हिजो डाक्टर जान नमान्ने कर्णाली चिकित्सा शिक्षा र अनुसन्धानको हब बन्दै

13 July, 2019 11:27 | जल/वातावरण/स्वास्थ्य | comments | 7200 Views

दुर्गम क्षेत्र कर्णालीमा काठमाडौं लगायतका शहर अनि विदेशमा पढेका चिकित्सकहरु जानै नमान्ने परम्परा रहेकामा अब भने सोही क्षेत्रमा विशेषज्ञ चिकित्सक उत्पादन हुने भएका छन् । चिकित्सा शिक्षा र अनुसन्धानको हब बन्दैछ कर्णाली।

adsads

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब चिकित्सा शिक्षाको स्नातक तहका (एमबीबीएस तथा बी फर्मा) पठन पाठन हुने पक्का भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाठ्यक्रमको मस्यौदा तयार गरेको छ ।

नेपाल मेडिकल काउन्सिलले हालै प्रतिष्ठानलाई जुम्लामा नै विशेषज्ञ चिकित्सक उत्पादन गर्न एमडीजीपी कार्यक्रम सञ्चालन गर्न अनुमति/स्वीकृति प्रदान गरेको थियो । अनुमतिसँगै जुम्लामा विशेषज्ञ चिकित्सक उत्पादन गर्ने बाटो खुला समेत भएको थियो । प्रतिष्ठानले एमबीबीएस तथा बी फर्मा तहको अध्ययन अध्यापन गराउने तयारी गर्दैछ ।

त्रिविवि चिकित्सा विज्ञान अध्ययन सस्थान, काठमाडौँ विश्वविद्यालय, विपी कोइराला चिकित्सा विज्ञान अध्ययन संस्थान धरान र पाटन चिकित्सा विज्ञान अध्ययन सस्थानको सो तहको पाठ्यक्रमभन्दा फरक पाठ्यक्रम प्रतिष्ठानले तयार पारेको हो ।

प्रतिष्ठानले ती चारवटा पाठ्यक्रमका राम्रा पक्षलाई समाहित गर्दै स्थानीय रोग, भूगोल तथा मातृ तथा शिशु मृत्यु दर घटाउन सहयोग हुने खालका पाँचवर्षे एमबीबीएस तथा स्थानीय जडिबुटीको उपयोग स्वदेशभित्र नै उपयोग गर्न औषधि विज्ञानको पाँचवर्षे नै बी फर्मा पाठ्यक्रम तयार गरेको कार्यक्रममा जानकारी दिइयो । जुम्लामा ती तहको पठनपाठनपछि चिकित्सक उत्पादन हुने र कर्णाली प्रदेशको गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा नयाँ फड्को मार्ने विश्वास गरिएको छ ।

प्रतिष्ठानद्वारा तयार पारिएका सो तहका पाठ्यक्रमलाई अन्तिमरूप दिन आयोजित कार्यक्रममा ती तहका पठनपाठनले जुम्लामा गुणस्तरीय चिकित्सक उत्पादन हुने र आगामी दिनमा यसले स्वास्थ्य, चिकित्सा शिक्षा र अनुसन्धानका क्षेत्रमा कोशेढुङ्गा सावित हुने जानकारी दिइयो ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जुम्लामा चिकित्सक उत्पादन गर्न सम्भव छ, यसका लागि मन्त्रालयबाट हुने सबै सहयोग हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कर्णाली अब चिकित्सा शिक्षा र अनुसन्धानको शैक्षिक हबका रूपमा विकास हुन्छ । कर्णालीवासीले गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा अकालमा ज्यान गुमाउनु पर्दैन । नयाँ युगको शुरुआत हुँदैछ ।”

उपप्रधानमन्त्री यादवले कर्णालीबाट बिरामी सुर्खेत, धनगढी, नेपालगञ्ज तथा काठमाडौं अन्यत्र पठाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्दै प्रतिष्ठानको क्षमतालाई विस्तार तथा सुदृढ गर्नुपर्ने बताउनुभयो । उहाँले स्नातक तहका शैक्षिक कार्यक्रम छिटो सञ्चालनमा ल्याउन निर्देशनसमेत दिनुभयो ।

सांसद सत्या पहाडीले समग्र कर्णाली प्रदेशको स्वास्थ्यस्थितिलाई माथि उठान प्रतिष्ठानले अहं भूमिका निर्वाह गरेको चर्चा गर्दै सन्तुलित विकास र सामाजिक न्यायका आधारमा सरकारले प्रतिष्ठानलाई थप सहयोग गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “जुम्लामा चिकित्सक उत्पादन गर्न सम्भव छ । छिटो एमबीबीएस र बी फर्मा तहको शैक्षिक कार्यक्रमको शुरुआत हुनुपर्छ । पाठ्यक्रम तयार गर्दा स्थानीय भूगोल र रोगलाई ध्यान दिनुपर्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य क्षेत्रमा अझै पनि कर्णाली प्रदेश मानव सूचकाङ्कमा पछाडि नै रहेको उल्लेख गर्दै यसलाई अन्त्य गर्न जुम्लामा नै चिकित्सक उत्पादन जरुरी रहेको बताउनुभयो ।

प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज वाग्लेले जुम्लामा विशेषज्ञ चिकित्सक उत्पादन गर्न प्रतिष्ठानले एमडीजीपी तहको स्वीकृतिले कर्णाली क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो । अब छिट्टै एमबीबीएस र बी फर्माका शैक्षिक कार्यक्रम शुरुआतका लागि आवश्यक सबै तयारी पूरा हुन लागेको जानकारी दिँदै उहाँले यसले कर्णालीको गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा फड्को मार्ने बताउनुभयो ।

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले हाल प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि, स्वास्थ्य र बेहोस पार्ने (ऐनेस्थसिया) सहायक अध्ययन अध्यापन गराइरहेको, नर्सिङको प्रमाणपत्रतर्फ स्थानीय १०० जनशक्ति उत्पादन भइसकेको र शैक्षिकसत्र विसं २०७५÷०७६ देखि स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन शुरुआत भएको जानकारी दिनुभयो ।

प्रतिष्ठानका डिन प्राडा रेशम रानाले चारवटा विश्वविद्यालयका पाठ्यक्रमभन्दा फरकरूपमा एमबीबीएस र बी फर्माका स्नातक तहका पाठ्यक्रम तयारको मस्यौदा तयार भएको विज्ञका सुझावका आधारमा अन्तिमरूप दिइने बताउनुभयो ।

चिकित्सा विज्ञान अध्ययन सस्थान (न्याम्स)का पूर्व रजिष्टार प्राडा श्रीकृष्ण गिरीले स्नातक तहका एमबिबिएस तथा बिफर्माका पाठ्यक्रममध्ये प्रतिष्ठानले मस्यौदा गरेको पाठ्यक्रम उत्कृष्ट रहेको दावी गर्दै यसले स्थानीय भूगोल र रोग निवारण गर्न सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

चिकित्सा शिक्षाका विज्ञ प्राडा अर्जुन कार्की, प्राडा शेखरबाबु रिजाल, प्राडा साधना राजभण्डारी, प्राडा गोपाल आचार्य, प्राडा नारायणविक्रम थापाले चिकित्सा तहको स्नातक कार्यक्रमको पाठ्यक्रम तयार गर्दा गुणस्तरमा विशेष ध्यान दिन जोड दिनुभयो ।

विशेषतः जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्यस्थिति माथि उकास्न सरकारले ठूलो लगानीका साथ विसं २०६८ मा जुम्लामा सो प्रतिष्ठान स्थापना गरेको थियो । प्रतिष्ठानले एक वर्ष अर्थात् विसं २०६९ कात्तिक २३ गते एक जना विशेषज्ञसहित पाँच जना चिकित्सक तत्कालीन कर्णाली अञ्चल अस्पताल जुम्ला पु¥याई सेवा शुरुआत गरेको थियो ।

विसं २०७० मा सो अञ्चल अस्पताल प्रतिष्ठानमा गाभिन पुगेको थियो । गाभिँदा १०० श्ययाको अस्पताल हाल ३०० श्यया विस्तार हुन पुगेको छ । अस्पतालले पछिल्लो समय आफ्नै फार्मेसी, रक्तसञ्चार सेवा, अक्सिन प्लान्ट तथा सिटी स्क्यान सञ्चालनमा ल्याएको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिनुभयो ।

दैनिक २०० सम्म अन्तरङ्ग र बहिरङ्ग सेवा लिने सो अस्पतालमा तीन श्यया आईसीयू रहेका छन् । “हामी यहाँ सेवा लिन आएका बिरामीलाई अन्यत्र रिफर नगर्ने अवस्थामा पुगेका छौँ । सिटीस्क्यान उपकरण सेवा शुरु भयो । नाक, कान र घाँटी विशेषज्ञ सेवा शुरु हुँदैछ”, उहाँले भन्नुभयो ।

विशेष गरी एमडीजीपी तहका अध्ययन अध्यापन शुरु गराउन प्रतिष्ठानले भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र अस्पतालमा उपकरण जडान कार्य पूरा गरेपछि नेपाल मेडिकल काउन्सिलका विज्ञ टोलीले पटकपटकको स्थलगत अध्ययन गरेको छ । पछिल्लो समय काउन्सिलको अध्ययन टोलीमा जुम्ला जानुभएका एक विशेषज्ञ चिकित्सक भन्नुहुन्छ, “एमबीबीएस, बी फर्मा तथा एमडीजीपी तहको अध्ययन अध्यापन गराउन आवश्यक पूर्वाधार तथा जनशक्ति सबै तयार भएको देखियो, सोचेकोभन्दा राम्रो पूर्वाधार बनेछ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा मन्त्रालयले एमडीजीपी तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न प्रतिष्ठानलाई एक वर्षअघि नै स्वीकृति दिइसकेका थिए । विसं २०७४ असोज २६ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्रतिष्ठानको पाँचाँै सिनेट बैठकले प्रतिष्ठानको शैक्षिक कार्यक्रम तथा भौतिक निर्माणसम्बन्धी गुरुयोजना पारित गरेको थियो ।

चिकित्सक शिक्षा अध्ययन अध्यापनका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्न काउन्सिलको स्वीकृति÷अनुमति अनिवार्य आवश्यक पर्छ । प्राडा गोविन्द केसीले आफ्नो पटकपटकका अनशनमा उठान गर्नुभएको प्रमुख मागमा प्रतिष्ठानमा एमडीजीपी, एमबीबीएस र एमडी कक्षा सञ्चालनको पूर्वाधार तयार गर्दै अध्यापन शुरु गर्नुपर्नेसमेत रहेको थियो ।

पूर्वस्वास्थ्य सचिव रेग्मी विभागीय प्रमुख
प्रतिष्ठानमा कार्यरत विभागीय प्रमुख, विशेषज्ञ चिकित्सक तथा चिकित्सक नेपालको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा अनवरत सेवा गर्नुभएका चिकित्सक हुनुहुन्छ । प्रतिष्ठानले विभागीय प्रमुख, विशेषज्ञ चिकित्सक तथा चिकित्सक पद आह्वान गर्दा १५० भन्दाबढी चिकित्सकले दर्खास्त दिनुभएको थियो ।

प्रतिष्ठानको डीनमा प्राडा रेशमबहादुर राना कार्यरत हुनुहुन्छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवामा २५ वर्षभन्दा बढी सेवा प्रदान गर्नुभएका प्राडा रानाले पछिल्लो समय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)मा अध्यापन गराउँदै आउनुभएको थियो ।

स्त्रीरोग विभागको प्रमुखमा प्राडा किरण रेग्मी कार्यरत हुनुहुन्छ । उहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पूर्वसचिव हुनुुहुन्छ । विश्व स्वास्थ्य सङ्गठनको आकर्षक परामर्श पद त्याग गरी उहाँ जुम्ला उक्लिनुभएको थियो । अधिकांश समय ग्रामीण स्वास्थ्य सेवामा नै व्यतित गर्नुभएको प्राडा रेग्मीले भन्नुभयो, “जुम्लामा चिकित्सा उत्पादन गर्र्ने सपनालाई मूर्त रूप दिन म आएको हुँ ।”

प्राडा सुनिल बुढाथोकी र प्राडा कमल शर्मा प्रतिष्ठानको बालरोग विभागमा कार्यरत हुनुहुन्छ । प्राडा शर्मा स्वास्थ्य सेवातर्फ ११औँ तहको पदबाट राजीनामा दिइ जुम्ला गएका हुन् । एमडीजीपी कार्यक्रमको संयोजकमा डा तरुण पौडेल नियुक्ति हुनुभएको थियो । उहाँ स्वास्थ्य सेवातर्फ १२औँ तहबाट अवकाश प्राप्त चिकित्सक हुनुहुन्छ ।

सोही कार्यक्रममा डा भोलाराम श्रेष्ठ कार्यरत हुनुहन्छ । उहाँ पनि स्वास्थ्य सेवाको १२औं तहबाट अवकाश प्राप्त चिकित्सक हुनुहुन्छ । सोही कार्यक्रममा डा निरेश थापा कार्यरत हुनुहुन्छ । उहाँहरू तीनै जना एमडीजीपी तथा एमडी हुनुुहुन्छ । नेपालमा एमडीजीपी शिक्षाका सर्वाेत्कृष्ट चिकित्सक मानिनुहुन्छ ।

सरकारले नसकेको काम गरेर देखाइदियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!