सिन्धुपाल्चोक बाढीपहिरो बेपत्ता २० जनाको खोजीकार्य जारी, नदीले बगाएको आशङ्का

15 July, 2020 13:19 | जन सरोकार | comments | 17700 Views

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा परी बेपत्ता २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोशीले बगाएको आशङ्का हुन थालेको छ ।

चार दिनदेखि मङ्गलबारसम्म स्काभेटर लगाएर खोजीकार्य जारी राखे पनि बेपत्ताको शव भेटिने सम्भावना ज्यादै न्यून रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । बाढी पहिरोमा तीन जनाको मृत्यु भएको छ ।

  

बाढी र पहिरोले सडकको सतहभन्दा धेरै माथिसम्म पुरिने गरी माटोसहित ठूला–ठूला ढुङ्गा थुपारेको हुँदा स्काभेटरले समेत हटाउन कठिनाइ परेकाले समस्या उत्पन्न भएको छ ।

उद्धारकार्यका लागि काठमाडौँबाट आएको २५ सदस्यीय टोली पनि मङ्गलबार फर्किसकेको छ । बाढी र पहिरोले बाह्रबिसेदेखि मितेरी पुलसम्म १५ ठाउँमा सडक बिग्रेको प्रहरी निरीक्षक न्यौपानेले बताउनुभयो ।

बाह्रबिसेको खागदलखोलाको पुल बगाएपछि अस्थायी काठको फटके राखिएको छ । खोर्सानीबारीको सडक बगाएपछि घुमाउरो बाटो हुँदै जलेटार ब्यारेक भएर फटके तरेर पारी जानुपर्ने बाध्यता छ ।

डिभिजन सडक कार्यालय दोलखाले सुनकोशी नदीले बगाएको जुरेको करिब १५० मिटर सडक भित्ता काटेर सानो गाडी चल्ने सक्ने सडक निर्माण गरेपछि बाह्रबिसेसम्मको यात्रा सहज भएको छ ।

बाह्रबिसे नगरपालिका–५ खागदल र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गरी दुई बेलिब्रिज राख्नलाई सामान काठमाडौँमा तयारी हालतमा रहे पनि सडक अवरुद्धका कारण ल्याउन सकिएको छैन । बाह्रबिसेको खोर्सानीबारीको सडक पूरै नदीले बगाएको भित्ता काट्न माथिको बस्तीलाई असर पर्ने तलबाट उठाउन नदीमा पानीको सतह कम नभएकाले सम्भव देखिँदैन । त्यसका लागि मनसुन हटेर भोटेकोशीको पानीको सतह कम भएपछि मात्र सम्भव हुने भएकाले कम्तीमा दुई महिना समय लाग्ने डिभिजनल इञ्जीनियर विजयकुमार महतोले बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More