सन्दर्भ सरस्वती पूजा : आवश्यक छ सदाचारी-सुसंस्कारी बनाउने शिक्षा

10 February, 2019 14:43 | बिचार | comments | 71850 Views

गीता श्रेष्ठ

मानिसको जीवनमा सबभन्दा बढी प्रभाव पार्ने शिक्षाले हो र यही शिक्षाकी देवी सरस्वतीको दिन अर्थात् श्रीपञ्चमीबाट बालबालिकालाई अक्षरारम्भ गराइन्छ, विद्यालय भर्ना गरिन्छ । किनभने नेपाली समाज मानिसको जीवनचर्यासंग सम्बन्धित हरेक पक्षलाई ईश्वरीय आशीर्वादका रुपमा लिइन्छ ।

adsads

यसमा सबैभन्दा बढी महत्व शिक्षाको छ र हरेक वर्ष पर्ने श्रीपञ्चमी (सरस्वती पूजा)का दिनबाट बालबालिकालाई शिक्षारम्भ गराइन्छ । किन भने व्यवहारिक रुपमा मानिसलाई नैतिकवाद, चरित्रवान, असल गुणले युक्त बनाउने शिक्षा देवी सरस्वतीको आशीर्वादका रुपमा ग्रहण गर्ने गर्नुपर्छ । यसले मानिसलाई अनुशासित र संस्कारी बनाउँछ ।

मानिस जन्मले नै सदाचारी र सुसंस्कारी हुन्छ, तर समय क्रममा समाज र वातावरणले उसलाई दुराचारी र कुसंस्कारी पनि बनाउँछ । यसको कारण असल शिक्षाको अभाव हो । बालबालिकालाई विद्यालय भर्ना गर्दा त्यहाँको भौतिक सुविधा मात्र हैन कि संस्कार पनि हेर्नुपर्ने महत्वपूर्ण पाटोतिर आम अभिभावकहरुको धेरै ध्यान गएको पाइँदैन ।

संस्कारबिनाको शिक्षाकै कारण आजभोलि अपराध गर्ने पढेलेखेकैहरु भेटिन्छन् भने उसले कस्तो शिक्षा पायो भन्ने प्रश्न त्यसैले उठेको हो । हामीले ग्रहण गर्ने शिक्षाले संस्कारी बन्न सिकाउनुपर्छ र यस्तो शिक्षा घरबाट सुरु भएर विश्वविद्यालयमा पुगेर दिक्षान्त हुन्छ । शिक्षा भनेको किताब खरर्र पढुनसक्नु वा जागीर खाने प्रमाणपत्र पाउनु मात्रै हैन ।

आज विश्वमा साक्षरता र उच्चशिक्षा प्राप्त गर्नेहरुको संख्या लगातार बढेको छ । तर मानिसमा संस्कार हराउँदै गएको छ । मानवता विलिन हुँदैगएको । मानिसले धेरै कुरा जानेर पनि अपनत्व अर्थात् मानव हुनुको गुण गुमाउँदा घरघरमा तनाव र मानसिक असन्तुलन बढ्दो छ र यसले जीवनमा कम्पन ल्याइरहेको छ । अत्याधुनिक शिक्षाका लागि विश्वविख्यात देशहरु मानव र प्रकृति नै विनाश गर्ने हतियार उत्पादनमा होडबाजी गरिरहेका छन् ।

कम्तिमा बालबालिकालाई किताबीसंगै व्यवहारिक शिक्षा अनि नैतिक, सामाजिक र इतिहास तथा पौराणिककालका सन्दर्भहरु जोडेर मानवीय सम्वेदनशील भावनाको विकास गराउन अग्रसर हुनुपर्दछ ।

मानिसले मानिसलाई समाप्त पार्ने हतियार र व्यक्तिवादी चरित्रको विकास गर्ने शिक्षाले सदाचार, सुसंस्कार र कर्तव्यबोध हराउँदै गएको छ । यसमा नेपाल पनि अछुतो छैन । अझ नेपालको शिक्षा त विदेश पलायन हुने कारखाना बन्न पुगेको छ । सरकारले स्पष्ट शिक्षा नीति तय गर्नैसकेको छैन । अरुको देखावटी र सात समुद्रपारीबाट प्राप्त निर्देशनका आधारमा शिक्षा पद्धति लागू गरिंदा नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना बन्न पुगेको छ ।

नेपालको मौलिकता र मौलिक शिक्षा पद्धतिको साटो आधुनिक शिक्षा नीति लिएपछि अहिले शिक्षामा लगानी बालुवामा पानी बन्न पुगेको छ । बालबालिकादेखि युवासम्मलाई सदाचारी, सुसंस्कारी र कर्तव्यबोधी बनाउनुपर्ने शिक्षाले बलात्कारी, दुराचारी, भ्रष्टाचारी बनाइरहेको छ । शिक्षा कस्तो दिन थालियो भने आफू पढ्ने शिक्षालयमा आगो झोस्न विद्यार्थी नै उद्यत हुन्छन् । अनि शिक्षा दिनेहरु नै शिक्षालयका अगाडि धर्ना गर्दै, नारा जुलुश गर्छन । त्यस्ता शिक्षकले शिक्षा लिएका विद्यार्थी त्यस्तै हुनुको विकल्प छैन । जस्तो शिक्षा त्यस्तै संस्कार । अहिले भैरहेको त्यही हो ।

मानिसलाई कस्तो बनाउने भन्ने कुराको निर्धारण उसले कस्तो शिक्षा र संस्कार पाएको छ भन्ने महत्वपूर्ण पक्ष हो । नेपाल किन विकसित भएन भन्ने सवालको उत्तर पनि यही छ । युवावर्गलाई त्यस्तो शिक्षा नै दिन सकिएको छैन । व्यापक रुपमा फैलिएको भ्रष्टाचार, अमानवीय कुकृत्य, अनि सवैखाले दुराचार, अनाचारका निमित्त पठित, शिक्षित, बुद्धिजीवी भनिनेहरू नै जिम्मेवार छन् । इन्द्रचोकमा भारी बोक्ने भरियाले कुनै कुकर्म गरेकै छैन किनभने उसले आधुनिक भनिने शिक्षा पाएको छैन । उसले आफ्नो पुर्खाबाट मेहेनत गर्ने, इमानदार बन्ने मानवीय शिक्षा पाएको छ । उसको कर्म, धर्म नै मेहेनतपूर्वक श्रम गर्नु र आफूमा आश्रितहरुको पेट भर्नु हो । तर, शिक्षितहरु अरुको सोहोरेर आफ्नो पेट भर्न चाहन्छन् । के यही हो शिक्षा र शिक्षितहरुको दायित्व ?

समय बितिसकेको छैन । अझै सुधार गर्न सकिन्छ । हामीले हाम्रा भविष्यका कर्णधारलाई सदाचारी, सुसंस्कारी र कर्तव्यबोध गराउने शिक्षा दिन थाल्ने हो भने हामीले शिक्षण संस्था संचालन गरेको र शिक्षण पेशामा संलग्न हुनुको सार्थकता झल्कन्छ । कम्तिमा बालबालिकालाई किताबीसंगै व्यवहारिक शिक्षा अनि नैतिक, सामाजिक र इतिहास तथा पौराणिककालका सन्दर्भहरु जोडेर मानवीय सम्वेदनशील भावनाको विकास गराउन अग्रसर हुनुपर्दछ ।

जबसम्म मानिस सदाचारी र कर्तव्यबोध गर्ने बन्दैन हाम्रो समाज पनि माथी उठ्न सक्दैन । त्यसका लागि शिक्षा नै पहिलो खुड्किलो हो । यसको पहिलो जिम्मेवारी शिक्षा क्षेत्रमा लागेकाहरुकै हो । हामीले हाम्रो तर्फबाट पहल सुरु गर्ने हो भने यो अभियानकै रुपमा विकसित हुनेछ र यसको व्यापकतासंगै देशले सदाचारी, संस्कारी पात्रहरु पाउनेछ । हाम्रो देशका लागि आज आवश्यक यस्तै युवाहरुको हो, जसमा व्यक्तिगत लालचभन्दा सामाजिक उत्तरदायित्व लिने चाहना बढी हुनेछ ।

असल कार्यको सुरुवात जसले गरे पनि हुन्छ । फलानोले गर्यो, म पनि गरुँ न त भनेर हैन कि म आफैंबाट सुरु गर्छु भनेर त्यस्तो शिक्षाका लागि वातावरण बनाउन हामी शिक्षण पेशामा लागेकाहरुले पाइला अघि बढाउने हो भने यसले भविष्यका लागि सुखद् संचार गराउनेछ । आजको आवश्यकता पनि यही हो । विज्ञान र प्रविधको कुरा मात्रै गरेर किताब घोकाएर र सूत्रहरु कण्ठ पार्न लगाएर मात्र देश विकास हुँदैन भन्ने चेतनाको विकास कम्तिमा शिक्षण पेशामा लागेकाहरुमा हुनुपर्छ ।

अबको शिक्षा गाली गर्नेलाई गाली नै गर्ने, पिट्ने मार्नेलाई पिट्ने र मार्नुपर्छ अनि हिंसा गर्नेलाई हिंसैद्वारा जवाफ दिनुपर्छ भन्ने हैन कि सहनशील, शान्त र सिर्जनात्मक बनाउने हुनुपर्छ, नैतिकवान बनाउने हुनुपर्छ । नैतिकपतन हुने काम गर्नै नसक्ने शिक्षा दिनुपर्दछ । यसमा राज्यको प्रमुख दायित्व हुन्छ । एउटा भोकोले पक्कै रोटी चोरेर खान खोज्छ भने उसलाई चोर भनेर सजाय दिने हैन कि चोरी गर्नैनपर्ने गरी शिक्षित र सीपवान बनाउनुपर्दछ । यसका लागि त्यस्तै शिक्षा आवश्यक पर्दछ ।

(लेखक उर्सा मेजर चिल्ड्रेन्स एकेडेमीका संचालक सदस्य हुनुहुन्छ)

“हरेक अभिभावकलाई रोजगारी– प्रत्येक बालबालिकालाई शिक्षा”

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!