हराउँदो मानवीय स्वाभाव- अहंकार र दम्भ प्रदर्शनले कुबाटोको यात्रा

1 February, 2020 20:50 | बिचार | comments | 37950 Views

मानिसको कोमल मनले सबै कुरा महसुस गर्नसक्छ । आफ्नो सुखमा रमाउने मानिस अरुको पीडालाई आफ्नै पीडा सम्झन्छ अनि अरुको दुःख–कष्टमा द्रवित भएर पीडाले छटपटाउने र अरुकै पीडा कम गर्न आफूले दुःख–कष्ट सहने मानवीय स्वभाव रहेको शास्त्रीय मान्यता हो ।

आजभोलि भने अरुको पीडा महसुस गरेर त्यो पीडा कम गर्ने दायित्व लिएकाहरुमा पीडाभाव नै प्रकट हुन्न, उनीहरुमा केवल शक्तिको अहंकार छ । तैपनि अरुको पीडा कम गर्न आफ्नो सुख–सयल, ठाँट सबै त्यागेर मरिमेटेर लागिपर्नेहरु हाम्रै देशमा छन् ।

सानो उदाहरण कलाकारद्वय धुर्मुस–सुन्तलीलाई लिन सकिन्छ । उनीहरु काँचको पर्दाको नाम–दाम सबै त्यागेर मानवीय सेवामा लागे । जनतालाई टेलिभिजनबाट हँसाइरहेका उनीहरुको यात्रा २०७२ सालको भूकम्पपछि मोडियो । भूकम्प पीडितको पीडा कम गर्न बस्ती बनाएका उनीहरुको पीडा अरु बढ्यो– देश विकासको भोक जाग्यो, जनतालाई आव्हान गरेरै चारवटा एकीकृत बस्ती बनाइदिए, जुन सरकारले पनि बनाउन सकेको छैन ।

  

अहिले उनीहरु भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाा निर्माणमा जुटेका छन्, नेपालमा बढ्दै गएको खेल लोकप्रियता र यसले अन्तर्राष्ट्रिय सतरमा दिलाएको प्रतिष्ठाले उनीहरुको मनमा सकारात्मक सन्देश प्रवाह भयो, सरकारहरुले चासो नदिएपछि उनीहरु लागे । अहिले निर्माणकार्य चलिरहेको छ ।

मानवीय सम्वेदनहील भावना जागृत भएका धुर्मुस–सुन्तली जस्तै अरु धरै कर्मवीरहरु छन् नेपालमा, जो अरुको पीडा कम गर्न आफू पीडा भोग्न तयार छन् । देशका खर्बपतिहरुले कुनै चासो नदिएको क्षेत्रमा यी सपुतहरु चन्दा उठाएरै जनताको पीडा कम गर्न लागिपरेका छन् ।

यही हो मानवीय सम्वेदनशील भावना जागेको– जो कुपित प्रकृतिका कारण हुनगएको क्षति र हिंसा उत्तेजित भएर मच्चिएको रक्तपातको हृदयविदारक घटनाले पीडा भोग्न परेकाहरुलाई शब्दले हैन कर्मले सघाउँछन्– आफूले पीडा भोगेर भए पनि । अनि यिनीहरुलाई नै लगाइन्छ अनेक लाञ्छना र गरिन्छ अबरोध । अझ जीवन नै समाप्त पार्ने प्रयास गरिन्छ ।

आफ्नो समाज र देशको पीडा कमगर्न आफैं पीडा भोग्दै जेलनेल सहेर आत्मा नै समर्पण गरेर शहीद हुनेहरू र देशकै निमित्त आजीवन चिन्तित भएर चिन्तन गर्ने समाजशास्त्री, अर्थशास्त्री वा शिक्षाशास्त्रीहरूले देश–समाजको विग्रदो अवस्थामा कम पीडा अनुभव गर्दैनन् । भावुक हृदयका कवि र लेखकहरूले करुणारसमा काव्यमय रचना गरेर यस्तो पीडा कम गर्न कोसिस गर्छन । कसैले विद्रोह गरेर पीडा कम गर्न उद्यत हुन्छन् । इतिहासका पृष्टहरूमा यस्तो असह्य पीडा खपेर बसेका व्यक्तित्वको जीवनवृत्तले ठूलठूला ऐतिहासिक महापुरुषहरू आफ्नो देश, समाज र विश्वको कल्याणका निमित्त छटपटिएर विवश भएर पीडित भएका र अमूल्य जीवन कालकोठरीमा विताएका छन् ।

नेल्सन मण्डेलाले दक्षिण अफ्रिकामा मच्चिइरहेको रंगभेदबिरुद्धको आन्दोलनलाई २७ वर्ष जेलको कालकोठरीमा बिताएर विजय प्राप्त गरे । आज मण्डेलाको भौतिक देह यो संसारमा नभएपनि समकालीन विश्व राजनीतिका श्रेष्ठ राजनीतिज्ञका रुपमा स्थापित भएका छन् । उनले आन्दोलन सफल पारेर दक्षिण अफ्रिकालाई रंगभेदबाट मुक्त मात्र गराएनन् कि त्यहाँ हुनसक्ने काला र गोराको अर्को द्वन्द्वलाई मेलमिलापको नीतिद्वारा पूर्णबिराम लगाइदिए । आफूले सत्ताको लोभ गरेनन् ।

यो आधुनिक कालको एउटा त्यागको नमूना हो, अरुको पीडालाई आफ्नो पीडा ठानेर स्वीकार्ने योद्धाको जीवन हो र यस्ता योद्धाहरु नेपालले पनि खोजिरहेको छ । यहाँ पनि जेल भोगेका नेताहरुको कमी छैन । उनीहरु आन्दोलनबाट स्थापित पनि भएका छन् तर उनीहरुले अरुको पीडा महसुस नै गर्न सकेनन् । आफूले जेल बसेको पीडा मात्र सम्झे र आफ्नै मात्र समृद्धिको सोपान ठड्याउँन लागिपरे । नेताहरुको यस्तो चरित्रले आम जनता भने मानसिक पीडामा परेका छन् ।

मानसिक पीडा थरिथरिका हुन्छन् । कति व्यक्त गर्न सकिन्छ, कति सकिंदैनन् । नेपाली जनताको मानसिक पीडा व्यक्त भएको पनि छ र छैन पनि । किनभने सुन्नेले नसुनेपछि एक्लै कराउनुको अर्थ ‘बहुला’ हुनु हो । त्यसैले त विद्वानहरुलाई दुत्कारिन्छ, राम्रो होस् भनेर सल्लाह दिनेलाई लखेटिन्छ– यहाँ माहुरीहरु अरिंगालको शिकार भैरहेका छन् । आजमात्र हैन सदियौं अघिदेखि नै यस्ता पीडा व्यक्त गर्ने विद्वान, दार्शनिकहरू, लेखक, कवि र साधकहरू शासनबाट त पीडित थिए नै परिवारबाट समेत पीडित हुन्छन् ।

यी सब किन भैरहेको छ त ? के आधुनिक काल, के पैराणिक काल मुलुकमा असल शालन भएन भने सबभन्दा बढी पीडा विद्वानहरुले भोग्नुपर्छ । अरुलाई पीडा दिनेहरुलाई नैतिकहीन भनिन्छ र त्यस्तालाई मानिस पनि भन्न हच्किन्छन् विद्वान, दार्शनिकहरु । किनभने मानिसको सवैभन्दा ठूलो सम्पत्ति उसको नैतिकता हो । नैतिक पतन भयो भने उसको मानव हुनुका नाताले सामाजिक अस्तित्व रहँदैन । तर पनि उसमा सम्पत्तिको दम्भले आफूलाई स्थापित गराउने अनैतिक सोच हावी हुन्छ र अन्ततः उसले मलामी समेत नपाउने स्थिति बन्छ ।

हरेक व्यक्तिको नैतिकतासंग परिवार, समाजहुँदै राष्ट्र र विश्व ब्रह्माण्ड जोडिएको छ । पतीत भएको व्यक्तिले कहीं पनि स्थान नपाएर च्यूत हुने कारण आफूलाई मात्र नभएर अरुका लागि पनि केही गर्नुपर्ने र नैतिकतामा दृढ रहेर आफ्नो कर्तव्य शास्त्रसम्मत निर्वाह गर्न व्यवस्थित गरिएको जीवनशैलीका अनेक विधिहरूबाट विमुख हुनु हो । कमसेकम हाम्रा परम्परागत मूल्य–मान्यता र स्थापित सामाजिक रीतिरिवाजलाई मनन् गर्नसके कोही नैतिक रुपमा पतन हुनु पर्दैन, तर यसका लागि त्यस्तै शिक्षाको आवश्यकता छ । आजभोलि बाबुआमा आफ्ना छोराछोरीलाई परम्परागत शिक्षा दिनुको साटो हातमा मोबाइल थमाएर बोझ हटेकोमा खुसी हुन्छन्– जसको परिणाम भोलि तिनै छोराछोरीले बुढेसकालमा सडकमा लगेर मिल्काउँछन् । त्यतिबेला पछुताउनुको कुनै अर्थ रहँदैन ।

बाटोघाटो, पाटीपौवा, पानी–पधेरो–पोखरी, चौतारी निर्माण गर्ने चेतना पुर्खाले दिएका थिए । नेपालमा अघिल्लो पुस्तासम्म यसको केही अंश कताकती कायम रहेको देखिन्छ । दाङका ७५ वर्षीया चन्द्रबहादुर वलीले त्यही शिक्षा पाएका थिए र एक्लैले चार वर्ष लगाएर डाँडो खोपेर सडक बनाए । आजको पुस्तामा यो गुण र स्वाभाव छ ? छैन, किनभने उ अर्कै बाटोमा लागेको छ । हिंड्नुपर्ने बाटो छोडेर कुबाटो लागेपछि आफू पनि पीडित बन्दैछ र अरुलाई पनि पीडा दिंदैछ अनि उसको पीडा कम गर्न खोज्नेलाई नै थप पीडा दिंदैछ ।

आजभोलि हरेक घरमा यस्तै समस्या छ । दुई पुस्ताको अन्तरमा आयातित शिक्षा र संस्कृतिले पर्खाल खडा गरिदिएको छ, जसले हरेकलाई पीडित बनाएको छ । शासनदेखि परिवारसम्मै रुढीवाद र आधुनिकताको पर्खाल छ– परम्परालाई रुढीवाद भनेर आधुनिकताको नाममा आयातित शिक्षा, धर्म, संस्कृति अपनाउँदा आफ्नोपन गुमाएर आफैं भौतारिइरहेको मानिसले अरुको पीडामा के दुःख महसुस गर्ला र ?

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More