श्रीकृष्णले गोवद्र्धन पर्वत उठाउनु र कालीय दमनको कारण !

23 August, 2019 11:21 |जल/वातावरण/स्वास्थ्य | comments | 11400 Views

    आज श्रीकृष्ण जन्माष्टमी भगवान श्रीकृष्णका पूजा आराधना गरी विश्वभरका हिन्दुहरुले धुमधामसंग मनाउँछन्- श्रीकृष्णको मूर्तिको पूजा गरेर आफूलाई हिन्दु मान्नेहरुले श्रीकृष्णको उपदेश र उनले बसाएको थितिको भने पटक्कै पालना गरेका छैनन् ।

    पाँच हजार वर्षअगाडि जन्मिएको भनिएका श्रीकृष्ण पूर्णावतार थिए, आफैं शक्तिशाली भएर पनि श्रीकृष्णले कहिल्यै अहंकार गरेनन् र अहंकारी तथा अधर्मको बिरुद्धमा लडिरहे, समाजमा समानता र सुशासनको वकालत गरिरहे ।

    adsads

    उनले कुरुक्षेत्रमा अर्जुनलाई दिएको दिव्य ज्ञान (गीता) अहिले संसारमा सबभन्दा बढी पढिने, सबभन्दा बढी भाषामा मुद्रित भएको पाठ्य सामग्री हो । पश्चिमा जगत यही गीता पढेर अल्लादित भैरहेको छ भने हामी भने पश्चिमा धर्म र संस्कृति आयात गर्न अग्रसर छौं ।

    श्रीकृष्णले शक्तिको हैन शान्तिको अनि अहंकारको हैन सालिनताको पूजा गर्न सिकाए । आफ्नो शक्तिले उन्मत्त देवराज इन्द्रलाई तह लगाउन बालककालमै श्रीकृष्णले कान्छी औंलाले गोवद्र्धन पर्वत उचालेर गोकुल र गोकुलबासी बचाएको सन्दर्भ छ । इन्द्रको अहंकार ध्वस्त गर्न श्रीकृष्णले उनको साटो गोवद्र्धन पर्वतको पूजा गर्ने पद्धति विकास गरेर गोकुललाई बचाएको विवरण श्रीमद्भागवतमा पाइन्छ । गोवद्र्धन पूजा गर्ने यो प्रचलन ल्याउनुका पछाडि कुपित भएका इन्द्रको वर्षा बाढीबाट पर्वत श्रृङ्खला अर्थात् पहाड बचाउने उद्देश्य मात्र सीमित छैन । पर्वतीय संस्कृतिको विकासको सुदृढ सम्भावनाका लागि पनि जग हाल्ने सोचाइ पाइन्छ ।

    यस्तै प्रदूषित भएको यमुनाको पानी शुद्धिकरण गरेर पिउनलायक बनाउन कालीय दमनको घटनालाई उस्तै रोचक ढंगले प्रस्तुत गरिएको छ । यो सबै पृष्टभूमि केलाउँदा जलप्रदूषण गरेर जलजन्य प्रकोप पैदा गर्ने विषाक्तकारक जीवाणु र अतिवृष्टिका कारण र कारकतत्वबारे ज्ञान दिन र बाढी, पैरो र डुबान समस्या समाधानबारे थोरबहुत संकेत भागवतका यस्ता मिथकीय आख्यान–उपाख्यानमा पाइन्छन् । नीति भनेको यस्तै हुनुपर्छ । यो सन्देश पनि यस्ता प्रकरणमा भेटिन्छन् । अर्थात् प्रदूषित जललाई स्वच्छ पार्न जलप्रदूषण गर्ने जीवाणुको पहिचान र बाढी, पहिरो र डुबानबाट बच्ने तरिकाको नै वर्णन श्रीमदभागवतमा भएको मानिन्छ ।

    पूर्वीय सभ्यताका यस्ता विविध पक्षको संस्कृति लोप गरेर उपभोक्तावादले प्रकृति नै कुपित हुने गरी प्राकृतिक संशाधनको क्रुरतम् शोषण वा दोहन गरेको हुनाले वातावरण विग्रेको छ । कुनै पनि नदीनाला, खोलाखाल्सीको दायाबायाँको निश्चित भूमिमा अतिक्रमण गर्नु पनि प्रकृति कुपित हुने कार्य हो भन्ने पूर्वीय मान्यता छ ।

    हिमाली क्षेत्र होस् वा पर्वतीय क्षेत्र, जथाभावी अतिक्रमण गर्ने मानिसको स्वार्थी प्रवृत्तिले पनि यो क्षेत्र प्रदूषित हुँदै गएको छ । प्राकृतिक वनजंगलको विनास र झाडी, बुट्यान र पृथ्वीको हरितपट्टि नै समाप्त पारेर भए गरेका अतिक्रमणले पनि वातावरणीय सन्तुलन खुस्केको छ ।

    यस्ता अनेकौं प्रसङ्ग छन् । यो सबै संरचना जोगाउने गुरुकुलीय र पीढी शिक्षा, परम्परा र संस्कृतिलाई विस्मृतिको गर्तमा पुरेर आधुनिक बन्ने रहरमा उपभोक्तावादी बनेर प्रकृतिको क्रुरतम् दोहन गर्ने विकास भित्रिएको कारण हिउँदमा डढेलो र वर्षातमा भल, बाढी र पहिरोद्वारा पीडित हुनुपर्ने तथा विकल्परहित खानेपानीको अभावमा काकाकुल हुनुपर्ने र स्वच्छ प्राणवायुको अभावमा प्रदूषित वायु सेवन गरेर रोगी हुनुपर्ने अवस्थामा जीवनशैली पुगेको छ ।

    आज मानिसको जीवन सरल छैन, बाँच्नका लागि चाहिने भौतिक पदार्थको पर्याप्तता त भयो तर यसले जीवन झन जटिल बनाइदियो यसको दोष यो कालखण्डका कर्ताधर्तामै थेग्रिन्छ । निःशुल्क पाइने हावा र पानी समेत शुद्ध नपाइने स्थिति आयो । पूर्वले जल नै जीवन हो भन्ने मान्यता स्थापित गरेको छ । ‘पयः कीलालममृतं जीवनम् भुवनम् वनम्’ यस्ता २७ नाम जलका छन् । पानीलाई मेघपुष्पको संज्ञा दिइएको छ । यसैलाई घनसर पनि भनिन्छ । अर्थात् जल नै नीर क्षीर दुबै हो । यसैले सृष्टिको सबै जीवन्त तत्वमा जलको भूमिका छ । जलमै जीवन उत्पत्ति भएको वर्णन छ । जल नै जीवन हो, यसैले जलमण्डलको स्वच्छताबारे ऋषिमुनि र चिन्तकहरूले विशद् वर्णन मात्र नगरी जलतत्वको अन्तरनिहीत गुढ रहस्यसंग नै साक्षात्कार गरेर जललाई जीवन मानेका छन् । जलमै जीवको उत्पत्ति र जलमै प्रलय हुने शास्त्रीय वर्णन छ ।

    यस्तै वायुमण्डलको विशेषताको वर्णन मात्र पूर्वले गर्दैन । प्राणवायुका बारेमा जलतत्वकै सदृश्य वायुतत्वको पनि अन्तरनिहीत गुणतम् रहस्यसंग पूर्वीय जीवनले साक्षात्कार गरेको छ । प्राणवायु लगायतका ४९ वायुहरूको शुद्धता र वायु प्रदूषणका कारकतत्व र कारणबारे पूर्वीय जीवनशैलीमा अभ्यस्त पुर्खाहरूले प्रामाणिक अभिलेख नै उत्तराधिकारमा आफ्ना सन्ततिलाई दिएर गएका अनेक सूत्रवद्ध ज्ञान यत्रतत्र पाइन्छन् ।

    वैदिककालीन मन्त्रद्रष्टाहरूले ‘स्वस्ति प्रार्थना गर्दा ॐ पयः पृथिव्यां पयऽऔषधिषुपयो दिव्यन्तरीक्षेपयोधा पयस्वती प्रदिश– सन्तु मह्यम’ भनेर प्रार्थना गरेका मन्त्र अहिले उच्चारण गर्नसक्ने जिभ्रोसम्म उनैका सन्ततिको फट्कारिन सक्दैन । तर पनि प्रतिवर्ष आकर्षक नारासहित शान्ति कामना गरेर पर्यावरण दिवस मनाउने औपचारिकता पूरा गरिन्छ । सभ्यताको जननी मानिएका नदी अहिले मृत्योन्मुख छन् । बाग्मती सभ्यता कालकवलित भैसकेको छ । बाग्मती, विष्णुमती लगायतका नदीहरू सजीव नदी हुन् । यहाँ विचरण गर्ने जलचरको यसबीचमा ठूलो वंशविनास भएको छ । ढलमती बनेका नदीनाला र मरुभूमिकरण हुँदै गएको धर्ती तथा प्रदूषित भएर गएको वायुमण्डल र तनावग्रस्त भएर असन्तुलित हुँदैगएको मानवीय जीवनशैलीको विश्रृङ्खल जीवनचर्या श्रीकृष्णको उपदेशको अनुसरणबाटै रुपान्तरित हुनेछ ।

    भरिन्छ जतिले पेट त्यतिमा हो उसको हक धेरै ओहट्ने चोर हो सजायँ गर्नुपर्दछ भन्ने सन्दर्भमा महाभारतमा छ । यो समतामूलक समावेशी, समानुपातिक समाजको परिकल्पना हो । आजभोलि संविधानमा समावेशी, समानुपातिक र समाजवादी जे भनिए पनि हजारौं वर्षअघि नै पूर्वीय समाज समाजवादी थियो । भ्रष्टाचार दण्डनीय थियो, प्राकृतिक स्रोतको दोहन अपराध मानिन्थ्यो । नदी, पर्वतको संरक्षण प्रमुख दायित्व थियो । तर आजभोलि सबैको आँखा नदी र जंगलमा परेको छ पैसा कमाउन ।

    जसले गर्दा प्रकृति कुपित भएको छ । विनाशका मात्रा र यात्रा बढ्दो छ । यी सबै हुनाका कारण मानिसका आफ्नै क्रियाकलाप हुन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    गौतम बुद्ध विमानस्थल

    फेसबुक

    गौतम बुद्ध विमानस्थल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!