जल/वातावरण

प्रमाणित हुने बित्तिकै नेपालीले खोप पाउँछन् : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउने कित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाउनुभएको छ । यही मङ्सिर ३ गतेदेखि मन्त्रालयले आयोजना गरेको ‘विश्वप्रति–जैविक सचेतना सप्ताह’को समापन गर्दै उहाँले कोभिड–१९ विरुद्धको खोपको परीक्षण भइरहेको र उक्त खोपको सफल परीक्षण भई प्रमाणित हुने बित्तिकै नेपाली नागरिकले पाउने बताउनुभयो ।

उहाँले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न दृढ भएर लागेको उल्लेख गर्दै त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताउनुभयो । केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा कोभिड–१९ विरुद्धको खोप उपलब्धता सहज बनाउनेलगायत व्यवस्था गर्नका लागि औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको थियो ।

सप्ताहका अवसरमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा नेशनल स्कूल अफ साइन्सकी कक्षा ११ मा अध्ययनरत राजकी अर्याल प्रथम, होप इन्टरनेशनल कलेजमा स्नातक तह अध्ययनरत स्वस्तिका सापकोटा द्वितीय र ललितकला क्याम्पसकी स्नातक तहमा अध्ययनरत विनिता खड्काले तृतीय हुनुभएको छ । मन्त्री ढकालले विजय विद्यार्थीलाई नगद र प्रमाणपत्र प्रदान गर्नुभयो । अठ्ठाइस जना सहभागीमध्येबाट २४ जनाको कला छनोट गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.