शहरी क्षेत्रमा फस्टाउँदो कौसी खेती– देखासिकी कि बाध्यता ?

11 September, 2019 20:36 |अर्थ | comments | 3150 Views

    आजभोलि फेसबुकमा कौसीमा तरकारी उमारेर ठूलो पुरुषार्थ गरेको देखाउँदै फोटो हाल्ने गरिन्छ । हुन पनि शहरी क्षेत्रमा खेतीपाती गर्ने खेतबारीमा घरैघर बनेपछि कौसीखेतीलाई प्रबद्र्धन गर्ने नीति नै बनेको छ ।

    adsads

    अहिले मुलुकका प्रत्येकजसो जिल्लाका शहरी क्षेत्रमा कौसीखेती चम्केको छ । यस्तैमा पर्दछ म्याग्दीको सदरमुकाम बेनी बजारको इन्द्रणी टोल । सो टोलका प्रत्येक घरका छतमा घिरौला, टमाटर, साग, धनियाँ, लौका र खुर्सानी लटरम्मै फलेका छन् । बढ्दो घर निर्माणसँगै बेनी बजारमा करेसाबारीका लागि समेत जमीन नभएपछि स्थानीयवासीले घरको छतमा तरकारी खेती गर्न थालेका हुन् । बेनी नगरपालिका–७ इन्द्रेणी टोलकी पूर्ण राम्जालीलले पाँचतला माथि डल्ले खुर्सानी फलाउनुभएको छ ।

    बजारमा डल्ले खुर्सानीको मूल्य आकासिएको अवस्थामा घरमा आउने आफन्त र छिमेकीलाई उहाँले डल्ले खुर्सानी कोशेली दिएर पठाउनुहुन्छ । छतमा करीब ४१ वटा बोटबाट खुर्सानी टिपेकी राम्जालीले हङकङ र यूकेमा रहेका परिवारका सदस्यलाई पठाउन बट्टामा समेत प्याक गर्नुभएको छ । विगत डेढदशक नियमित कौसीखेती गर्दै आएकी उहाँलाई श्रीमान्ले समेत नियमित सघाउनु हुन्छ ।

    करीब नौ फिटको छतमा फूलसँगै हावापानीका अनुसार उत्पादन हुने फर्सी, लौका, लसुन, धनियाँ, भिन्डी, बोडी, गोलभेँडालगायत विभिन्न थरीका तरकारी अटाएका छन् । खुर्सानीसँगै विभिन्न प्रजातिका तरकारी खेतीको लहराले घर नै आर्कषक देखिएको छ ।

    “कौसीखेतीले व्यस्त बनाएको छ, घरमा आवश्यक तरकारी किन्न वाहिर जानुपर्दैन”, राम्जालीले भन्नुभयो । उहाँले सिजन अनुसारका तरकारी खेती गरेर बढी भएको तरकारी बजारमा बेच्नेसमेत गरेको बताउनुभयो । गमला तथा थौलोमा माटो र मल तथा नियमित पानीको प्रयोगले खेतबारीमा जस्तै राम्रो फल दिने उहाँको भनाइ छ ।

    पछिल्लो समय बजारमा डल्ले खुर्सानी प्रति केजी रु ४०० सम्ममा बिक्री हुन थालेपछि पहिलोपटक कोशेली घरमा समेत बिक्री गरेको राजु राम्जालीले बताउनुभयो । उहाँका अनुसार ज्यानमारा, रागे र अकबरे खुर्सानीमध्ये डल्लेको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सरजस्ता रोगको औषधिसमेत हुने भएकाले खेती गरेको बताउनुभयो । “कौसीखेती अर्गानिक पनि हो, आफ्नै घरमा फलेको तरकारी स्वादिलो पनि हुन्छ”, उहाँले भन्नुभयो ।

    श्रीमतीसँग दैनिक नियमित तरकारीको रेखदेख, पाउनलाई कोशेलीको रूपमा उपहारसहित होटलमा माग हुने कोरियनलगायत विभिन्न तरकारी घरबाटै बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । अगामी वर्षदेखि होटलमा विक्री गर्ने उहाँको योजना रहेको छ ।

    जिल्लाको मङ्गला गाउँपालिका–१ कुहुँ घर भएका राम्जाली दम्पतीले गाउँबाट कम्पोष्ट मल ल्याएर प्रयोग गर्ने गरेका छन् । राम्जालीको सिको गर्दै इन्द्रेणी टोलका अधिकांश घरमा कौसी बगैँचा छन् । कौसी बगैँचालाई बेनी नगरपालिका–७ ले समेत अनुदान दिने गरेको छ । व्यक्तिगतरुपमै सामान्य लगानीमा सानो–ठूलो परिवारलाई पुग्ने तरकारी फलाउन सकिने भएकाले पनि कौसी खेतीलाई प्रोत्साहन गरिएको वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

    “कौसीखेतीले विषादीयुक्त तरकारीलाई निरुत्साहित गर्छ, कौसीखेतीबाटै तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ”, उहाँले भन्नुभयो । “कौसीखेतीका लागि चालू आर्थिक वर्षमा रु डेढ लाख बजेट विनियोजन भएको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “त्यो बजेटमा गमला वितरण, निःशुल्क तालीम र प्राविधिक सहयोग दिने योजना रहेको छ ।” कौसीखेतीमार्फत घरको फोहर घरमै व्यवस्थापन गर्न सकिने र तराईबाट आउने विषादीयुक्त तरकारी प्रयोग गर्न नपर्ने भएकाले पनि सम्भव भएसम्म घरको छत, कौसी र बरण्डालाई करेसाबारीको रूपमा उपयोग गर्न सकिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

    बेनीमा कौसी खेती गरिए पनि प्रविधिको ज्ञान नहुँदा समस्या भइरहेको बजारवासीको भनाइ छ । बेनीमा वर्षेनी कराडौँको तरकारी आयात हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार प्लाष्टिकको गमलामा समेत खेती गर्न सकिन्छ । करीब रु पाँच हजारको लगानीले पाँच वर्षसम्म नियमित तरकारी खेती गर्न सकिन्छ । गमलासहित केही आवश्यक सामानको खरीद गरी घरमै नर्सरीको स्थापना गरेमा लामो समयसम्म प्रयोग गर्न सकिने कृषिका जानकार बताउँछन् ।

    हरेक किसिमका तरकारीको पसलै पिच्छे फरक–फरक मूल्यले हैरान बजारवासीको कौसीखेतीमा आर्कषण बढेको छ । अहिले बेनी बजारका अधिकांश घरको छतमा गरिएको तरकारी खेतीले बजारमा आयातित तरकारीको माग समेत कम भएको स्थानीय तरकारी व्यवसायीले बताएका छन् ।

    माटो बिना नै काँक्रा उत्पादन

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!