साग फुटबल नेपालद्वारा भुटान ४-० ले पराजित- क्रिकेटमा श्रीलंकासंग पराजित

3 December, 2019 19:12 |खेल | comments | 3150 Views

    काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गतको फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार दशरथ रंगशालामा फुटबल खेलेको नेपालले भुटानमाथि ४-० को जीत हात पारेको हो ।

    adsads

    खेलमा नेपालले पाँचौं मिनेटमा नै कप्तान सुजल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । बाँकी तीन गोल भने दोस्रो हाफमा मात्र भयो । खेलको ५० औं मिनेटमा सुजलले नै व्यक्तिगत दोस्रो गोल गरे । तेस्रो गोल अभिषेक रिजालको नाममा रहृयो । उनले ६६ औं मिनेटमा गोल गरेका हुन् । चौथो गोल भने मिक्चेन तामाङकोे नाममा रहृयो । उनले ७७ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट फ्रि किक गोल गरेका थिए ।

    फुटबलमा सहज जित निकालेको नेपाल क्रिकेटमा भने श्रीलंकासंग पराजित भयो । १३औं साग अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा श्रीलंका यू-२३ सँग नेपाल ६ विकेटले पराजित भएको छ ।

    नेपालले दिएको एक सय ७३ रनको लक्ष्य श्रीलंकाले अन्तिम ओभरमा ४ विकेट गुमाएर भेट्टायो । एक समय श्रीलंकालाई नियन्त्रणमा राख्न सफल नेपाल फिल्डिङमा चुक्दा हार्न पुर्‍यो । कप्तान ज्ञानेन्द्र मल्ल क्याच मिस हुनुलाई नेपालको खराब दिन मान्छन् । ‘आजको दिन हाम्रा लागि खराब रहृयो । अब हामीले यसबाट पाठ सिेकेका छौं र आगामी दिनमा राम्रो गर्नेछौं ।’

    श्रीलंकाको जितमा शाम्मु अशानले महत्वपूर्ण ७२ रन बनाए । ४४ बलको सामना गरेका उनले ५ छक्का र ४ चौका हानेका थिए । निशान मदुस्काले ४६ र पथम निशान्काले ३० रनको योगदान दिए । मदुस्का र निसान्काले पहिलो विकेटका लागि ३ ओभरमै ३६ रनको साझेदारी गर्दै श्रीलंकालाई उत्कृष्ट शुरुवात दिलाएका थिए ।

    महंगो सावित भएका सोमपाल कामीले तेस्रो ओभरको अन्तिम बलमा निसान्कालाई विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच गराएसँगै नेपाल खेलमा फर्कियो । पाँचौ ओभरको पहिलो बलमा पवन सर्राफले कामिन्डु मेन्डिसलाई आउट गरे । मेन्डिसले १ रन मात्र बनाए । त्यसपछि सुशन भारीले छैटौं ओभरको तेस्रो बलमा ६ रन बनाएका कप्तान असालान्कालाई आउट गर्दा नेपाल श्रीलंकामाथि हावी हुने संकेत देखाएको थियो ।

    तर त्यसपछि निसान्का र शाम्मु अशानले चौथो विकेटका लागि उत्कृष्ट साझेदारी गरे । निसान्का र शाम्मुले चौथो विकेटका लागि ९१ रनको साझेदारी गरेका थिए । निशान्का ४६ रन बनाएर आउट भए । त्यसपछि शाम्मुले अन्तिमसम्म ब्याटिङ गर्दै श्रीलंकालाई जित दिलाए ।

    नेपालको लागि पवन सर्राफले २ विकेट लिएका थिए । यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले उपकप्तान दीपेन्द्र सिंह ऐरीको उकृष्ट ब्याटिङको मदतमा २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

    नेपालको सुरुवात राम्रो रहेन । नेपालको स्कोर २ रन हुँदा पारस खड्का व्यक्तिगत एक रनमा आउट भए । आरिफ शेख १९ र कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए, जतिबेला नेपालको स्कोर ५१ रन थियो । उपकप्तान दीपेन्द्र सिंह ऐरीले विनोद भण्डारीसँग मिलेर नेपालको पारी उकासे ।

    दुवैले तेस्रो विकेटका लागि ५६ रनको साझेदारी गरे । भण्डारी २१ रनमा आउट भए । त्यसपछि आएका पवन शर्राफसँग ६२ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । पवन १३ बलमा २२ रन बनाएर आउट भए । दीपेन्द्र ७२ रनमा अविजित रहे ।

    त्यसै गरी महिला फुटबलमा नेपालको विजयी सुरुवात गरेको छ । क्रिकेटमा नेपाली टोली पराजित हुँदा पोखरामा नेपाली महिला फुटबल टोलीले श्रीलंकन महिला टोलीलाई पराजित गरेको छ ।

    मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको हो । पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु लिम्बुले निर्णायक गोल गरिन् । उनले अनिता केसीको पासमा गोल गरेकी हुन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More