विशेष सम्पादकीय : व्यवस्थाप्रति नै अनास्था बढाउने दुर्नियतिको यात्रा

9 July, 2020 12:45 | सम्पादकीय | comments | 31650 Views

कुनै एक दलको स्पष्ट बहुमत नहुँदा मुलुुकमा अस्थिरता उत्पन्न भएका कारण विकास–निर्माणदेखि जनजीविकाका कुनै पनि काम नभएका कारण अब हामीलाई बहुमत दिनुस् स्थिर सरकार बनाएर देशको कायापलट गर्छौं भन्नेहरु आज झण्डै दुई तिहाई बहुमतको सरकार नै अस्थिरतातिर अग्रसर छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुबीच देखिएको सत्ता र शक्ति संघर्षले सो दललाई मात्र हैन आम जनतामा व्यवस्थाप्रति नै अनास्था र घृणा उत्पन्न गराउने दिशातिर अग्रसर छ ।

ओली नेतृत्वको सरकार आफ्नै दलभित्रको कलह र बिग्रहउन्मुख अवस्थाका कारण अस्तित्व रक्षाको सङ्कटमा फसेको छ । यसको पृष्ठभूमिमा अनेकथरी जेजस्ता कारणहरू भए पनि पूर्ण बहुमतको एकल पार्टी सरकार जनादेशअनुसारको पाँच वर्षे कार्यकाल पूरा गर्न नसक्ने अनपेक्षित वातावरणको सिर्जना हुनु र राजनीतिक अस्थिरताको दिशातिर राष्ट्रिय परिस्थिति उन्मुख हुनु यो पुस्ताका नेताहरुमा विगतदेखि जस्तो चरित्र विकसित हुँदैआएको छ त्यसैको निरन्तरता हो भन्ने बाहेक केही छैन ।

सरकारले जनअपेक्षा अनुसारको काम गर्न सकेको छैन भन्नेमा विमती छैन, तर अस्थिरता सिर्जना गर्ने गरी सत्ता संघर्षमा शीर्ष नेताहरु लागिपर्दा यसले आम जनतामा दिने सन्देशको कसले ख्याल गरेका छैनन् । स्पष्ट बहुमत भएको दलभित्र पनि सरकार ढाल्ने र बनाउने खेल भैरहन्छ भने यसलाई कसैले कसरी जायज भन्ला ? हो यसमा राम्रो भन्ने पक्ष छन् । नराम्रो भन्ने पक्ष पनि छन् । प्रधानमन्त्री ओलीको राजीनामा माग्ने पूर्व माओवादी र पूर्व एमालेका माधव–खनाल गुट ओलीको राजीनामा माग्ने कुरा जायज भन्छन् भने ओली गुट ओलीलाई फाल्न पाइँदैन भन्दै सडक संघर्षमा छन् । यहीबाट स्पष्ट हुन्छ– सो पार्टी एकताबद्ध छैन । ओलीले राजीनामा दिएर प्रचण्ड–नेपाल–खनाल जो प्रधानमन्त्री बने पनि भोलि भोग्ने नियति यही हो । यसले व्यक्तिहरुलाई केही समयका लागि आनन्द दिए पनि मुलुकका लागि दुर्भाग्य सिवाय केही हुनेछैन । यहाँ जहिल्यै व्यक्तिप्रधान राजनीति चलेको रहेछ भन्ने नेकपाको अहिलेको विवादले पुष्टि गरेको छ । यो मुलुकका लागि दुर्भाग्यपूर्ण अवस्थाको सूचक हो ।

  

दुई तिहाई बहुमत नजिकको वर्तमान सरकारको अढाइ वर्षको यो अन्तरालमा जनताको भावनाको कदर हुने गरी राज्य सञ्चालन भएको र मुलुकले नयाँ काँचुली फेर्ने विश्वसनीय वातावरण र परिस्थिति सिर्जना भएको थोरैमात्र पनि अनुभव हुन पाएन । सत्तारूढ दलका शीर्षपंक्तिका नेताहरूको मपाइँवादी प्रवृत्ति र संकीर्ण स्वार्थवृत्तमा मात्रै रमिरहने आनीबानी यसबीचमा झनै मौलाउँदै गयो । गुटगत गतिविधि पटक्कै सेलाएन । पार्टी एकताले हौसिएका विशाल पंक्तिका उर्जाशील कार्यकर्ताहरू बिलखमन्दमा परे । यस्तो अनपेक्षित स्थिति सिर्जनाको दोष नेकपाका अध्यक्षद्वय, सरकार प्रमुख र अग्रपङ्क्तिका नेताहरूमै जान्छ तर अहिले पानीमाथि बसेर ओभानै रहेको बहाना गर्दै तिनै नेताहरू आआफ्नो डम्फू बजाउने होडबाजी गरिरहेका छन् र मुलुकलाई दुर्नियतिको बाटोतिर धकेलिरहेका छन् । सरकारलाई लगाम लगाएर जनमुखी कार्यमा अग्रसर गराउने जिम्मेवारी सत्तारुढ दलका शीर्ष नेताहरुको हो, तर उनीहरु कसरी सरकारलाई असफल देखाएर आफू सत्तामा पुग्ने भन्ने दिनको प्रतिक्षामा बसिरहेको अहिलेको परिस्थितिले पुष्टि गरेको छ । यो पुष्टिले अर्को बलियो सन्देश के दिएको छ भने यो पुस्ताको राजनीतिक नेतृत्वबाट देशमा व्यवस्था त परिवर्तन भयो तर विकास निर्माणका हकमा काम गर्ने ल्याकत छैन ।

सत्तामा पुग्नासाथ आफूलाई सर्वश्रेष्ठ र सर्वज्ञाता ठान्ने अनि राज्यका सीमित स्रोत र साधनमाथि मनलाग्दी गर्ने, सत्तामा पुग्न र जोगाउनका लागि राष्ट्रिय सरोकारका अहं विषयमा पनि बाह्यशक्तिबाट निर्देशित भएर काम गर्नेगरेका अनेक घटना हिजो जसरी अङ्कित थिए आज पनि त्यस्तै छन् । आन्तरिक राजनीतिक मामिलामा विदेशीको हस्तक्षेप निम्त्याउने र परनिर्देशित भूमिका खेलेर राष्ट्रघातका श्रृंखला बढाउने क्रमको निरन्तरताले मुलुकको भविष्य नै सन्दिग्ध बन्दैगएको छ । नेपालको वर्तमान राजनीति घटनाक्रमलाई बिहङ्गम दृष्टि राखेर नियाल्दा निहित सत्तास्वार्थबाट माथि उठेर देश र जनताको हितमा समर्पित भएर इमानदारिताका साथ काम गर्ने राजनीतिक नेतृत्व वर्ग देशले पाउन नसकेको कटु यथार्थबोध हुन्छ ।

आफूलाई सरपर्दा बाहिरी शक्तिको भरपुर उपयोगमा आउने र सत्तास्वार्थमा धक्का लाग्ने सम्भावना देख्नासाथ वैदेशिक शक्तिको चलखेल देख्ने जुन संस्कार बसेको छ त्यसलाई निर्मूल गर्ने राजनीतिक आत्मनिर्भरताको विकास हुन नसकेको बोध अहिलेको परिस्थितिले पनि टड्कारो रूपमा गराइरहेको छ । राजनीतिलाई त्याग र समर्पणको अनुकरणीय खेल सिद्ध गर्ने आचरण वरण गर्नुको सट्टा झेलको खेलमा परिणत गरी झूट र लुटको खेती गर्ने अपसंस्कृतिको विकास भएकाले देश चौतर्फी सङ्कटको घेरामा पर्दैगएको छ । अवसर पाएका दलका नेताहरूले देश र जनताप्रति बफादारिता नदेखाएकै कारण कलह, बिग्रह र बिघटनको दुर्नियतिलाई आफै निम्त्याइरहेका छन् ।

अहिले नेकपाभित्र जेजस्तो विवाद खडा गरिएको छ यो प्राकृतिक हैन, कृत्रिम हो, जनताको अभिमतमाथिको यो खेलबाडले हो । राष्ट्रिय सरोकारका अहं मुद्दाहरूमा गहन छलफल गरेर सही बाटोमा हिड्न मार्गनिर्देशन गर्नुपर्ने जिम्मेवार नेताहरु प्रधानमन्त्री फेर्ने खेलमा देशको हितको जामा पहिर्याएर जतिसुकै चिच्याए पनि त्यो आम जनताका लागि पाच्य विषय हैन । अहिले आभफ्नो मतको दुरुपयोग अनुभूति गरिरहेका छन् । नेपालको राजनीतिमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्भाग्य हो । यसले व्यवस्थाप्रतिकै आस्थामा घृणा उत्पन्न गर्ने खतरा बढेको छ भन्नेतिर विवादका जननीहरुले ख्याल गरे सबैको भले हुनेछ !

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More