजिक चेतना, दवाव र देशमा कडा कानुन र त्यसको पालना हुनुपर्ने हो ।

तर दुःखलाग्दो कुरा देशमा विद्यमान सर्वोच्च निकाय राष्ट्रपति पदमा महिला हुनुहुन्छ तर दिनानुदिन देशमा घटित यौनजन्य महिला हिंसा, वलात्कार र हत्यामा राष्ट्रपतिको भूमिका र देशको कानुन मौन भन्दा पनि अपराधीलाई संरक्षण गर्नेतर्फ उन्मुख छ । जसको ज्वलन्त उदाहरण निर्मला पन्त हत्याकाण्ड र प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति, संरक्षणकारी सरकारी भूमिका र राष्ट्रपतिको मौनताले प्रमाणित गरेको छ । लोकतान्त्रिक पद्धतिबाट आसिन विद्यमान राष्ट्रपति जहाँ सार्वभौमसत्ता नेपाली जनतामा निहित छ । तथापि ‘मेरो सरकार’को सम्बोधन गरेर निरङ्कुशताको झल्को दिंदै सामन्ती युगिनकालीन राजा–महाराजाको जस्तो अति विलासीतापूर्ण जीवनशैली र निरङ्कुशतातर्फ अभ्यस्त देखिन्छ ।

म सम्मानीय महामहिम राष्ट्रपतिज्यूलाई तपाईंको सरकारको सम्पूर्ण राजकीय शक्ति र सत्ता प्रयोग गरी तपाईंकै जीवनसाथी मदन भण्डारीको हत्यारा पत्ता लगाउन र तपाईं महिला हुनुको गरिमा बचाउँदै निर्मला पन्तको हत्यारा सार्वजनिक गराउनुस्, यो मेरो चुनौती हो । होइन भने तपाईं जस्तो महङ्गो राष्ट्रपति यो मुलुकले चाहेको होइन ।

० तपाईं ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सल्लाहकार हुनुहुन्छ, के ट्रेड युनियनले मजदुरहरुका सम्पूर्ण समस्याहरुलाई सम्बोधन गरेको पाउनु हुन्छ ?
आजसम्म नेपालमा श्रमजीवीहरुका अधिकारका सवालमा जे जति उपलब्धी भएका छन् ती सबै उपलब्धीहरु नेपाली कांग्रेस सरकारमा रहँदा नेपाल ट्रेड युनियन कांग्रेसको पहलमा भएको छ । म दावाका साथ प्रमाण पेश गर्दछु । नेपालमा पहिलो पटक २०१६ सालमा नेपाल कारखाना ऐन बन्यो । त्यो बि.पि. कोइराला नेपालको प्रथम दुई तिहाई बहुमतका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्री हुँदा बनेको थियो । २०४८ सालमा फेरि श्रम ऐन, २०४८ बन्यो । २०४९ मा बोनस ऐन बन्यो । यो पनि नेपाली कांग्रेसका तर्पmबाट नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री श्रमिक नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारका पालामा बनेको थियो ।

केही समय अगाडि वर्तमान प्रधानमन्त्री केपी ओलीले सामाजिक सुरक्षा ऐन पास गरेको जुन ढोल पिटाए वास्तवमा त्यसको सत्य र यथार्थ अर्कै छ । २०५४ सालमा नेपाली कांग्रेसका तर्फबाट संसदमा प्रमुख सचेतक रहनु भएका कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले नेपाल ट्रेड युनियन कांग्रेसको प्रस्तावलाई विविधवत संसदमा प्रस्तुत गर्नु भएको थियो । जुन प्रस्ताव झण्डै २० वर्षसम्म नेपाल ट्रेड युनियन कांग्रेसले देशमा पटक पटकका फेरबदल हुने सरकारसँग निरन्तर निर्णयार्थ लविङ्ग गरिरह्यो । जसको फलस्वरुप केपी ओली सत्तासिन भइसकेपछि त्यही निरन्तरताको निष्कर्षको घोषणाको फाइदा उठाएर आफ्नो छद्मभेषी स्वभाव प्रस्तुत गर्न भ्याइहाल्नु भयो ।

सम्पूर्ण बैकिङ क्षेत्र, सार्वजनिक सेवाका क्षेत्रहरु, होटल क्षेत्रको १०% सेवा शुल्क र संशोधित शिक्षा नियमावली, निर्माण, चियाबगान र यातायात क्षेत्र, स्वास्थ्य, प्रेस लगायतका औपचारिक तथा अनौपचारिक क्षेत्रमा भएका उपलब्धीको एकलौटी श्रेय नेपाल ट्रेड युनियन कांग्रेसले पाउनु पर्दछ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था रहेको नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नै मातृ पार्टी सरकारमा रहेका बखत पटक पटक श्रमजीवीहरुका अधिकारलाई वैधानिक ढङ्गले स्थापित गर्नका लागि धेरै पटक सडक आन्दोलन गरेको इतिहास छ ।

तर दुःखका साथ भन्नुपर्छ, विद्यमान कम्युनिष्ट पार्टीहरुसँग नजिक भएका ट्रेडयुनियनहरुले तिनका भातृ पार्टीहरु सरकारमा रहेका बखत आजसम्म श्रमजीवीहरुका मुद्दामा सडक आन्दोलन गरेको कुनै इतिहास नै छैन । बस सरकारमा सवार भएका बखत नेपाल ट्रेड युनियन कांग्रेसले उठाएको मुद्दाहरुको तत्कालीन उपलब्धीलाई आफूहरुले गरेको भनेर भ्रमित गर्न प्रधानमन्त्री केपी ओलीले कुनै कसर बाँकी नराखेको पराकाष्ठा मुलुकले देखिसकेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!