२५ वर्षमा मध्यम आय भएको मुलुक, राजमार्गहरुलाई विमानस्थल जस्तै बनाइने, वृद्धभत्ता बढाउने घोषणा

3 May, 2019 21:38 | राजनीति | comments | 13950 Views

सरकारले आगामी २५ वर्षको दीर्घकालीन सोचसहित सन् २०२२ भित्र मध्यम आय भएको मुलुकका स्तरोन्नति गर्ने प्रतिबद्धतासहित आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम ल्याएको छ ।

त्यस्तै नीति तथा कार्यक्रममा राजमार्गहरुलाई विमानको आपतकालीन अवतरणका लागि धावनमार्गका रुपमा समेत विकास गर्ने कार्यक्रम राखिएको छ ।

adsads

यसै गरी सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धिको घोषणा गरेको छ । सामान्यतः यस्तो घोषणा बजेटमार्फत हुने भए पनि वृद्धभत्ता ५ हजार पुर्‍याउने चुनावी घोषणाका कारण दबावमा परेको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने प्रतिवद्धता जनाएको हो ।

संसद्को शुक्रबारको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रमा निजी, जनस्तर र सरकारी लगानीलाई सहकार्यका आधारमा प्रोत्साहित गर्ने, पूर्वाधारका महत्वपूर्ण आयोजना समयमै पूरा गर्ने सङ्कल्प पनि गरिएको छ ।

प्रदेश र स्थानीय तहबीच असल अभ्यासको आदान प्रदानका लागि अभियान सञ्चालन, भूउपयोगको नीति कार्यान्वयन, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०१९ भित्र सञ्चालनमा ल्याइने नीति कार्यक्रममा उल्लेख छ ।

दुई वर्षभित्र काठमाडौँलाई भारत र चीनसँग जोड्न रेलमार्ग निर्माण कार्य शुरु गरिने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शीघ्र कार्यान्वयन गरिने, मध्य पहाडी र हुलाकी मार्गको निर्माण, औद्योगिकीकरण, अत्याधुनिक प्रविधि र उत्कृष्ट उत्पादन नीति, खानीको उत्खनन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सन् २०२० मा नेपाल भ्रमण वर्षका लागि अभियान चलाइने, माटो मौसम अनुकूल खेती गरिने, कान्ला कान्लामा फलफूल लगाइने, निर्माण, उत्पादनमूलक उद्योग र सेवामूलक क्षेत्रमा रोजगार सिर्जना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसै गरी ज्येष्ठ नागरिकलाई सम्मान र सुरक्षा दिइने, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिने, सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने, डिजिटल नेपालको पाँच वर्षे कार्ययोजना लागू गरिने, यातायात क्षेत्रको एकाधिकार अन्त्य गरिने सो नीति तथा कार्यक्रममा उल्लेख छ ।

वर्तमान सरकारले चालू आर्थिक वर्षमा विकास सम्भव छ र हाम्रै पालामा सम्भव छ भन्ने विश्वास पैदा जनाउँदै दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको बताउनुभएको छ ।

हरेक दिन एक कदम अगाडि बढ्ने शैलीका कारण समृद्धिको आधार तयार गर्न सरकार सफल भएको उहाँले उल्लेख गर्नुभयो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले एकीकृत राष्ट्रिय तथ्याङ्कको ढाँचा तयार भएको तथा लगानी सम्मेलन र मित्र राष्ट्र चीन एवं अन्य मुलुकको उच्चस्तरीय भ्रमणबाट अन्तरराष्ट्रिय सम्बन्धको विकास र लगानीमैत्री वातावरण सिर्जना भएको बताउनुभयो ।

वर्तमान सरकार गठनपछि राष्ट्रिय अखण्डता र एकता सुदृढ भएको, पुनःनिर्माण उल्लेखनीय भएको, एक हजार किमी सडक कालोपत्र भएको, थप ३०० पुलको निर्माण सम्पन्न भएको र डिजिटल नेपालको कार्यढाँचा तयार भएको तथा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको कार्यक्रममा उल्लेख छ ।

जनता आवास सुविधा उपलब्ध गराइएको, विद्यालय बाहिर रहेकामध्ये ८१ प्रतिशत विद्यार्थीलाई भर्ना गरिएको, प्राविधिक विद्यालय स्थापना शुरु भएको, १६ लाख नेपालीको स्वास्थ्य बीमा गरिसकिएको र भारत र नेपाल जोड्ने रेलमार्ग निर्माणको प्राविधिक कार्य सम्पन्न भएको कार्यक्रममा जनाइएको छ ।

त्यसै गरी ‘नेपालको पानी, जनताको लगानी’ भन्ने नाराका साथ तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत फागुन २ गतेदेखि नै सो कार्यक्रम शुरु गरिसकेको छ । आम नेपालीको लगानीमा ऊर्जा उत्पादनलाई बढावा दिन त्यस्तो कार्यक्रम अगाडि सारिएको हो ।

सो कार्यक्रमअन्तर्गत माथिल्लो त्रिशूली थ्री बी, रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री गरी सकिएको छ । तीमध्ये रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको बिहीबार मात्रै साधारण शेयर बाँडफाँटसमेत गरिसकिएको छ ।

यस्तै आगामी आवभित्रै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने राष्ट्रपति भण्डारीले बताउनुभयो । हाल सो आयोजनाको कूल भौतिक प्रगति ९८ प्रतिशत भएको छ ।

सबै नेपालीलाई स्वच्छ ऊर्जा पुर्याउन सरकारका तर्फबाट प्रभावकारी कार्यक्रम अगाडि सारिने भएको छ । सरकारको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण गरी थप सहज बनाउने सरकारको लक्ष्य रहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More