साँझसँगै टिपरको कब्जामा काठमाडौंसाँझसँगै टिपरको कब्जामा काठमाडौं

  • साँझसँगै टिपरको कब्जामा काठमाडौं
  • साँझसँगै टिपरको कब्जामा काठमाडौं
  • साँझसँगै टिपरको कब्जामा काठमाडौं
  • साँझसँगै टिपरको कब्जामा काठमाडौं
  • साँझसँगै टिपरको कब्जामा काठमाडौं
  • साँझसँगै टिपरको कब्जामा काठमाडौं

साँझसँगै टिपरको कब्जामा काठमाडौं

14 September, 2019 11:00 |पत्रपत्रिका | comments | 5400 Views
    साँझसँगै टिपरको कब्जामा काठमाडौं
    भक्तपुरको सल्लाघारीमा शुक्रबार राति ८ बजे कोटेश्वरतर्फ गुडिरहेका टिपर- तस्बिर : विकास कार्की 

    भदौ ८ गते रातको १० बज्दै थियो, सडकमा त्यति चाप थिएन, पुछाङ भोटे अफिसको काम सकेर तीनकुनेबाट बा३८प २३९३ नम्बरको बाइकमा बिस्तारै जोरपाटीतिर लागे। तर उनको यात्रा बीचमै टुंगियो।

    adsads

    सडक कब्जा गरेर अन्धाधुन्ध हुइँकिएको टिपरको निर्मम सिकार बने उनी। तीनकुनेबाट गौशाला जाँदै गरेको बा३ख ४३१७ नम्बरको टिपरले सिनामंगलमा उनको मोटरसाइकललाई ठक्कर दियो। मोटरसाइकल कच्याककुचुक भयो, संखुवासभा भोटखोलाका पुछाङ पनि घटनास्थलबाट जिउँदो उठ्न सकेनन्। अन्य दुईवटा मोटरसाइकलमा सवार चार जनासमेत गम्भीर घाइते भए।

    ‘टिपरले मोटरसाइकललाई कुल्चिनेबित्तिकै सडकका अन्य सवारी अनियन्त्रित भए र अरू दुइटा मोटरसाइकल पनि त्यहाँ आएर ठोक्किए’, महानगरीय ट्राफिक प्रहरीका एसपी रविकुमार पौडेलले भने, ‘टिपर अग्लो हुने भएकाले पछिल्लोपटक ठोकिएका मोटरसाइकल पनि सजिलैसँग चक्काको भित्र परे।’

    मोटरसाइकलमा चढेका अर्का एकजना त टिपरको ठक्करबाट उछिट्टिएर सडकपारि टिनको बारबाहिरै पुगे। दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्तजनले दोषीमाथि कारबाही माग गर्दै महानगरीय प्रहरी वृत्त गौशालामा नाराबाजी गरे। टिपर चालकलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने, चालकको लाइसेन्स खारेज हुनुपर्ने, निष्पक्ष अनुसन्धान हुनुपर्ने र उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग उनीहरूको छ।

    टिपरको अन्धाधुन्ध गतिले निम्त्याएको सडक दुर्घटना योे पहिलो भने होइन। बितेका ८ वर्षको तथ्यांक हर्ने हो भने प्रत्येक वर्ष टिपर जोडिएका दुर्घटना बढेको बढ्यै छन्। ट्राफिक प्रहरीको तथ्यांकअनुसार आव ०६९/०७० मा काठमाडौं उपत्यकामा मात्र ६९९ वटा दुर्घटनामा टिपर र टिपरजस्ता ठूला सवारी जोडिएको देखिन्छन्। त्यस्तै ०७०/०७१ मा दुर्घटनाको यो संख्या बढेर ८९२ पुग्यो। ०७१/०७२ मा ९४७ मा वटा सडक दुर्घटनामा टिपर जोडिएको तथ्यांक ट्राफिक प्रहरीसँग छ। ०७२/०७३ मा १ हजार २१० वटा दुर्घटना टिपरका कारण भए। ०७३/०७४ मा यो संख्या बढेर १ हजार ४०० पुग्यो। त्यस्तै ०७४/०७५ मा १ हजार ५८० वटा दुर्घटना यही कारण भए। ०७५/०७६ मा यो संख्या बढेर १ हजार ७९१ पुग्यो। र, ०७६/०७७ को दुई महिनामा १६५ दुर्घटना टिपरले गराएको तथ्यांक ट्राफिक प्रहरीसँग छ।

    सडक दुर्घटना बढ्न थालेपछि काठमाडौं उपत्यकाभित्र दिउँसो टिपर चलाउन रोक लगाइएको छ। तर पनि टिपरका कारण हुने दुर्घटनामा कमी आएको छैन। ०७५ असारमा गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो टिपर चलाउन नदिन निर्देशन दिएको थियो। गृहको निर्देशनअनुसार अहिले राति ७ बजेदेखि बिहानसम्म ७ बजेसम्म मात्रै रिङरोडभित्र टिपरले प्रवेश पाउँछन्।

    निर्माण कार्यका लागि उपत्यकाबाहिरबाट रोडा, बालुवा, इँटा र ढुंगा बोकेका टिपर बिहान ७ बजेदेखि बेलुकी सात बजेसम्म उपत्यका भित्रिने नाकाममै रोकिने गरेका छन्। साँझ ७ बजेपछि ती टिपर अन्धाधुन्ध गतिमा हुइँकिन्छन्।

    नेपाल यातायात व्यवसायी महासंघ मालवाहक सेक्टरका अनुसार काठमाडौं उपत्यकामा दैनिक २ हजार हाराहारीमा टिपर भित्रिने गरेका छन्। धादिङको बेल्खुबाट बालुवा बोकेर आउने थानकोटबाट उपत्यका भित्रिन्छन्। काभ्रेको बनेपा हुँदै रोडा र बालुवा बोकेर आउन टिपर साँगाबाट भित्रिने गरेका छन्।

    उपत्यका भित्रिएपछि चालकहरू होसियार नभएकै कारण दुर्घटना बढेको यातायात इन्जिनियर आशीष गजुरेल बताउँछन्। उनका अनुसार उपत्यकाबाहिर जुन तरिकाले टिपर चलाइन्छ यहाँ पनि यति तरिकाले चलाउँदा दुर्घटना घट्न सकेका छैनन्। ‘एकातिर हाम्रा सडक पनि साना छन्, अर्कोतर्फ जुनसुकै सहरको सडकमा भीडभाड हुन्छ नै, जति भीड भयो चालक त्यति नै चनाखो र होसियार हुनुपर्छ तर यहाँ चालक होसियार भएको देखिएन’, गजुरेल भन्छन्, ‘यसमा बढी चालकको नै कमजोरी छ तर सबै गल्ती उसको पनि होइन। यहाँ दुर्घटनाका कारण अरू पनि छन्।’

    चालकले अन्धाधुन्ध गतिमा टिपर चलाएका कारण सडकमा चल्ने अन्य सवारी पनि छेउ लाग्ने गरेको महानगरीय प्रहरी परिसरका डीएसपी होबिन्द्र बोगटी बताउँछन्। उनका अनुसार यही गतिका कारण चेक पोस्टमा बसेका प्रहरीलाई समेत समस्या भएको छ। ‘परतिर टिपर हुइँकिएको देखेपछि गाडी-मोटरसाइकल यतै साइड लगाउँछन्। चालकहरू अनकन्ट्रोल भएर टिपर चलाउने प्रवृत्ति देखिन्छ। प्रहरीको चेकपोस्टमा समेत रोकिँदैनन्’, बोगटी भन्छन्, ‘उपत्यकाबाहिरबाट आएकाले नम्बर प्लेटमा हिलो लागेको हुन्छ त्यसैकारण गाडी नम्बर ड्युटीमा बसेका प्रहरीले बुझ्न सक्दैनन् र सीसीटीभीले पनि क्याप्चर गर्न सक्दैन।’

    कतिपय दुर्घटना टिपरको बनावटका कारणसमेत हुने गरेको इन्जिनियर गजुरेल बुझाइ छ। उनका अनुसार टिपरको उचाइ स्वाभाविक भन्दा अग्लो हुने भएकाले सामान्य ठक्करमा पनि मोटरसाइकल तथा स्कुटर सीधै पांग्रामुनि छिर्छन्। ‘टिपर हेबी हुने भएकाले यो चलाउन पनि गाह्रो छ,’ उनले भने, ‘चालकले टिपर चलाउँदा दायाँबायाँ स्पष्ट देख्दैन। त्यसैले पनि टिपरले बढी दुर्घटना गराएको हो।’

    टिपर जोडिएका धेरैजसो दर्घटनामा मोटरसाइकल चालकको पनि गल्ती हुने टिपर चालक रमेश तामाङ बताउँछन्। उनका अनुसार टिपरले धेरैजसो मोटरसाइकल र स्कुटर मात्र किन ठक्कर दिन्छ भन्ने कुरामा कसैको ध्यान जाँदैन। ‘टिपरले धेरैजसो मोटरसाइकल र स्कुटरलाई मात्र किन हान्छन् ? अरू गाडीसँग टिपर ठोक्किएका घटना धेरै छैनन्। कतिपय दुर्घटनामा मोटरसाइकल र स्कुटरको पनि गल्ती हुन्छ’, तामाङ भन्छन्, ‘मोटरसाइकल र स्कुटरले रङ साइडबाट बाटो काट्छन्। टिपर अग्लो र मोटरसाइकल होचो हुने भएकाले टिपर चालकले मोटरसाइकललाई नदेखेपछि दुर्घटना हुन्छ।’

    दक्ष विदेश, सिकारु यता

    नेपालको सन्दर्भमा वैदेशिक रोजगारीले असर नगरेको ठाउँ कमै होला। यसबाट टिपर व्यवसाय पनि अछुतो छैन। चलक दक्ष र अनुभवी नभएका कारण टिपर दुर्घटना बढेको व्यवसायीको अनुमान छ। तर, दक्ष र अनुभवी चालक रोजगारीका लागि विदेश पलायन भइसकेका छन्। यहाँका टिपर नयाँ चालकको जिम्मामा छ। अधिकांश चालकको उमेर २२ देखि २७ वर्ष रहेको नेपाल यातायात व्यवसायी महासंघ, मालवाहक सेक्टरका उपाध्यक्ष यादवलाल श्रेष्ठ बताउँछन्।

    ‘टिपर चलाउन जानेर मात्र हुँदैन, यसलाई नियन्त्रण गर्न लामो अनुभव चाहिन्छ जो अहिलेका हाम्रा धेरैजसो ड्राइभरसँग छैन। लामो अनुभव भएका ड्राइभर विदेश गइसकेका छन्’, उपाध्यक्ष श्रेष्ठ भन्छन्, ‘यहाँ ड्राइभरको चरम अभाव छ। त्यसैले मालिकहरू साना उमेरका ड्राइभर राख्न बाध्य छन्।’

    नेपालमा दुईथरीका टिपर चल्ने गरेका छन्- एलपी १६-१३ र एचके १६-१३। उपाध्यक्ष श्रेष्ठका अनुसार टिपरका यी दुवै मोडल चलाउने मान्छेको उचाइ पनि त्यहीअनुरुप चाहिन्छ।

    ‘हामीकहाँ साना ड्राइभर छन्। एचके १६-१३ मोडेलको टिपरबाट उनीहरूले अगाडिको भुइँ नै देख्दैनन्। एलपी १६-१३ थोरै होचो हुने भएकाले ड्राइभरले अगाडिको भुइँ देख्छन् तर त्यति स्पष्ट होइन’, उनी भन्छन्, ‘कहीं न कहीं दुर्घटनाको कारण यो पनि देखिएको छ।

    टिपर चालकको उमेरका कारण दुर्घटनाको बढेको कुरामा यातायात इन्जिनियर गजुरेल पनि सहमत छन्। ‘सबैभन्दा महŒवपूर्ण कुरा यहाँका टिपर चालकमा परिपक्वता देखिएन। कुनै पनि जवान व्यक्तिको नेचर नै उत्तेजक हुन्छ। उनीहरुको उत्तेजकले दुर्घटना गराएको देखिन्छ,’ उनी भन्छन्।

    आम्दानीको होड

    आर्थिक कारणले पनि टिपर दुर्घटना हुने गरेको देखिन्छ। चालकलाई मालिकले एक टिप गरेबापत १ हजार ५०० भत्ता दिन्छन्। जतिजक्दो धेरै पैसा कमाउन चालकले गर्ने हतार नै दुर्घटना प्रमुख कारण बनेको ट्राफिक प्रहरीका एसपी पौडेल बताउँछन्। यतिमात्र होइन, जतिसक्दो धेरै टिप गर्न चालकलाई मालिकले दबाबसमेत दिने गरेका छन्।

    मालवाहक सेक्टरका उपाध्यक्ष श्रेष्ठ दैनिक २ टिप नगरे मालिकलाई टिपरको किस्ता तिर्न नपुग्ने बताउँछन्। ‘६ चक्काको एउटा टिपरलाई ३८ देखि ४० लाख पर्छ। यसको किस्ता तिर्न दैनिक २ टिप सामान त ओसार्नैपर्छ नभए किस्ता तिर्न सकिँदैन’, उपाध्यक्ष श्रेष्ठ भन्छन्, ‘दिउँसो टिपर चलाउन नपाइने र राति हतार नगरे २ टिप नपुग्ने भएकाले पनि दबाब त अलिकति हुन्छ। त्यसैले केही घण्टा दिउँसो पनि चलाउन दिनुपर्छ।’

    उपाध्यक्ष श्रेष्ठका अनुसार टिपरले काभ्रे र धादिङबाट निर्माण सामग्री ओसार्ने गरेका छन्। टिपर मालिकहरूले एक टिप बालुवाको २५ हजार, रोडाको ३० हजार, इँटाको ३० हजार रुपैयाँ लिने गरेको श्रेष्ठ बताउँछन्।

    टिपर चालकको मनोबलका कारण पनि दुर्घटना बढेको प्रहरी परिसर काठमाडौंका डीएसपी बोगटीको बुझाइ छ। उनका अनुसार दुर्घटनापछि प्रहरी नियन्त्रणमा रहेका टिपर चलकमा कुनै हीनताबोध भेटिँदैन। ‘हामी कयौं अपराधीलाई पक्राउ गरेर बयान लिन्छौं। अपराध गरेपछि पक्राउ उनीहरूमा हीनताबोध देखिन्छ तर दुर्घटनापछि पनि टिपर ड्राइभरमा अनौठो मनोबल देखिन्छ’, डीएसपी बोगटी भन्छन्, ‘हाम्रो साहु शक्तिशाली र पैसावाल छन्, जे भए पनि उनले हामीलाई छुटाइहाल्छन् भन्ने मनोबल टिपर ड्राइभरमा देखिन्छ।’

    छन् नियन्त्रणका उपाय

    काठमाडौं उपत्यकामा मानिस सामान्यतया ७ बजेतिर निवासतर्फ निस्किन्छन्। त्यसैबेला उपत्यकाका नाकामा अड्किएका टिपर अन्धाधुन्ध गतिमा प्रवेश गर्छन्। पछिल्लो समय कार्यालयबाट थाकेर निस्केका ती मानिस यही कारण त्रसित छन्। भक्तपुर, थानकोटलगायतका नाकाबाट उपत्यका भित्रिने टिपरकै कारण दुर्घटना नियन्त्रण हुन सकेका छैनन्। तर, यस्ता दुर्घटना नियन्त्रणका उपाय प्रशस्त रहेको जानकार बताउँछन्।

    दुर्घटना नियन्त्रण गर्न सबैभन्दा पहिले चालकलाई जिम्मेवार बनाउनुपर्ने राय यातायात इन्जिनियर गजुरेलको छ। उनका अनुसार चालकलाई विभिन्न किसिमका तालिम दिएर जिम्मेवार गराउन सकिन्छ। ‘४० किलोमिटर प्रतिघण्टाको गतिमा टिपर चलाए दुर्घटनामा धेरै कमी आउँछ। बटुवामा पनि जनचेतना जगाउन आवश्यक छ’, उनी भन्छन्, ‘टिपरको बनावट पनि अलिकति परिवर्तन गर्नुपर्छ।’ टिपरको बनावट परिवर्तन गर्न कम्पनीसँग छलफल गरिसकेको नेपाल यातायात व्यवसायी महासंघ, मालवाहक सेक्टरका उपाध्यक्ष श्रेष्ठ बताउँछन्।

    दुर्घटना नियन्त्रणका लागि टिपरलाई राति मात्र चल्न दिने भन्ने विषयमा छलफल गर्ने यातायात व्यवस्था विभागका निर्देशक गोकर्णबहादुर हमालले बताए। ‘अहिले टिपर सात बजेपछाडि मात्र चलेका छन्। दुर्घटना न्यून गर्न त्यो समय अझै बढाउन सकिन्छ। यसका लागि छलफल गर्ने तयारी गर्दैछौं’, निर्देशक हमालले भने।

    आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

    सिनामंगल टिपर दुर्घटना : अर्काको गल्तीले ठूलो क्षति

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    साँझसँगै टिपरको कब्जामा काठमाडौं

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!