सामाजिक पढेर गणित पढाउन आउँदा विद्यार्थीले के सिक्लान् ?

10 July, 2019 11:13 | बिचार | comments | 53550 Views

– डिकेन्द्र ढकाल –

– “एसईईको रिजल्ट आयो, अब के पढ्ने त नानी ?” – “एजुकेशन (शिक्षा)” ! – “किन नि ? साइन्स किन नपढ्ने ?” – “जी पी ए पुग्दैन । साइन्स पढ्न कम्तीमा “२” ल्याउनु पर्छ !” – “अनि एजुकेशन पढ्न ?” – “एजुकेशन पढ्न ‘१.६’ भए पुग्छ !”

कानुन र नीति निर्माण गर्ने तहमा बस्नेहरु नेपालको सार्वजनिक शिक्षालाई ध्वस्त पार्न र असल उत्पादनलाई निजी विश्वविद्यालय मार्फत् विदेशमै पठाउन र बाँकीलाई दलका अन्धभक्त जागिरे र रेमिट्यान्स भित्र्याउने श्रमिक बनाउन संरचनागत हिसाबले कति लागि गरेका छन् भन्ने कुरा यसैबाट स्पष्ट र प्रमाणित हुन्छ ।

adsads

नेपालमा १२ कक्षा पूरा गरेपछि कुनै पनि व्यक्ति प्राथमिक शिक्षक बन्न हकदार हुन्छ । जीवनमा शिक्षाको जग बसाल्ने पहिलो ठाउँ प्राथमिक स्कुल तहमा पढाउन पुग्ने जिम्मेवार व्यक्ति एसईईमा अब्बल ग्रेड ल्याएकाहरुलाई हुनु पर्नेमा ठिक उल्टो सबै भन्दा कमजोरलाई चुनिने जबर्जस्त संरचना बनाइनु खेदजनक कुरो हो ।

अझ आश्चर्य त एजुकेशन (शिक्षा)का केही सिमित विषय वाहेक धेरै जसो विषय पढ्नका लागि एसईईमा जिपिए १.६ पुगेको छ भने गणित आदि विषयमा सबैभन्दा तल्लो ग्रेड “ई” ल्याएकाहरुले पनि पढ्न पाउँदछन् । सबैलाई थाहा भएकै कुरो हो, नेपालको प्राथमिक तहमा उही एउटै शिक्षकले गणित, नेपाली, अंग्रेजी आदि विषय पढाउनु पर्छ । अब गणितमा “ई” ल्याएकाहरुले ११-१२ मा सामाजिक पढेर गणित पढाउन आउँदा विद्यार्थीले के सिक्लान् ?

सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्ने हो भने केही संरचनात्मक सुधार गर्नै पर्दछ । पहिलो कुरो, शिक्षण पेशालाई आकर्षक पेशा बनाउनु पर्दछ । सामाजिक हिसाबले आदरणीय पेशा हुँदा हुँदै पनि आर्थिक हिसाबले भन्ने हो भने शिक्षण पेशा शैक्षिक योग्यताका अब्बल उम्मेदवारहरु यो पेशा अपनाउनका लागि पटक्कै आकर्षक छैन । सामान्यतया डाक्टर, इन्जिनियरहरुले धेरै पैसा कमाउन सक्ने भएकोले समाजले उनीहरुलाई “उच्च कोटी”को जागिरे/पेशावाल ठानेको हो र यसैको छाप परेर “तिमी पढेर के बन्ने नानी/बाबू ?” भनेर सोध्दा “डाक्टर ! इन्जिनियर !” जस्ता जवाफ आउने गरेका हुन् ।

‘म डाक्टर बनेर गाउँमा पुगेर दीन दु:खीको सेवा गर्छु’, वा ‘गाउँलेलाई सेवा गर्न बाटो र पुल बनाउन चाहन्छु’ जस्ता तयारी तर्क ‘कस्मेटिक’ हुन् ! दीन दु:खीको सेवा गर्न डाक्टर र इन्जिनियर निर्विकल्प पेशा होइनन् । अरु पेशावालले पनि सक्छन् । प्रहरी, वकिल, किसानले पनि सक्छ । साँच्ची भन्ने हो भने एउटा असल शिक्षकले गर्न सक्ने सेवा अतुलनीय छैन र ?

त्यसैले शिक्षामा उच्च गुणस्तर कायम गरेका थुप्रै मुलुकहरु (स्विजरल्याण्ड, नेदरल्याण्ड, जर्मनी, बेल्जियम, कोरिया, जापान, अस्ट्रेलिया, फिनल्याण्ड, डेनमार्क, स्पेन, युके, युएसए आदि) मा जस्तै अन्य सार्वजनिक सेवाका कर्मचारीलाई भन्दा शिक्षकलाई बढी तलब कायम गरिनु पर्छ र उच्च ग्रेड/डिभिजन/प्रतिशत वाला र माथिल्लो योग्यताकालाई मात्र शिक्षक पेशा खुला हुनु पर्दछ ।

फिनल्याण्ड, फ्रान्स लगायत कतिपय युरोपेली मुलुकमा प्राथमिक शिक्षक बन्न समेत शिक्षण तालिम सहितको मास्टर डिग्री हुन आवश्यक छ भने संसारका धेरैजसो सार्वजनिक शिक्षा (स्कुल स्तरीय शिक्षा)मा राम्रो गरेका मुलुकहरुमा प्राथमिक शिक्षक बन्न शिक्षण तालिम सहितको ब्याचलर डिग्री अनिवार्य छ र उनीहरुको तलब अन्य पेशामा भन्दा आकर्षक छ ।

नेपालको शैक्षिक प्रशासन र योजना तर्जुमा गर्ने ठाउँमा “गैरशिक्षाविद् ” हावी छन् । यसलाई सुधार गर्न शिक्षक/प्राध्यापकहरुलाई मुलुकको उच्चतम् शैक्षिक प्रशासन र योजना तर्जुमा गर्ने निकायसम्म पदोन्नति हुँदै पुग्न सकिने व्यवस्था हुनु पर्दछ । सेवा अवधि पूरा गरी निवृत शिक्षक/प्राध्यापकलाई उनीहरुको जीवनभरको अमुल्य अनुभव र सिकाइलाई अधिकतम् उपयोग गरी देश विकासमा योगदान पुर्याउन राज्यले स्तर अनुकुल प्रत्येक शिक्षक/प्राध्यापकलाई “राष्ट्रिय विकास परामर्शदाता” बनाउने निति बनाओस् त, शिक्षण पेशा सबै भन्दा मर्यादित र आकर्षक पेशा बन्ने छ र नेपालको सार्वजनिक शिक्षाको अनुहार नै बदलिने छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राजकिशोर यादव

फेसबुक

राजकिशोर यादव

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!