सिसडोल सिसडोल

  • सिसडोल
  • सिसडोल
  • सिसडोल
  • सिसडोल
  • सिसडोल

सिसडोल भरियो, कहाँ फाल्ने फोहोर ?

25 February, 2019 12:10 | पत्रपत्रिका | comments | 14700 Views

बन्चरेडाँडामा उपत्यकाको फोहोर व्यवस्थापन गर्ने निर्णय २४ वर्षदेखि अलपत्र

सिसडोल

काठमाडौं उपत्यकामा वार्षिक तीन लाख टन फोहोर उत्पादन हुन्छ । फोहोर फालिँदै आएको नुवाकोटको सिसडोल भरिइसकेको छ ।

वर्षा लागेपछि त्यहाँ फोहोर फाल्न सकिने अवस्था छैन, तर त्यसको विकल्प अझै तयार भइसकेको छैन । सरकारले नुवाकोटको ककनी–२ र धादिङको धुनिबेसी–१ को बीचमा पर्ने बन्चरेडाँडालाई दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइट बनाउने निर्णय ०५१ मै गरेको थियो । तर, २४ वर्ष बितिसक्दा पनि त्यहाँ आवश्यक पूर्वाधार निर्माण भएको छैन ।

  

बन्चरेडाँडा ल्यान्डफिलसाइटको अवधारणात्मक प्रारूप (कन्सेप्चुअल डिजाइन) आर्थिक वर्ष ०५८-५९ मै बनेको थियो । जापान सहयोग नियोग (जाइका)ले बनाएको प्रारूपअनुसार ल्यान्डफिलसाइट निर्माण गर्न एक अर्ब ८६ करोड लाग्ने अनुमान गरिएको थियो । तर, समयमा आयोजना नबन्दा ०७१ को डिपिआरअनुसार साइट निर्माणको लागत दुई अर्ब ४० करोड पुगिसकेको छ ।

के–के भयो, के बाँकी ?
बन्चरेडाँडामा साइटका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण भइसकेको छ । प्राप्त १७९२ रोपनी जग्गामा तत्काल ल्यान्डफिलसाइट बनाउन सकिने समितिको प्रतिवेदनमा उल्लेख छ । तर, चलेटार क्षेत्रमा जग्गा अधिग्रहण, प्रवेश मार्ग अपग्रेड र डिपिआर तयार गर्न भने बाँकी छ । श्यामेखोल्सी क्षेत्रमा जग्गा प्राप्त भए पनि डिपिआर गर्न बाँकी छ भने सिठेगहिरो, चाँपेगहिरो, खाल्टेखेतमा जग्गा लिनै बाँकी छ ।

सडक विभागले सिसडोलदेखि बन्चरेडाँडासम्मको दुई किलोमिटर सडक विस्तार र कालोपत्रे गरिरहेको छ । बन्चरेडाँडामा आवश्यक पूर्वाधार निर्माणको जिम्मा लिएको सहरी विकास मन्त्रालयले यो साता टेन्डर आह्वान गर्दै छ । ‘ड्यामको डिजाइन रिभ्यु गर्न बाँकी छ । सम्भवतः यो साताभित्र टेन्डर आह्वान हुन्छ,’ सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले भने । निर्माणको काम १८ देखि २० महिनाभित्र सक्ने लक्ष्य छ ।

कामपाको काँधमा उपत्यकाको फोहोर
काठमाडौं उपत्यकाभित्रका दुई महानगर र १६ नगरपालिकामा उत्पादन हुने फोहोर व्यवस्थापन गर्ने जिम्मा काठमाडौं महानगरपालिकाले लिइरहेको छ । त्यसका लागि वार्षिक सात करोड ४५ लाख २० हजार रुपैयाँ खर्च हुने गरेको महानगरले जनाएको छ । ललितपुर महानगरपालिकाले वार्षिक करिब ६५ लाख ५७ हजार खर्चिन्छ । तर, अन्य नगरपालिकाले फोहोर व्यवस्थापनमा खर्च गर्दैनन् । ‘सिसडोल हामीले जिम्मा लिएपछि उपत्यकाको सबै फोहोर व्यवस्थापन गर्ने जिम्मा हाम्रो काँधमा छ । अब भने सबैले फोहोर व्यवस्थापनमा खर्च गर्ने गरी गृहकार्य भइरहेको छ,’ काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘भार हामीले मात्रै बोक्नुपर्छ भन्ने होइन ।

सबै मिलेर फोहोर व्यवस्थापन गर्नुपर्छ ।’ उनले वर्षा लागेपछि सिसडोलमा फोहोर फाल्न नसकिने र बन्चरेडाँडा पनि बनिनसक्ने देखिएको बताए । ‘सिसडोलको दक्षिणी भागमा फोहोर विसर्जन गर्न सकिन्छ कि भनेर हेरिरहेका छौँ,’ उनले भने, ‘बन्चरेडाँडा बर्खाअघि नै बन्लाजस्तो लागेको छैन । फोहोर त व्यवस्थापन गर्नैपर्छ ।’

फोहोर व्यवस्थापन खर्च
कामपाका अनुसार उपत्यकामा दैनिक ८५३ टन र वार्षिक तीन लाख ७० हजार ८० टन फोहोर उत्पादन हुन्छ । त्यसलाई बन्चरेडाँडामा व्यवस्थापन गर्न वार्षिक ८ करोड १० लाख खर्च हुने अनुमान उसले गरेको छ । सो रकम अन्य नगरपालिकाहरूले समेत व्यहोर्नुपर्ने कामपाको प्रस्ताव छ । जसका लागि कामपाका प्रमुख विद्यासुन्दर शाक्यको नेतृत्वमा उपत्यकाका सबै स्थानीयका प्रमुख सहभागी रहेको समितिसमेत बनाइएको प्रवक्ता डंगोलले बताए ।

कामपाले वार्षिक तीन करोड ३२ लाख ३५ हजार ६३८ रुपैयाँ आफूले व्यहोर्ने प्रस्ताव राखेको छ । कामपाभित्र दैनिक ३५० र वार्षिक १ लाख २६ हजार टन फोहोर उत्पादन हुन्छ । यस्तै, वार्षिक ३६ हजार टन फोहोर उत्पादन गर्ने ललितपुरले ९४ लाख ९५ हजार ८९६ रुपैयाँ व्यहोर्नुपर्ने प्रस्ताव कामपाले अघि सारेको छ । प्रस्तावमा भक्तपुर नगरपालिकाको तथ्यांक भने सामेल छैन ।

उक्त प्रस्तावअनुसार वार्षिक १० हजार आठ सय टन फोहोर उत्पादन गर्ने मध्यपुर थिमीले २८ लाख ४८ हजार ७६९ रुपैयाँ व्यहोर्नुपर्नेछ । नौ हजार टन फोहोर उत्पादन हुने सूर्यविनायक नगरपालिकाले २३ लाख ७३ हजार ९७४ र पाँच हजार चार सय टन फोहोर उत्पादन गर्ने चाँगुनारायण नगरपालिकाले १४ लाख २४ हजार ३८४ रुपैयाँ खर्च व्यहोर्नुपर्नेछ । त्यस्तै, १८ सय टन फोहोर उत्पादन गर्ने कीर्तिपुर नगरपालिकाले चार लाख ७४ हजार ७८४ र १० हजार आठ सय टन फोहोर उत्पादन हुने चन्द्रागिरि नगरपालिकाले २८ लाख ४८ हजार ७६९ रुपैयाँ तिर्नुपर्नेछ ।

प्रस्तावअनुसार टोखा, तारकेश्वर, बुढानीलकण्ठ र नागार्जुन नगरपालिकाले हरेकले १२ हजार ६ सय टन फोहोर उत्पादन गर्छन् । त्यसका लागि हरेकले ३३ लाख २३ हजार ५६२ रुपैयाँ खर्च व्यहोर्नुपर्नेछ । वार्षिक २१ हजार ६ सय टन फोहोर उत्पादन गर्ने गोकर्णेश्वर नगरपालिकाले ५६ लाख ९७ हजार ५३८ तथा ५४ सय टन फोहोर उत्पादन गर्ने दक्षिणकाली नगरपालिकाले १४ लाख २४ हजार ३८४ रुपैयाँ तिर्नुपर्नेछ ।

महालक्ष्मी नगरपालिकाले १० हजार आठ सय टन फोहोरका लागि २८ लाख ४८ हजार ७६९ रुपैयाँ, गोदावरी नगरपालिकाले नौ हजार टन फोहोरका लागि २३ लाख ७३ हजार ९७४ रुपैयाँ, कागेश्वरी–मनोहरा नगरपालिकाले सात हजार दुई सय टन फोहोरका लागि १८ लाख ९९ हजार १७९ रुपैयाँ र शंखरापुर नगरपालिकाले २८८० टन फोहोरका लागि सात लाख ५९ हजार ६७१ रुपैयाँ बोक्नुपर्नेछ ।

आजको नयाँ पत्रिकामा खबर छ ।

सिसडोल भरिँदा उठेन फोहोर, शहर दुर्गन्धित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सिसडोल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More