स्मरणमा गोर्खा–बङ्गाल युद्ध : नेपाली सेनाले सबैभन्दा ठूलो जीत हातपारेको दिन

23 January, 2021 20:14 | जन सरोकार | comments | 29400 Views
ऐतिहासिक मकवानपुर गढी

आज माघ १० गते, विदेशी सेनासँग नेपाली सेनाले लडाइँ लडेर सबैभन्दा ठूलो जीत हासिल गरेको पहलो युद्ध भएको दिन अर्थात २५८औँ विजयोत्सव । नेपाललाई जितेर लुटपाट मच्चाउन आएको विदेशी सेनालाई नेपाली सेनाले पराजित गरेको आजको दिन नेपाललाई स्वतन्त्र मुलुकका रुपमा स्थापित गराउन महत्वपूर्ण दिन भएको इतिहासकारहरु बताउँछन् ।

इतिहासकारहरुका अनुसार सो लडाइँमा बङ्गाली सेनाबाट जफत गरिएका हातहतियारहरुको कारण नै गोर्खाली सेनाले नेपाल एकीकरण अभियान सफल बनाएका थिए भने नेपाली सेना व्यवस्थित हुने अवसर प्राप्त भएको थियो । माघ १० नेपालको इतिहासमा गर्विलो दिन भएको उनीहरुको भनाइ छ । नेपाली सेनाले विदेशी सेनासँग लडेर सबैभन्दा धेरैको सङ्ख्यामा हताहती गरेको र ठूलो परिमाणमा हातहतियार कब्जा गरेको दिनका रुपमा माघ १० गतेलाई विजयोत्सवको रुपमा मनाउने गरिन्छ ।

विसं १८१९ साल भदौ ९ गते गोर्खाली सेनाबाट मकवानपुरे सेना पराजित भएपछि विशाल मकवानपुर राज्य गोर्खामा विलय हुन पुग्यो । लडाइँमा गोर्खालीसँग हारेर भागेका मकवानपुरे राजा दिग्बन्धन सेन र मन्त्री कनकसिंह बाँनियाहरुको अनुरोधमा बङ्गाली बादशाह मिरकासिमले अङ्ग्रेजहरुसँग लड्नका लागि तयार परिएको तीन हजार सैनिक तथा अत्याधुनिक हातहतियारको परीक्षणसमेत हुने ठानेर आजभन्दा २५८ वर्षअघि १८१९ पुस २७ गते युरोपियन मूलका सेना प्रमुख गुरगिन खाँको नेतृत्वमा तीन हजार सेना तथा भरियासमेत मकवानपुर पठाए ।

  

मकवानपुरसँगको लडाइँ जितेर काठमाँडौँ उपत्यका छिर्ने र पशुपति, स्वयम्भूजस्ता क्षेत्रमा लुटपाट गर्ने योजना बङ्गाली फौजको थियो । मकवानपुरमा आएको त्यस बङ्गाली फौजले १२ दिनसम्म हर्नामाडीको चौकी तथा पशुपन्छी र अन्नपात कब्जा जमाएर बस्यो । गुरिल्ला युद्ध गर्न माहिर गोर्खाली सेनाले त्यो अवधिभर युद्धको तयारी र तालीम गर्न पायो । माघ ९ गते मध्यराति सम्पूर्ण तयारी सकेर गोर्खाली फौजले चारैतिरबाट आक्रमण ग¥यो ।

इतिहासकारहरुका अनुसार ४०० दक्ष र केही सामान्य सैनिक रहेको गोर्खालीले तीन हजार फौजको मिरकासिमको सेनामा हाहाकार मच्चाए । विसं १८१९ माघ ९ गते शुरु भएर १० गते बिहान सकिएको त्यस युद्धमा बङ्गालका तीन हजारमध्ये एक हजार ७०० सेना मारिए । नेपालका जम्मा ३० जनामात्र मारिए । आजभन्दा २५८ वर्षअघिको आजकै दिनको जीतपछि गोर्खाली सेनाले मिरकासिमका फौजबाट ५०० भन्दा धेरै राइफल र दुई ९कतै चार तोप हात पारेको उल्लेख छ० तोप हात पारेर चार गुल्म श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गुल्म बनायो । केही समयपछि पुरानो गोरख गुल्मसमेत स्थापना गर्न सफल भयो ।

इतिहासकारका अनुसार सो युद्धमा मकवानपुरगढीका सेना नायक सरदार नन्दु शाहको नेतृत्वमा ४०० सैनिक थिए । पछि पृथ्वीनारायणले थप ८०० सेनासमेत पठाएका थिए तर उनीहरु आइपुग्नुअगाडि लडाइँ सकिएको थियो । पहिलो विजयोत्सवमा सहभागी हुन पृथ्वीनारायण शाह स्वयम् यहाँ आएको जानकारहरु बताउँछन् ।

नेपाल एकीकरणको सुनौलो अवसरका रुपमा सैनिक इतिहासमा लेखिएको उक्त लडाइँ देशकै सबैभन्दा ठूलो गढीका रुपमा रहेको मकवानपुरगढी नजीकै शिखरकटेरीमा भएको बताइन्छ । विशाल मकवानपुरगढी मुसलमानी आक्रमणबाट बच्न भारतबाट भागेर आएका सेन वंशीय राजखलक तुला सेनले १००० सालमा निर्माण गरेको भनिए पनि यथेष्ट प्रमाण पुग्दैन । पुरातत्व विभागका तत्कालीन प्रमुख अनुसन्धान अधिकारी जनकलाल शर्मालाई उद्धृत गर्दै पुरातत्व विभागका अभिलेख विशेषज्ञ साफल्य अमात्यको २०२७ सालमा प्रकाशित प्रतिवेदनले एघारौँ शताब्दीमा मकवानपुर शक्तिशाली सेन राज्य बनिसकेको थियो भनेर लेखेको छ ।

कतिपय इतिहासकारहरुका अनुसार पनि नेपालका सेन वंशहरुको उद्गमस्थल मकवानपुर नै हो । पाल्पाका राजा मुकुन्द सेनले आफूलाई मकवानी भनेको कतिपय लेखोट तथा शिलालेखहरुमा पाइएकोलाई आधार मान्दा सेनहरु पाल्पाबाट मकवानपुर नभएर मकवानपुरबाट पाल्पा गएको मान्न सकिन्छ । सेनहरुको वंशावलीअनुसार १५०० सालतिर खाम सेन नाम गरेका राजाले पाल्पामा राज्य खडा गरेर सेन वंशको शुरुआत गरेका हुन् । मुकुन्द सेन तिनै खाम सेनका पनाति हुन् । खाम सेनका छोरा चन्द्र सेन, चन्द्र सेनका छोरा रुद्र सेन र रुद्र सेनका छोरा मुकुन्द सेन भएको उक्त वंशावलीमा उल्लेख छ ।

मकवानपुरको अध्ययन गर्न २०२७ सालमा अभिलेख विशेषज्ञ साफल्य अमात्यको नेतृत्वमा बनेको एक सरकारी टोलीले यहाँको वस्तु स्थिति, शिलालेख, ताम्रपत्र आदिको अध्ययन गरेर सरकारलाई बुझाएको प्रतिवेदनमा तुला सेनले मकवानपुरगढी निर्माण गरेर राज्य सम्हालेको उल्लेख छ । प्रतिवेदनले एक प्राचीन वंशावलीलाई उद्धृत गर्दै तुला सेनपछि यस गढीमा दलभञ्जन सेन, गजपति सेन, चन्द्र सेन, रुद्र सेन राजा भएको उल्लेख गरेको छ । यो माथि उल्लेख गरिएको पाल्पाली वंशमा मेल त खान्छ तर केही नाममा फरक र तिथि मितिमा एकरुपता नहुँदा अधिकांश इतिहासकारको मत बाझिएकाले ठोस र आधिकारिक धारणा निर्माण हुन सकेको छैन ।

अधिकांश इतिहासकारको मतैक्यता भने मुकुन्द सेनले राजकाज त्यागी सन्यास धारण गर्ने क्रममा विशाल सेन राज्यलाई आफ्ना चार छोरा र दुई नातिलाई बाँडिदिएपछि कान्छा छोरा लोहाङ सेनको भागमा मकवानपुर पर्न गयो । विसं १६१० मा लोहाङ सेनले आफ्ना पुर्खा तुला सेनले निर्माण गरेको किल्ला रहेको मकवानपुरगढीलाई नै आफ्नो राजधानी बनाएर स्वतन्त्र मकवानपुरको राजा भए ।

लोहाङ सेनसहित मकवानपुरमा राघव सेन, हरिहर सेन, शुभ सेन, माणिक सेन, हेमकर्ण सेन र दिग्बन्धन सेन गरी सात पुस्ताले २०९ वर्षसम्म शासन सञ्चालन गरेको पाइन्छ । विसं १८१९ भदौ ९ गते गोर्खाका राजा पृथ्वीनारायण शाहको फौजसँग पराजित भएपछि मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन भागेर सिन्धुलीगढी हुँदै बङ्गाल पुगेर त्यहाँका बादशाह मिर कासिमसँग गुहार मागेका हुन् । लडाइँ हारेर बङ्गालीहरु भागेपछि दिग्बन्धन सेन पृथ्वीनारायण शाहको कब्जामा परेका थिए । गोर्खामा नजरबन्ध रहेको अवस्थामा उनको निधन भएको इतिहासकार बताउँछन् ।

विसं १७९० मा गद्दी सम्हालेका २६ वर्षसम्म मकवानपुरको राजा भएका हेमकर्ण सेनका छोरा तथा पृथ्वीनारायणका जेठान थिए दिग्बन्धन सेन । राजा हेमकर्णकी छोरी इन्द्रकुमारी सेनसँग गोरखाका युवराज छँदा पृथ्वीनारायण शाहको विवाह भएको थियो । १८१६ सालमा हेमकर्ण सेनको मृत्युपछि मकवानपुरको गद्दीमा बसेका दिग्बन्धन सेन राजा भएको दुई वर्ष नपुग्दै पृथ्वीनारायणको आक्रमणमा राज्यच्युत भएर गोर्खामा नजरबन्दमा अन्तिम श्वास फेर्न विवश भए ।

प्रा दिनेशराज पन्तले मकवानपुरगढीका बारेमा लेखेका एक लेखका अनुसार विसं १७९४ मा पृथ्वीनारायणको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भयो । हेमकर्ण सेनका छोरा दिग्बन्धनसँग पृथ्वीनारायणको सम्बन्ध राम्रो भएन । हेमकर्णले कन्यादानका समयमा छोरीलाई गजमोतीको हार लगाइदिएका थिए र दुलाहादुलहीलाई एकदन्ता हात्तीमा चढाएका थिए ।

पृथ्वीनारायणले ती हार र हात्ती माग गर्दा दिग्बन्धनसँग झगडा प¥यो र पृथ्वीनारायण फर्केका थिए । पृथ्वीनारायणलाई सासू अर्थात् हेमकर्ण सेनकी रानीले निकै चोट पु¥याउने गरी भनेको वंशावलीअनुसार थाहा पाउन सकिन्छ । पृथ्वीनारायण राज्य विस्तारमा थप उत्साहित हुँदै गोर्खा फर्केका थिए । उनलाई मकवानपुर घटनाबाट हीनताबोध वा ग्लानी हैन नेपाल एकीकरण गर्ने प्रेरणा प्राप्त भएको वंशावलीबाट थाहा पाउन सकिन्छ ।

पृथ्वीनारायणले मकवानपुरमा हमला गर्ने विचार गर्नाको अर्को कारण नेपाल खाल्डोलाई नाकाबन्दी गरेर गलाउने र गोर्खामा मिलाउने पृथ्वीनारायणको रणनीतिलाई मकवानपुरले चुनौती दिएको थियो । नाकाबन्दी गर्दा मकवानपुरले व्यापार गर्न नपाउँदा मकवानपुरमा नकारात्मक प्रभाव पर्ने देखेर पनि मकवानपुरले गोर्खालाई सहयोग गरेन । त्यसमा पनि पृथ्वीनारायण र दिगबन्धनबीच सम्बन्ध पनि खासै राम्रो थिएन । त्यसपछि भने पृथ्वीनारायण मकवानपुर कुनै पनि हालतमा जित्नुपर्छ भनी सैनिक परिचालन गर्ने निर्णयमा पुगे । विसं १८१९ सालमा शुरप्रताप शाहको नेतृत्वमा एक हजार १०० गोर्खाली सेना मकवानपुर पठाइयो । शुरप्रतापसँगै महोद्दामकीर्ति शाह, दलमर्दन शाह, रणरूद्र शाह, नन्दु शाह, काजी वंशराज पाण्डे, काजी कहरसिंह बस्नेत, काजी नरसिंह बस्नेत तथा काजी अभिमानसिंह बस्नेतको नेतृत्वको गोर्खाली सेनाले मकवानपुरमाथि आक्रमण ग¥यो ।

मकवानपुरगढीको इतिहासका जानकार केदार न्यौपानेका अनुसार मकवानपुरका राजा दिग्बन्धन तथा मन्त्री कनकसिंह बानियाँले परिवारलाई सुरक्षित ठाउँमा पठाइसकेका थिए । कतिपय सक्षम लडाकु पनि उनीहरुको सुरक्षामा लगाइएकाले मकवानपुरे सेना कमजोर थियो तापनि मकवानपुरे सेनाले बहादुरीसाथ लडे र ५०० जनाको ज्यान गुमाउँदै मकवानपुरले लडाइँ हा¥यो । लडाइँ हारिने डरले राजा दिग्बन्धन तथा मन्त्री कनकसिंह भागेर हरिहरपुरगढीतर्फ लागिसकेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More