सिराहा, सप्तरी र उदयपुरमा बाढी- कैयौं घर बगे हजारौ विस्थापित

13 July, 2019 17:43 |जल/वातावरण/स्वास्थ्य | comments | 10950 Views

    केही दिनदेखिको अविरल वर्षासँगै तराईका विभिन्न जिल्ला जलमग्न भएको छ । पछिल्लो समाचार अनुसार सिराहा, सप्तरी र उदयपुरका बस्तीहरु डुबानमा परेका कारण हजारौं विस्थापित भएका छन् ।

    adsads

    कमला नदीमा आएको बाढीले ठाउँठाउँमा बाँध भत्काएर बस्तीमा पानी पसेपछि सिरहा नगरपालिका र कल्याणपुर नगरपालिका अधिकांश वडा डुबानमा परेका छन् ।

    डुबानमा परेका ती स्थानका करीब एक हजारभन्दा बढी परिवारलाई सुरक्षित
    स्थानमा सारिएको छ । कमला सिँचाइ आयोजनाले सिँचाइका लागि निर्माण गरिएका ‘एन्टी फल्ड सुलुस’ अधुरै छोड्दा त्यहीबाट बाढी गाउँमा पसेपछि सिरहा नगरपालिका–१२ स्थित सारस्वर, वडा नं ६ स्थित बसबिट्टा र कल्याणपुर–१२ गम्हरियाकट्टीलगायतका अधिकांश ठाउँ डुबानमा परेका छन् ।

    गाउँमा जलस्तर बढ्दै गएको र गाउँगाउँमा सडक भत्किएका कारण स्थानीयवासीलाई उद्धार गर्न समस्या भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिनुभयो । कमला नदीको बाढी सदरमुकाममा समेत पसेपछि जिल्ला प्रहरी कार्यालय, तत्कालीन कृषि विकास कार्यलय, पशु सेवा कार्यालय, विद्युत् प्राधिकरणलगायतका अधिकांश कार्यालय डुबानमा परेका छन् ।

    यस्तै लहान नगरपालिकाका विभिन्न वडामा आएको बाढीले १०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । लहानका वडा नं १, २, ३ र ४ का अधिकांश घर डुबानमा छन् । वडा नं १ र २ का ८० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने वडा नं ४ मा आएको बाढीले घर भत्किँदा तीन घाइते भएका छन् ।

    लहानस्थित इलाका प्रहरी कार्यालय, डिभिजनल वन कार्यालय, लहान नगरपालिका, इलाका प्रशासन कार्यालय, जलस्रोत कार्यालय, भू–संरक्षणलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् भने पुर्वपश्चिम राजमार्गबाटै पानी बगिरहेकाले यातायात आवागमनमा समस्या भएको छ ।

    त्यस्तै मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, सुखीपुर नगरपालिका, औरही गाउँपालिकालगायतका स्थानीय तहका अधिकांश वडासमेत जलमग्न भएका प्रहरीले जनाएको छ । बाढीबाट प्रभावित बस्तीमा सुरक्षाकर्मी परिचालन गरी उद्धारकार्यलाई जारी राखेको प्रअिज अधिकारीले बताउनुभयो ।

    लगातारको अविरल वर्षाले कमला, बलानलगायतका नदीमा जलस्तर बढ्ने क्रम जारी रहेकाले नदी आसपासका आम सर्वसाधारणहरुमा सचेत गरिएको छ भने सम्भावित खतरालाई मध्यनगर गर्दै सुरक्षाकर्मीलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

    बाढीमा फसेका छ कामदारको उद्धारमा कठिनाइ
    कमला नदीको बाढीमा गए रातिदेखि फसेका छ जनाको उद्धारमा समस्या भएको छ । सिरहा नगरपालिका–६ स्थित बसपिट्टा टोल नजिकै निर्माणाधीन पुलको काममा खटिएका छ कामदार कमला नदीको बाढीमा फसेका हुन् ।

    निर्माणाधीन पुलमै बसेर उद्धारको प्रतिक्षा गरिरहेका छ जनालाई नदीमा पानीको बहाब अत्यधिक रहेकाले उद्धार गर्न कठिनाइ भएको सिरहाका प्रजिअ अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छ कामदार बाढीमा फसेको राति नै खबर आयो, तर नदीमा पानीको बहाब बढिरहेकाले तत्काल उद्धार गर्न समस्या भएको छ, काठमाडौँबाट हेलिकोप्टरसमेत आउन नसक्ने अवस्था छ ।”

    पुल र सडक भत्किँदा सडक अबरुद्ध
    अविरल वर्षासँगै आएको बाढीले सप्तरीको बोदे बसाइन नगरपालिका–५ स्थित खडकखोलामा नवनिर्मित पुल बगाएपछि पूर्वपश्चिम हुलाकी सडकखण्डअन्तर्गत पूर्णरुपले अबरुद्ध भएको छ । खोलामा आएको बाढीले पुलको पिलर नै भाँसिएपछि पुल बगेको स्थानीयवासीले बताएका छन् । बाढीले बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग पूर्णरुपले अबरुद्ध भएको इलाका प्रहरी कार्यालय बोदे बसाइनका प्रहरी नायब निरीक्षक आमिरी यादवले जानकारी दिनुभयो ।

    शुक्रबार राति बाढीले पुल बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग आवागमण पूर्णरूपले ठप्प भएको छ भने यात्रुहरु अलपत्रमा परेका छन् । यस्तै खडक नदीको बाढीले बोदे बसाइन नगरपालिकाको वडा नं ५ जाँजर, वडा नं ७ हैठिस्थित थारु टोल, मुसहर बस्ती डुबानमा परेको छ भने बोका नदीको बाढी गाउँमा पसेपछि बोदे बसाइनका धनगढी, सारस्वर, कुशमहार, काचन, देउरी, खडकपुरलगायतका गाउँ डुबानमा परेको बोदे नगर प्रमुख आतेशसिंह यादवले जानकारी दिनुभयो । यस्तै हुलाकी सडकअन्तर्गत बोदे बसाइन बजार नजिकै सडक भत्किदाँ बजार सम्पर्कविहीन बनेको छ भने विद्युत् सेवासमेत अबरुद्ध भएको छ ।

    त्रियुगा नदीको बाँध फुटेर पाँच सय घर डुबानमा
    चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–१ तपेश्वरीमा आज बिहान त्रियुगा नदीको बाँध फुट्दा तपेश्वरी क्षेत्रका पाँचसय भन्दा बढी घर डुबानमा परेका छन् ।

    प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार त्रियुगा नदीको बाँध फुटेर पूरै त्रियुगा नदी तपेश्वरी क्षेत्रमा प्रवेश गरेपछि अहिले सशस्त्र प्रहरी नेपाल प्रहरी र नेपाली सेनाको टोलीले दुई सय जनाको उद्धार कार्य गरिसकेको छ भने अन्यको पनि उद्धार कार्य जारी राखेको छ । तपेश्वरी क्षेत्रमा थप क्षति हुन नदिन नेपाली सेना र सशस्त्र प्रहरी इटहरीबाट समेत थप सामग्री मगाएर उद्धार कार्य शुरु गरिएको प्रजिअ खड्काले बताउनुभयो ।

    पूरै तपेश्वरी गाउँनै त्रियुगा नदीको डुबानमा परेको र हेलिकप्टर मगाउन प्रयास गरिए पनि उडान हुन नसक्ने अवस्था रहेका कारण अहिले प्रदेश नं १ इटहरीसहित जिल्लाका सुरक्षाकर्मी ‘जेटबोट’ परिचालन गरेर तपेश्वरीमा उद्धारकार्यमा जुटेका प्रजिअ खड्काले जानकारी दिनुभयो । अहिले नै रेडक्रससहित औषधि, लत्ताकपडा खानेकुराका लागि सहयोग गर्ने टोली पनि तपेश्वरीतर्फ पठाउने कार्य भइरहेकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    यस्तै कटारी नगरपालिकाको कटारी बजारस्थित तावा खोला किनारका पच्चीस घर मुसहरबस्तीसमेत डुबानमा परेपछि अहिले सो क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको प्रजिअ खड्काले बताउनुभयो ।

    महनौरी गाउँका २० घर बगे
    बिहुल नदीमा आएको बाढीले बोदे बर्साइन नगरपालिकाको महनौरी गाउँका २० वटा घर बगाएको छ । घर बगाएपछि सर्वसाधारण अर्काको घरमा बस्न बाध्य भएका छन् ।

    हनुमाननगर-कंकालनी नगरपालिका वडा नम्बर १३ गोबरगाढाका हरेक घरमा पानी पसेको छ । यहाँका करिब ५ सय परिवारको घरमा पानी पस्दा सर्वसाधारण कष्टपूर्ण जीवन धान्न बाध्य भएका छन् । यही नगरपालिकाको वडा नम्बर १४ रम्पुरा मल्हनियाँको हरेक घरमा पानी पस्दा सर्वसाधारण पीडित बनेका छन् ।

    तिलाठी प्रहरी चौकी विस्थापित
    अबिरल वर्षाका कारण सप्तरी जिल्लाका अधिकांस ठाउँ डुबानमा परेका छन् । बिभिन्न नदी र खोलामा आएको बाढीका कारण जिल्लाको १८ वटै स्थानीय तह प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजले जिल्लाभरिका एक हजार घर डुबानमा परी जोखिममा रहेको जनाएको छ । प्रहरी निरीक्षक रिता पौडेलले हालसम्म जिल्लामा कुनै मानवीय क्षति नभएको जानकारी दिइन् ।

    खड्ग खोलाको बाढीले बिसनपुर-स्वर्णपट्टी सडकमा क्षति पुर्याएको छ । खड्ग नगरपालिका ८ स्थित बिसनपुर सडकखण्ड बाढीले बगाउँदा यातायात अवरुद्ध छ । यो सडक केही दिनअघि मात्रै निर्माण गरिएको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!