‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा एकजुट हुन प्रधानमन्त्रीको आह्वान

19 February, 2020 12:00 | राजनीति | comments | 21300 Views

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ ।प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नागरिकमा शुभकामना दिँदै उहाँले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने अभियानमा एकजुट भई योगदान गर्न देशवासीमा आग्रह गर्नुभएको हो ।

वर्तमान सरकार आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशामा अग्रसर रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा रहेको बताउनुभएको छ । “यस लक्ष्य प्राप्तिका लागि हामी हाम्रा हरेक क्षण, सम्भावना र सामाथ्र्यको सदुपयोग गरिरहेका छौँ”, उहाँले सन्देशमा भन्नुभएको छ, “यस यात्राबाटै हामी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकांक्षा पूरा गर्दैछौँ ।”

  

लामो समयदेखिको सङ्क्रमणकालबाट मुलुक सुशासन र विकासको दिशामा अग्रसर रहेको उल्लेख गर्दै उहाँले प्रजातन्त्रिक आन्दोलनमार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहना सफलताको दिशामा अभिमुख रहेको प्रष्ट पार्नुभएको छ । “आज हामी मुलुकलाई गरिबीबाट सम्पन्नतिर, अविकसितबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेका छौँ”, प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, “जनताको त्यही सङ्घर्षबाट प्राप्त लोकतन्त्रको आधार भूमिमा टेकेर अहिले हामी मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढिरहेका छौँ ।”

समाज, राजनीति र शासन प्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा आजको दिनलाई स्मरण गर्दै प्रधानमन्त्रीले प्रजातन्त्र प्राप्तिको लामो र बलिदानपूर्ण सङ्घर्षमा आफूलाई समर्पित गर्ने शहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । “जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातन्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने शहीदप्रति श्रद्धासुमन अर्पण गर्दछु”, प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ ।

यसै गरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक स्थायित्वसँगै अब आर्थिक विकासको गतिलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

प्रजातन्त्रका मूलभूत मान्यता कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, मानवअधिकार, मौलिक अधिकार, बालिग मताधिकारजस्ता विशेषताको प्रवद्र्धन एवं विकास गर्दै जानुको विकल्प नभएकामा जोड दिँदै उहाँले सबै प्रकारका विभेद तथा छुवाछूतको अन्त्य गरी मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्नु अपरिहार्य रहेको बताउनुभएको छ ।

सन्देशमा अध्यक्ष तिमिल्सिनाले १०४ वर्षे जहाँनिया निरंकुश राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले आजको दिनले सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । “सम्पूर्ण नेपालीले प्रजातन्त्रको अनुभूति गर्न सक्ने वातावरण सिर्जना गर्दै प्रजातन्त्रलाई जनमुखी एवं समावेशी गराउन सबैले आआफ्नो ठाउँबाट योगदान गर्न आह्वान गर्दछु”, सन्देशमा भनिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More