हिरोसिमा-नागासाकीको त्यो त्रासदीहिरोसिमा-नागासाकीको त्यो त्रासदी

  • हिरोसिमा-नागासाकीको त्यो त्रासदी
  • हिरोसिमा-नागासाकीको त्यो त्रासदी
  • हिरोसिमा-नागासाकीको त्यो त्रासदी
  • हिरोसिमा-नागासाकीको त्यो त्रासदी
  • हिरोसिमा-नागासाकीको त्यो त्रासदी
  • हिरोसिमा-नागासाकीको त्यो त्रासदी

हिरोसिमा-नागासाकीको त्यो त्रासदी

8 August, 2019 12:50 |जापान , बिचार | comments | 46350 Views

    डा. मोतीलाल शर्मा

    डा. मोतीलाल शर्मासमयको गति छिटो हुन्छ भनिन्छ, त्यसैले त होला जापानको हिरोसिमा र नागासाकी सहरमा परमाणु बमले ध्वंस मच्चाइएको पनि ७४ वर्ष पुगिसकेछ। तर, मानव सभ्यतामा भोग्नुपरेको त्यो कहरको घाउको खाटा राम्ररी बस्न नसकेको महसुस हुन्छ।

    adsads

    त्यसैले लाग्छ, समय अलिक ढिलोढिलो गरी बितिरहेको छ। आम जिन्दगीहरूको वास्ता नगरी कसरी शासकहरूले आफ्नो राग-द्वेष साट्न, अगाडि बढ्न सक्दा रहेछन् भन्ने ज्वलन्त उदाहरणमध्येको एउटा प्रतिनिधि घटना हिरोसिमा र नागासाकीमा मच्चाइएको ताण्डव हो। विज्ञान र प्रविधिको क्षेत्रमा बीसौं शताब्दीमा गरिएको चमत्कारपूर्ण आविष्कार र नवप्रवर्तनहरूको कसरी भयावह हुनेगरी दुरूपयोग हुन पुग्यो भन्ने उदाहरण पनि हो हिरोसिमा र नागासाकी घटना।

    पहिलो विश्वयुद्ध (सन् १९१४-१९१८) ले युरोपमा पैदा गरेको अस्थिरताले अर्को अन्तर्राष्ट्रिय द्वन्द्व सिर्जना गरेको थियो र त्यसको दुई दशकपछि अर्को युद्ध सुरु भयो। प्रथम विश्वयुद्धलाई अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको सन् १९१९ को भर्सेलिस सन्धिको उल्लंघन गर्दै आफूलाई सर्वोच्च नेताको रूपमा उभ्याउँदै जर्मनीका हिटलर अगाडि बढे। १ सेम्टेम्बर १९३९ मा हिटलरले पोल्यान्डमाथि आक्रमण गरे। त्यसको दुई दिनपछि बेलायत र फ्रान्सले हिटलरको नाजी जर्मनीसित युद्धको शंखनाद गरे र दोस्रो विश्वयुद्धको सुरुवात भयो।

    त्यति नै बेला भनिन्छ जापानी सैन्य साम्राज्यवाद पनि बेलगाम अगाडि बढिरहेको थियो। त्यसभन्दा अगाडि सन् १९३९ मै हिटलर र सोभियत संघका जोसेफ स्टालिनले एकअर्काको देशमा आक्रमण नगर्ने सन्धि गरेका थिए। त्यसले बेलायत र फ्रान्सलाई सशंकित तुल्याएको थियो। पोल्यान्डमाथि आक्रमण गर्ने हिटलरको योजना पहिलादेखि नै थियो। बेलायत र फ्रान्सले पनि त्यस्तै परिहाले सैन्य सहयोग गर्ने वचन पोल्यान्डलाई दिएका थिए।

    सुरुवाती वर्षमा संयुक्त राज्य अमेरिका आन्तरिक सशक्तीकरणमा लागेको थियो र युद्धमा प्रत्यक्ष होमिएको थिएन। दोस्रो विश्वयुद्ध अघि बढ्दै जाँदा युरोपमा हिटलरको नाजी जर्मनी केन्द्रविन्दुमा रहन पुग्यो। जर्मनीद्वारा अष्ट्रिया, तत्कालिन चेकोस्लोभाकिया, बेल्जियम, डेनमार्क र नर्वे आदि देशहरूमा कब्जा तथा आक्रमण गर्ने प्रयास गरिएका थिए। त्यसैगरी एसिया महादेशमा ‘एसिया एसियालीहरूको’ भन्ने भावना जागृत भइरहेको अवस्था थियो।

    जापानले आफ्नो साम्राज्य र सैन्यशक्ति बढाउँदै लगेको प्रतीत भइरहेको अवस्थामा दोस्रो विश्वयुद्धमा खासै संलग्न नदेखिएको अमेरिकाको हवाइ राज्यको पर्लहार्बरमा एक्कासी र कल्पनै नगरिएको जापानी आक्रमणपछि दोस्रो विश्वयुद्धमा नयाँ र खतरनाक मोड आएको मान्न सकिन्छ। ७ डिसेम्बर १९४१ का दिन जापानले अमेरिकाको पर्लहार्बरमा जलसेनासित सम्बन्धित बेडामा अप्रत्यासित आक्रमण गर्‍यो। पर्लहार्बर हवाइराज्यको होनुलुलु सहरको नजिकैको ठाउँ हो। यहाँ अमेरिकी जलसेनाको ठूलाठूला जंगी युद्धपोतहरू राखिएको थियो।

     

    विज्ञान र प्रविधिको क्षेत्रमा बीसौं शताब्दीमा गरिएको चमत्कारपूर्ण आविष्कार र नवप्रवर्तनहरूको कसरी भयावह हुनेगरी दुरूपयोग हुन पुग्यो भन्ने उदाहरण हो हिरोसिमा र नागासाकी घटना।

    लाखौं ग्यालन तेल भरिएका जंगी जहाजहरू पनि राखिएका थिए। त्यहाँको आक्रमणमा ती तेलबाहक जहाज डुवेको र त्यहाँबाट तेल निस्किरहेको अहिले पनि देख्न सकिन्छ। पर्लहार्बर आक्रमणको समयमा अघिल्लो राति नै केही सैनिक होनुलुलुको सहरमा रहेका थिए भनिन्छ। अपेक्षाकृत कम सैनिक रहेको र कल्पनै नगरिएको अवस्था परेको हुँदा पर्लहार्बरमा ठूलो संख्यामा हताहति भएको थियो। लगभग दुई हजार चार सयको मृत्यु र एकहजार जना घाइते भएका थिए। त्यसको लगत्तै एकदिन पछि डिसेम्बर ८ का दिन संयुक्त राज्य अमेरिकाले पनि जापानविरुद्ध युद्धको शंखघोष गर्‍यो। धेरै इतिहासकारहरूले पर्लहार्बर घटना नै परमाणु वमको निर्माण र त्यसको ध्वंसात्मक प्रयोगको कारक र सुरुवात रहेको बताउने गरेका छन्।

    पर्लहार्बर आक्रमणपछि अमेरिकाले बम बनाउन म्यानहाटन परियोजना सुरु गर्‍यो। वास्तवमा म्यानहटन परियोजना भनेको दोस्रो विश्वयुद्धमा प्रयोग गर्न चाहिने परमाणु बमको विकास र निर्माणको सांकेतिक नाम थियो। यो काम वास्तवमा सन् १९३० देखि नै जर्मन वैज्ञानिकले त्यस्तै खालको बमको विकास र निर्माणमा लागेको भन्ने सुनिएको र त्यसलाई परिआएमा जवाफी कारबाहीका लागि आपूmलाई तयारी अवस्थामा राख्न गरिएको काम थियो। म्यानहटन परियोजनाका लागि तत्कालीन अमेरिकी राष्ट्रपति फ्रैन्कलिन रुजबेल्टले १८ डिसेम्बर १९४२ मा दिएका थिए। त्यस महात्वाकांक्षी कार्यको लागि तमाम वैज्ञानिकहरू र सैन्य अधिकृतहरूलाई न्युक्लियर बम बनाउने काममा लगाइएको थियो।

    यसक्रममा युरेनियम- २३५ र प्लुटोनियम – २३९ प्रयोग गरिएका बम बनाउन सफलता प्राप्त गरिसकेपछि तिनको सफल परीक्षण पनि न्युमेक्सिको राज्यको दूरदराजको मरूभूमिजस्तो विरान ठाउँमा गरिएको थियो। युरोपतिर युद्ध १९४५ को अप्रिल महिनातिरै मत्थर भइसकेको थियो भने एसिया प्रशान्त क्षेत्रमा जापानी र अमेरिकाको बीचमा चर्किरहेको अवस्था थियो। अमेरिकी राष्ट्रपति ट्रुमेनले जापानलाई आत्मसमर्पण वा कुनै ठूलो क्षति व्यहोर्नका लागि तयार रहने खालको धम्कीको घोषणा गरेका थिए, जसलाई पोस्टड्याम घोषणाको नामले जानिन्छ।

    युद्धविराम नभएपछि विश्व इतिहासमा भयानक कालो दिन र समय पनि आयो त्यो हो ६ अगस्ट १९४५ बिहानको आठ बजेतिरको समय। जब हिरोसिमा सहरमा सूर्य उदाएर झलमल्ल हुँदै थियो त्यति नै बेला अमेरिकी बमवर्षक विमानद्वारा बम खसालियो र पूरै सहर आगोको लपेटामा आएसरी ताप र विकिरणमा जकडियो। जसमा लगभग ९० प्रतिशत हिरोसिमा सहर पुछियो र तत्कालै असी हजारभन्दा बढीले ज्यान गुमाए। जापानलगायत विश्वभरी कोलाहल मच्चियो। स्वयं जापानीहरू अप्रत्याशित र कल्पनाबाहिरको घटना मानिरहेका थिए।

    यसै बीचमा तीन दिनपछि ९ अगस्टका दिन नागासाकीमा अर्को बम खसालियो। भनिन्छ, बम दुई पहाडको बीचमा खस्न पुगेकाले तुलनात्मक रूपमा कम क्षति भएको थियो। नागासाकीको त्यो विपत्मा चालीस हजारको तत्कालै मृत्यु भएको थियो। मानव इतिहासकै सबैभन्दा भयंकर, नयाँ तथा क्रूर घटनाले जापानी सम्राट हिरोहितोले अगस्ट १५ का दिन रेडियो सन्देशबाट आत्मसमर्पण गरेको घोषणा गर्नुपर्‍यो। पछिल्ला प्रभावहरू जस्तैः तापको राप र रेडियो विकिरणको कारणले गर्दा हिरोसिमामा एक लाख ५० हजार र नागासाकीमा ७५ हजारको मृत्यु भएको थियो।

    पृथ्वीको एक भूखण्डमा भयानक त्रासदी व्यहोरिसकेको अवस्थामा समकालीन विश्वमा अहिले पनि यस्तै खालका ध्वंस गर्ने हिसाबले अझ विकास गरिएका आणविक हातहतियारहरूको डरलाग्दो होडबाजी चलिरहेको अनुमान सहजै गर्न सकिन्छ। संयुक्त राष्ट्र संघमार्फत यस्ता क्रियाकलाप तथा होडबाजी निस्तेज पार्न पहल गर्न प्रयास गरिए तापनि वास्तविक धरातलमा त्यो हुन सकिराखेको छैन।

    भोक र गरिबीबाट मुक्त हुन एउटा ठूलो हिस्सा संघर्ष गरिरहेको छ भने आणविक हतियारको होडबाजीमा ठूलो धनराशी खर्च भइराखेको छ। आणविक अप्रसार सन्धिको जति नै वकालत गरे पनि शक्ति सम्पन्न राष्ट्रहरूले नै यस्ता हतियारको भण्डारण गरेको बुझ्न सकिन्छ। यस्तै हतियारहरूको विकास र तिनका परीक्षणहरूले पनि मानव सभ्यतालाई विभिन्न कोणबाट चुनौती दिँदै अगाडि बढिरहेका छन्।

    आज भन्दा ७४ वर्षभन्दा पहिलेको घटेको घटनाको दीर्घकालीन प्रभाव अहिले पनि परिराखेको छ। शारीरिक विकृति, रक्त क्यान्सरलगायत तमाम आणुवंशिक रोग र उत्परिवर्तनका घटना देखिएका छन्। शासक जातिमा रहेको शक्ति र दम्भले लाखौं जिन्दगीसँग कसरी खेलबाड गर्न सक्दोरहेछ र सनकको भरमा कसरी ठूलो क्षति पुग्दोरहेछ भन्ने उदाहरण पर्लहर्बर, हिरोसिमा र नागासाकी जस्ता प्रतिनिधि घटना।

    हिरोसिमा-नागासाकीको त्यो त्रासदी

    हिरोसिमा र नागासाकीको त्यो प्रलयकारी घटना र त्यसबाट मानव जातिले चुकाउनुपरेको पीडा कति गहिरो बनेर मनमस्तिष्कमा रहेको छ भन्ने अनुमान मात्र पनि लगाउन सकिँदैन। जापानी सम्राट हिरोहितो त्यस बीभत्स घटनापछिका दिनहरूमा जीवनभर दुःखी रहनुभयो र विश्वयुद्धताकाका जापानी प्रधानमन्त्री तोजो हिडेकीको आत्महत्याको प्रयास र पछि उनलाई दिइएको मृत्युको कारण पनि त्यही रह्यो। मानव सभ्यतामा घट्न पुगेको यस महाप्रलयकारी घटना अन्तिम होस्।

    ‑शर्मा त्रिवि रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक हुन्।

    स्रोत अन्नपूर्ण पोस्ट

    हिरोसिमा बम हमलाको ७४ वर्ष पूरा, आणविक हतियार प्रतिबन्धको माग

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    हिरोसिमा-नागासाकीको त्यो त्रासदी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More