हायात होटल अनिश्चितकालका लागि बन्द

18 June, 2019 23:45 |कर्पोरेट/पर्यटन | comments | 26550 Views

    राजधानीको पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द भएको छ । मजदूर आन्दोलनका कारण विगत छ दिनदेखि होटल सेवा प्रभावित भएको थियो ।

    adsads

    व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरेको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेन्जलाई पठाएको छ ।सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले गत जेठ ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन् । व्यवस्थापन पक्षले भने मजदूर बिनाशर्त काममा फर्किनुपर्ने अडान लिएको छ । दुवै पक्षको अडानका कारण होटल बन्द भएको हो । मजदूरको आन्दोलनका कारण होटल सञ्चालनको वातावरण नरहेकाले अनिश्चितकालका लागि सेवा बन्द गरिएको होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले राससलाई जानकारी दिनुभयो ।

    “प्रशासनले दुई पटक सूचना जारी गरी काममा फर्कनुस् भन्दा उहाँहरु (मजदूर, कर्मचारी)ले मान्नुुभएन, पाहुनाको सुरक्षा त गर्नैप¥यो, त्यसैकारण सेवा बन्द गरिएको हो, बुकिङ रद्द गरी यहाँ भएका पाहुनालाई अन्यत्र सारिएको छ,” उहाँले भन्नुभयो । मजदूर बिनाशर्त काममा फर्किएको अवस्थामा मात्रै होटल सञ्चालन गर्न सकिने व्यवस्थापनको तर्क छ । हायात इन्टरनेशनललाई सुरक्षाको सुनिश्चितता नभएसम्म सेवा सञ्चालनमा कठिन हुने निर्देशक परियारको भनाइ छ ।

    उहाँका अनुसार छ दिनदेखि होटलको सेवा प्रभावित हुदाँ दैनिक रु ५० लाखका दरले करीब रु चार करोडको क्षति भएको छ । होटल पूर्ण क्षमतामा सञ्चालनमा आउन करीब छ महिना लाग्ने बताइएको छ । मजदूरले खाइपाई आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरेकाले बाध्य भएर सङ्घर्षमा उत्रनुपरेको होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले बताउनुभयो ।

    होटलको ‘स्टे वार्ड’ का १५ कर्मचारी दुई दिन अनुपस्थित भएपछि गत जेठ २९ गते स्पष्टिकरण सोधिएको र सोही बहानामा मजदूरले आन्दोलन चर्काएको व्यवस्थापनको जिकिर छ । मजदूरले भने व्यवस्थापनले श्रम ऐनको पालना नगरी सुविधाको सट्टा जबरजस्ती पेल्न खोजेकाले समस्या आएको बताएका छन् । मजदूर र व्यवस्थापनबीचको टक्करले होटल बन्द हुने अवस्था सिर्जना हुनु मुलुकको पर्यटन क्षेत्रका लागि दुःखद् भएको व्यवसायीहरु बताउँछन् ।

    नेपाल भ्रमण वर्ष सन् २०२० अभियानको सन्दर्भमा पाँचतारे होटल बन्द हुनुले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश गएको छ । होटल व्यवसायीको छाता सङ्गठन (हान)ले सञ्चालनमा रहेको होटल बन्द हुनु दुःखद् भएको र सञ्चालनका लागि पहल गरिरहेको जनाएको छ । पछिल्लो समयमा होटल व्यवस्थापनले निरन्तर घाटा देखाएर सरकारी स्वामित्वको तारा गाउँ विकास समितिलाई कम सेयर दिएपछि होटल विवादित बन्दै आएको थियो । होटललाई सेयर संरचना परिवर्तन गरेर सरकारी सेयर ३९ प्रतिशतबाट नौ प्रतिशतमा झारेको र ३०४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ ।

    हायातको व्यवस्थापन भारतीय लगानीकर्ता राधेश्याम सर्राफ नेतृत्वले गर्दै आएको थियो । दुई सय ८० शय्याको होटलमा करीब ४०० मजदूर कार्यरत छन् । हायातमा रहेका पाहुनालाई दरवारमार्ग स्थित होटल याक एण्ड यतीमा सारिएको बताइएको छ । हानका अनुसार अहिले मुलुकभर १० वटा पाँचतारे होटल सञ्चालनमा छन् । उपत्यकामा मात्रै हायातसहित सात वटा पाँचतारे होटल सञ्चालनमा थिए । थप सात वटा पाँचतारे होटल छिट्टै सञ्चलनमा ल्याउने गरी निर्माण भइरहेको छ । काठमाडौँ बाहिर पोखरामा दुई तथा नेपालगञ्ज र भैरहवामा एक-एक वटा पाँचतारे होटल सञ्चालनमा छन् । अन्तर्राष्ट्रिय चेन होटल सेराटन, हिल्टनलगायत निर्माणका क्रममा छन् । केही महिनाअघि मेरियट होटल पनि सञ्चालनमा आएको छ ।

    जग्गा सरकारको, लालपुर्जा हायात होटलको

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!