शिक्षामा लैंगिक विभेद- छोरालाई बोर्डिङ र छोरी सरकारीमा ?

27 March, 2019 17:38 |बिचार | comments | 78150 Views

    – गीता श्रेष्ठ –

    शिक्षामा हरेक नागरिकलाई समान अवसर र पहुँच दिन सकियो भने त्यो समाज छिट्टै उन्नत बन्दछ र यसबाटै देशले विकासको गति पक्डिन्छ । तर नेपालमा शिक्षामा समान पहुँच र अवसरको साटो विभेद कायम छ ।

    adsads

    मुलुकको शिक्षामा वर्गीय र लैंगिक विभेदले जरा गाडेको छ अनि यसमा लैंगिक असमानता पनि प्रचूर छ । हुन त नेपालको संविधानले नै शिक्षा प्रत्येक नागरिकको मौलिक अधिकार हो भनेको छ र सोही अनुसारको कानुन पनि बनेको छ तर संवैधानिक व्यवस्थाको पालना हुन सकेको छैन । राज्यदेखि घरसम्म शिक्षामा विभेद छ ।

    शिक्षामा छोरा र छोरीबीच चरम विभेद छ र त्यस्तो विभेद पढेलेखेका, केही जान्ने–सुन्ने अनि शहरी सभ्यतामा रम्नेहरुबाटै बढी भएको पाइन्छ । यसको उदाहरणका रुपमा २०७५ को एसइईमा सामेल विद्यार्थीको संख्याका आधार मान्दा छोरा र छोरीमा कति विभेद छ भन्ने स्पष्ट देखिन्छ ।

    एसइईमा सामुदायिक विद्यालयमा छात्रा र निजी (संस्थागत) विद्यालयमा छात्रको संख्या बढी छ । यो संख्या गाउँदेखि शहरसम्मै उस्तै छ । सामुदायिक विद्यालयमा छात्रा र निजी विद्यालयमा छात्रको सख्या बढी देखिनुले शिक्षामा छोरा र छोरीको विभेद कायमै रहेको स्पष्ट देखाउँछ । परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका गरी कूल चार लाख ७५ हजार तीन परीक्षार्थीले आवेदन दिएकामा दुई लाख ३६ हजार ४ सय ४५ छात्र र दुई लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । यसमा सामुदायिक विद्यालयका तीन लाख चार हजार १ सय ९६ विद्यार्थीमध्ये एक लाख ५८ हजार ३ सय ८९ छात्रा र एक लाख ४५ हजार ८ सय ७ छात्र छन् ।

    निजी विद्यालयतर्फ कूल एक लाख ३४ हजार ८०७ मध्ये ७८ हजार ५६ छात्र र ५६ हजार ७ सय ५१ छात्रा छन् । गत वर्ष पनि निजी विद्यालयतर्फ छात्र बढी थिए । सो वर्ष सामुदायिक विद्यालयमा कूल तीन लाख ५९ हजार ९ सय १२ र निजी विद्यालयमा एक लाख २५ हजार ६ सय ७४ गरी चार लाख ८५ हजार ५८६ परीक्षार्थी थिए ।

    यो तथ्यांकले के स्पष्ट गर्दछ भने शिक्षामा वर्गीय मात्र हैन लैंगिक हिसावबाट पनि विभेद कायम छ । यो विभेद घरबाटै भएको छ । निजीमा होस् वा सामुदायिक जनसंख्याको अनुपातमा समान उपस्थिति हुनुपर्नेमा गाउँदेखि शहरसम्मै छोरालाई बोर्डिङ र छोरीलाई सामुदायिक विद्यालय पठाउने प्रचलन कायमै छ । अपवादका रुपमा राजधानी जस्ता ठूला शहरमा भने यो प्रथा कम छ ।

    अब प्रश्न के उठ्छ भने नारी शिक्षालाई घरबाटै महत्वहीन ठानेर उसलाई झाराटार्ने शैलीमा सरकारी विद्यालय जहाँ अधिकांश कुरा निःशुल्क हुन्छ त्यहाँ पठाउने र छोरालाई टाइ–सुट लगाउने विद्यालय पठाउने प्रवृत्ति निकै घातक हो र यसले सामाजिक विभेद र असमानतालाई मात्र बढावा दिइरहन्छ ।

    हामीमा अझै पनि ठूलो भ्रम के छ भने बोर्डिङ पढेको छोराले भविष्यमा आफूहरुलाई हेर्छ । बोर्डिङ पढे पनि छोरीले त अर्काको घर स्याहार्ने हो । त्यसैले उसले अक्षर मात्र चिने पुग्छ ? यही मान्यताको शिकार नेपाली समाज भैरहेको छ । समानताका नारा घन्काएर असमान व्यवहार प्रदर्शन भैरहेको छ ।

    यस्तो व्यवहार दूरदराजदेखि आधुनिकताले भरिपूर्ण भनिएका शहरहरुमा समेत कायम रहेको देखिनु नेपालको सामाजिक वनावट कसरी भास्सिदै गएको छ भन्ने दृष्टान्त प्रस्तुत गरेको छ ।

    नारीलाई शिक्षा– ज्ञान, धन र शक्तिको स्रोत

    नेपालको समग्र विकासमा यो एउटा ठूलो अबरोध हो । खासमा छोरीलाई दिएको शिक्षाले सिंगो घर परिवार शिक्षित हुन्छ, संस्कारी हुन्छ । एउटा शिक्षित आमा भएको घर र अशिक्षित आमा भएको घरका छोराछोरीका आनीबानीले पनि यो कुरा देखाउँछ । तर, अझै पनि छोराप्रतिको अन्धमोहबाट समाज मुक्त हुन सकेको छैन ।

    समाजले एउटी छोरीलाई शिक्षित बनाउनु र छोरालाई शिक्षित बनाउनुको अन्तर समाजले केलाउनै सकेको छैन । यो ठूलो समस्या हो । अहिले पनि गाउँघरदेखि शहरसम्मै छोरीलाई पढाईसंगै घरका सारा काम गर्नुपर्ने बाध्यता छ । उनीहरुको एउटै मान्यता छ “छोरी अर्काको घर खाने जात हो, पढाई भन्दा घरधन्दामा बढी दक्ष हुनुपर्छ” । हो घरधन्दा पनि गर्नुपर्छ र पढाई पनि गर्नुपर्छ तर यो काम छोरीले मात्र हैन कि छोराले पनि गर्नुपर्छ भन्ने हेक्का वा चेतना बाबुआमामा पटक्कै छैन । “छोरो त यत्रो सम्पत्तिको मालिक हो, किन दुःख गर्नुपर्यो” र भन्ने मानसिकताले नराम्रोसंग जरा गाढेको छ ।

    नेपालका शिक्षामा लैंगिक विभेद चरम छ । एसइईमा सामेल छात्र र छात्राको संख्या र उनीहरुको विद्यालयगत सहभागिताले पनि यो देखाउँछ । हुन त जनसंख्याको अनुपातमा छात्राको सहभागिता बढी हुनु स्वाभाविक मानिएला तर त्यो संख्या सामुदायिक विद्यालयमा मात्रै किन ? निजीमा किन छात्रा बढी भएनन् ? गम्भीर प्रश्न यही हो ।

    (लेखक श्रेष्ठ उर्सा मेजर चिल्ड्रेन्स एकेडेमीका संचालक सदस्य हुन्)

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!