सरकारले कांग्रेसमाथि खोजीखोजी प्रहार गर्न थाल्यो : सभापति देउवा

18 October, 2019 21:29 |राजनीति | comments | 8250 Views

    पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको आरोप लगाउँदै १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी कांग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको बताउनुभएको छ ।

    शुक्रबार मध्यपुरथिमिको बोडेमा शुक्रबार कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिकाका प्रमुख, उपप्रमुखका लागि शुरु गरेको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उहाँले सो आरोप लगाउनुभएको हो ।

    adsads

    त्स क्रममा उहाँले कांग्रेसबाट उम्मेदवार भई विजयी भएर स्थानीय तह सम्हालेका जनप्रतिनिधीलाई राम्रा काम गरेर जनताको मन जित्न निर्देशन पनि दिनुभएको छ ।

    सभापति देउवाले भन्नुभयो, “कम्युनिष्ट र कांग्रेस फरक हो भनेर कामबाटै देखाउनुपर्छ, कांग्रेसबाट विजयी भएका स्थानीय तहका प्रमुख र उपप्रमुखले अब कम्युनिष्ट सरकारको भन्दा राम्रो काम गरेर देखाउनुपर्छ ।” जनताका पीर, मर्का र समस्याहरू बुझेर जनतासँगै समन्वय गरी प्रभावकारी ढङ्गले काम गर्नृ जनप्रतिनिधिलाई निर्देशन दिँदै उहाँले जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिनुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै उहाँले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको बताउनुभयो । पौडेलले कांग्रेस विकल्पको रुपमा उदाउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख बिमलेन्द्र निधिले कांग्रेसले आसन्न उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताउँदै पार्टीभित्रको गुटबन्दी अन्त्य हुन जरुरी रहेको औँल्याउनुभयो । महामन्त्री डा शशांक कोइरालाले मुलुकलाई समृद्ध बनाउन सरकारमा कांग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस दिनप्रतिदिन सङ्कटमा पर्दै आएको बताउँदै अब पार्टी सभापतिदेखि कार्यकर्तासम्मले आफ्नो आचरणमा सुधार गर्दै पार्टीलाई अगाडि बढाउनु पर्ने भनाइ राख्नुभयो । सञ्चारमाध्यमले समेत षडयन्त्रमूलक रुपमा कांग्रेसको विरुद्धमा आएको बताउँदै सिटौलाले भन्नुभयो, “पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर कांग्रेसविरुद्ध लागेका छन्, कांग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो ।”

    कार्यक्रममा केन्द्रीय सदस्य सीता गुरुङ, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, गाउँपालिका विकास समितिका महासचिव वंशलाल लामालगायतले लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको भन्दै त्यसविरुद्ध सङ्घर्षका लागि तयार रहनुपर्नेमा जोड दिनुभयो ।

    कांग्रेस पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका कांग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको प्रशिक्षणमा देशभर ४०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको कांग्रेस भक्तपुर जिल्ला सचिव निशान ढुङ्गेलले जानकारी दिनुभयो । प्रशिक्षण शनिबार सम्पन्न हुने कांग्रेसले जनाएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!