हजारौं शब्दले नबोल्ने कुरा बोल्छ एउटै कार्टुनले

1 March, 2021 00:17 | राजनीति | comments | 23700 Views

कार्टुन पत्रकारिताको अभिन्न अंग हो । एउटा सानो चित्रले राजनीतिक तथा सामाजिक विकृति, विसंगति बिरुद्ध दह्रो व्यंग्यका साथ सन्देश दिने भएकाले यो विश्वभर प्रचलित छ । नेपालमा वाकस्वतन्त्रता कुण्ठित भएका समयमा पनि कार्टुनद्वारा कडा व्यंग्य प्रहार हुन्थ्यो । कार्टुनले हजारौं शब्दले व्यक्त गर्न नसक्ने आवाज बोल्ने हुँदा यो पत्रकारिताको एउटा अभिन्न अंग बनेको छ ।

कार्टुन र पत्रकारिताका विषयमा आइतबार कार्टुनिष्ट क्लब अफ नेपालले राजधानीमा आयोजना गरेको ‘कार्टुन पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक बहस कार्यक्रममा सहभागी वक्ताले राजनीतिक दलले सत्ताको लक्ष्य हासिल गर्न सञ्चार क्षेत्रलाई प्रयोग गर्ने गरेको बताएका छन् । उनीहरुले लक्ष्य पूरा हुनेवित्तिकै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित बनाउने वातावरण तयार गर्ने प्रवृत्तिविरुद्ध एकजुट हुनुपर्ने बताए । अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउँदा सिर्जनशीलतामा असर पर्ने जिकिर गरेका छन् ।

  

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले प्रेसमात्र होइन, फ्रि प्रेस र आलोचनात्मक कार्टुनको माध्यमबाट सञ्चारक्षेत्रले खबरदारी गरिरहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सेवकको जस्तो पारा देखाउने पत्रकारिता र कार्टुनमा झल्किनु हुँदैन ।” उहाँले सञ्चारमाध्यमले विसङ्गतिमाथि खबरदारी गर्दा सार्वजनिक महत्वको विषय हुनुपर्ने तथा बदनियत नराखी जनतालाई सुसूचित गर्नका लागि आलोचनात्मक हुँदा कानूनको बन्धनमा पार्न नहुने विचार व्यक्त गर्नुभयो । गाउँलेले सञ्चार तथा कार्टुन क्षेत्रका सबैले नियम कानूनको बारेमा पनि जानकारी राख्दै सार्वजनिक हितका लागि आवाज उठाउन छोड्न नहुनेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले देशको ठूला पदमा रहेका व्यक्तित्वसँगको पहुँचसम्म पुग्दा सुरक्षा निकायको थुप्रै घेराको सामना र नियम मान्दै हिँड्नुपर्ने अवस्था विद्यमान रहेकोले मुलुकमा गणतन्त्र आएको आभास नै नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयोे, “सरकारले सञ्चार माध्यममार्फत भक्तिगानको मात्र अपेक्षा राख्ने, आलोचना सुन्नै नसक्ने प्रवृत्ति छ । आलोचनाले कमजोरी सुधार्न मद्दत पुर्याउँछ भन्ने सोचको विकास गर्नुपर्छ ।” उहाँले लोकतन्त्रको सौन्दर्य नै अभिव्यक्ति स्वतन्त्रता रहेको धारणा राख्दै आलोचनात्मक चेतले समाजलाई गतिशील र विकसित बनाउने विचार व्यक्त गर्नुभयोे ।

कार्टुनिष्ट क्लबका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले कार्टुन सत्ताको जहिले प्रतिपक्ष हुने जनाउँदै समाज, राजनीति तथा सार्वजनिक विषयमा भइरहने विकृति विसङ्गतिविरुद्ध यो सशक्त माध्यम भएको बताउनुभयो । उहाँले सूचनाको बलियो पाटो कार्टुन बनाएर छाप्नेबेला सम्पादकले कार्टुन छापेकै आधारमा कारवाहीमा परिन्छ कि भन्ने डरका कारण व्यापक छलफलपछि मात्र छापिने अवस्थामा कार्टुनिस्टले काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,“यो अवस्था राजधानीभन्दा पनि मोफसलका कार्टुनिस्टले बढी सास्ती भोग्नुपरेको छ ।”

कार्यक्रममा नेपाल ललितकला पत्रकार समाज (सोेफाज) का अध्यक्ष केशवराज खनालले अभिव्यक्ति स्वतन्त्रताको हनन हुँदा कार्टुनको माध्यमबाटै आलोचनात्मक सूचना, जानकारी प्रवाह गर्ने कार्टुनिस्ट नै पहिलो निशानामा पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कार्टुन दृश्यभाषा भएकाले सबै तह र तप्काका मानिसले यसको विचार र भावपक्ष सहजै बुझ्नसक्ने भएकाले खबरदारीको सशक्त माध्यम बन्न गएको छ ।” उहाँले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने नियन्त्रणमुखी कानून बन्न नहुने विचार व्यक्त गर्नुभयो ।

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले विगतमा पत्रिकामा मात्रै छापिने कार्टुनलाई अहिले एफएम रेडियो तथा टेलिभिजनले समेत पढ्ने गरेको प्रसङ्ग सम्झँदै कार्टुनको महत्व व्यापक बन्दै गएको बताउनुभयो । उहाँले समाज रूपान्तरणमा कार्टुनले आवश्यकतानुसार आफ्नो भूमिका निर्वाह गर्दै आइरहेकाले अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउन नहुनेमा जोड दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More