“शक्ति राष्ट्रहरुको भिक्षाको आशा गर्दा के पाइने रहेछ भन्ने अस्ति भर्खर देखियो”

11 September, 2019 17:28 |राजनीति | comments | 5100 Views

    पूर्व प्रधानमन्त्री एवं संघीय समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको पूर्वाधार विकास र लगानीमा व्यापक भ्रम रहेको औंल्याउँदै अब पनि अरुले बनाइदिन्छ भनेर आशा गरेर बस्ने हो भने माथी उठ्न नसकिने बताउनुभएको छ । उहाँले हामी ठूला शक्तिहरुले आएर दया गरेर अलि ठूलो भिक्षा दिन्छन् भन्ने अपेक्षा गर्छौं तर, भिक्षा कति पाइने रहेछ अस्ति मात्रै देखियो, कति करोडको अस्पताल र कति थान पालहरु, यही हो हामीले पाउने भिक्षा, त्यसैले भिक्षाको मानसिकता त्याग्न सुझाउनुभएको छ ।

    adsads

    राजधानीमा बुधबारदेखि सुरु भएको तेस्रो पूर्वाधार सम्मेलनमा अतिथि वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले भन्नुभयो साथीहरु भ्रममा रहनुभएको छ । हिजो कम्युनिष्ट र गैरकम्युनिष्टहरुको शितयुद्धको कालखण्डमा नेपालको भूराजनीतिक महत्व थियो । त्यतिबेला नेपालमा सित्तैमा सडक बनाइदिने चलन थियो । भारत, चीन र रुसले सडकहरु बनाइदिएका थिए । त्यो त शितयुद्धको बेला आफ्नो सामरिक हित रक्षाको निम्ति उनीहरुले लगानी गरेका थिए । तर अब त्यो युग रहेन । अहिले कसैले पनि हामीलाई बनाइदिँदैन ।

    सम्बोधन गर्दै उहाँले भन्नुभयो- “हामीमा त हिजो शितयुद्धकै धङधङीले रेल आउँछ, बनाइदिनुहुन्छ भन्ने छ । आफैंले बनाउने क्षमता छैन । त्यतातिरको हिसाबकिताब गर्नु छैन । अनि आउँछ आउँछ भन्ने नारा मात्रै । छ महिनाभित्र आउँछ, टिकट काउन्टर नै खुलिसक्यो भनेर हामी भनिदिन्छौं । अनि, पानी जहाजको लागि पनि फलानु दिन टिकट काट्नुस् भनिदिन्छौं । यसमा म साथीहरुलाई दोष दिन्नँ । दृष्टिदोष कहाँनेर हो भने साथीहरुलाई हिजोकै शितयुद्धको धङधङी छ ।”

    अब प्रश्न आउँछ, रकम कहाँबाट आउँछ त ? एडिबीका मित्रहरु यहाँ हुनुहुन्छ, विश्वबैंक लगायत थुप्रै संस्थाहरु छन्, राम्रैसँग उहाँहरुले लगानी गर्न सक्नुहुन्छ । उहाँहरुले पनि त्यत्तिकै दयामाया गर्ने होइन, ऋण दिनुहुन्छ । सफ्ट लोन वा जे नाम दिनुहोस्, सस्तो ब्याजमा ऋण पाइन्छ । पूर्वाधार हामीले यसरी नै बनाउने हो । त्यसपछि मात्र निजी क्षेत्रको पालो आउँछ । यसमा कुनै द्विविधा नरहोस् ।

    यहाँ हामी पूर्वाधार पहिले कि लगानी पहिले भन्ने कुरामा अल्झिएका छौं । अथवा निजी लगानी र अन्तर्राष्ट्रिय लगानी अर्थात् एफडिआई पहिले भन्ने चक्करमा हामी फसिरहेका छौं । यो सन्दर्भ सापेक्ष हुन्छ । अहिले विश्व चौथो औद्योगिक क्रान्तिमा पुगेको मानिन्छ । तर, नेपालमा अहिलेसम्म पहिलो औद्योगिक क्रान्ति पनि भएको छैन । हाम्रो अर्थतन्त्रको आधार अहिले पनि निर्वाहमुखी कृषिमा आश्रित छ । दुईतिहाई जनसंख्या त्यसमा आश्रित छन् । २८ प्रतिशत कुल ग्राहस्थ उत्पादनमा अहिले पनि कृषि क्षेत्रले योगदान गर्छ ।

    प्रारम्भिक पूर्वाधारको पनि पहिलो पूर्वाधार भनेको सडक हो । यसको अवस्था पनि राम्रो छैन । जब अर्थतन्त्रको बजारीकरण नै भएको छैन भने हाम्रो पहिलो हाम्रो आवश्यकता भनेको हिमाली क्षेत्रमा रहेको भारत र चीनको बीचमा एउटा भर्‍याङजस्तरी ठडिएर बसेको ७० मिटरदेखि ८,८४८ मिटरसम्म अग्लाई भएको जुन नेपालको भूभाग छ, ती ठाउँमा बजारको बिस्तार गर्ने हो भने पहिलो प्राथमिकता भनेको सडक नै हो । यसलाई कम आँक्ने गल्ती हामीले गर्नुहुँदैन ।

    अहिले हामी संघीयतामा गएका छौं । ७५३ वटा हाम्रा स्थानीय सरकारहरु छन् । यी सबै सरकार हुन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहितका अंगहरु हुन् तिनीहरु । त्यसैले तिनका केन्द्रहरु सबैभन्दा पहिले बाह्रौ महिना चल्ने सडकले जोडौं । र, पूर्व र पश्चिम जोड्ने सडक, तराईबीचबाट जाने हुलाकी मार्ग र पहाडको बीचबाट जाने मध्यपहाडी लोकमार्गसहितका यी दुई मार्गहरु र नेपालमा ऐतिहासिकरुपमा बनेको कोशी, गण्डकी र कर्णालीका जलाधारमा नेपालको भूबनोट भएको हुन् । यी तीनवटा क्षेत्रमा कोशी करिडोर, गण्डकी करिडोर र कर्णाली करिडोरबाट भारत र चीन जोड्ने सडक । कम्तिमा यति पहिले बनाऊँ ।

    हाम्रो राजधानी रहेको काठमाडौं उपत्यकामा अत्यधिक जनसंख्या केन्द्रित हुँदै गएको छ । काठमाडौंले अब धेरै धान्न सम्भव छैन । राजधानीमा भइरहेको जनसंख्या, आर्थिक गतिविधि र सबै विकासको अत्यधिक केन्द्रीकरणलाई विकेन्द्रीकरण गर्नैपर्छ । यसको लागि काठमाडौं र तराई मधेसलाई छिटोभन्दा छिटो जोड्नुको विकल्प छैन । यति कामलाई हामीले पहिलो प्राथमिकता दिनैपर्छ । त्यो भनेको सडकमा नै हामीले जोड दिने हो । बजार नै नबनेको बेलामा निजी क्षेत्रले सडकमा लगानी गर्ला कि नलर्गा ? गर्दैन । गर्न पनि हुँदैन । किनकी लगानीकर्ताको धर्म भनेको त मुनाफा कमाउने हो । वस्तु र सेवा उत्पादन गर्ने हो । रोजगारी सिर्जना गर्ने हो र राजस्व संकलनको आधार तयार बनाउने हो । यसको लागि चाहिने भौतिक, सामाजिक र वित्तीय पूर्वाधारहरु निजी क्षेत्रसहित सामूहिकरुपमा बनाउने हो । यही कामको लागि हामीले राज्यको परिकल्पना गरेका हौं ।

    त्यसैले राज्यले नै प्रारम्भिक चरणमा यो क्षेत्रमा भूमिका निर्वाह गर्नुपर्छ । यसमा कुनै द्विविधा रहनुभएन । तपाईं हामी कुरा चपाईरहेका छौं । सडकमा मैले देखेको सम्भावना काठमाडौं जोड्ने फास्ट ट्र्याक निर्माणमा निजी क्षेत्रको सम्भावना थियो । पब्लिक–प्राइभेट पार्टनरसीप भने पनि निजी क्षेत्र (आन्तरिक निजी क्षेत्र, ज्वाइन्ट भेन्चर अथवा विदेशी लगानीकर्ता)लाई दिए पनि सम्भावना थियो तर, हाम्रो रणनीतिक कारण र नेतृत्वमा भिजनको अस्पष्टताले गर्दा त्यसलाई हामीले वर्षौंसम्म अल्झाइराखेका छौं । हाम्रो नेपाली सेनाले त ट्र्याक मात्रै खोलिदिने हो । सेनाको सीप र क्षमता त्यतिसम्म मात्रै हो । राम्रो पनि गरेको छ । विभिन्न जिल्लाका सदरमुकामहरु डोल्पा, हुम्लातिर बाटो लिएर जाने, गोर्खाको लार्पाकसम्म बाटो पुर्‍याउने, पहरा फोर्ने काम सेनाले गर्न सक्छ । तर, फास्ट ट्र्याक बनाउने सेनाको दक्षता, क्षमता र काम होइन । अब हामी अल्झिएर सेनालाई दिइरहेका छौं । यो त निजी क्षेत्रले गर्न सक्थ्यो । म त्यता धेरै जान चाहन्नँ । हाम्रो जुन जटिल भूराजनीति छ, त्यसलाई व्यवस्थापन गर्न नसक्दा निजी क्षेत्रले भूमिका निर्वाह गर्न सक्ने महत्वपूर्ण लगानीको क्षेत्र थियो, त्यो हुन सकेन ।

    संसारका विकसित राष्ट्रहरु अमेरिकादेखि रुससम्मको उदाहरण केलाएर हेर्नुहोस् तपाईंहरुले, सुरुको चरणमा सडक र यातायात पूर्वाधार, सञ्चार पूर्वाधार राज्य क्षेत्रले नै गर्छ । त्यसको जगमा मात्र उद्योग धन्दाको विकास हुन सक्छ । निजी क्षेत्रले लगानी गरेर वस्तु र उत्पादन र रोजगारीको सिर्जना गर्न सक्छ । पछि मध्य आय र उच्च आयको चरणमा पुगिसकेपछि अल्ट्रा मोडर्न तरिकाका पूर्वाधार निर्माण गर्ने बेला आउँछ, त्यतिबेला निजी क्षेत्रले यातायात पूर्वाधार क्षेत्रमा त्यतिबेला लगानी गर्न सक्छ ।

    नेपालमा अर्को सम्भावना भएको क्षेत्र भनेको विमानस्थल हो । क्षेत्रीय र आन्तरिक होइन, अन्तर्राष्ट्रिय विमानस्थलमा । निजगढमा हामीले जुन विमानस्थल बनाउँदै छौं, त्यसलाई र फास्ट ट्र्याकलाई जोडेर लैजानसक्दा राम्रो हुन्छ । यसमा निजी क्षेत्रको पनि लगानीको सम्भावना छ । यसमा जोड गर्नुहोस् । मेरो तर्फबाट यहाँहरुलाई पूरै साथ सहयोग रहन्छ ।

    हामीले नेपालमा पूर्वाधार र समग्र विकासका कुरा गर्दा हाम्रो विशिष्ट भूराजनीतिलाई बिर्सन हुँदैन र सकिँदैन पनि । भारत र चीनको बीचमा हामी छौं, अहिले विश्व जुन ढंगले परिवर्तित हुँदैछ । चीन एउटा ठूलो महाशक्तिको रुपमा विकास हुँदैछ । भारत पनि क्रमशः पछिपछि लाग्दैछ । पश्चिमी शक्ति खासगरी अमेरिकाको पनि चासो बढिरहेको छ । यो हाम्रो निम्ति चुनौती र अवसर दुवै हो । हामीले ठिक ढंगले तरिका मिलाउन सक्यौं भने यो अवसर बन्न सक्छ । हामीले भारत र चीनको बजारसँग जोडेर हाम्रो अर्थतन्त्रको विकास गर्न, यी दुवैको मूल्य श्रृंखलासँग जोडेर हाम्रो अर्थतन्त्रको विकास गर्नको निम्ति रिजनल कनेक्टिभिटीलाई हामीले ध्यान दिनैपर्छ ।

    यसको निम्ति दुवै छिमेकीलाई झस्काएर होइन, दुवै छिमेकीलाई विश्वासमा लिएर भारत र चीन जोड्ने गतिशील पुलको रुपमा नेपालले भूमिका खेल्न सक्नुपर्छ । यो कुरा अझै स्थापित हुन सकेको छैन । साथीहरु सशंकित हुनुहुन्छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पोस्ट मनसुन

    फेसबुक

    पोस्ट मनसुन

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!