विश्वकै जेठा कम्युनिस्ट का. खगुलाल गुरुङ

11 July, 2019 15:54 | बिचार | comments | 9900 Views

मोहनविक्रम सिंह

का. खगुलाल गुरुङ शताब्दी कम्युनिस्ट हुनुहुन्छ, उहाँ १०१ वर्ष पुगेर १०२ वर्षमा लाग्नु भयो । त्यसरी उहाँ नेपालको सबैभन्दा ज्येष्ठ कम्युनिस्ट मात्र नभएर शायद संसारको नै उहाँ सबैभन्दा ज्येष्ठ कम्युिनस्ट हुनुहुन्छ ।

adsads

‘शायद’ यस कारणले विश्वमा अरू पनि कोही त्यति उमेरको कुनै कम्युनिस्ट भएको कुरा मलाई थाहा छैन र त्यो कुरा मैले निश्चित रूपले भन्न सक्दिनँ, त्यसैले ‘शायद’ शब्द जोडेको छु । उहाँ २०१० सालमा कम्युनिस्ट पार्टीमा सामेल हुनु भएको थियो । त्यसरी उहाँ गत करिब ६५ वर्षदेखि कम्युनिस्ट आन्दोलनमा संलग्न हुनु हुन्छ, यद्यपि गत करिब एकाध दशकदेखि बृद्ध अवस्था, शारीरिक अशक्तता र रोग समेतका कारणले उहाँ कम्युनिस्ट आन्दोलनमा सक्रिय हुन सक्नु भएको छैन । तर, पार्टी र क्रान्तिप्रतिको उहाँको आस्था अविचलित छ र अहिले पनि अविचलित छ । उहाँले कान राम्रोसँग सुन्नु हुन्न । तर, आँखाले राम्ररी देख्नु हुन्छ र पत्रपत्रिका आदि बिना चस्मा पढ्न सक्नु हुन्छ । उहाँले पार्टीका पत्रपत्रिका वा प्रकाशनहरू अहिले पनि खोजी खोजी पढ्नु हुन्छ ।

पहिले पाल्पा जेलमा छँदा उहाँले राहुल सांस्कृत्यानको ‘साम्यवाद ही क्यों’ पुस्तिका अनुवाद गर्नु भएको थियो । अहिले पनि उहाँले लगातार लेख्ने काम गर्नु हुन्छ । उहाँले पार्टी, समाज, ग्रामीण जीवन, वर्गसङ्घर्ष, कम्युनिस्ट आन्दोलन विकास आदि कैयौँ विषयमा आफ्ना विचार लेखिरहनु हुन्छ । त्यसरी उहाँले लेखेका कैयौँ कपी छन् । उहाँले त्यस्ता कैयौँ कपी मलाई दिनु भएको छ र ती मसित सुरक्षित छन् । ती रचनालाई सम्पादन गरेर प्रकाशित गर्ने हाम्रो योजना छ । उहाँको त्यसप्रकारका रचनाबाट एउटा कम्युनिस्टले सय वर्ष नाघिसकेपछि पनि कसरी परिवर्तन, क्रान्ति वा भविष्यका सपना देखिरहन्छ र देखिरहन सक्दछ ? त्यो कुरालाई बताउँछ । उहाँ कुनै लेखक वा बुद्धिजीवी हुुनु हुन्न । तैपनि उहाँमा आफ्ना मनका भावना वा विचारलाई व्यक्त गर्ने जुन क्षमता छ, त्यो अदुभुत छ ।

अहिलेका कम्युनिस्टहरूले उहाँबाट धेरै कुरा सिक्न सक्छन् र सिक्नु पर्दछ । अहिले आम रूपमा मानिसको अध्ययनप्रतिको रुचि कम भएर गएको छ । कम्युनिस्टबारे पनि त्यो कुरा लागु हुन्छ । तर, एउटा शताब्दी नाघिसकेका कम्युनिस्टले का. खगुलाल गुरुङले जसरी आफ्नो क्षमताअनुसार अध्ययन र लेख्ने कार्यमा लगातार ध्यान दिइराख्नु हुन्छ । त्यसबाट हामी सबैले शिक्षा र प्रेरणा लिनु पर्दछ ।

उहाँको चरित्रको सबैभन्दा ठुलो र महत्वपूर्ण विशेषता यो हो कि एकपल्ट कम्युनिस्ट पार्टीमा सामेल भएपछि उहाँ सधैँ र निरन्तर रूपले उहाँले सिद्धान्तलाई अपनाइरहनु भयो । उहाँको अवस्थामा कहिल्यै कमी आएन । उहाँ कहिल्यै क्रान्तिकारी मर्मबाट विचलित हुनु भएन । उहाँ सधैँ सङ्घर्षको बाटोमा दृढतापूर्वक अगाडि बढिरहनु भयो । २००७ सालमा उहाँले कैयौँ मोर्चामा गएर सङ्घर्ष गर्नु भयो । २०१० सालमा कम्युनिस्ट पार्टीमा सामेल भएपछि उहाँ त्यही सालमा प्युठानको रातामाटामा तीन महिनासम्म चलेको जनता शिक्षण शिविरको शारीरिक प्रशिक्षक हुनु हुन्थ्यो । २०१० सालमा नारीकोटमा चलेको ऐतिहासिक किसान आन्दोलनको उहाँ नेता नै हुनु हुन्थ्यो । त्यो किसान आन्दोलनमाथि आधारित फिल्म ‘फागुन २४ गते’ को प्रारम्भमा उहाँले प्रकट गरेका उद्गारबाट अहिले पनि उहाँमा त्यो बेलाको लडाकु उद्गार विद्यमान रहेको कुरालाई बताउँछ ।

नारीकोटको आन्दोलनपछि प्युठानमा जालीफटाहा विरोधी वा अधिया, मोहियानीसम्बन्धी आन्दोलनको एउटा आँधी नै आयो । त्यो आन्दोलनमा उहाँको सधैँ अग्रिम र सङ्घर्षशील भूमिका रह्यो । २०११ सालको भ्रष्टाचार विरोधी आन्दोलनमा गिरफ्तार भएपछि उहाँलाई प्युठान, पाल्पा र सल्यानका जेलमा सरुवा गर्दै राखियो । प्युठान र पाल्पाका जेलमा उहाँले कडा सङ्घर्ष सञ्चालन गर्नु भएको थियो । २०१५ सालमा भएको चुनावमा उहाँ हालको रोल्पाबाट, जो त्यो बेला प्युठानमा नै पर्दथ्यो, मा उम्मेद्वार बन्नु भएको थियो । उहाँ चुनावमा पराजित हुनु भएको थियो तर सीमित साधन र सङ्गठनका बाबजुद उहाँले थवाङ सहित रोल्पाका गाउँगाउँमा पुगेर वामपन्थी जागरण ल्याउने काम गर्नु भएको थियो । थवाङमा कम्युनिस्ट पार्टीको स्थापनामा पनि उहाँको महत्वपूर्ण भूमिका रहेको थियो ।

पञ्चायती कालमा उहाँले चुनावमा भाग लिनु भएको थियो र उहाँ त्यो गाउँ पञ्चायतको प्रधान पनि बन्नु भएको थियो । पञ्चायतमा सामेल भएका धेरै कम्युनिस्ट त्यसैमा बिलाए वा त्यसमा सामेल भएर नै आफ्नो भाग्य बनाउने प्रयत्न गरेका थिए । तर, का. खगुलालले पञ्चायत वा चुनावलाई पनि वर्गसङ्घर्षकै रूपमा लिनु भएको थियो । त्यसैले आफ्नो कार्यकालमा उहाँको गाउँका सामन्त वा जालीफटाहासित कडा सङ्घर्षको वा वर्गसङ्घर्षको स्थिति उत्पन्न भएको थियो । पहिले शिविरको समयमा उहाँले जुन किसान आन्दोलनको सञ्चालन गर्नु भएको थियो, आफू प्रधानपञ्च भएको बेलामा पनि त्यो किसान सङ्घर्षलाई निरन्तरता दिने प्रयत्न गर्नु भएको थियो । त्यसैको परिणाम थियो कि जसरी पञ्चायतमा सामेल भएका धेरै कम्युनिस्ट त्यसैमा बगेर बिलाए, त्यसरी का. खगुलाल गुरुङ बिलाउनु भएन र त्यसपछि पनि उहाँले लगातार कम्युनिस्ट पार्टीको झण्डा वा आन्दोलनलाई अगाडि बढाउने प्रयत्न गरिहनु भयो । पार्टीको सम्पूर्ण इतिहास र स्वयं प्युठानको गत ६५ वर्षको इतिहासले पनि बताउँछ– धेरै मानिस कम्युनिस्ट पार्टीमा लागेर छिट्टै हराएर गए । त्यसरी हराएर जानेमध्ये कैयौँजना आफ्नो समयमा धेरै नै सक्रिय, लडाकु वा क्रान्तिकारी पनि थिए । तर, तिनीहरूको त्यसप्रकारको क्रान्तिकारिता विभिन्न प्रकारका अवसरवाद, पलायन वा गद्दारीसम्ममा परिणत हुँदै गए ।

शायद यो विश्व कम्युनिस्ट आन्दोलनको नै एउटा गम्भीर समस्या हो । लेनिनले भने झैँ एउटा क्रान्तिकारीको सबैभन्दा मुख्य विशेषता निरन्तरता नै हो । त्यो कसीमा का. खगुलाल पुरै खरो उत्रनु भएको छ । कम्युनिस्ट पार्टीमा लागेदेखि अहिलेसम्मको उहाँको भूमिकाबाट त्यो कुरामा कुनै शङ्का रहन्न । त्यो उहाँले हामी सबैका अगाडि स्थापित गरेको आदर्श हो र प्रत्येक कम्युनिस्टले त्यो आदर्शबाट शिक्षा लिने र त्यसअनुसार आफूलाई ढाल्ने प्रयत्न गर्नु पर्दछ । त्यो प्रयत्नमा कोही कति सफल हुन्छ ? त्यो कुराले नै कोही कहाँसम्म सच्चा कम्युनिस्ट हो वा होइन ? त्यो कुरा प्रष्ट हुँदै जानेछ । तर, समस्या के छ भने त्यो परीक्षा सजिलो छैन । जीवनको अन्त्यमा नै त्यो कुरा प्रष्ट हुन्छ । शायद त्यसका लागि कुनै कम्युनिस्ट परीक्षाको लामो सिलसिलाबाट जानु पर्ने आवश्यकता हुन्छ ।

कुनै मानिस कुन उद्देश्य प्राप्त गर्नका लागि कम्युनिस्ट पार्टीमा सामेल हुन्छ । त्यो प्रारम्भिक निर्णयात्मक महत्वको प्रस्थानविन्दु हो । एउटा कम्युनिस्टले आफ्ना कुनै व्यक्तिगत स्वार्थ, महत्वाकाङ्क्षा वा स्वार्थ पुरा गर्नका लागि कम्युनिस्ट पार्टीमा सामेल हुन्छ भने त्यसको विन्दु नै गलत हुन्छ । कैयौँ व्यक्तिहरूले पार्टी क्रान्ति, शोषित वर्गका हित वा क्रान्तिकारी उद्देश्यलाई नै मुख्य लक्ष्य बनाएर कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन सक्दछन् । तर, कसैले यी दुवैमध्ये जुन प्रकारले कम्युनिस्ट पार्टीमा प्रवेश गरे पनि पार्टी जीवनको सिलसिलामा ती दुवै पक्ष एक–अर्कामा रूपान्तरित हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । व्यक्तिगत दृष्टिकोणका आधारमा पार्टीमा प्रवेश गरेका व्यक्ति सैद्धान्तिक अध्ययन वा सङ्घर्षको दौरानमा उनीहरूको रूपान्तरण हुँदै गएर उनीहरू सच्चा कम्युनिस्टका रूपमा पनि परिणत हुन सक्दछन् । अर्कातिर, सुरुमा पुरै नै क्रान्तिकारी उद्देश्य, त्याग, बलिदान वा समर्पणको भावना लिएर कम्युनिस्ट पार्टीमा सामेल भएका व्यक्ति पनिपछि गएर अवसरवादी वा गद्दार बन्न सक्दछन् । एकातिर, कुनै व्यक्तिको चिन्तन, दृष्टिकोण, सैद्धान्तीकरण वा अर्कातिर, प्रतिकूल परिस्थिति र बाह्य प्रभावका विरुद्ध सङ्घर्ष गर्न सक्ने क्षमताको स्तरले नै कोही व्यक्ति क्रमशः कति कम्युनिस्ट बन्दै जान्छ वा त्यसको पलायन हुँदै जान्छ ? त्यो कुराको फैसला हुन्छ ।

यससँग जोडिएको अर्को महत्वपूर्ण प्रश्न हो ः व्यक्तिगत लाभको प्रश्न । कम्युनिस्ट आन्दोलनको दौरानमा पैदा हुने प्रतिकूल परिस्थितिका कारणले कैयौँपल्ट व्यक्तिगत लाभ परित्याग गर्दै जानु पर्ने आवश्यकता हुन्छ भने कतिपय कम्युिनस्टले व्यक्तिगत लाभ पुरा गर्नका लागि पार्टी, क्रान्ति, सिद्धान्त वा क्रान्तिकारी उद्देश्यलाई परित्याग गर्ने वा सौदाबाजी गर्ने कार्यशैली अपनाउँदै जान्छन् । विश्वको र नेपालको पनि कम्युिनस्ट आन्दोलनलाई सुक्ष्म प्रकारले विश्लेषण गरेर हेर्‍यौँ भने त्यो प्रकारको क्रममा कैयौँ व्यत्तिरूको झन्‌पछि झन् सच्चा कम्युनिस्टका रूपमा विकास हुँदै जान्छ भने कैयौँले पलायनको बाटो समात्दै जान्छन् । त्यसरी हेर्दा का. खगुलाल गुरुङले आफ्ना कुनै व्यक्तिगत स्वार्थ वा लाभका लागि पलायन वा अवसरवादको बाटो समातेको देखिन्न । खास गरेर ती हजारौँ हजारौँ कम्युनिस्टका सन्दर्भमा, जसले आफ्ना व्यक्तिगत स्वार्थ वा लाभका लागि पलायन अवसरवाद वा गद्दारीको बाटो समाते, उनीहरूको तुलनामा का. खगुलाल गुरुङको स्थान कति उच्च छ ? बुझ्न गाह्रो पर्दैन ।

का. खगुलाल गुरुङ एउटा साधारण व्यक्ति हुनु हुन्छ, एउटा पिछडिएको गाउँमा, जङ्गलको छेउमा सामान्य प्रकारको जीवन बिताउने उपेक्षित व्यक्ति । आसपासका मानिसका लागि एउटा सामान्य व्यक्ति नै हुनु हुन्छ । जब हामीले माक्र्सवादी–लेनिनवादी दृष्टिकोणबाट उहाँको जीवनको मूल्याङ्कन गर्दछौँ, हामीले उहाँभित्र एउटा महान् व्यक्तित्व अन्तरनिहित भएको पाउँछौँ । यो सामान्य कुरा होइन । उहाँले यति लामो जीवन आफ्ना आदर्श र सिद्धान्तप्रति अविचलित भएर बिताउनु भयो । उहाँभित्रको असाधारण क्रान्तिकारी दृष्टिकोणका कारणले नै उहाँका लागि त्यो सम्भव भयो । त्यसप्रकारको दृष्टिकोण उहाँको व्यक्तित्वसँग अभिन्न रूपले जोडिएको छ । त्यसैले एउटा साधारण खगुलाल गुरुङलाई महान् क्रान्तिकारी खगुलाल गुरुङ बनाउँछ । यसको अर्को महत्वपूर्ण पक्ष यो हो कि जुन मार्गमा निरन्तर र अविचलित रूपले अगाडि बढ्नका लागि संसारका र नेपालका पनि धेरै ठुला ठुला कम्युनिस्ट नेता वा कार्यकर्ता असफल भए, त्यो मार्गमा उहाँ लगातार अगाडि बढिरहनु भयो र आज पनि आफ्ना ती सिद्धान्त र आस्थाप्रति उहाँ अडिग र दृढ हुनु हुन्छ ।

अन्तमा शताब्दी कम्युनिस्ट का. खगुलाल गुरुङलाई क्रान्तिकारी अभिनन्दन !

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!