हस्तिनापुरको कुकूरको कान्तिपुरको यात्रा

19 January, 2021 11:43 | बिचार | comments | 25200 Views
– तारानाथ सुवेदी –

कुकुरको इतिहास

कतिपय पाठक महोदयहरुलाई “यसपटक यो स्तम्भकारले अरु केही विषय र कसैलाई देख्नेछ, पाएनछ कुुकूरलाई कटाक्ष गरेर लेख्न पुगेछ” भन्ने पनि लाग्न सक्छ । तर विवेकशील, आदरणीय पाठकहरुले भने पक्कै बुझ्ने जानेको र अनुभूत गरेको हुनुपर्छ “कतिपय मान्छेले अरुकसैलाई गालीदिनु पर्दा, होच्याएर भन्नु पर्दा “कुकूर” भन्ने गर्छन् । तर कतिपय मान्छेलाई कुकूरसँग दाँजेर वा तुलना गरेर भन्यो भने कुकूर कै सिमान्त अपमान हुनेपनि ठहरिने रहेछ । त्यस्ता कोटीमा “यही, त्यही र फलानै पेशा व्यवसायी” भन्ने नभई प्राय केही विशिष्ट फाँट तिरका बाहेक सबैतिर त्यस्ता चरित्र, प्रवृत्ति, प्रकृतिका मानवाकृति भेटिने देखिने रहेछन्, जसको तुलना उच्च दक्ष तालिम प्राप्त वा विशिष्ट नस्ल (जाति वा वंश) कुकुर सँग मात्र होइन, सडकका वेवारीस (आवारा) कुकूरसँग तुलना गर्दा पनि त्यस्ता भूस्याहा कुकूरको पनि अपमान ठहरिने “मेरै सूक्ष्म अनुभव छ”

जेहोस् । कुकूरका इतिहास (उत्पत्ति, विकासक्रम, अर्थ, उपयोगिता वा प्रयोजनीयता) बारे त्यति नै आफु अनभिज्ञ रहेको पाउँछु जति राजनीति पेशा व्यवसायी नेताहरुका बारेमा आफुलाई पटक्कै अन्जान रहेको पाइरहेको छु । तर पनि झण्डै नियमित रुपमा विभिन्न पत्रपत्रिकाहरुमा दुई दशकभन्दा बढी समय देखी विभिन्न सत पात्र खलपात्रको प्रतिनिधि पात्र मानवकृतिका प्रणाीलाई बनाई हजार लेख लेख्दा हुने, एकपटक मान्छे सँगै विकास हुँदै आएको “कुकूर” भनेर हेलाँ गरीदै आइएको प्राणीलाई केन्द्र विन्दुमा राखेर लेख्न किन नहुने ? त्यसो गर्दा कोही कसै माथि अन्याय अपमान हुन्छ ? त्यही र त्यस्तै ठनाईबाट यस पटक त्यही हस्तिनापुरको कुकूरको कान्तिपुरको यात्रा “शिर्षकमा लेख्ने जमर्काे गरौंं भन्ने लाग्यो । तर शुरुमा नै “गुस्ताखी माफ” यस अर्थमा भन्नुपर्छ किनकि कुनै व्यक्तिको चरित्र, गतिविधि सँग मिल्दो देखिन सक्ला ? तर त्यस्तो भए, लागे नितान्त संयोग मान्नु ठान्नु पर्नेछ ।

  

माथि नै उल्लेख गरिएकै कुरा दोहो¥याउँदै कुकूरको उत्पत्ति, विकासक्रम, जाति, वंश बारे मलाई थाहा छैन । यत्ति मात्रैथाहा छ, कुकूर स्तनधारी प्राणी हो । यसलाई नै मानिसले पहिलो घरपालुवा जनावर बनाएका हुन् । प्रागौतिहासिककाल जुन बेला मनुष्यजाति गुफा हरुमा बस्दथे – मा कुकुरका चिन्ह कोरिएका थिए । समयका हिसाबले त्यो झण्डै ५० हजार वर्ष पहिलोको कुरा अनुमान गरिएको थियो । मिश्र(इजिष्ट) का चार–पाँचहजार वर्षका भित्ते चित्रहरुमा कुुकूरका विभिन्न जातिहरुको चित्रमा कुने लामो पुच्छर भएका (ग्रेहण्ड) छोटो पुच्छर र खुट्टा भएका (टेरियर) जातिका कुकूर थिए भन्ने देखिन्छ ।

आजपनि अमेरिकाको वाशिङ्गटन डी.सी. देखि न्यूयोर्क सम्म त्यही ग्रहण्ट कुकूरकै नामबाट बससेवा कम्पनी चलेको देखियो (अन्यत्र पनि चल्छ क्यार ! त्यो थाहा भएन) ई.पू.५–६ सय वर्ष पहिलेको यूनान रोममा लेखिएका साहित्यमा “कुकूर पाल्ने आम प्रचलन थियो” भन्ने उल्लेख पाइन्छ । (स्विट्जरल्याण्ड आयरल्याण्डतिरका आदिबासीहरु कुकूर पाल्दथे, तिनैलाई प्रयोग गरि शिकार गर्थे तिनैको मासु खान्थे भन्ने पढेको थिए । आज पनि मध्य एशिया, दक्षिण पूर्वी एशियाली, मुलूकमा कुकूरलाई मासुको निमित्त पालिन्छ भन्ने कुरा फिलिपिन्समा तालीममा गएको बेला एकजना स्थानीय मुस्लीमभित्र केटीले सहजरुपमा बनाएकी थिइन् ।

भारत वर्षकै सन्दर्भको कुरा गर्दा वैदिक काल जस्लाई इ.पू. ३–५ हजार (वर्ष मानिन्छ) ऋग्वेदमाईन्द्रको साथमा “सारमा” नामको कुकूर भएको, उसाई देवगुरु वृहस्पतिका हराएका गाई खोज्न लगाइएको कथा र यमराजका “श्याम, सवल” नामक दुई कुकूरको नाम पुराणहरुमा उल्लेख भएको पाइन्छ ।

कुकूरको त्यो ऐतिहासिक पाटो र बाटो बाट कुकूरको गुण, चरित्र, स्वभावको चर्चा गर्नुपर्दा, उसको सुँघ्ने शक्ति, स्वामिभक्ति, अद्वीतीय र अतुलनीय मानिन्छ । यति सम्म कि ४८ घण्टा अगाडिको पाइला सुँघ्दै र पछयाउँदै अपराधी सहज पत्ता लगाउने कुकूरको शक्तिको कारण विश्वमा नै अपराधी पत्ता लगाउनेमा कुकूरलाई तालिम दिइन् । विषेश स्वामिभक्तिको असाधारण र अतुलनीय शक्ति र क्षमताको कारण कुकूरलाई विशिष्ट गुण, चरित्रको प्राणीमा लिइन्छ ।

जहाँ सम्म कुकूरको जाति, वंश, गुण, चरित्र, स्वभाव, रुप आदि इत्यादिको कुरा छ त्यो र माथिका कुराको सन्दर्भ छ छोरी अभिज्ञाले सन् २००९–०१० तिर भनेको संक्षिप्त उत्तर “न्यूयोर्कमा जति देश जाति उत्पत्ति वंश र मुलूकका मानिस होलान्, त्यति नै उत्पत्ति, मूल, वंंश, जातिका, कुकूर न्यूयोर्कको म्यान हाटनमा देख्न पाइन्छ” । उनको भनाईलाई विभिन्न क्यानल (कुकूर) का लागि छुट्याईएका पार्कमा देखिने विविध खालका कुकूरले संपुष्टि गर्ने देखियो । तर प्रसङ्ग हस्तिनापुरको कुकूरको कान्तिपुरमा भएको यात्रा मुख्य चर्चाको हो । त्यसैले कुकूर, उत्पत्ति र विकासक्रम एवं चरित्र स्वभावबारे यत्ती !

कान्तिपुर यात्राको पृष्ठभूमि

“हस्तिनापुरका महाराजा घृतराष्ट्र आफ्ना एकसय छोराको मृत्यु भएपछि जब गान्धारी र कुन्तीकासाथ वनवास गए त्यसबेला पनि एउटा कुकूरपछि पछि गएको थियो” कथा सुनेको थिएँ । तर मैले महाभारतको मूल ग्रन्थमा त्यस्तो देखिन । पछि चव्रmवर्ती राजगोपालचारीको “महाभारत कथा” नामक पुस्तक भेटाएर पढें । उनले लेखेको कथा यस्तो छ “युधिष्ठीरलाई जब आफ्ना सबै बन्धु, नाता, कुटुम्ब महाभारतको युद्धमा (कुरुक्षेत्रमा) मारिए, आफ्ना जेठाबाबु महाराजा धृतराष्ट्रले जिम्मा लगाएर गएको हस्तिनापुरको राजपाठबाट वैराग्य लाग्दै गएको थियो । त्यसैबीच वृद्ध एवं अन्धा पूर्व महाराज धृतराष्ट्रले हस्तिनापुर नरेश युधिष्ठीर सँग वनबास गएर तपस्या गर्र्दै स्वर्गतिर जाने अनुमति मागे । पाण्डव माता कुन्ती र ठूली (जेठी) आमा गान्घारीपनि वृद्ध पूर्व महाराजाको साथमा जाने अठोट गरे । युधिष्ठीरले निकै कारुणिक शैलीमा उनीहरुलाई संझाई बुझाई गरेर रोक्न खोजे । आखीर हारखाएर विदादिए । त्यसरी आमा कुन्ती र गान्धारीलाई पछि लगाएर धृतराष्ट्र .(पूर्वमहाराजा) वनतिर तपस्या गर्दै देह त्याग गर्ने “अनुमति लिएर गई सकेपछि युधिष्ठिर महाराजालाई” अब कुनै हालतमा राज्य भोग नगर्ने अठोट गरे । देव देवीहरुको दर्शन गर्दै गराउँदै चारै भाईहरु र द्रौपदिलाई साथ लिइ उत्तरापन्थ तिर लागे ।

जव हिमालय चढ्दै गए, चारै भाई र दौपद्री एक एक गर्दै मर्दै गए । तर धर्मराज युधिष्ठिर पटक्कै विचलित नभई अगाडि बढ्दै गए । हिमालमा पुग्दा उनको साथी कुकूर मात्र लिखुरलिखुर पछि लागिरहेको थियो । हिमालको टाकुरा (शिखर)मा पुग्दा देवदूतहरु उनलाई सशरीर लैजान दिव्य रथलिएर आई रहेको भेटे । उनीहरुले युधिष्ठीरलाई रथमा बस्न आग्रह गरे । उनी रथमा बस्दै कुकूरलाई पनि चढाउन खोजे । देवदूतहरुले कुकूर लाई लैजान मानेनन् । युधष्ठिरले “त्यसो भए म पनि जान्न” भनें । देवदूतहरुले “कुकूरलाई सशरीर देवलोक लैजान नमिल्ने” भने पछि युधिष्ठिर रथबाट ओर्लिएर अगाडि बढ्न थाले । आखीर देवदूत बनेर आएका इन्द्रले आफ्नो सक्कली स्वरुप प्रकट गरे । युधिष्ठिरको परीक्षा लिन “धर्मदेव” स्वयं कुकूर बनेर आएका रहेछन् । त्यसैले कुकूर सहित युधिष्ठिर देवलोक पुगे । त्यहाँ पुग्दा बाटोमा परलोक गएका चारैभाई र द्रौपदी मात्र नभई दुर्याेधन, कृतवर्मा, सात्वकी, लगायतलाई देखे रे! ” कथा धेरै लामो छ । त्यतातिर नजाउँ । यहाँ युधिष्ठिरको नभई कुकूरको महत्व दर्शाएर चर्चा गर्न खोजिएको छ । त्यसैले “कुकूर पनि सशरीर युधिष्ठीर सँगै जसरी स्वर्ग पुगेको थियो” त्यसको बाहेक थप चर्चा नगरौं ।

कुकूर र देव वा यमदूत मानिएको महाभारतमा मात्र होइन । कुकूरलाई आजको कालखण्ड पर्यन्त पनि हामीले यमदूतको रुपमा वर्षभरी , घरमा पाल्ने र एकदिन (यभ पञ्चकका दिन) उस्लाई पूजा गर्ने र मीठो मीठो खाना खुवाएर माला लगाउने, माया र सम्मान गर्ने गर्दै आएका छौं । त्यही कारणले होला, आजका, हस्तिनापुरका वहालवाला महाराजाले पनि अरुले भन्दाबढी आफ्ना घर गोठभित्र अति स्वामिभक्त “एल्सिसीयन” पालेका रहेछन् । उनलाई अरुभन्दा त्यही वंशको (एल्सिसीयन) जातको नै बढी विश्वसनीय लाग्दो रहेछ ।

यसै प्रसङ्गमा अर्काे प्रसङ्ग पनि जोडिहालौं । उहिले उहिलेका राजा महाराजाका दरवारका राजकुमारीहरुले आफ्ना प्रियतमहरुलाई ‘गुप्त सन्देश’ पठाउने र ‘पाउने’ विश्वसनीय सन्देश बाहकको रुपमा मात्र होइन । कतिपय युद्धहरुका समयमा समेत “गुप्तचरीको” काममा परेवाहरु र कुकूरहरुलाई पनि प्रयोग गरिएको पढिएको थियो । संस्कृत साहित्यका महाकवि कालिदासले त आफ्ना मालिक कुवेर(?) ले तोकिदिएको” पत्नी सँग एकवर्ष सम्म टाढा भएर बस्नु पर्ने” सजाय काटीरहेको बेला असारको पहिलो दिन माथि आकाशमा आए छाएको मेघलाई (बादल) प्रियतमालाई “आफ्नो सन्देश बाहक” बनाएर पत्नी भेट्न पठाएको बडो मर्म स्पर्शी वर्णनले त विश्वसाहित्यमा नै उत्कृष्ट ठाउँ पाएको थियो ।

त्यस्तै संस्कृत साहित्यका अर्कामहाकवि भारवीले कीरातार्जुनीयम्मा भिल्ल (कुसुण्डा)ले कसरी कुशलता पूर्वक गुप्तचरी गरेर आफ्ना राजालाई कटू–राजनीतिको बाटो देखाएको थियो” भन्ने बडो सुन्दर वर्णन गरेको पाइन्छ ।

जेहोस्, हालवहाल वाला हस्तिनापुरका महाराजाले सायद त्यस्तै त्यस्तैबाट जाने सिकेर होला केही दिन पहिले देखी पटक पटक (पालैपालो) आफ्ना एल्सिसीयनहरुलाई “पशुपतिनाथकोे पनि दर्शन गर । बालुवाटार दरवारभित्र र त्यस्कै ढोका अगाडि तिर एउटी ‘भोटीनी कान्छी’ ले पनि निकै भोटे कुकूर पालेर लाजिम्पाट सल्लाघारी सम्मको नीदहराम गर्नेगरी तहल्का मच्चाएको” भन्ने हल्ला आइरहेको सुन्छु के रहेछ ? सुँघेर पनि आऊ” भनेर पठाएछन् । त्यसरी आउने पछिल्लो कुकूर उता कता “गलवान्” तिर पनि पुगेकोले उसलाई हस्तिनापुरले निकै वलवान् वा सुँघ्ने क्षमता अरुको भन्दा पनि बढी भएको ठानेको रहेछ क्यार ! उस्ले गूपचूपमा व्रmान्तिपुर प्रवेश गरेछ ।

त्यसरी “हस्तिनापुरका नवसम्राट महाराज”ले दृश्य अदृश्य विभिन्न लक्ष्य र उद्देश्यको भारी बोकाइएर “एक पन्थ धेरै काम” तोकेर पठाइएको एल्सिसीयन जव नेपाल सरहदा भित्र गुप्तरुपमा अवतरित भयो, ऊ बाटो र गन्तव्य थाहा नपाएर अलमलियो । ऊ सायद यसभन्दा पहिले देखिने गरी वा चिनिने गरी आएको थिएन । थियो भने संभवत २०५८ जेठ १९ गतेको नारायणहिटी हत्याकाण्डका वेला आएको हुन सक्दथ्यो । त्यसपछिको झण्डै दई दशकमा उपत्यका भित्र विष्णुमति र बागमतीमा धेरै मल, थोरै बाढी र जलवगिसकेकोले ऊ कताबाट पशुपति जाने, कसरी विभिन्न “..पति”को ढोकातिर जाने ? कसरी उनको दर्शन पाउने? वालुवाटार सरेको राजदरवार कता ? खुमलटार र बोहोराटारका ठुला साना दरबार कता ? खुमलटार र बोहरोटार पनि पुगेर त्यहाँको (नेपालका) ठुला साना दरवार हुँदै बुढानिलकण्ठ–जो सधै एउटै डडेल्नुको आडवलमा मस्त सुति सुस्ताई रहने, अलमस्त, बूढा मानिन्छन् दर्शनगरी प्रसाद पाए बोकेर आउनू” भनेर मालिकले जे कामहरु तोकेर पठाएका थिए, त्यो सबै कसरी फत्ते गर्ने ? त्यस बाहेक मालिकलाई उच्च हिमाली दृश्य मात्रै होइन, त्यहाँका मुक्तिनाथ, बदरिनाथ, केदारनाथका, पवित्रधामका पछाडिका गुफा कन्दराहरुपनि साह्रै प्यारा छन् । (त्यसैले त हाम्रा महाराज महानिर्वाचनको लठारोका बेला पनि दिनरात त्यस्ता ठाउँमा गएर ध्यानमग्न भई बसेका थिए । त्यही छिमेकमा साम्राज्य विस्तार कसरी गर्ने ? भन्ने ज्ञान आर्जन गर्न तल्लीन थिए ।) त्यसमा कसरी मद्दत पु¥याउने ?

नेपाली धरतीमा अवतरित भएपछि अलमलिएको हस्तिनापुरको यात्री उर्फ महासामन्तको एलसिसीयनलाई आफ्ना मालिकहरु आउँदादेखी नै सहजीकर्ताको जिम्मेदारी निर्वाह गर्ने गरी सल्लाघारी भित्रका” स्थायी बहुमुखी सहयोगीहरुले स्वागत गर्दै पथ प्रदर्शक(गाइड)को जिम्मेदारी निभाउन पुगेछन् । उनीहरुसँगै नेपाली डाँगारु पनि पुच्छर हल्लाउँदै पुगेछन् । गलाभरी मालाको भारी खादाको खातले त्यसरी अपूर्व रुपमा लादिएको हस्तिनापुरको नव आगन्तुक सामन्त महाराजको ताम झाम देखेपछि पशुपति देखी सबै “पति” सभापति जे जतिपनि “..पति” जोडिएका ठुलावडा छन्, ती सबैका ढोका फटाफट खुले । रातो कार्पेट ओछ्याइ शिष्टाचार दर्शनका लागि तिव्र प्रतिक्षारत “पति”हरुमध्ये कस्ले स्वागत भाषण दिने ? भन्ने समेत सबै तय भएको रहेछ । त्यही अनुसार सबै कार्य भयो ।

यद्यपि यो न कुनै सरकारी वा राज्यका कार्यकारीकोे औपचारिक भ्रमण थियो, न राष्ट्राध्यक्षको घोषित विशेष राजकीयदूत को ? यो त कान्तिपुरका कुकूरले हस्तिनापुरका दरवारभित्रको विशिष्ट कुकूरलाई गुपचुपमा बोलाएको, गरिएको पर्यटकीय भ्रमण मात्र थियो । थप केही थियो भने वालुवाटारतिरका डाँगालाई थाहा थियो वा सहजकर्ताहरु प्रयोक्तालाई मात्र थाहा थियो होला ।

यसै सन्दर्भमा रमाइलो संयोग नै भन्नु मान्नु पर्छ, जसरी हस्तिनापुरका नवसामन्त भनौं वा सम्राटले नेपालको मध्यक्षेत्रवर्ती हिमशिखरका आधार शिविरतिरको धार्मिक भ्रमण गरेका थिए, त्यसरी नै उनको कुकूरले पनि नेपालको पूर्वमा पर्ने महत्वपूर्ण हिमशिखरको आधारक्षेत्रको रणनीतिक यात्रा गरेर त्यस शिखराई हिन्दुस्तानीकरण गर्दै हस्तिनापुर पु¥याएको सुन्नु प¥यो ।

तर ठूलो हस्तिनापुरको कृपादृष्टिका लागि कान्तिपुरका हरेक काल खण्डका अधिशासक शासक देखी कमाउ ठाउँका साना ठूला प्रशासकको घरपालुवा डाँगाहरुको सिको गरेर होला ? हस्तिनापुर दरबारबाट आएको कुकूर लाई समेत नेपालका नव दरवारिया र तरवारियाका रछान चाहार्दै पालिए पोसिएका शक्तिशाली डाँगाहरुले पनि पुच्छर हल्लाउँदै स्वामीभक्ति प्रदर्शन गरेको सुनियो । सबैको जय होस् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More