समृद्धिको स्रोत अथाह भए पनि नेतृत्व मगन्ते सोच र स्वार्थी भएपछि …

15 March, 2020 16:01 | बिचार | comments | 34500 Views

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक सत्ता नेतृत्व गरेपछि एउटा नारा सार्वजनिक गर्नुभयो समृद्ध नेपाल सुखी नेपाली । यो नारा वास्तविकतामा परिणत हुने अपेक्षा पनि धेरैको थियो किनभने सरकार झण्डै दुई तिहाई बहुमतको वामपन्थीको थियो ।

तर आम अपेक्षा विपरीत सरकार गठन भएको दुई वर्ष नाघिसक्दा परम्परागत सोच, शैली र व्यवहारमा कुनै भिन्नता आएन । विकास निर्माणका काम पहिले जस्तो थियो त्यस्तै देखियो । निरन्तर भैरहने विकास बाहेक तीब्र विकासको संकेत समेत पाइएन । सरकारले जतिसुकै विकास गरेको दावी गरे पनि देख्ने आँखा भने सरकार पक्षधर बाहेक अरु भएनन् ।

  

बुद्धिजीवीहरुको एउटै गुनासो छ प्रकृतिले अथाह दिए पनि ती स्रोतको उपयोग भएन । त्यसैले देश गरीब बन्यो । कुनै समय बेलायतलाई सहायता गर्ने हैसियतमा रहेको मुलुक आज मगन्ते भएको छ ।

नेपाल गरीब हो कि गरीब बनाइएको हो रु नेपाल सम्पन्न हुनसक्ने मुलुक हो कि हैन रु यो प्रश्न यो पुस्ताले हजुरबा पुस्तादेखिका राजनीतिक नेताहरुलाई सोध्ने गर्दछन् । चार दशकअघि नेपाल धानचामल निर्यात गर्ने मुलुक थियो । विकासक्षेत्रपिच्छे राइस मिल खुलेका थिए । अहिले नेपाल चामल आयात गर्ने र अनुदानमा खाने मुलुक बनेको छ । भएका उद्योगधन्दा निजीकरण र उदारीकरणको नाममा बेचिए, भारतको एकलौटी बजार बन्यो । व्यापार घाटा चौपट छ युवा निर्यात गरेर बस्तु आयात भैरहेको छ । नेपालको अहिलेको दुरावस्थामा पुग्नको कारण स्रोत नभएर हैन, सोच नभएर हो ।

यो अवस्थाको अन्त्य नहुँदासम्म नेपालको आर्थिक समृद्धि हुँदैन । यसको कारण भनेको नेताहरुको स्वार्थ नै हो । नेपाली राजनीतिक दलका नेताहरुले आन्दोलनन गरे, सफलता प्राप्त गरे तर त्यसपछि उनीहरु स्वार्थी बने । २००७ सालदेखि अहिलेसम्मको राजनीतिक परिस्थितिलाई हेर्ने हो भने थोरै मात्र नेता व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताको पक्षमा लागेका देखिए । नेताहरुले आफूले आन्दोलन गरेको, जेलनेल खाएको समयको ब्याजसमेत असुल गरे । व्यक्तिगत स्वार्थ र मोह देखाए– जसको परिणाम मुलुक दिन प्रतिदिन कमजोर र दरिद्र बन्दै गयो ।

नेपाललाई अपार स्रोत–साधन प्रकृतिले दिएको छ, तर हामी ती स्रोतको सदुपयोग गर्न सकिरहेका छैनौं । यसका लागि इमान्दार, योग्य र जनमुखी छवि बनाएकाहरुलाई जिम्मेवारी दिनुपर्छ । आफन्तको मोह नेताहरुले त्याग्नैपर्छ । राजनीतिमा त्याग गर्न सकिएन भने मुलुक बन्दैन र त्यस्तो त्याग गर्न नसक्ने नेता मुलुकका लागि बोझ मात्र हुनेछन् ।

यो देशमा योग्यहरुको कमी छैन, कमी छ त योग्य देख्ने आँखाको । आफ्नो नजिकको भए जो पनि योग्य र अर्कोको भए योग्य पनि अयोग्य देख्ने परिपाटीले गर्दा देशको समृद्धिमा योगदान दिने निकायमा विज्ञ हैन पार्टीका कार्यकर्ता लगिए । कार्यकर्ता पनि कस्ता लगिए भने देश र जनताको कामभन्दा नेताको निर्देशन बढी पालना गर्ने लगिए । यसको परिणाम विकास निर्माणको काम शुन्य । यस्तो अवस्थाको अन्त्य हुने आशमा नेकपालाई प्रचण्ड बहुमत दिएका हुन् । यो बहुमतको कदर भएन । समृद्धि, सुशासन, स्थिरता र विकासको नारा घन्काएर नेकपालचुे चुनाव जितेको हो । तर यही सरकारका पालामा अर्बौं अर्बको भ्रष्टाचारका काण्ड मच्चिएका छन् ।

नेपालमा असल राजनीतिक संस्कारको प्रचूर अभाव छ । यही संस्कारहिन राजनीतिले गर्दा देशमा युवाहरुले अवसरै नपाउने स्थिति आयो । पाए पनि नेताका कोटाबाट आउने भएकाले उनीहरु गुटबन्दीकै शिकार हुन्छन् । वर्तमान सरकार पनि गुटबन्दीको चरम शिकार भएको छ । पार्टी नेतृत्वहरु नै एकजुट हुन सकिरहेका छैनन् । यो पुस्ताका सक्रिय नेताहरुले विश्राम लिनुको विकल्प नभए पनि उनीहरु ठाउँ छोड्नै चाहँदैनन् ।

राजनीतिको दुई आयाम हुन्छ । एउटा आन्दोलन वा क्रान्ति, अर्को शान्ति अर्थात् समृद्धि । नेपालमा पटकपटक आन्दोलन भयो त्यो आन्दोलनको नेतृत्व अहिलेका शीर्ष भनिएका नेताहरु (कति दिवंगत भैसके)बाटै भएको हो । यो गर्वलायक पक्ष हो । तर क्रान्तिको नेतृत्व गरेको, जेल बसेको, कुटाई खाएको भन्दै आजीवन मन्त्री–प्रधानमन्त्री–सांसद आफू मात्रै बनिरहनुपर्ने भन्ने मान्यताले उनीहरुको राजनीतिक चेतना र देशभक्तिको भावनामा ठेस पुर्‍याउँछ । क्रान्ति नायकहरुलाई जनताले पटकपटक पुरस्कृत गरेका छन् । तर, उनीहरुले जनताको त्यो पुरस्कारको सम्मान गर्न सकेनन् । एकले अर्कोलाई दोष दिएर आफू पानीमाथिको ओभानो बन्ने काम मात्रै गरिरहे । अर्थात् आरोप–प्रत्यारोपमा उत्रिए । उनीहरुले भट्याउने देश समृद्धिको नारा केवल नारा मात्रै बनिरहेको छ ।

राजनीतिमा पुस्तान्तरण भए मात्र देशले विकास गर्छ । यहाँ आजीवन पद ओगटिरहने प्रवृत्ति छ । २०४८ सालदेखि लगातार उच्च पदमा पुगेकाहरुलाई अझै कति पद चाहिएको ? देशको माया गर्छु भन्नेले सक्षमलाई नेतृत्वमा ल्याउनुपर्छ । नयाँ सोच र योजना भएका इमान्दारहरुलाई जिम्मेवारी दिने हो भने देशले पक्कै पनि काँचुली फेर्नेछ । केही न केही परिवर्तनको अनुभूति हुनेछ । यसका लागि शीर्ष तहका नेताहरुले त्याग गर्न र सानोतिनो लालचमा नफस्ने दृढता भने देखाउनुपर्छ ।

सफलता पदमा पुगेर मात्र अनुभूति हुने हैन । मात्र सकारात्मक नतिजा ल्याउने दृढतापूर्वक उच्च नैतिकबलका साथ काम गर्ने हो भने व्यक्ति यसै सफल हुन्छ उसंगै देश पनि सफल हुन्छ । आज देशमा यसैको अभाव छ । कुनै पनि नीतिलाई सही मार्गमा डोर्‍याउने प्रमुख नीतिका वाहक वा चालकहरुले नैतिकता र इमान देखाउन सकेनन् भने त्यो देशको अवस्था कस्तो हुन्छ हामीले भोगिरहेका छौं । आज नेपालमा सबथोक भएर विकास नहुनुको पहिलो कारण यही हो । यहाँको स्रोत, साधन र सीपको प्रयोग गर्नुको साटो इमान र नैतिकहिनताको प्रयोग बढ्न थाल्यो । सबै नीतिहरु संचालन गर्ने राजनीतिमा इमान र नैतिकताको खडेरीको परिणाम समाज हरक्षण पतनको दिशातिर उन्मुख छ । मर्यादा के हो, माया केहो, सहानुभूति के हो, सम्वेदना के हो । अनि मानव हुनुको अर्थ के हो भन्ने नै बिर्सेर व्यक्ति चाहे राजनीतिक तहको जिम्मेवारी लिएका हुन वा बेकामे सबैमा एकलकाँटे स्वभाव विकसित भैरहेको छ ।

एउटा कुरा पक्का छ– यदि कोही व्यक्ति इमान्दार र नैतिकवान छैन भने ऊ जीवनमा सफल हुनै सक्दैन । इमान र नैतिकता गुमाएर केही समय सफल भएको जस्तो देखिएला, तर त्यो दीर्घकालीन हुँदैन । खासमा इमान र नैतिकताले नै व्यक्तिको वास्तविक चरित्र प्रदर्शन गर्दछ । अर्को सत्य के हो भने इमान र नैतिकवान व्यक्तिलाई सफलताको स्वाद चाख्न केही समय भने लाग्छ र जव ऊ सफल हुन्छ तव कहिल्यै पछिफर्कनु पर्दैन । त्यो सफलता दीर्घकालीन हुन्छ र उसले आफूसंगै आफ्ना पिता, पुर्खाको प्रतिष्ठा बढाउँछ भने भविष्यका सन्ततिका लागि एउटा सच्चा मार्गनिर्देश गर्दछ ।

आज देशभक्तिपूर्ण इमान भएको नेतृत्व मुलुकले खोजिरहेको छ । जसले देशको प्राकृतिक स्रोत साधनको उपयोग गरी मुलुकलाई समृद्धिको दिशामा डोर्‍याउन सकोस् । हामी कहिलेसम्म सबैथोक भएर पनि गरीब र मगन्तेका रुपमा मात्रै बसिरहने ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More